+
+

एमालेमा उम्मेदवार छान्न सहमति नजुटे आन्तरिक मतदान !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३ गते २०:४६

३ वैशाख, काठमाडौं । नेकपा एमालेबाट पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न धेरै जनाले आकांक्षा राखेपछि मतदान प्रक्रियाबाट टुंग्याउने तयारी थियो । तर महासचिव शंकर पोखरेलको हस्तक्षेपले शुक्रबार तय भएको मतदान प्रक्रिया रोकियो ।

‘मतपत्र प्रकाशित भइसकेको थियो । मेयर पदको उम्मेदवार बन्न आकांक्षा राख्नेहरुले मत मागिसकेका थिए । तर प्रक्रिया नै रोकियो’, एक जिल्ला नेता भन्छन् । महानगर कमिटीले आकांक्षीहरुबीच लामो छलफल राखेपनि सहमति जुट्न नसकेपछि मतदानको विधि अपनाउन नेताहरू सहमत भएका थिए ।

यदि मतदान प्रक्रिया नरोकिएको भए मेयर पदका आकांक्षीहरू मध्ये तीन जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस हुने थियो, त्यसमध्ये एक जना उम्मेदवार चयन हुन्थे । तर महानगरले रोजेको मतदानको विकल्प रोकिएपछि तीन जनाको सट्टा आकांक्षा राख्ने १२ जनाकै नाम केन्द्रीय कमिटीमा सिफारिस गरिएको छ । ‘अब टिकटका लागि काठमाडौंमा नेताहरुको भीड लाग्ने भयो । कम्तीमा तीन जना मात्रै हुँदा संख्या त घट्ने थियो’, ती नेता भन्छन् ।

मतदान प्रक्रियाबाट निर्णय लिँदा आन्तरिक समस्या बढ्न सक्ने भन्दै पोखरामा सबै तयारी सकिएर पनि अन्तिम समयमा मतदान रोकियो । यो मतदान रोकिनुमा एमालेभित्र देखिएको आन्तरिक शक्ति संघर्षले पनि काम गरेको छ । तर पोखरामा मतदान प्रक्रियाबाट उम्मेदवार सिफारिस गर्न केन्द्रीय कार्यालयले रोकेपनि एमालेको कतिपय स्थानीय तहले भने मतदानबाटै निर्णय लिएका छन् ।

२ वैशाखमा डोटीको एउटा गाउँपालिकाले मतदान प्रक्रियाबाटै उम्मेदवार टुंगो लगायो । आकांक्षीहरूबीच सहमति जुट्न नसकेपछि आदर्श गाउँपालिकाको अध्यक्ष उम्मेदवारका लागि मतदान गरिएको थियो ।

गाउँपालिका कमिटीका पदाधिकारी र सदस्यहरू (८९ जना) सोमल मतदानबाट सवैभन्दा बढी मत ल्याएर डम्बरबहादुर वली गाउँपालिका अध्यक्षको उम्मेद्वार बने । वलीले ७८ मत ल्याउँदा नयनबहादुर खड्काले ३६ र जंगबहादुर खड्काले एक मत प्राप्त गरे ।

जबकी आकांक्षीहरुबीच सहमति नजुटे तीनै जनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्न सक्ने विकल्प थियो । १० चैतमा बसेको एमाले स्थायी कमिटी बैठकले गाउँपालिका पदाधिकारीको उम्मेदवार पालिका कमिटीको सिफारिसमा प्रदेश कमिटीले टुंगो लगाउने निर्णय गरेको छ । तर आदर्श गाउँपालिकाले त्यो लामो प्रक्रिया नअपनाई आन्तरिक मतदानबाटै उम्मेदवार टुंगो लगायो ।

डोटीकै जस्तो अभ्यास तनहुँमा पनि भयो । तनहुँको भीमाद नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार सिफारिसको निर्णय मतदान प्रक्रियाबाट टुंग्याएको छ । आकांक्षी संख्या धेरै भएपछि २९ चैतमा भीमाद नगर कमिटीले मतदानबाट सिफारिस गरिने नाम टुंगो लगायो ।

८४ जना नगर कमिटीका सदस्य सहभागी मतदानमा दधिराज सुवेदीले ५८, इमानबहादुर थापाले ५७, मेखबहादुर थापाले ३६ र भवानीशंकर लम्साले १० मत पाए । मेखबहादुर नगरपालिकाका वर्तमान मेयर समेत हुन् । तर उनलाई पछि पार्दै दधिराज र इमानबहादुरको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको छ ।

उपमेयरमा शारदा खनालले ७४, चन्द्रावती श्रेष्ठले ४८, नारायणी गैह्रेले ४७, पवित्रा थापा मगरले ४० र दिना गोतामेले ३१ मत पाए । बढी मत ल्याएकामध्ये शारदा, चन्द्रावती र नारायणीको नाम सिफारिस गरिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीकै गृह जिल्लामा झापामा पनि आकांक्षीहरुको लोकप्रियता मापन गर्न आन्तरिक मतदान भयो । मेचीनगर, बिर्तामोड, भद्रपुर, कन्काइ र शिवसताक्षी नगरपालिकाको पदाधिकारीका आकांक्षी चयन गर्न २७ चैतमा मतदान भएको थियो । तर यो मात्रै टिकट पाउने मानक नभएको भन्दै परिणाम चाहिँ सार्वजनिक गरिएको छैन ।

‘यसलाई अस्वभाविक मान्न हुन्न । यसअघि पनि एमालेले आन्तरिक मतदानबाट उम्मेद्वार टुंगो लगाएको उदाहरण छन्’, एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडाल भन्छन् । आन्तरिक प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्नु जनताको बहुदलीय जनवादले अंगीकार गरेको विधिसमेत भएको उनी बताउँछन् ।

सहमतिमा जोड

एमालेले भने अहिले पार्टी विशेष अवस्थामा रहेकाले सर्वसम्मतिबाट निर्णय लिन जोड दिइरहेको छ । पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल सहित नेताहरु अलग भइसकेपछि एमालेभित्र ‘एकमना एकता’ रहेको अध्यक्ष ओलीले दावी गर्दै आएका छन् ।

आफ्नो दावी प्रमाणित गर्न अध्यक्ष ओलीले सर्वसम्मतिका निम्ति दबाव दिँदै आएका छन् । नेतृत्वले सहमतिमा जोड दिएकै कारण मनोनयन दर्ताको समय नजिकिए पनि केही ठाउँ बाहेक एमालेको उम्मेदवार टुंगिन सकेको छैन ।

जबकी एमालेलाई सत्तारुढ गठबन्धन जस्तो अन्तर दलीय भागबण्डाको झञ्झट छैन । आन्तरिक सहमति वा प्रतिस्पर्धाबाट उम्मेदवार टुंग्याउन सकिने सजिलो र लोकतान्त्रिक प्रक्रिया अपनाउन सक्छ । एमाले आफैंले पनि अन्य दल भन्दा आफू लोकतान्त्रिक भएको दाबी गर्छ ।

‘सकेसम्म सर्वसम्मतिमै जोड दिनुपर्छ । तर आन्तरिक मतदानलाई पनि अन्यथा लिन हुन्न’, केन्द्रीय सदस्य विशाल भट्टराई भन्छन् । अनुशासन आयोगका अध्यक्ष बडाल पनि आन्तरिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने कुराले पार्टी नै बलियो हुने तर्क गर्छन् ।

‘२०४८ र २०५१ सालकै चुनावमा पनि आन्तरिक मतदानबाट उम्मेद्वार टुंग्याएको नजीर छ’ बडाल भन्छन्, ‘म आफैं पनि उम्मेदवार टुंगो लगाउन भएको आन्तरिक मतदानमा सहभागी भएको छु ।’

यद्यपि नेकपा एमालेमा मतदानबाट उम्मेदवार टुंग्याउने नियम छैन र मतदान गर्नुहुन्न भन्ने पनि नभएको बडाल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?