+
+

क्याबिनेट श्रेष्ठको संघर्ष र सफलताका कथा: नामले के गर्छ, कामले गर्छ

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ वैशाख ५ गते ९:००

४ वैशाख, काठमाडौं । इनरुवा, सुनसरीका चर्चित पञ्च तथा मन्त्री दिलबहादुर श्रेष्ठले कान्छा छोराको नाम राखे- ‘क्याबिनेट’ । तर, क्याबिनेट पिताले इङ्गित गरेको राजनीतिमा डोरिएनन् । बरु, व्यवसायको बाटो तय गरेर सफलताको फरक मुकाममा उभिन पुगेका छन् । नेपालको व्यावसायिक जगतमा चिर-परिचित उनी ‘अग्नि ग्रुप’का अविचलित नेतृत्वकर्ता हुन् ।

क्याबिनेट नामले राजनीतिक लाग्लान्, तर काम कामले उनी व्यवसायमा दरिए । क्याबिनेटले त्यस्तो कम्पनीलाई जोगाएर ठूलो नाम दिए, जसले १७ वर्षसम्म आफ्नो सञ्चालन खर्च जुटाउनै सकस व्यहोरेको थियो । अहिलेको औद्योगिक-व्यावसायिक पुस्तामा विरलै देखिने धैर्यको नाम पनि हो, क्याबिनेट ।

विभिन्न क्षेत्रमा लगानी गरिरहेको यो ग्रुपको जग बसाल्नेदेखि मजबुत व्यावसायिक संस्था बनाउनेसम्मको काममा क्याबिनेट श्रेष्ठको अनवरत नेतृत्व रहृयो । ३० वर्ष पूरा गरेको अग्नि ग्रुपलाई सफल बनाउन क्याबिनेटले थुप्रै अग्नि परीक्षा दिनुपर्‍यो । हुन पनि, उनी कुनै पनि खालको व्यावसायिक पृष्ठभूमिबाट आएका थिएनन् । उनको सिंगो परिवार राजनीतिमा सक्रिय थियो ।

पृष्ठभूमिको हिसाबले क्याबिनेटलाई राजनीतिमा लाग्नु सहज थियो, तर उनी पारिवारिक विरासतबाहिर केही गर्न चाहन्थे । त्यही हुटहुटीले उनलाई व्यवसायतिर डोर्‍यायो । ‘मेरो परिवारका ठूलोबुवा (ठूलो बावु), बुवा (सानो बावु), दाइ (सिनेट) र भिनाजु मन्त्री हुनुभयो’ क्याबिनेट भन्छन्, ‘म भने भेन्चर आउट गर्नतिर लागें ।’

काठमाडौंमा जन्मिएका उनले कक्षा ५ पछि दार्जीलिङ लगायत भारतका विभिन्न स्कुल, कलेज र विश्वविद्यालयमा शिक्षा हासिल गरे । भारतका विभिन्न ठाउँमा रहँदा सरसंगत पनि राजनीतिबाहेकको क्षेत्रकासँग भएको उनी बताउँछन् ।

‘भविष्यको करिअर रोजाइमा परिवारबाट कुनै नियन्त्रण थिएन’, क्याबिनेट भन्छन्, ‘त्यो स्वतन्त्रताका कारण मनखुसी निर्णय लिएको क्षेत्र हो, उद्योग-व्यवसाय ।’

महिन्द्राले बदलेको बाटो

२५ वर्षको उमेरमा विवाह भएपछि क्याबिनेट पत्नीको साथ-समर्थनमा ‘हिमालय बिजनेस सिस्टम’ नामक कम्पनी खोलेर सूचनाप्रविधि तथा इलेक्ट्रोनिक्स सम्बद्ध बिजनेसमा लागे ।

‘त्यो बेला भारतमा विदेशी लगानी खुलेर बहुराष्ट्रिय कम्पनीहरू आउने क्रम बढेको थियो । उताका कम्पनीहरूसँग नेपाली व्यवसायीले खासै काम भने गर्दैनथे’ उनी सम्झन्छन्, ‘हो त्यहींनेर सम्भावनाको अवसर देखेर सुजन र मैले हिमालय बिजनेस सिस्टम खडा गरेका थियौं ।’

श्रेष्ठ दम्पतीको कम्पनीले भारतीय कम्पनीहरूसँग मिलेर उताबाट टेलिफोन, टाइपराइटर लगायत उत्पादन ल्याएर नेपालमा बिक्री-वितरण गर्न थाले, तर त्यसमा सोचेजस्तो सफलता मिलिरहेको थिएन ।

त्यहीबेला काठमाडौंमा आयोजना भएको ‘डिलर कन्फरेन्स’मा आएका भारतको महिन्द्रा एन्ड महिन्द्रा -हालको महिन्द्रा) कम्पनीका अधिकारीहरूसँग क्याबिनेटको भेट भयो । त्यसपछि उनको व्यावसायिक जीवनले नयाँ मोड लियो ।

त्यतिबेला महिन्द्रा एन्ड महिन्द्रा आफ्नो उत्पादनको बजारीकरणमा मिहिनेत गर्ने कम्पनीको खोजीमा थियो । कम्पनीका अधिकारीहरूले नव युवा क्याबिनेटमा त्यो सम्भावना देखे । योजना र व्यक्तित्व समेत हेरेर महिन्द्रा एन्ड महिन्द्राले नेपालमा उनलाई आफ्नो आधिकारिक डिलर तोक्यो ।

त्यतिबेला नेपालमा महिन्द्राका गाडीहरूको ब्रान्डिङ भइसकेको थिएन । त्यसको डिलरसिप पाएपछि ‘अग्नि इन्कर्पोरेटेड प्रालि’ दर्ता भयो । ‘त्यतिबेला हामीलाई अटोमोबाइल्स क्षेत्रबारे पर्याप्त ज्ञान थिएन । पहिलो वर्ष २५ वटा गाडी बेच्ने लक्ष्य राखेकोमा १४ वटा मात्रै बेच्न सक्यौं’ क्याबिनेट भन्छन्, ‘तर, त्यो समयमा महिन्द्राका लागि त्यो बिक्री संख्या पनि सानो थिएन ।’

सिक्दै, सच्चिंदै अघि बढ्यो अग्नि इन्कर्पोरेटेड । संघर्षका दिनमा देशको व्यावसायिक अवस्था कम्पनी अनुकूल थिएन । टाटा, टोयोटा जस्ता ब्राण्ड स्थापित बजारमा नयाँ कम्पनीलाई चम्काउनु आफैंमा गाह्रो काम थियो ।

‘हामी हरेक वर्ष बजार विस्तार गर्नेमा नलागी एक तहको सफलतालाई केही वर्ष निरन्तरता दिने रणनीतिमा लाग्यौं’ क्याबिनेट भन्छन्, ‘गाडी बिक्रीपछिको सेवालाई चुस्त-दुरुस्त राख्दा ग्राहकको विश्वास जित्दै गइयो । त्यसरी कम्पनीको जग बलियो बनाउँदै बजार बढाउने यो रणनीतिमा महिन्द्राले पनि समर्थन र सहयोग गर्‍यो ।’

‘आफ्टर सेल्स सर्भिस’कै कारण कम्पनीले दिगो ‘ग्रोथ’ गरेको उनी बताउँछन् ।

अग्निका ‘गेम चेन्जर’ गाडी 

अग्नि इन्कर्पोरेटेड प्रालिले काम थाल्दा नेपालमा ‘महिन्द्रा’ लगभग अपरिचित ब्राण्ड थियो । १९९४ मा नेपाली बजारमा ल्याएको १० जना यात्रु बस्न मिल्ने ‘आर्माडा’ जीपले राम्रो प्रभाव पारेको क्याबिनेट बताउँछन् । ‘अनि अग्नि र महिन्द्राले निश्चित सरकारी क्षेत्रमा प्रवेश पायो’ उनी भन्छन्, ‘सरकारी टेन्डरहरू परेपछि नेपालका सडकमा महिन्द्रा भिजिबल भयो ।

त्यसपछि अग्निले ‘मार्सल’ ल्यायो । यो गाडीले पहाडका कच्ची सडकमा राम्रो सार्वजनिक यातायातको छाप छाड्यो । त्यसपछि आएको ‘सवारी’ भन्ने गाडी पनि पहाडी भेगमा निकै भरपर्दो सावित भयो ।

१९९८ मा आएको ‘बोलेरो’ त गाउँ, सहर सबैतिरको ढुवानीमा सर्वसाधारणको साथी नै बन्यो । ‘वैधानिक रूपमा घोषित एक टन क्षमताको यो गाडी अहिले पनि तीन टनसम्म लोड बोकेर कुदिरहेका छन्’ क्याबिनेट भन्छन्, ‘नेपालका पहाडी सडकहरूमा यो लोड हर्स नै सावित भइदियो ।’

हुन पनि, ९ सिटे बोलेरोमा १२ जनासम्म राखेर चलाइन्छ । अग्नि इन्कर्पोरेटेडले सर्भिसिङको सुविधा सहज बनाएकाले महिन्द्राका गाडी धेरैको रोजाइ बनेको क्याबिनेट बताउँछन् । त्यसपछि ‘स्कोर्पियो’ले त कमालै गरेको अनुभव उनले सुनाए ।

महिन्द्रा स्कर्पियो गाडी

उनका अनुसार, २०६४ मा भएको पहिलो संविधानसभा चुनावताका संयुक्त राष्ट्रसंघले दुई महिनाभित्रै आपूर्ति दिनसक्ने गरी ७१ वटा गाडी किन्न चाहृयो । त्यसमा महिन्द्रा मात्रै योग्य ठहरियो र सम्झौता भयो । चुनावमा सेतो रंगका स्कोर्पियोहरू देशभर गुडेपछि महिन्द्राप्रतिको चासो र आकर्षण आमजनमासम्म बढेर गयो ।

‘त्यो बेलासम्म हामी कमर्सियल भेहिकल गाडीका रूपमा चिनिएका थियौं’ क्याबिनेट भन्छन्, ‘प्यासेन्जर सेग्मेन्टमा महिन्द्राको नेपाल दौड स्कोर्पियोले द्रुत बनाइदियो । स्कोर्पियोको दोस्रो मोडल नेपालमा सार्वजनिक भएको एक महिनामै १०० वटाभन्दा बढी बिक्यो ।’

अग्नि ग्रुपको व्यावसायिक यात्राको सबैभन्दा ठूलो चढाइ स्कोर्पियोको आगमन र त्यसमा मानिसहरूको आकर्षण भयो ।

क्याबिनेटका अनुसार महिन्द्राले सुरुमा यो गाडीलाई अफरोड प्रयोगमा धेरै सिफारिस नगर्न भनेको थियो । राम्रो पर्फर्मेन्स भएन भने ब्रान्डको विरासत बिग्रने जोखिम थियो । तर, विदेशी नियोगहरूले नै यो गाडी कच्ची सडकमा लगेर दौडाए । काम पनि अविश्वनीय ढंगले गर्‍यो अनि सबैले स्कोर्पियो किनेर कच्ची सडकमा दौडाए । स्कोर्पियोले कसैलाई निराश नबनाएको क्याबिनेट बताउँछन् ।

यसको मूल्य पनि तुलनात्मक रूपमा सस्तो छ । यो कारण पनि स्कोर्पियोले नेपालमा बजार पिट्यो । महिन्द्राका एक्सयूभी, टीयूभी, केयूभी सिरजका गाडीले पनि अग्नि ग्रुपको साख उचाल्यो ।

१७ वर्षसम्म धैर्य

अग्नि ग्रुपको जन्मदेखि आजसम्मको यात्रालाई सम्झिँदा क्याबिनेट थोरै रोमाञ्चित र भावुक पनि बन्छन् । खासमा ग्रुपको लागि यो यात्रा अरूले देखेजति सजिलो थिएन । अथक् मिहिनेत, अनुशासन, समर्पण र धैर्यको बलमा कम्पनीले यो सफलता पाएको उनी बताउँछन् ।

१४ वटा गाडी बेचेर सुरु भएको उनको व्यावसायिक यात्रा १७ वर्षसम्म वास्तविक खुद नाफामा नै थिएन । नाफा नहुँदा पनि ठिकठाकसँग कम्पनी टिकाउनु कम्ती चुनौतीपूर्ण थिएन । तर, क्याबिनेटलाई कम्पनीको जग बसाएर बजार विस्तार गर्दै लैजाँदा एक न एक दिन नतिजा मिल्छ भन्ने आत्मविश्वास थियो ।

‘चुनौती सामना गर्दै निरन्तर हिंडेका हौं, यसमा श्रम र समय लाग्यो नै’ उनी भन्छन्, ‘अरूले कसरी काम गर्छन् हेर्‍यौं, सिक्दै अघि बढ्यौं, प्यारेन्ट कम्पनी महिन्द्राले पनि हामीलाई निरन्तर सहयोग गर्‍यो ।’

लामो समयसम्म नतिजा नआउँदा पनि अग्नि मैदानमा डटिरहृयो । सिद्धार्थशमशेर राणा, सुरज वैद्य लगायत तत्कालीन मार्केट लिडर टोयोटा, टाटा जस्ता कम्पनीका डिलरहरू साथी र आफन्त हुनु आफ्ना लागि एउटा ‘प्लस प्वाइन्ट’ भएको क्याबिनेट बताउँछन् ।

‘अघि बढ्ने काइदा र प्रणालीले चाहिं आफ्नै बनायौं’ उनी भन्छन्, ‘कम्पनी समस्यामै पर्दा पनि बाहिर सुनाएर हिंडेनौं, किनभने बिजनेस हाँसेरै गर्नुपर्छ । त्यसबाट अन्ततः सुखद नतिजा पायौं पनि ।’

बिजुली गाडीले लेखेको इतिहास

अग्नि ग्रुप नेपालमा विद्युतीय सवारी प्रवर्द्धन गर्ने पहिलो अटोमोबाइल्स कम्पनी हो । अग्निले पहिलो पटक महिन्द्राको विद्युतीय चारपांग्रे ‘रेभा’ भित्र्याएको थियो । त्यसपछि सोही गाडी ‘महिन्द्रा ई-टूओ’का रूपमा आयो । यो ‘पुन्टे बिजुली कार’ विशेषगरी महिला उद्यमी, डाक्टर र कूटनीतिज्ञहरूले बढी किने ।

ईटूओ

मर्मत-सम्भारमा धेरै टाउको दुखाउनु नपर्ने भएकाले पनि यो गाडी लोकपि्रय भयो । ‘एक जना डाक्टरले रातको १२ बजे म्यासेज पठाएर यस्तो राम्रो गाडी बेच्नुभएकोमा धन्यवाद भन्नुभयो’ क्याबिनेट भन्छन्, ‘त्यतिबेला त्यो विद्युतीय गाडी चढ्नेहरूको अनुभव विशेष खालको सुनिन्थ्यो ।’

देशले १८ घण्टासम्मको लोडसेडिङ झेलिरहँदा नेपालमा विद्युतीय सवारी ल्याएर बिक्री गर्ने क्याबिनेटको निर्णयमा अन्य कम्पनीका मित्रहरूले शंका गरिरहेका थिए । विद्युतीय गाडीको मूल्य र भन्सार महसुल दर पनि उच्च रहेको समय थियो, त्यो । त्यसमाथि कारको आकार पनि निकै सानो ।

‘इलेक्टि्रक कार किन्नेहरू परिवारसहित चार-पाँच पटक आएर मात्र निर्णय लिन्थे’ क्याबिनेट सम्झन्छन्, ‘एकपटक इलेक्टि्रक गाडी लिएर जानेहरू भने अरू सवारीमा गएको देखेको छैन ।’

त्यतिबेला विद्युतीय सवारीमा अग्नि ग्रुपको मोनोपोली पनि थियो । ‘करमा सहुलियत दिंदा अरू कम्पनी पनि आउने भएकाले यसमा गम्भीरता पूर्वक सोचियोस् भन्ने सरकारलाई सुझाव दिएको थिएँ’ क्याबिनेट भन्छन्, ‘कर घट्दा आज धेरै कम्पनी बजारमा छन् । यो देख्दा मलाई आनन्द लागिरहेको छ ।’

फैलिंदै अग्नि 

अग्निलाई व्यवसाय बढाउन काठमाडौं बाहिर सेल्स र सर्भिस पुर्‍याउनु चुनौतीपूर्ण थियो । वीरगञ्जमा बिक्री थाल्दा भने निकै दिनसम्म कोही ग्राहक आएनन् । त्यतिबेला मान्छेहरू गाडी किन्ने भनेकै काठमाडौंमा हो भनिठान्थे ।

अब जमाना बदलियो, ग्राहकहरू घरदैलोमै सेवा चाहन्छन्, त्यो भन्नासाथ महिन्द्रा ग्राहकको त्यही चाहना अनुरुप काम गर्दै सफलतापूर्वक अघि बढेको क्याबिनेट बताउँछन् । एक-डेढ घण्टाको ड्राइभमा भेटिने गरी सर्भिस स्टेसनहरू खडा गर्ने योजना कार्यान्वयन भइरहेको उनले बताए ।

यो काममा अनुभवको अधिक उपयोग भइरहेको बताउँदै उनी भन्छन्, ‘अनुभवले भन्छ- ग्राहकको सन्तुष्टि नै हाम्रो लागि सबैथोक हो ।’

उनका अनुसार, तीन जना सञ्चालकले आफैं काम गर्ने गरी स्थापना गरेको यो कम्पनीमा अहिले ७०० जना कार्यरत छन् । सेल्स तथा सर्भिस नेटवर्कमा काम गरिरहेकालाई जोड्दा यो संख्या ४ हजार भन्दा बढी छ ।

३ लाख ७६ हजार रुपैयाँ लगानीमा सुरु भएको कम्पनीले सुरुमा २५ लाख बैंक ऋण लिएको थियो । हालको पूँजीलाई दोब्बर बनाउनुपर्‍यो भने पनि धेरै सोच्न र कुर्न नपर्ने अवस्थामा कम्पनी आइपुगेको छ ।

टेरियस रिसोर्ट

अग्नि ग्रुपले अटोमोबाइल्ससँग जोडिने अन्य व्यावसायिक क्षेत्रमा पनि पँखेटा फिंजाएको छ । यसअन्तर्गत अग्नि इन्कर्पोरेटेडसहित अग्नि इनर्जी, बालाजु अटो वक्र्स, अग्नि होल्डिङ्स, अग्नि हायर पर्चेज, अग्नि लजिस्टिक, अग्नि इक्विपमेन्ट, भेर्दा इन्भेष्टमेन्ट सहितका कम्पनी छन् ।

लाँकुरीभञ्ज्याङको टेरेस रिसोर्ट एन्ड स्पाको लगानीकर्ता पनि यही कम्पनी हो । नेपालगञ्जको सेन्ट्रल प्लाजा होटलमा लगानी गरेर व्यवसाय विस्तार गरिरहेको छ । सामाजिक उत्तरदायित्वको क्षेत्रमा अग्नि फाउन्डेसन क्रियाशील छ ।

सरकारले दिगो र स्थिर नीति ल्याए नेपालमै महिन्द्राको एसेम्बली प्लान्ट खोल्न क्याबिनेट उत्सुक छन् । यसको लागि निश्चित वर्षसम्म परिवर्तन नहुने आर्थिक नीति र कार्यक्रम आउनुपर्ने उनको भनाइ छ । ‘हामी उत्पादनमा जान चाहन्छौं’ उनी भन्छन्, ‘त्यस्तो वातावरण बनाउने सरकारले हो ।’

अग्नि ग्रुप अन्तर्गतका कम्पनीहरूको व्यवस्थापन तहमा १० वर्षभन्दा बढी कम्पनीभित्रै काम गरेकाहरू छन् । कम्पनीले धेरैजसो वर्ष महिन्द्राबाट उत्कृष्टताको अवार्ड पाइरहेको छ । ‘कम्पनीमा मलाई खोजिने भनेको कुनै समस्या सुल्झिँन भने मात्रै हो’, क्याबिनेट भन्छन् ।

एक छोरी मानवस्रोत व्यवस्थापन (एचआर) हेर्छिन्, विकास मामिला मन पराउने अर्की छोरीले भने बिजनेसमा चासो नदिएको क्याबिनेटले बताए । ‘भर्खरै ग्रयाजुएट भएको छोरा बिजनेसमा आउन बाँकी छ’ उनले भने, ‘नयाँ पुस्ता आएपछि कम्पनीले अर्को उचाइ लिन्छ नै ।’

फोटो /भिडियो : आर्यन धिमाल

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?