+
+

डोटीका ५ गाउँपालिमा एमालेले छान्यो उम्मेदवार

रामहरि ओझा रामहरि ओझा
२०७९ वैशाख ६ गते १३:३६

६ वैशाख, डोटी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले डोटीका पाँच गाउँपालिकाका अध्यक्षका उम्मेदवारहरु टुंगो लगाएको छ ।

एमालेले जोरायल गाउँपालिकाको अध्यक्ष पदका लागि दुर्गादत्त ओझालाई सर्वसम्मत उम्मेदवार बनाएको छ ।ओझा गत निर्वाचनमा सोही पदमा निर्वाचित भएका थिए । ओझाले आफ्ना प्रतिस्पर्धीलाई ६ सय ३६ मतले पछि पारेका थिए ।

यस्तै, सायल गाउँपालिकाको अध्यक्ष पदमा तेजबहादुर डुम्रेललाई सर्वसम्मत उम्मेदवार छानेको छ । डुम्रेल ०७४ को निर्वाचनबाट निर्वाचित अध्यक्ष हुन् । डुम्रेलले प्रतिस्पर्धीलाई ३१९ मतले पछि पारेका थिए ।

आदर्श गाउँपालिकाको अध्यक्षका उम्मेदवारका रुपमा डम्मरबहादुर वली चयन भएका छन् । गाउँपालिकाको अध्यक्षका लागि तीन जनाको दावी परेपछि आपसमा सहमति हुन नसक्दा गाउँ कमिटीका पदाधिकारी र सदस्यहरुले मतदान गरेका थिए । मतदानमा ४१ मत प्राप्त गरी वली अध्यक्षको उम्मेदवारका लागि छानिए ।

उम्मेदवार चयनका लागि बसेको गाउँ कमिटी बैठकमा ८९ सदस्यमध्ये ७८ जना सहभागी थिए । एमाले डोटी जिल्ला कमिटी सदस्य समेत रहेका वली २०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविकको गिरीचौका गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै, बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्षका लागि हस्तबहादुर बुढालाई सर्वसम्मत उम्मेदवार चयन गरिएको छ भने केआई सिंह गाउँपालिकाका लागि तेजबहादुर माझी सर्वसम्मत उम्मेदवार बनेका छन् ।

पाँच उपाध्यक्ष पनि सर्वसम्मत छानिए

एमालेले पाँच गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार छानेको छ । सायल गाउँपालिका उपाध्यक्षमा विष्ना सिंहलाई सर्वसम्मत चयन गरिएको छ । सिंह यसअघि पनि उपाध्यक्षमा बिजयी भएकी थिइन् । यस्तै जोरायल गाउँपालिकाको उपाध्यक्षमा जमुना बोहरालाई नै दोहोर्याइएको छ ।

यस्तै पूर्वीचौकी गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेले पुरानै अनुहार दोहोर्याएको छ । गत स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित निर्मला साउँदलाई उपाध्यक्षमा दोहोर्याएको एमालेले जानकारी दिएको छ ।

केआई सिंह गाउँपालिकाको उपाध्यक्षका लागि धनादेवी कुँवरलाई र बढीकेदार गाउँपालिकाका लागि सपना सिराडीलाई एमालेले छानेको छ ।

अन्यको नाम प्रदेशमा पठाइयो

आवश्यक संख्या भन्दा बढी आकांक्षीहरु भएका पालिकाबाट जस्तो नाम आयो, त्यस्तै प्रदेश कमिटीमा पठाइएको एमाले डोटीका सचिव शेरबहादुर मल्लले जानकारी दिए । मल्लका अनुसार दिपायल सिलगढी नगरपालिकाको प्रमुखका लागि सबैभन्दा बढी ६ जना आकांक्षी छन् ।

बहालवाला नगर प्रमुख मन्जु मलासी, सच्चिदानन्द जोशी, पूर्णराज जोशी, लक्ष्मण मलासी, सशी सोव र प्रेमबहादुर नेपालीको नगर प्रमुखमा दावी छ । यस्तै उपप्रमुखमा जानकी भट्ट, दीर्घ नेगी र लोकबहादुर खड्काको दावी छ ।

शिखर नगरपालिकाको प्रमुखका लागि जिल्ला समन्वय समितिका प्रमुख रामबहादुर ऐर र भिमबहादुर बलायरको दावी छ । यस्तै शिखरमा उपप्रमुखका लागि पदमा बलायर, लक्ष्मी मल्ल र रमा सुताराको दावी छ ।

पूर्वीचौकी गाउँपालिकाको अध्यक्षमा डम्मर डौडी, कृष्णकुमार खड्का र भरतबहादुर बोहराको दावी रहेको छ । बडीकेदार गाउँपालिकाको अध्यक्षमा चक्र घर्ती, तिलक मल्ल र लालबहादुर ताडीको नाम सिफारिस भएको छ ।

आदर्श गाउँपालिकाको उपाध्यक्षका लागि बहालवाला उपाध्यक्ष कमलादेवी ओझा, देवकी बोहरा, जानकी खड्का र शोभा सिंहको दावी छ । बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा ज्ञानु बम र विमला बमले दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?