+
+
लघुकथा :

न बुझ्न सकें, न बुझाउन

टेकराज बञ्जारा टेकराज बञ्जारा
२०७९ वैशाख २ गते १६:३४

म परीक्षा सकेर बाहिर निस्किंदै थिएँ । शिलु अघि नै कापी बुझाएर ढोका छेउमा उभिरहेकी रहिछन् । मैले सोधें- कस्तो भयो त आजको परीक्षा ?

ठिकै भयो, पोहोरको भन्दा राम्रो । यसपालि चाहिं पास हुन्छु होला- उनको जवाफ थियो ।

‘ल हिंड बसपार्कसम्म सँगै जाऔं’ भन्दै उनको हातबाट प्रश्नपत्र लिएँ । परीक्षाका गन्थनमन्थन गर्दै हामी क्याम्पसबाट बाहिरियौं । बाहिर पुगेपछि ठट्टा गर्दै भनें- मास्क खोल न यार अब त । तिम्रो अनुहार नदेखेको पनि निकै भइसक्यो ।

देखिराखेकै त हौ नि कति हेर्छौ हौ ? – मुसुक्क हाँस्दै जवाफ दिइन् । मास्कको एक छेउबाट देखिएको उनको मुस्कान एक ध्यानले हेरिरहें । त्यसैपनि उनलाई धेरैपछि भेट्दा मनैदेखि गद्गद् थिएँ । उनीसँग धेरै मनका कुरा गर्नु थियो, पाइला अघि बढ्न मानिरहेका थिएनन्, तर मसँग समय निकै कम थियो । त्यहाँबाट घर आइपुग्न बसमा करिब तीन घण्टा लाग्थ्यो ।

उनी पनि त्यही दिन आफ्नो घर उदयपुर जाने रहिछन्, केही वर आएपछि हतारिंदै भनिन्- ओई, मलाई ढिलो भयो यार, आजै घर जानुपर्ने । अंकल यहीं विराटनगरमै पर्खिराख्नुभा’छ ।

बसपार्कसम्म सँगै जाउँ न भनेर कर गरिरहें तर मानिनन् ।

तिमीसँग धेरै माया प्रेमका कुरा गर्नुछ तर कहिल्यै जुर्दैन यार । अब हाम्रो कहिले भेट हुन्छ ? मेरो निराशाजनक प्रश्नमा उनको जवाफ थियो-  खै भेट होला नि चाँडै ।

त्यत्तिकैमा टेम्पो आइपुग्यो । छिट्टै भेटौं है भन्दै बिदाइको हात हल्लाएँ । उनी टेम्पोमा बसेर मतिर हेर्दै हाँसिरहिन् म उनलाई पर पुगुन्जेल एकधुनले हरिरहें ।

अफसोच प्रेमी प्रेमिकाको रूपमा त्यो नै हाम्रो अन्तिम भेट बन्न पुग्यो । अहिले महिनौं भयो उनलाई नदेखेको । बेलाबखत विराटनगर जाँदा यी आशावादी आँखाहरू कतै शिलु देखिन्छिन् कि भनेर बसको झ्यालबाट उनी बस्ने ठाउँतिर एकधुनले हेरिरहन्छन् । तर बुझ्दैनन्, अब उनी मैले भेटका चोक र गल्लीहरूमा मेरो प्रतीक्षामा कहिल्यै बस्ने छैनन् भनेर ।

शिलुसँग मेरो पहिलो भेट क्याम्पसमै भएको थियो । एउटै क्याम्पस, एउटै संकाय, एउटै कक्षा भएर पनि उनलाई मैले अन्तिम वर्षमा मात्र देखेको थिएँ । पत्रकारिता गर्दै आएको म क्याम्पस जान त्यति भ्याउदिनथें । बीबीएस चौथो वर्षको प्रोजेक्ट वर्क बनाउने क्रममा उनीसँग चिनजान भयो । हाम्रो प्रोजेक्ट वर्कको सुपरभाइजर पनि एउटै सर हुनुहुन्थ्यो, त्यही भएर पनि उनीसँग अलिक घुलमिल हुने मौका पाएँ । प्रोजेक्ट वर्क सकिएपछि उनी घर गइछन् ।

यता मेरो मनले के ठान्यो कुन्नि उनीसँगका पलहरू रमाइलो मानेर आँखामा नचाउन थालेको थियो, मनमा सजाउन थालेको थियो । टाढा भएपनि म उनीसँग फेसबुक च्याटमार्फत् नजिकिन थालें । केहीपछि प्रेम प्रस्ताव राख्ने आँट आयो र उनलाई  भनें- आई लभ यु शिलु । तिमी कतिबेला मनमा बस्यौं पत्तै भएन यार ।

हेर टेकु, हाम्रो अहिले प्रेम गर्ने बेला हैन । पहिले आफ्नो करिअर बनाऔं, एकअर्कालाई अझै नजिकबाट बुझौं न – उनको जवाफ थियो । उनको जवाफ एकदमै सही लाग्यो तर प्रेमको खोजीमा रहेको मन यही जवाफले के चित्त बुझाउँथ्यो र ? फेरि प्रस्ताव गरें- तिम्रो कुरा ठिकै हो तर पछि त तिमी मसँग नहुन पनि सक्छौ । म तिमीलाई गुमाउन चाहन्नँ । बरु हामी प्रेमसँगै करिअर अघि बढाउँला न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?