+
+

आरोहणमा खटिने सम्पर्क अधिकृतमाथि सरकारको कडा निगरानी

बेसक्याम्पमा टिमसँगको तस्वीर अनिवार्य

अच्युत पुरी अच्युत पुरी
२०७९ वैशाख ६ गते १५:५०
फाइल तस्वीर

६ वैशाख, काठमाडौं । हिमाल आरोहणका दौरान हरेक वर्ष सरकारले आफ्ना प्रतिनिधिलाई हिमालमा खटाउने गर्छ । तर, कतिपय सम्पर्क अधिकृतहरु हिमालमा नपुगी भत्ता तथा पारिश्रमिक बुझ्ने गरेको गुनासोका बीच सरकारले यस वर्ष पनि उनीहरुमाथि कडा निगरानी गर्ने भएको छ ।

पर्यटन विभागले सन् २०२२ को वसन्त ऋतुमा पर्वतारोहण दलसँग खटिने सम्पर्क अधिकृतका लागि नियम जारी गरेको छ । जसअनुसार सम्पर्क अधिकृतले पर्वतारोहण दलको आरोहण सकिएपछि आधार शिविरमा आएपछि खिचेको तस्वीर वा भिडियो विभागमा हुने ब्रिफिङका दौरान पेश गर्नुपर्ने भएको छ ।

सम्पर्क अधिकृतहरु पर्वतारोहण दलको अभियान समाप्त नभएसम्म हिमालबाट एक्लै फिर्ता हुन पाउने छैनन् । उनीहरु आधार शिविरमै बस्नु पर्ने छ । सम्पर्क अधिकृत सरकारका प्रतिनिधि भएका कारण हिमालमा आरोहीले पर्वतारोहणबाहेकका गैरकानुनी काम गरेको पाइएमा त्यसलाई रोक्नु पर्ने काममा समेत खटिनु पर्ने भएको छ । हिमालमा भइरहेका र आफ्नो दलका गतिविधि समेत विभागमा नियमित जानकारी गराउन सम्पर्क अधिकृतलाई विभागले सूचित गरेको छ । सामान्यतया एक पर्वतारोहण समूहका लागि एक जना र ठूलो समूह भएमा दुई वा सो भन्दा बढी सम्पर्क अधिकृति समेत खटाउने प्रचलन रहेको छ ।

आधार शिविर जान नसक्ने भए अग्रिम जानकारी दिनु पर्ने

पर्यटन विभागले पर्वतारोहण दलका साथ खटाएको अवस्थामा स्वास्थ्य वा अन्य कारणले आधार शिविरसम्म पुग्न नसक्ने भएमा त्यसको जानकारी विभागमा अग्रिम गराउनु पर्ने भएको छ । त्यस अवस्थामा विभागले वैकल्पिक कर्मचारी खटाउने भएको छ ।

खुम्बु क्षेत्रमा खटाइएका सम्पर्क अधिकृतले सगरमाथा प्रदूषण नियन्त्रण समितिको नाम्चे स्थित कार्यालय र आधार शिविरमा रहेको सो समितिको कार्यालयमा समेत अनिवार्य नाम दर्ता गर्नुपर्ने नियम समेत विभागले सम्पर्क अधिकृतमाथि ल्याएको छ । सगरमाथा यही क्षेत्रमा पर्छ । खुम्बु क्षेत्रबाहेकका हिमालमा खटिने सम्पर्क अधिकृतले भने हिमाल रहेको गाउँपालिका वा वडा कार्यालयबाट आफू त्यहाँ पुगेको प्रमाणित गर्ने कागजात ल्याएर पर्यटन विभागमा अनिवार्य पेश गर्नुपर्ने भएको छ ।

सगरमाथा क्षेत्रमा हुने क्रियाकलापको अनुगमन तथा सहजीकरण गर्न विभागले एक उच्चस्तरीय समिति समेत गठन गरेको छ । सम्पर्क अधिकृतहरुले उक्त समितिमा समेत गतिविधिहरुबारे जानकारी गराउनु पर्ने भएको छ । विभागले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ का प्रावधानको पालनामा समेत सचेत हुन सम्पर्क अधिकृतलाई सचेत गराएको छ ।

के हो सम्पर्क अधिकृतको काम ?

पर्वतारोहणका दौरान हिमालमा खटिने सरकारी कर्मचारीले पर्वतारोहण दललाई परेका समस्या सुल्झ्याउन भूमिका खेल्नु पर्छ । आरोहीको साथमा जाने भरियाले बोक्ने भारीको तौल तोकिएभन्दा बढी भए/नभएको सम्बन्धमा निरीक्षण र अनुगमनको जिम्मेवारी समेत सम्पर्क अधिकृतको हो ।

पर्वतारोहणको प्रगति तथा त्यसक्रममा कुनै घटना वा दुर्घटना भएमा त्यसको छिटो जानकारी विभागमा पठाउने जिम्मेजारी सम्पर्क अधिकृतको हो । हिमालमा सरदार, गाइड वा भरियाबीच मनमुटाव हुन नदिने र झगडा हुन रोक्दै पर्वतीय क्षेत्रमा शान्ति कायम गर्न सरकारी कर्मचारीले भूमिका खेल्नु पर्छ । हिमालमा गैरकानुनी काम भए त्यसलाई रोक्ने र सूचना सरकारलाई दिन समेत कर्मचारीले काम गर्नुपर्छ ।

२३ हिमालमा ७४४ जनाले लिए आरोहण अनुमति

पर्यटन विभागका अनुसार सोमबारसम्म कुल २३ वटा हिमालका लागि ७४४ जना आरोहीले अनुमति लिइसकेका छन् । यसमा कुल ९३ समूह रहेका छन् ।

सोमबारसम्म १५६ महिला र ५८८ जना पुरुषले आरोहण अनुमति लिइसकेका छन् । यसमध्ये सबैभन्दा धेरै सगरमाथामा ३३ समूहका २६३ जनाले अनुमति लिएका छन् । ल्होत्सेमा १० समूहका ९४ जनाले अनुमति लिएको विभागको तथ्यांक छ । सोमबारसम्म विभागले ३९ करोड ५३ लाख ९७ हजार रुपैयाँ रोयल्टी संकलन गरिसकेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?