+
+

स्वास्थ्य मन्त्रालयको दाबी : ९० प्रतिशत नेपालीलाई कोरोनाको पूर्ण खोप

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १३:१७

४ वैशाख, काठमाडौं । सरकारले आफ्नो लक्ष्यअनुसार कोरोना भइरसविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ ।

२०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूरा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्र्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । उनले गत वर्षको माघ १४ मा सुरु भएको खोप अभियानको लक्ष्य लगभग पूरा भएको बताए ।

सहप्रवक्ता अधिकारीले सरकारले यो बीचमा लगभग ९५ प्रतिशत खोपको पहिलो मात्रा लगाइसकेको बताए । त्यस्तै ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा खोप लगाएको उनको दाबी छ ।

आगामी दिनमा पनि कोरोनारिुद्धको खोप अभियान जारी रहने र खोपको दायरामा नआएका नागरिकलाई खोपको दायरामा ल्याई खोप अभियानलाई पूर्णता दिने सहपवक्ता अधिकारीले बताए ।

‘चैत मसान्तभित्र १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने भनेर हामीले लक्ष्य राखेका थियौँ । लक्ष्य राखेअनुसार ९० प्रतिशतभन्दा माथि ९४/९५ प्रतिशत खोप एक मात्रा लगाइसकेको छ’ उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १८ वर्षदेखि माथिका एक करोड ९९ लाख २२ हजार १ सय ६४ वयस्कमध्ये एक करोड ८७ लाख २२ हजार ९०६ जनाले खोपको एक मात्रा लगाएका छन् । त्यस्तै १ करोड ६५ लाख ६३ हजार ३ सय ७० जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

त्यस्तै १२ देखि १८ वर्षसम्मका ३४ लाख २५ हजार ४०८ जना बालबालिकामध्ये ९२ प्रतिशत ३१ लाख ४५ हजार ४ सय ५१ जनाले खोपको एक मात्रा लगाएका छन् । २५ लाख ८४ हजार ३ सय २६ जना अर्थात करिब ७५ प्रतिशतले पूर्ण मात्रा लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस बाहेक २३ लाख ७४ हजार ११ डोज अतिरिक्त खोप प्रयोगमा आएको र देशभर हालसम्म उपलब्ध ५ करोड ३३ लाख ८१ हजार ५ सय ७० डोज खोपमध्ये ४ करोड ५ लाख ८५ हजार ५ सय ५७ डोख खोप प्रयोग गरिएको छ ।

सह प्रवक्ता अधिकारीले हालसम्म सरकारले कोरोनाविरुद्धका खोपहरु खेर नफालेको दाबीसमेत गरे । सरकारले दुःख गरेर पाएको खोपलाई महत्वका साथ कसरी प्रयोग गर्न सकिन्छ भन्ने रणनीति बनाएर खोपलाई यथोचित प्रयोग गरिरहेको उनको भनाइ छ ।

उनले कोरोनाविरुद्धका केही खोपहरुको मिति सकिन लागेको भन्दै त्यसलाई सकेसम्म प्रयोग गर्ने तरिकाले खोप नपुगेका स्थानमा म्याद सकिन लागेका खोपबाट खोप अभियान सञ्चालन गरिरहेको पनि बताए ।

सरकारले गत चैत्र २५ गतेदेखि वैशाख १८ गतेसम्म टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । त्यसै क्रममा कोरोनाविरुद्धको खोपलाई पनि समावेश गरेर खोपको दायरामा नआएका नागरिकलाई खोप लगाउने काम जारी राखेको सहप्रवक्ता अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?