+
+

लेटाङ घटना : १६ जना बालकलाई अभिभावकको जिम्मा लगाउने आदेश

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १८:५१

६ वैशाख, विराटनगर । जिल्ला अदालत मोरङले लेटाङमा प्रहरीको हत्याको घटनामा संलग्नको आरोपमा पक्राउ परेका १६ जना नाबालकलाई अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी बनाइएका एकजना र अभद्र व्यवहारको मुद्दा चलाइएका १५ जना बालकलाई आफन्तको जिम्मा लगाउने आदेश दिएको हो ।

अदालतले बोलाएको वा खोजेका बेला उपस्थित गराउनुपर्ने गरी अदालतले १६ नाबालकलाई अभिभावकको जिम्मा लगाएको हो ।

न्यायाधीश ढकालकै इजलासले प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका १० जनालाई भने जनही ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

प्रहरी हत्याको मुद्दामा एक बालकसहित १६ जना प्रतिवादी बनाइएको थियो । जसमा पाँच जना फरार छन् । पक्राउ परेका १० जनासँग धरौटी माग गरिएको छ ।

बुढाथोकीका अनुसार विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक मनोज पौडेल पुर्पक्षका लागि थुनामा पठाइएका छन् । न्यायाधीश दुर्गा खड्काको इजलासले जबर्जस्ती करणी उद्योगको आरोपमा शिक्षक पौडेललाई थुनामा राख्ने आदेश दिएको हो ।

लेटाङ घटनामा हालसम्म ७२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेकामध्ये १६ जना नाबालक थिए ।

गत चैत ४ गते लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय शिक्षक पौडेलले १४ वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै चैत ६ गते विद्यालयमा उजुरी परेपछि सुरु भएको विवाद हिंसात्मक बनेको थियो ।

स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरी जवान श्रेष्ठको हत्या भएको थियो । उनको घाटीमा गोली प्रहार भएको थियो । १६ जनालाई प्रहरी जवानको हत्या अभियोगमा प्रतिवादी बनाए पनि गोली प्रहार भएको हतियार र प्रहार गर्ने व्यक्तिको खोजी जारी रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?