+
+

‘टाठाबाठाहरूको मिलेमतो भयो, मेरो विरोध छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १०:३४

६ वैशाख, काठमाडौं । तुलसीपुर उपमहानगरपालिकाको मेयरमा माओवादी केन्द्रबाट शेसुराम भण्डारीको दाबी छ । अघिल्लो पटक मेयरमै पराजित भण्डारीले यसपटक पनि टिकट दिनुपर्ने दाबी गरिरहेका छन् ।

गठबन्धनबाट मेयर कसले पाउने निश्चित भइसकेको छैन । आफ्नो पार्टीले मेयरको टिकट पाएको खण्डमा आफूलाई नै दोहोर्‍याउनुपर्ने भण्डारीको जिकिर छ ।

प्रस्तुत छ, स्थानीय तह निर्वाचन र तुलसीपुरको समस्याबारे अनलाइनखबरले भण्डारीसँग गरेको कुराकानीको सम्पादित अंशः

तुलसीपुरमा स्थानीय तह निर्वाचनको चहलपहल कस्तो चल्दैछ ?

सबै राजनीतिक दलले आ-आफ्नो तयारी गरिराख्नुभएको छ । हाम्रो पार्टीका हिसाबले हामी पनि आन्तरिक तयारी नै गरिरहेका छौं । तुलसीपुरमा रहेका ३ हजार ७९० जना पार्टी सदस्य र जवस मोर्चामा संगठित पार्टी सदस्यका बीचमा हामीले ल्याएका गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीलगायत मुद्दा तथा एजेन्डाका बारेमा छलफल तथा प्रशिक्षण गरिरहेका छौं ।

उम्मेदवार चयनका विषयमा के भइरहेको छ ?

आ-आफ्नो तर्फबाट म पनि हुन पाए हुन्थ्यो भनेर आकांक्षा राख्ने कुरा हुने नै भयो । मेरो पनि मेयरमा उठ्ने आकांक्षा छ । म ६४ वर्ष पुगेर ६५ वर्षमा हिंड्दैछु । उमेरको हिसाबले पनि म करिब उत्तरार्द्धतिर पुगेको छु । अघिल्लो पटक यहाँ मेयरको उम्मेदवार नै नपाउने बेला पार्टीले मलाई अगाडि सारेको थियो । त्यो बेला पार्टी र पार्टी सदस्यताको रक्षाका निम्ति म उम्मेदवार बनेको थिएँ । त्यो हिसाबले पनि मेरो आफ्नै खालको भूमिका छ ।

अहिले म ‘सिनियारिटी’ को हिसाबले पनि पार्टीको केन्द्रीय सल्लाहकार, संगठक हुँ । भिजनका हिसाबले पनि म पार्टीको विचारलाई स्थापित गर्न गाउँगाउँमा पुगेर प्रशिक्षककै रूपमा प्रस्तुत भइरहेको छु । त्यसैले पनि मेरो क्रियाशीलतालाई पार्टीले ब्रेक लगाउने छैन भन्ने मेरो विश्वास छ ।

पार्टीले एक जनाको मात्रै नाम सिफारिस गर्छ ?

गर्छ भन्ने मेरो विश्वास छ ।

अघिल्लो पटक तुलसीपुरलाई यस्तो बनाउँछु भन्ने योजना थियो होला, अर्को दलको उम्मेदवारले गरेको कामलाई कसरी लिनुभयो ?

त्यो बेला मैले र मेयरमा चुनाव जित्नुभएका एमालेका उम्मेदवारले राखेका एजेन्डा उस्ताउस्तै थिए ।

हामीले गाँस, बास, कपास र रोजगारीको ग्यारेन्टी संविधानमा त गर्‍यौं, व्यवहारमा गर्न सकेका छैनौं । त्यसलाई व्यवहारमा कसरी लागू गर्न सकिन्छ भन्ने विषयमा मैले स्विट्जरल्याण्डको कथा पनि पढेको थिएँ । गरिबी भएको गाउँ, क्षेत्र, लिंग र गरिब मान्छे भएका ठाउँमा उनीहरूका इच्छा, आकांक्षा अनुसार विकास निर्माण गर्नुपर्छ । कुन कुरामा विकास चाहनुहुन्छ ? के कुरालाई उद्योगमा परिणत गर्न चाहनुहुन्छ ? उहाँहरूको योग्यता र क्षमता के हो ? त्यसको आधारमा प्रविधि र ज्ञानले दीक्षित गरेर अघि बढ्दा आर्थिक उपार्जन हुन्छ ।

म अहिले पनि त्यही अडानमा छु । भौतिक निर्माणको कुरा निरन्तर भइरहने विषय हो । त्यसलाई पछाडि हटाउने भन्ने हुँदैन । मैले विकास गर्नुपर्‍यो भने यो गाउँको सबभन्दा पिछडिएको ठाउँबाट सुरु हुन्छ ।

त्यहाँबाट के कुराको सुरुआत गर्नुहुन्छ ?

ग्रामीण भेगबाट गरिबी निवारणका लागि योजनाहरू सार्ने । त्यो गाउँका मान्छेहरू के चाहन्छन् ? त्यहाँका सबभन्दा सय जना गरिबले के चाहन्छन् ? कसरी उत्पादनमा जोडिन चाहनुहुन्छ ? यसलाई कसरी उद्योगमा परिणत गर्न सकिन्छ ? त्यसमा बैंकले लगानी गर्ने, नगरपालिकाले अनुदान दिने, त्यसले उहाँहरूलाई शिक्षित बनाएर रोजगारी सिर्जना गर्न सकिन्छ ।

त्यसबाट कमाइ भएको पैसा हाम्रो नगरपालिकाको आम्दानी हुन्छ । यस क्षेत्रको विकास हुन्छ । त्यसलाई हामीले मूल्य शृंखलामा बदली गरेर उहाँहरूलाई बाहिर पठाउन सकियो भने त्यो यहाँको ठूलो आम्दानी हुन्छ । यहाँका अहिलेका मेयर र मेरो उस्तैउस्तै धारणा थियो । तर, व्यवहारमा उहाँ त्यसको ठीक उल्टो जानुभयो । हामीले शिक्षा र स्वास्थ्य जनताको अधिकार हुन् भनेर भन्यौं । उहाँले त्यसको उल्टो थुप्रै सरकारी विद्यालय बन्द गरिदिनुभयो । बाध्य भएर विद्यार्थी निजी विद्यालयमा जानुपर्ने भयो । शैक्षिक माफियाहरूको विकास गर्ने काम उहाँले गरेको देखियो ।

त्यसलाई रोक्न के पहल गर्नुभयो त ?

मैले धेरै पहल गरें । म डेलिगेसन गएँ, उहाँलाई भेटेरै भनें । सहकारीको विकास गरौं भनेर पनि भनें । म सहकारीको प्रशिक्षक र अभियन्ता पनि हुँ । तर, उहाँले सहकारीको नाममा १०० वटा बस किनौं न त भन्नुभयो । त्यो त उत्पादनशील कुरा भएन । सहकारीमा जोडिएकाहरूको आर्थिक, सामाजिक र सांस्कृतिक कुरा के हो ? त्यसरी पनि जानुपर्‍यो भनेर हामी गयौं । उहाँले बजारमा ११ तले टावर बनाउँ भन्नुभयो । त्यो पनि भौतिक संरचना र आफ्नो फाइदाका लागि मात्रै । त्यहाँबाट उहाँले थुप्रै कमिसन पनि पाउनुहुन्थ्यो ।

तर यहाँका सिमेन्ट उद्योग आसपासका नागरिकहरू यहाँका नेताहरू सबै बिके, धुवाँ-धुलो, प्रदूषणले तनाव भयो भनेर गुनासो गरिरहेका छन् । यस विषयमा केही सोच्नुभएको छैन ?

सिमेन्ट उद्योगका विषयमा सुरुदेखि नै मेरो विरोध छ । उद्योगहरू सञ्चालन नगर्ने भन्ने होइन, जनतालाई प्रत्यक्ष असर गर्ने ठाउँभन्दा बाहिर वातावरणमैत्री बनाएर गर्नुपर्छ भन्ने हो । यो केही पार्टीका टाठाबाठाहरूको मिलेमतोमा भएको हो भन्ने मेरो निष्कर्ष छ ।

यहाँको नेता त तपाईं पनि हो, अरू पार्टीका नेता भनेका को हुन् ?

अहिले चुनावको बेला भएको हुँदा नाम त भन्दिनँ । तर, त्यसलाई पनि नियमन गर्नुपर्छ भन्ने मेरो सोच छ । मैले विगत ४७ वर्षमा आजसम्म जनताबाट जे कुरा सिकेको छु, त्यसलाई जनताकै हितमा लागु गर्ने कुरा गर्नुपर्छ ।

सिमेन्ट उद्योगमा पुगेर नागरिकका कुरा सुन्नुभएको छ ?

उहाँहरू एकदमै पीडित हुनुहुन्छ । मैले उहाँहरू सबैको कुरा सुनेको छु । उद्योग स्थापना गर्ने समयमा हामीलाई त्यहाँ संलग्न गराइएन । भित्रभित्रै वातावरण मूल्यांकन लगायतका कामहरू भए । त्यो पनि वातावरण मूल्यांकन एकातिर र स्थापना अर्कोतिर भएको छ । बस्तीको बीचमा जसरी जनतालाई असर पुग्ने काम भएको छ, त्यसलाई नियन्त्रण गर्नुपर्छ । अब हामी निर्वाचित भइयो भने यसलाई नियन्त्रण गर्छौं ।

यो पनि पढ्नुस्- 

बस्तीसँगै सिमेन्ट उद्योग : निरीह जनता, उद्योगीको गोजीमा ‘नेता’ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?