+
+

अस्पतालको शय्यामा बेखर्ची शुक्रबहादुर

उपचार खर्च जुटाउन नसक्दा घर जान पाएनन्

अंगद सिंह अंगद सिंह
२०७९ वैशाख २ गते ८:३९

२ वैशाख, काठमाडौं । चाबहिलको दीर्घायु गुरु अस्पताल, बेड नम्बर २१४ । पाँचथरको फालेलुङ गाउँपालिका-५ का शुक्रबहादुर मगर तीन महिनादेखि यो बेडमा बेवारिसे जस्तै बनेका छन् । उनको घर जाने कुनै टुंगो छैन । किनभने उपचार खर्चबापतको पैसा जुटाउन उनको परिवारका सदस्यले सकेका छैनन् ।

उनी हरबखत भित्तामा हेरेर टोलाइरहन्छन् । अरुको सहाराविना हिंड्नु त परको कुरा हल्लिनसमेत सक्दैनन् । दिसा–पिसाब बेडमै गराउनुपर्छ । कमजोर शरीर एकत्रित गरेर पल्टिरहन्छन् । बेडमा पल्टिनुबाहेक शुक्रबहादुरसँग कुनै विकल्प छैन ।

उमेरले ३५ नकटेका उनी रोग र शोकले बुढ्यौलीले छोएका जस्तै देखिन्छन् । घर जान मन छ, उनलाई तर कसरी ? कुनै जवाफ छैन उनीसँग । चाहेर पनि उनी घर जान सक्दैनन् । एकातिर उनलाई अस्पतालको शय्याबाट छुटकरा पाउनु छ भने अर्कातिर घर गएर के गर्ने भन्ने पीर छ । अरुको सहाराविना कसरी बाँच्नु ? यो प्रश्नले तर्साइरहन्छ मगरलाई । ‘अस्पतालबाट घर जान पाए हुन्थ्यो, यहाँ बस्दाबस्दा ऐठन भइसक्यो । मरे पनि घरमै मर्थें,’ शुक्रबहादुर सुनाउँछन् ।

पहिलेजस्तो धेरै बोल्न पनि सक्दैनन् उनी । बोल्दा बेलाबेलामा सास नै रोकिएको जस्तो हुन्छ । ओठ–मुख सुक्छ । शुक्रबहादुर आफ्नो पीडा न कसैलाई सुनाउन सक्छन् न अरुले बुझ्न ।

उनी आफ्नै भाग्यलाई धिक्कार्छन्, कस्तो दिनमा घरबाट हिंडेछु भनेर । ‘यसरी बेवारिसे भई बाँच्नुभन्दा मरेको भए हुन्थ्यो, किन मेरो प्राण गएन,’ उनी निराश भावमा भन्छन् ।

‘किन मरिनँ होला म ? किन मलाई यति महंगो अस्पताल ल्याए होलान् । बेलाबेला सास रोकिएला जस्तो हुन्छ ?’ भावुक प्रश्न गर्छन् शुक्रबहादुर ।

घरमा उनकी बुढी आमाले छोराको बाटो कुरिरहेकी छन् । उनको एक मात्रै छोरा हुन् शुक्रबहादुर । जसलाई उनी बुढ्यौलीको काँध मान्छिन् । ‘पहिले त्यस्तो कहिल्यै भएको थिएन खै, कुन दैव लाग्यो मेरो बुढेसकालको सहारा थला प¥यो,’ पाँचथर घरमा रहेकी शुक्रबहादुरकी आमा ज्योति मगर भन्छिन् ।

छोरालाई हेर्न काठमाडौं आउन मन छ उनलाई । तर न खर्च छ, न त घर हेरिदिने मान्छे नै । ६५ वर्ष उमेरकी आमासँग छोरा आउने बाटो हेर्नुको विकल्प छैन ।

चैत ३० गते बिहानसम्म अस्पताललाई तिर्नुपर्ने रकम ५ लाख ६० हजार रुपैयाँ पुगिसकेको छ । तर त्यत्रो पैसा कसरी तिर्ने कुनै ठेगान छैन ।

शुक्रबहादुरलाई पनि छिट्टै घर जान मन छ । आमालाई म आइसकें, ठीक भइसकें भन्न मन छ । उता आमालाई पनि छोरालाई बेस्सरी अँगालो हालेर मुसार्नु छ, मनको वह पोख्नुछ अनि मनको पीडा भुलाउनु छ । तर विडम्बना यी सबै कुरा उनीहरुका लागि असम्भव जस्तै भएका छन् ।

खोटाङमा गत माघ ६ गते उच्च रक्तचापका कारण अकस्मात् बेहोस भएपछि शुक्रबहादुरलाई उनका साथीहरुले काठमाडौंको चाबहिलमा रहेको दीर्घायु गुरु अस्पतालमा लिएर आएका थिए । टाउकोको नसामा समस्या देखिएपछि माघ ६ गते उनको टाउकोको शल्यक्रिया गरियो ।

शल्यक्रियापछि १३ दिन कोभिड आईसीयूमा राखियो । त्यसपछि अहिले उनी जनरल वार्डमा छन् । खोटाङमा बेहोस भएका उनलाई त्यसपछिको अवस्थाबारे केही थाहा छैन । जनरल वार्डमा सारिएपछि शुक्रबहादुर अलि–अलि विगतका कुरा सम्झन थालेका छन् ।

घरको नाजुक आर्थिक अवस्थाका कारण उनले अस्पतालको पैसा तिर्न सकेका छैनन् । टाउकोको शल्यक्रिया गर्न गाउँघरबाट केही सहयोग उठाएर अस्पताललाई बुझाएका छन् ।

शुक्रबहादुरका भतिज आयुष मगरका अनुसार आर्थिक अभावका कारण गाउँबाट आर्थिक सहयोग संकलन गरी ३ लाख २४ हजार रुपैयाँ अस्पताललाई बुझाए पनि बाँकी पैसा तिर्न नसक्दा शुक्रबहादुरलाई घर लैजान पाएका छैनन् ।

चैत ३० गते बिहानसम्म अस्पताललाई तिर्नुपर्ने रकम ५ लाख ६० हजार रुपैयाँ पुगिसकेको छ । तर त्यत्रो पैसा कसरी तिर्ने कुनै ठेगान छैन । शुक्रबहादुरलाई पैसा तिर्न बाँकी धेरै छ भन्ने मात्रै थाहा छ, तर कति भन्ने थाहा छैन ।

अस्पताललाई तिर्ने पैसा नभएपछि…

शुक्रबहादुर माघ २ गते पाँचथरबाट काठमाडौं आएका थिए । खाडीमा तीन–चार वर्ष पसिना बगाएर आमालाई खुसी दिने र घरजम गर्ने उनको सपना थियो । उनकी बहिनी निर्मला मगरका अनुसार काठमाडौंमा दुई दिन भिसाबारे बुझेर शुक्रबहादुर मामाकी छोरीको घर खोटाङ गएका थिए । खोटाङमा मामाकी छोरीले विवाहका लागि केटी हेरेकी थिइन् । उनैलाई हेर्न उनी साथीसँग त्यहाँ पुगेका थिए ।

खोटाङमा केटीको घर पुगेर विवाहको कुरा छिनिसकिएको थियो । एकपटक विदेश गएर पैसा कमाएर दुलही भित्र्याउने उनको सपना थियो । तर सपनाले पूर्णता नपाउँदै जिन्दगीमा उथलपुथल आयो । उनी मृत्युशय्यामा थलिए । पैसा नभएका कारण अस्पतालमै बन्धक बनेर बस्नुप¥यो ।

‘म बुढीले कहाँबाट ल्याउँ त्यत्रो लाखौं पैसा ? न कमाइ छ, न त बेच्ने घरजग्गा नै,’ भावुक हुँदै आमा ज्योतिले भनिन् । शुक्रबहादुरको पाँचथरको गाउँमा सानो घर र रुखो जमिन छ । उब्जनी नहुने त्यो जग्गा कसैले किन्न पनि मान्दैनन् ।

टाउकोको शल्यक्रिया गरेपछि स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालले शुक्रबहादुरलाई फागुन १ गते डिस्चार्ज गर्ने तयारी गरेको थियो । तर अस्पताललाई तिर्ने पैसा नभएपछि उनी घर जान पाएका छैनन् ।

हरेक दिन बिहानीको सुस्केराले उनको जिन्दगीमा कोलाहल मच्चाउन थाल्छ । आमाले गाउँमा बनिबुतो गरेर गुजारा चलाउँथिन् भने शुक्रबहादुर कहिले ज्याला मजदुरी गर्थे त कहिले खाडी जान्थे । उनी एकपटक मलेसिया बसेर फर्किएका हुन् ।

‘मलाई भाग्यले ठग्यो । भाग्यले गरिब र निरीह साबित गरिदियो । मलाई कहींको राखेन,’ शुक्रबहादुरले सुनाए । अहिले उनको बायाँ हात र बायाँ खुट्टा चल्दैन । उनका हात–खुट्टामा प्यारालाइसिस भएको छ ।

उच्च रक्तचापका बिरामी अकस्मात बेहोस हुँदा शरीरका अंग नचल्ने अर्थात् प्यारालाइज हुने गर्छन् । शुक्रबहादुरको सन्दर्भमा पनि त्यस्तै भएको डा. राजीव झा बताउँछन् । ‘उच्च रक्तचापका कारण बेहोस हुँदा ब्रेनमा समस्या हुन गई शरीरका अंगहरु प्यारालाइज हुन्छन्, जुन निको हुने सम्भावना न्यून हुन्छ,’ डा. झा भन्छन् । उनका अनुसार प्यारालाइसिस भएका अंग निको हुने सम्भावना १० प्रतिशत मात्रै हुन्छ ।

शुक्रबहादुरको हात–खुट्टा प्यारालाइज भएपछि उनलाई अस्पतालले थेरापी गराइरहेको छ । अस्पतालमा बुधबारसम्म ८ लाख ८४ हजार ३ सय रुपैयाँको बिल उठिसकेको छ । जसमध्ये ३ लाख २४ हजार जम्मा भइसकेको छ भने ५ लाख ६० हजार ३ सय बाँकी छ ।

अस्पतालको खर्च तिर्न नसक्दा बन्धक बनेका उनको खर्च झनै बढिरहेको छ । ‘एकातिर पहिल्यै तिर्नुपर्ने पैसा तिर्न सकेका छैनौं, अर्कोतिर अस्पताल बसाइ लम्बिएर खर्च बढ्दै गएको छ,’ शुक्रबहादुरकी बहिनी निर्मलाले सुनाइन् ।

अस्पतालको पीडादायी बसाइ, गरिबीसँगै ऋणले थलिएको जिन्दगी र टुटेका सपनाले शुक्रबहादुरलाई बेलाबेलामा तर्सारहन्छन् ।

काका शुक्रबहादुरको अनुहार हेर्दै भतिजा आयुष भन्छन्, ‘पैसाविनाको जिन्दगी के जिन्दगी । गरिबले पैसा नभए उपचार गर्न नपाउने, उपचार पाए अस्पतालमै बन्धकजस्तो भएर बस्नुपर्ने ।’

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?