+
+

पृथ्वीबहादुर शाह : आधा दर्जन कम्पनीबाट शंकास्पद कारोबार

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०७९ वैशाख २ गते १९:०५

२ वैशाख, काठमाडौं । अमेरिकाबाट ४० करोड रुपैयाँ बराबरको रकम भित्र्याउन खोजेको भन्ने आरोप लागेका अछामको दर्ना– ८ का पृथ्वीबहादुर शाहले विभिन्न कम्पनीहरु खोली शंकास्पद रकम नेपाल भित्र्याउन खोजेको भेटिएको छ ।

कम्तिमा पनि आधा दर्जन कम्पनी खोलेका उनले एउटै विवरण र व्यहोरा राखेर आफ्नो कम्पनीमा अमेरिकाबाट रकम भित्र्याउने प्रयास गरेका कागजातहरु अनलाइनखबरले फेला पारेको छ ।

शाहले व्यापार, रेमिट्यान्स र लगानीसँग सम्बन्धित आधा दर्जन कम्पनी स्थापना गरी अमेरिकाबाट नेपालमा रकम भित्र्याउन खोजेका थिए । त्यसक्रममा केही रकम अमेरिकाबाट नेपाल भित्रिइसकेको पनि थियो ।

वित्तीय शुद्धिकरणवारे अनुसन्धान गर्ने अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन) ले लगानीको स्रोतबारे शंका गरेपछि नेपाल राष्ट्र बैंकलाई रकम रोक्का गर्न पत्र पठाएको थियो । त्यसका आधारमा राष्ट्र बैंकले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी), सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलगायतका निकायमा अनुसन्धान गर्न र रकम रोक्का राख्न पत्राचार गरेको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकमा तोक लगाएर शाहको रोक्का भएको रकम फिर्ता गर्न दवाव दिएको विवरण खुलासा भएको थियो । त्यसलगत्तै सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन समिती गठन गरेर उनलाई निलम्बन गरेको थियो । विवादास्पद कारोवारमा संलग्न शाहले पत्रकार सम्मेलन गरेर आफूले जायज रुपमा रकम ल्याउन खोजेको दावी गरेका थिए ।

कहाँ कहाँबाट लगानी ?

पृथ्वीबहादुर शाह र अरु केही व्यक्तिहरुले वल्र्ड ट्राभल्स एण्ड इन्भेष्टमेन्ट प्रा.लि., वल्र्ड फस्ट होलिडे प्रा.लि., वल्र्ड वाईड रेमिट प्रा.लि., वल्र्ड एक्सपोर्ट एण्ड इम्पोर्ट प्रा.लि., टाइम्स टुडे पिस होलिडे इन्भारमेन्ट प्रा.लि. स्थापना गरी अमेरिकाका विभिन्न ठाउँबाट रकम भित्र्याएको विवरणबाट देखिन्छ ।

प्राप्त विवरण अनुसार, फरकफरक नामबाट शाहले खोलेका कम्पनीले अमेरिकामा ‘मिसन होलिडे एलसीसी’ नामक कम्पनीसँग सम्झौता गरेको दाबी गरेका छन् । तर अमेरिकाबाट रकम पठाउनेमा उक्त कम्पनी नभई विभिन्न व्यक्तिहरुको नाम छ ।

पृथ्वी बहादुर शाहले आफ्ना कम्पनीका नाममा भित्र्याउने प्रयास गरेको रकमको विवरण । स्रोत : नेपाल राष्ट्र बैंक ।

प्राप्त कागजात अनुसार, शाहको कम्पनी वल्र्ड ट्राभल्स एण्ड इन्भेष्टमेन्ट प्रा.लि.ले ७ पुस २०७७ मा मिसन होलिडे एलसीसी नामक अमेरिकी कम्पनीसँग सम्झौता भएको देखाई ३५ हजार ९०० अमेरिकी डलर नेपाल भित्र्याएको थियो । तर, रकम उक्त कम्पनीले नभई क्याथरिन ग्रिन भन्ने व्यक्तिबाट आएको देखिन्छ ।

तिनै व्यक्तिले भोलिपल्ट अर्थात ८ पुसमा थप २९ हजार ८०० अमेरिकी डलर नेपाल पठाएका थिए । ९ पुसमा वल्र्ड वाईड रेमिट प्रालीलाई अमेरिकाको भर्जिनियाबाट रोवर्ट लाइट नामक व्यक्तिले थप ८० हजार अमेरिकी डलर पठाएको विवरणबाट देखिन्छ ।

नेपालमा कोरोना संक्रमण चरम अवस्थामा पुगेको र त्यसपछि मुलुकको आर्थिक स्थिति कमजोर भएका बेला अमेरिकाबाट पर्यटकहरुको शुल्क संकलन गरेको भनी रकम नेपालमा पठाउने प्रयास भएको देखिन्छ । त्यतिबेला नेपालमा पर्यटकहरु भित्रिएको पत्यारिलो विवरण पेश नभएको राष्ट्र बैंक स्रोत बताउँछ ।

यो कारोवारमा वल्र्ड फस्ट होलिडे प्रालि पनि जोडिन्छ । उक्त कम्पनीका सञ्चालक विजयविक्रम शाहले ६ पुस २०७७ मै ८० हजार अमेरिकी डलर नेपाल भित्र्याएका थिए । अमेरिकाको न्यू्योर्कबाट जुडी अनान सकरिनले त्यो पैसा नेपाल पठाएका थिए ।

राष्ट्र बैंक उच्च स्रोतका अनुसार, बिनोद सुन्दास सञ्चालक रहेको टाइम्स टुडे पिस होलिडे इन्भारमेन्ट प्रा.लि. नामक कम्पनीले ६ जेठ २०७८ मा अमेरिकाबाट ३ लाख ५० हजार अमेरिकी डलर भित्र्यायो । त्यसैगरी अर्का व्यक्ति लक्ष्मण रेग्मीको नाममासमेत रकम भित्रिएको देखिन्छ ।

पृथ्वीबहादुर शाह सञ्चालक रहेको वल्र्ड ट्राभल्स एण्ड इन्भेष्टमेन्ट कम्पनीमा काम गर्ने कर्मचारीका रुपमा आफूलाई चिनाएका रेग्मीले १७ चैत २०७७ मा ४ लाख डलर भित्र्याएका थिए । उनको कम्पनीले मिसन होलिडे एलसीसी नामक अमेरिकी कम्पनीसँग सम्झौता गरेको दाबी गरे पनि जोन स्करिया नामक व्यक्तिले उक्त रकम पठाएका थिए ।

किन ल्याइयो रकम ?

विवादमा तानिएका ३४ वर्षीय शाहले गरेको दाबी अनुसार, उनले अमेरिकाका विभिन्न कम्पनीहरुसँग नेपालमा पर्यटक भित्र्याउनेवारे सम्झौता गरेका थिए । सम्झौता अनुसार अमेरिकामा रहेको कम्पनीले त्यहाँका नागरिकलाई नेपाल भ्रमणमा आउन उत्प्रेरित गर्नुपर्थ्यो ।

नेपाल भ्रमणमा आउने निश्चित गरेमा अमेरिकी नागरिकहरुले यातायातदेखि नेपाल बसाईका क्रममा हुने खर्च, स्वास्थ्य उपचार बीमालगायतको रकमसमेत उतै भुक्तानी गर्ने शाहको दाबी छ । उनले त्यहाँको कम्पनीबाट उक्त रकम आफू र यहाँको कम्पनीको नाममा नेपाल भित्रिने गरेको दाबी गरेका छन् । त्यही क्रममा राष्ट्र बैंकलगायतका निकायले नेपाल भित्रिइसकेको आफ्नो कम्पनीको रकम रोक्का गरेको उनको भनाइ छ ।

पृथ्वी बहादुर शाहले आफ्ना कम्पनीका नाममा भित्र्याउने प्रयास गरेको रकमको विवरण । स्रोत : नेपाल राष्ट्र बैंक ।

 

आधा दर्जन कम्पनीमध्ये एउटाको सञ्चालकमा विजयविक्रम शाह छन् भने अर्कोमा लक्ष्मण रेग्मीलाई कर्मचारी भनी चिनाइएको छ । कम्पनीको नाममा आएको रकमसमेत व्यक्तिको खातामा जम्मा भएको भेटिएको छ ।

कारोवारको विवरण थाह पाएपछि नेपाल राष्ट्र बैंकले व्यक्तिको खातासमेत रोक्का गरेको छ । विभिन्न फाइल र विवरणहरुले पृथ्वीबहादुर शाहसँग जोडिएका कम्पनीमा अरु दुई फरक व्यक्तिलाई सञ्चालक भनी देखाइएको छ । तर, सबै कम्पनी शाह सेरोफेरोका व्यक्तिको रहेको राष्ट्र बैंक स्रोतको दाबी छ । प्राप्त कागजातले पनि त्यसको पुष्टि गर्छ ।

नेपालमा कोरोना संक्रमण चरम अवस्थामा पुगेको र त्यसपछि मुलुकको आर्थिक स्थिति कमजोर भएका बेला अमेरिकाबाट पर्यटकहरुको शुल्क संकलन गरेको भनी रकम नेपालमा पठाउने प्रयास भएको देखिन्छ । त्यतिबेला नेपालमा पर्यटकहरु भित्रिएको पत्यारिलो विवरण पेश नभएको राष्ट्र बैंक स्रोत बताउँछ ।

शाह जोडिएका यी कम्पनीहरुको कारोवार र कर चुक्ताको विवरणले समेत अमेरिकाबाट लेनदेनका क्रममा रकम भित्रिएको दाबी पुष्टि हुन नसक्ने स्रोतले बतायो । राष्ट्र बैंक स्रोतले भन्यो, ‘अमेरिकाबाट भित्रिएको र अलि ठूलो आकारको भएकै आधारमा मात्रै लामो समयदेखि बैंक खाता रोक्का गरिएको होइन ।’

पृथ्वीबहादुर शाहले अदालतमा गरेको दाबी अनुसार, उनका कम्पनीसँग अमेरिकाका विभिन्न कम्पनीले सम्झौता गरेका छन् । तर, नेपालका उनका सबैजसो कम्पनीसँग अमेरिकाको मिसन होलिडे एलसीसी बाहेकका कम्पनीसँग मात्रै सम्झौता भएको उनले राष्ट्र बैंकमा पेश गरेको विवरणबाट खुल्छ ।

उनको दाबी अनुसार सम्झौतापत्रमा चारवटा विषय समावेश छन् । अमेरिकाको कम्पनीले पृथ्वीबहादुर शाह सम्बद्ध नेपाली कम्पनीसँग सम्पर्क गरी नेपाल जान सिफारिस गर्ने, सम्पर्कमा आउने अमेरिकन पर्यटकको नेपाल बसाईका सबै खर्च उतै संकलन गर्ने, विरामी हुँदा स्वास्थ्य उपचार विमालगायतको काम नेपाली कम्पनीले गर्ने, अनि नेपाल आउने पर्यटकहरूले नेपालमा लाग्ने खर्च उतैका कम्पनीहरुलाई बुझाउने ।

शाहको दाबीमा अमेरिकाका ती कम्पनीहरुले संकलित रकम नेपालमा उनको कम्पनीलाई बुझाएका हुन् । शाहले नेपाल भित्र्याएको कुल रकम १३ लाख ७५ हजार ३५० अमेरिकी डलर हुन आउछ । प्रति डलर १२० रुपैयाँका दरले हिसाव गर्दा यो रकम करिब १६ करोड ५० लाख रुपैयाँ हुन्छ । उनले यसबाहेक अरु रकम समेत भित्र्याउने प्रयास गरेको राष्ट्रबैंक स्रोत बताउँछ ।

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?