+
+

आफूलाई आकर्षक देखाउन के गर्छन् बलिउड अभिनेत्रीहरु ? 

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १३:१०
बलिउड अभिनेत्री करिना कपुर

काठमाडौं । बलिउड अभिनेत्रीहरु कस्तो पहिरन रुचाउँछन् ? गहनाप्रति उनीहरुको आशक्ति कस्तो छ ? कुन ब्रान्डको सौन्दर्य प्रसाधन प्रयोग गर्छन् ? फेसनेबल पुस्ताका लागि चाखलाग्दो विषय हुनसक्छ ।

उनीहरुले आफूलाई आकर्षक देखाउन के गर्छन् ? पहिरनदेखि खानपान र व्यायामसम्म उनीहरुले अपनाउने शैली अनुकरणीय हुनसक्छ ।

प्रसंग सुरु गरौं, सोनम कपुरबाट । कुनैबेला उनी पनि मोटोपनको शिकार थिइन् । यद्यपि उचित खानपान र व्यायामले आफ्नो तौल नियन्त्रण गरिन् । अहिले त उनको दैनिकीको नियमित हिस्सा नै बनेको छ, व्यायाम ।

साथै उनी कत्थक नृत्यमा पनि रुचि राख्छिन् । नृत्यले पनि आफ्नो शरीरलाई तन्दुरुस्त र चुस्त बनाउन सकेको उनको भनाइ छ । सोनमको एउटा गजब स्वभाव छ, उनी कुनैपनि कुराको तनाव लिंदैनन् । दैनिक जीवनमा आइपर्ने झै–झमेला वा धपेडीबाट हुनसक्ने तनावलाई व्यवस्थापन गर्न योग गर्छिन् । उनी आफूलाई शारीरिक मात्र होइन, आत्मिक रुपमा पनि स्वस्थ राख्नुपर्ने तर्क राख्छिन् ।

सोनम फेसनेबल अभिनेत्री हुन् । सोनमका अनुसार फेसनेबल तथा स्टाइलिस देखिनका लागि सधैं फिट रहनु आवश्यक छ । त्यसैले उनी आफूलाई मनपर्ने पहिरन आत्मविश्वासका साथ लगाउँछिन् ।

बलिउड अभिनेत्री सोनम कपुर

बलिउडमा ‘जिरो फिगर’का लागि करिना कपुरको उदाहरण दिइने गरिन्छ । दुई सन्तानकी आमा उनी अहिले पनि फिट एण्ड फाइन देखिन्छन् । उनलाई मेकअप र गरगहनाप्रति खास रुचि छैन । आफूलाई आरामदायक हुने पहिरन लगाउन मन पराउँछिन् । करिना अक्सर ट्राउजर लगाउन सहज मान्छिन् । कम्मरमा लगाइने बेल्टको सौखिन हुन् उनी ।

अभिनेत्री श्रद्धा कपुर पनि आफूलाई सहज हुने पहिरन लगाउन रुचाउँछिन् । प्रकृतिको नजिक रहेर आफू फेसनलाई अनुसरण गर्ने उनको तर्क छ । उनलाई जिन्सका पहिरन मनपर्छ । उनीसँग जिन्सका पहिरनको संकलन धेरै छ ।

आफ्नो शरीरमा कुन पहिरन सुहाउँछ वा सुहाउँदैन भन्ने कुरा जान्नु अति नै आवश्यक हुने उनको बुझाइ छ ।

दीपिका पादुकोण आफ्नो अनुहार, कपाललाई आकर्षक राख्न प्राकृतिक उत्पादन एवं घरेलु विधि अपनाउने गर्छिन् । बेबी आयल वा नरिवल तेलले नियमित मसाज गर्ने गर्छिन् । स्वयंलाई चुस्त, तन्दुरुस्त र आकर्षक देखाउन आफ्नो आहार र व्यायाममा एकदमै ध्यान दिन्छिन् । उनी ताजा र स्वस्थ्य आहार लिन रुचाउँछिन् ।

उनी हरेक दुई घण्टामा ताजा मौसम अनुसारको फल सेवन गर्छिन् । साथै प्राकृतिक ताजा रस वा नरिवल पानी पिउन रुचाउँछिन् । उनलाई डार्क चकलेट धेरै मन पर्छ, जो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

दीपिका बिहान ६ बजे उठ्छिन् । जगिङ गरेर योग गर्छिन् । त्यसपछि व्यायाम गर्छिन् । उनलाई योग एकदमै मनपर्छ । उनी अनेकन आसन गर्न पोख्त छिन् । दीपिका योग सत्रमा सूर्य नमस्कार, मार्जरी आसन, सर्वागासन, वीरभद्र आसन, गहिरो सास लिने प्राणायाम र ध्यान गर्छिन् ।

बलिउड अभिनेत्री दीपिका पादुकोण

अभिनेत्री प्रियंका चोपडा स्टाइलिस देखिनका लागि प्रायः पश्चिमा शैलीका पहिरन लगाउने बताउँछिन् । उनलाई सामान्य अवस्थामा क्याजुअल वेयर पनि मन पर्छ । यद्यपि, कुनै सार्वजनिक समारोहमा जानु परेमा भने उनी साडी लगाउन मन पराउँछिन् ।

उनलाई कालो रंगको पहिरन बढी मनपर्छ । उनी प्रायः स्टिलेट्टो ब्रान्डका जुत्ता र हिल स्याण्डिल लगाउँछिन् । अधिकांश आउटफिटका लागि ब्राण्डमा खासै ध्यान नदिने स्वभावकी प्रियंकालाई पर्फयुम तथा घडी भने ब्रान्डेड नै मनपर्छ । उनी आफ्नो ह्याण्ड ब्यागमा हेयर ब्याण्ड, पर्स, मोबाइल, मेकअप किट तथा भिटामिन प्रायः छुटाउँदिनन् ।

अभिनेत्री विद्या बालनको सबैभन्दा मनपर्ने पहिरन नै साडी हो । उनलाई डिजाइनर साडी लगाउन मनपर्छ । त्यसमा पनि गाढा रंगको साडी उनलाई सबैभन्दा प्रिय लाग्छ । आफूलाई खासै स्टाइलिस तथा फेसनेबल नमाने पनि उनी फेसनमा आएको परिवर्तनलाई भने नजिकबाट नियालिरहेकी हुन्छिन् । उनी प्रायः आफूलाई आराम अनुभव हुने पहिरनलाई प्राथमिकता दिन्छिन् । साडीमा आफू अति नै सहज महसुस गर्ने भएकाले उनी प्रायः सार्वजनिक समारोहमा यही पहिरनमा देखिने गर्छिन् ।

बलिउड अभिनेत्री विद्या बालन

अभिनेत्री मलाइका अरोराको कुरा केही बेग्लै छ । उनका अनुसार उनी आफूलाई स्मार्ट बनाउनका लागि सधैं तनावरहित बस्न चाहन्छिन् ।

राति सुत्नुभन्दा अघि उनी आफ्नो अनुहार सफा पानीले धुने गर्छिन् । हप्ताको तीन दिन जिमखाना गएर प्रशस्त पसिना बगाउँछिन् । शरीरबाट जति धेरै पसिना बगायो, छाला त्यति सुन्दर हुने उनको बुझाइ छ । जिमबाहेक उनी आफूलाई चुस्त राख्न नियमित योगा समेत गर्छिन् । उनी जंक फुड सकेसम्म खाँदिनन् । बिहान उठ्ने बित्तिकै कागतीको रस र मह हालिएको तातो पानी पिउने उनको धेरै पुरानो बानी हो, जुन आजसम्म जारी छ ।

पुरानी अभिनेत्री रेखा बलिउडका दर्जनौं अभिनेत्रीकी स्टाइल आइडल हुन् । रेखा आजको मितिसम्म पनि उत्तिकै स्टाइलिस मानिन्छिन् । फिल्मको सुटिङ स्पटदेखि पार्टीसम्म रेखाले आफ्नो पृथक फेसन शैली अपनाउने गर्छिन् । प्रायः साडीमा सजिन रुचाउने रेखा आफूले लगाउने पहिरनको छनोट आफैं गर्छिन् । यसबाहेक उनको मेकअप गर्ने शैली पनि पृथक नै छ । पहिरन र मेकअपसँग मिल्दोजुल्दो गरगहना लगाउनु रेखाको अर्को सौख हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?