+
+

पोखराको उम्मेदवार छनोटमा पृथ्वीसुब्बा र खगराजबीच प्रतिष्ठाको लडाइँ

विकास रोकामगर विकास रोकामगर
२०७९ वैशाख १ गते २१:१६
माथिको बायाँबाट क्रमश: मीना गुरुङ, पुष्पज्योति ढुंगाना, भीम कार्की, कृष्ण थापा, सावित्री भण्डारी र दर्शन लामा ।

१ वैशाख, पोखरा । लगातार तीन दिन छलफल गर्दा पनि नेकपा एमालेको पोखरा महानगरपालिका कमिटीले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन सकेन । अब मतदानबाटै उम्मेदवार सिफारिस गर्ने भएको छ ।

अब मेयरको आकांक्षा राखेका १२ जनामध्ये महानगरपालिका कमिटीमा धेरै मत ल्याउने दुई पुरुष र एक महिलाको नाम सिफारिस हुनेछ । पोखरा महानगर कमिटीले शुक्रबार दिउँसो १२ बजे मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

नगर कमिटीले मंगलबार डाकेको बैठकमा ३ हजार रुपैयाँ तिरेर १२ जनाले महानगरको मेयर पदमा आकांक्षा दर्ता गरेका थिए । मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीका साथै प्रा. डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा छन् । प्रदेशसभा सदस्य कृष्ण थापा पोखराका पूर्वमेयर हुन् भने लामा पोखरा १३ का वडाध्यक्ष हुन् ।

माथिल्लो कमिटीका नेतालाई राखेर आकांक्षीहरुबीच छलफल गर्दासमेत सहमति जुट्न नसकेपछि मतदानबाट टुंगो लगाउन लागिएको महानगर कमिटीका एक नेताले जानकारी दिए । ‘कसैगरी सहमति नभएपछि अब निर्वाचनमै जाने भयो,’ ती नेताले अनलाइनखबरसँग भने ।

पृथ्वीसुब्बा र खगराजबीच प्रतिष्ठाको लडाइँ

देशका ६ वटा महानगरमध्ये पोखरामा एमालेको अवस्था राम्रो छ । २०७४ को निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गर्दा पनि एमालेले जितेको थियो । यो पटक एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले एमालेको केही भोट काट्ने नेताहरु बताउँछन् । तर जनता समाजवादी पार्टी र माओवादीका नेताहरु एमाले प्रवेश गरेकाले त्यो मत पूर्ति हुने एमाले नेताहरु बताउँछन् ।

जित्ने सम्भावना बढी भएकाले एमालेमा पोखराको मेयरको उम्मेदवार हुन चाहनेहरुको सूची लामो छ ।

त्यसमाथि कास्कीमा उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी खगराज अधिकारीको आआफ्नै समूह छ । जिल्ला अधिवेशनमा पनि दुई पक्षले प्यानल नै बनाएर प्रतिस्पर्धा गरेका थिए ।

दुई पक्षको प्रतिस्पर्धाकै कारण महानगरको उम्मेदवारमा पनि सहमति जुट्न नसकेको महानगर कमिटीका एक सदस्य बताउँछन् । मेयरको उम्मेदवार हुन आवेदन दिएकामध्ये मीना गुरुङ, पुष्पज्योति ढुंगाना, भीम कार्की, प्रदेश सांसद राजीव पहारी, पृथ्वीसुब्बा पक्षका नेताहरु हुन् । मीना गुरुङ, पृथ्वीसुब्बाकी सम्धिनीसमेत हुन् । यो समूहलाई सचिव पद्‍मा अर्यालको समेत साथ छ ।

मेयरको उम्मेदवार बन्ने प्रतिस्पर्धामा रहेका प्रदेशसभा सदस्य कृष्ण थापा, दर्शन लामा, रश्मी आचार्य, दीपक पौडेल, सावित्री भण्डारी भने खगराज पक्षका हुन् । सावित्री, जिल्ला समन्वय समिति उपाध्यक्ष पनि हुन् ।

‘दुई पुरुष र एक महिला सिफारिस गरिने भएकाले पृथ्वीसुब्बा प्यानल भए पुष्पज्योति, मीना वा भीम पर्ने सम्भावना छ,’ एमाले स्रोत भन्छ, ‘खगराज प्यानलबाट सावित्री, कृष्ण थापा र दर्शन लामाको प्रबल सम्भावना छ ।’

उपमेयरमा भने शुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी), जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्री आकांक्षी छन् । देवका पहारी, शुष्मा पौडेल र वैनबहादुर क्षेत्री खगराज नजिकका हुन् भने पृथ्वीसुब्बा पक्षले हरिमाया गुरुङलाई अगाडि सारेको छ ।

नगर कमिटी १ सय १० सदस्यीय छ । उनीहरुकै मतबाट मेयर र उपमेयरका लागि तीन/तीन जनाको नाम सिफारिस हुनेछ ।

अघिल्लो स्थानीय तहको चुनावमा पनि नेकपा एमालेले आन्तरिक निर्वाचनबाटै उम्मेदवार छनोट गरेको थियो । त्यतिबेला पोखरा महानगरको कमिटी संरचना गठन नभइसकेकाले तत्कालीन पोखरा उपमहानगर र लेखनाथ नगरपालिकाका ४ सय ७३ जनाले मतदान गरेका थिए ।

२०७४ को मत

२०७४ को स्थानीय निर्वाचनमा एमालेले प्रमुख, उपप्रमुख र २२ वटा वडा जितेको थियो । नेपाली कांग्रेसका रामजी कुँवरलाई १३ हजार ७०२ मतान्तरले पराजित गर्दै एमालेका मानबहादुर जिसीले मेयर बनेका थिए । जिसीले ६० हजार ३७६ र कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए ।

उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरस्वती गुरुङलाई १२ हजार बढी मतान्तरले पराजित गरेकी थिइन् । मञ्जुदेवीले ५६ हजार ४४८ मत ल्याउँदा कांग्रेसकी सरस्वतीले ४४ हजार ३३८ मत पाएकी थिइन् ।

त्यसबेला कुल मतदाता १ लाख ६८ हजार ६८ रहेकोमा ७४.८३ प्रतिशत मत खसेको थियो । प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार यो पटक ३९ हजार ६३८ मतदाता थपिएर २ लाख ७ हजार ७०६ पुगेको छ ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?