
२ वैशाख, काठमाडौं । नेपालको गौरव एवम् नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाल सरकारले नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाललाई सुप्रबल जनसेवाश्री पदकले सम्मान गरेको छ ।
बिहीबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले परिसंघका अध्यक्ष अग्रवाललाई सुप्रबल जनसेवाश्री पदकले सम्मान गरेको हो । विगत साढे दुई दशकदेखि व्यवसायमा सक्रिय अग्रवाल एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक हुन् । उनी २०७८ मा परिसंघका अध्यक्ष हुन् ।
‘सुप्रबल जनसेवाश्री पदक दिनुभएकोमा म नेपाल सरकार र सम्मानीय राष्ट्रपतिप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । साथै, मेरा यात्रामा साथ दिनुहुने सम्पूर्ण शुभचिन्तकमा धन्यवाद दिन चाहन्छु,’ परिसंघका अध्यक्ष अग्रवालले भने, ‘यो पदकले मलाई नेपालको अर्थतन्त्र र सबल निजी क्षेत्रप्रतिको प्रतिवद्धतालाई अझ बलियो बनाएको छ ।’
सानो आकारबाट व्यवसाय सुरु गरेर सिक्दै व्यवसाय विस्तार गर्नुपर्छ भन्ने ‘अर्गानिक ग्रोथ मोडेल’मा विश्वास गर्ने अग्रवालले नेपाल उद्योग परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर्स फोरमको पनि नेतृत्व गरेका थिए ।
सार्वजनिक निजी साझेदारी (पीपीपी)को माध्यमबाट देश समृद्धिमा अघि बढ्न सक्छ भन्ने अग्रवाल पहिलो नेपाल सुपर लिगको विजेता काठमाडौं रेजर्स फुटबल क्लबका संस्थापक समेत छन् ।
उनी नेपालका लागि चेक गणतन्त्रका अवैतनिक महावाणिज्यदुत पनि हुन् । सन् २०१९ मा उनलाई चेक गणतन्त्रले ‘बेस्ट अनररी कन्सुल अवार्ड’ले सम्मान गरेको थियो ।
प्रतिक्रिया 4