+
+

एकीकृत समाजवादीको घोषणापत्र : २०० युनिट बिजुली निःशुल्क, हरेक वडामा खेलमैदान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते २१:११

६ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गरे ।

‘जनमुखी स्थानीय सरकार ः विकास र समृद्धिको आधार’ शीर्षक दिइएको घोषणा पत्रमा विभिन्न महत्वाकांक्षी प्रतिवद्धता जनाइएको छ । घोषणा पत्रमा २०० युनिटसम्म निशुल्क विजुली दिनेदेखि स्वाथ्यलाई पूर्ण निशुल्क बनाउनेसम्मको प्रतिवद्धता जनाइएको छ ।

निःशुल्क स्वास्थ्योपचार

एकीकृत समाजवादीले स्थानीय तहमा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने उल्लेख गरेको छ । निशुल्क उपचारको व्यवस्था गर्ने र जटिल खालका शल्यक्रिया बाहेकका सबै उपचार स्थानीय अस्पतालबाट उपलब्ध गराइने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

‘स्थानीय सरकारको बजेटको एक नम्बर प्राथमिकतामा स्वास्थ्य उपचारलाई राखिने छ’, घोषणा पत्रमा भनिएको छ, ‘जटिल खालका शल्यक्रियाहरू (जस्तै– मुटु, मृगौला, कलेजो, फोक्सो र टाउकोको भित्री शल्यक्रिया) बाहेकका उपचारहरू स्थानीय अस्पतालबाट निःशुल्क रूपमा उपलब्ध गराइने छ ।’

शिक्षामा सुधारको वाचा

माध्यमिक तहको शिक्षा पूरा गरेका विद्यार्थीका लागि सिक्दै र कमाउँदै (लर्न एन्ड अर्न) प्रणाली सुरु गर्ने प्रतिवद्धता एकीकृत समाजवादीको छ । ‘कृषि, स्वास्थ्य, प्रविधिमा उच्च शिक्षा हासिल गर्नका लागि स्थानीय सरकारद्वारा छात्रवृत्ति र सहयोगको व्यवस्था गरिने छ,’ घोषणा पत्रमा भनिएको छ ।

मासिक पाँच हजार लिटर पानी निःशुल्क

एकीकृत समाजवादीले घोषणापत्रमा मासिक पाँच हजार लिटर पानी निशुल्क वितरण गर्ने उल्लेख गरिएको छ ।

‘हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक पाँच हजार लिटर पानी निःशुल्क रूपमा उपलब्ध गराइने छ,’ घोषणा पत्रमा भनिएको छ, ‘खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा अनिवार्य रूपमा पु¥याइने छ ।’

२०० युनिट निःशुल्क बिजुली

स्थानीय सरकारमार्फत् हरेक घरपरिवारलाई वार्षिक रूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने प्रतिवद्धता एकीकृत समाजवादीको घोषणा पत्रमा उल्लेख छ ।

उद्यमशीलता विकासका योजना

उद्यमशीलता विकासका लागि विशेष योजना ल्याउने प्रतिवद्धता घोषणा पत्रमा छ । स्थानीय स्तरमा स्वरोजगार भएका १० जनालाई सम्मान गर्ने समेत उल्लेख गरिएको छ ।

‘स्थानीयस्तरमा व्यवसाय गरी कम्तीमा १० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका उद्यमीहरूलाई पालिकाको वार्षिक साधारणसभामा सम्मान र पुरस्कृत गरिने छ,’ घोषणा पत्रमा भनिएको छ ।

हरेक वडामा खेलमैदान

एकीकृत समाजवादीले हरेक पालिकामा युवा विभाग र हरेक वडामा खेल मैदान बनाउने कार्यक्रम समेत ल्याएको छ । ‘युवाहरू नै वास्तविक श्रमशक्तिका स्रोत हुन्,’ घोषणा पत्रमा भनिएको छ, ‘यस तथ्यलाई बुझेर हाम्रो नेतृत्व रहेका पालिकाहरूले युवा विभाग गठन गर्ने छन् ।’

पालिकास्तरमा रहेको युवा विभागले आफ्नो भूगोलभित्र रहेका १६ वर्षदेखि ४० वर्षसम्मका युवाहरूको तथ्यांक लिने, ती युवाहरूमध्ये बेरोजगारलाई रोजगारी उपलब्ध गराउन स्वरोजगारका विविध योजना बनाउने पनि घोषणापत्रमा उल्लेख छ ।

हरेक वडामा पार्क

हरेक वडामा खैल मैदान बनाउने कार्यक्रम ल्याएको एकीकृत समाजवादीले हरेक वडामा पार्क बनाउने समेत प्रतिवद्धता जनाएको छ ।

‘खेल मैदान र पार्कको अभावमा हाम्रा बालबच्चाको बालापन र युवाहरूको युवापन खोसिँदै छ,’ घोषणा पत्रमा भनिएको छ, ‘यसले गर्दा एकथरी बच्चाहरू मोबाइल र इन्टरनेटका लत्तु (एडिक्ट) भएका छन् भने स्मार्ट फोन किन्न नसक्ने बालबालिकाहरूले कोठामा थुनिएर कुण्ठित हुनु परेको छ ।’

अध्ययनशील मानिसले एकान्तमा बसेर अध्ययन गर्ने र वनभोज (पिकनिक) जाने ठाउँसमेत नभएको भन्दै एकीकृत समाजवादीले यो कमी हटाउन हरेक पालिकामा ठूला आकारका पार्क र वडावडामा साना पार्कको निर्माण आवश्यक छ ।’

हरेक पालिकामा पुस्तकालय

असल पुस्तकले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउने क्षमता राख्ने भन्दै एकीकृत समाजवादीले आफूले जितेका हरेक पालिकमा सुविधासम्पन्न पुस्तकालय निर्माण गर्ने प्रतिवलद्धता जनाएको छ ।

गाउँ शहर सफा बनाउने

एकीकृत समाजवादीले कुहिने र नकुहिने फोहोरको अलग अलग व्यवस्थापन गरेर सफा गाउँ शहर बनाउने प्रतिवद्धता जनाएको छ ।

‘हरेक घरपरिवारलाई कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्न लगाउने र फोहोर संकलन गर्ने गाडीहरूले सोही अनुसार ढुवानी गरी निश्चित स्थानमा भण्डारण गर्ने व्यवस्था गरिने छ,’ घोषणा पत्रमा भनिएको छ । कुहिने फोहोरलाई खाल्डोमा जम्मा गरेर मल बनाउने र किसानलाई न्युनतम मूल्यमा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख गरिएको छ ।

हरेक पालिकामा गुरुयोजना बनाइ सडक

एकीकृत समाजवादीले गुरुयोजना बनाएर मात्र सडक बनाउने प्रतिवद्धता जनाएको छ । ‘हरेक पालिकाहरूले आफ्नो पालिकाभित्रका सडक र यातायातका लागि गुरु योजना बनाइ लागु गर्ने छन्,’ घोषणा पत्रमा भनिएको छ, ‘पालिकाको योजनाविना जथाभावी सडक बनाइ कृषियोग्य जमिन समाप्त गर्ने तथा पर्यावरण बिगार्ने कामलाई कडाइका साथ निरुत्साहित गरिने छ ।’

ज्येष्ठ नागरिक क्लब

हरेक पालिकाहरूले ज्येष्ठ नागरिकहरूका लागि सुविधासहितका क्लबहरू निर्माण गर्ने योजना पनि घोषणा पत्रमा समेटिएको छ ।

हरेक पालिकामा श्रम विभाग

श्रमिकहरूको हितका लागि हरेक पालिकामा श्रम विभाग गठन गर्ने कार्यक्रम घोषणा पत्रमा रोखिएको छ । ‘श्रमिक वर्गको हकहितलाई उच्च प्राथमिकता दिनका लागि हरेक पालिकामा ‘श्रम विभाग’ गठन गरिने छ,’ घोषणा पत्रमा भनिएको छ, ‘यस विभागले पालिकाको भूगोलभित्रका विभिन्न क्षेत्रसँग सम्बन्धित श्रमिकहरूको पेसागत र वर्गीय हक–हित सुरक्षाका लागि विविधि योजना बनाइ काम गर्ने छ ।’

पानीका स्रोत संरक्षण

अन्धाधुन्ध निर्माण भइरहेका विकास संरचनाले पानीका स्रोत सुक्दै गइरहेको भन्दै एकीकृत समाजवादीले त्यसको संरक्षणको योजना ल्याउने प्रतिवद्धता जनाएको छ ।

‘अन्धाधुन्ध निर्माण भइरहेका सिमेन्टका संरचना, फोहोर विसर्जनका कारणले नदी प्रदुषण, वन विनाश, पृथ्वीको बढ्दै गरेको तापमानका कारणले हिमालहरू पग्लिँदै गरेको अवस्था र भूमिगत जलस्रोतको अत्यधिक दोहनले पानीका प्राकृतिक स्रोतहरू सुक्दै जाने अवस्थाले गर्दा हरियालीले भरिएको हाम्रो देशमा मरुभूमिकरणको खतरा बढ्न थालेको देखिन्छ,’ घोषणा पत्रमा भनिएको छ ।

आधुनिक प्रविधिको उच्चतम प्रयोग

स्थानीय सरकारलाई आधुनिक प्रविधिमैत्री बनाउने प्रतिवद्धता एकीकृत समाजवादीको छ । ‘पालिकाभित्रको जमिन, गुठी जमिन, सार्वजनिक जमिन इत्यादिको लगत तथा भूसूचना प्रणाली विद्युतीय माध्यममा राखिने छ,’ घोषणा पत्रमा भनिएको छ ।

त्यस्तै ठेक्का–पट्टामा ईबिडिङबाट टेन्डर भर्ने प्रणाली व्यवस्थित गर्ने, पालिकाले दिनुपर्ने भुक्तानीलाई पूर्णतः बैंकिङ प्रणालीबाट मात्र गरिने उल्लेख छ ।

भ्रष्टाचारमुक्त स्थानीय सरकार

एकीकृत समाजवादीले स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त बनाउने भनेको छ । जनताले सुशासनको पहिलो अनुभूति स्थानीय सरकारबाट गर्ने उल्लेख गर्दै घोषणापत्रमा लेखिएको छ, ‘स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त तथा सुशासनका केन्द्र बनाउनका लागि हाम्रो पार्टीले विशेष अनुगमन गरी आवश्यक उपाय अवलम्बन गर्ने छ ।’

स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त तथा सुशासनको केन्द्र बनाउन चार उपाय पनि उल्लेख गरिएको छ ।

१. स्थानीय तहको निर्वाचनमा उम्मेदवार दाखिला गरेकै दिन हाम्रा उमेद्वारहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने ।

२. जनप्रतिनिधिहरुले निर्वाचित हुनुअघि कुनै कारोबार वा व्यवसाय गरेको भए उक्त व्यवसायको कार्यकारी जिम्माबाट कार्यकालभर अलग भएको घोषणा गर्ने ।

३. जनप्रतिनिधिले कुनै पनि रूपको सम्पत्ति सम्बन्धित स्थानीय सरकारबाट भाडामा लिने गरी परिचालित नगर्ने ।

चुनावी घोषणापत्रमा समाजवादीले पालिकाका विकास निर्माणमा ठेक्का लिने वा सामान आपूर्ति गर्ने खालका आर्थिक स्वार्थका काममा जनप्रतिनिधिहरु सामेल नहुने उल्लेख गरेको छ ।

४. जनप्रतिनिधिले उदाहरण योग्य सादा जीवन बिताउने ।

एकीकृत समाजवादीले सुशासनको मूल्याङ्कनका लागि विशेष योजना संचालन गर्ने योजना पनि अगाडि सारेको छ । योजना अन्तर्गत स्थानीय सरकारहरूले हरेक वर्ष जनताको घरदैलोमा रिपोर्ट कार्ड वितरण गर्ने, ती कार्डमा जनताले स्थानीय सरकारका कामको मूल्याङ्कन गरी अङ्क दिने व्यवस्था गरिनुका साथै जनताका गुनासो सङ्कलन गरिने उल्लेख छ ।

कर कटौतीको योजना

घोषणा पत्रमा एकीकृत समाजवादीले कर कटौतीको विषयलाई पनि अगाडि सारेको छ । पालिकाहरुले आय वृद्धिका लागि विभिन्न वस्तु तथा सेवामा बढी कर लगाएको गुनासो देखिएको भन्दै एकीकृत समाजवादीले आय बढाउन सेवा– सुविधाका क्षेत्रहरु विस्तार गर्ने र अनावश्यक कर कटौती गर्ने योजना अगाडि सारेको छ ।

सुकुम्बासीको व्यवस्थापन

यसैगरी विभिन्न तरिकाले कब्जा भएका सार्वजनिक जमिनको खोजी गर्ने र त्यसलाई पालिकाको मातहतमा ल्याउने एकीकृत समाजवादीको घोषणा छ । भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने विषयलाई पनि घोषणापत्रमा समेटिएको छ ।

पालिकाहरूले आवश्यकताअनुसार प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी वास्तविक सुकुम्बासीलाई उचित व्यवस्थापन गर्ने, अव्यवस्थित वसो बासीको उचित व्यवस्थापन गर्ने, भूमिहीन किसानहरूलाई खेतीयोग्य जमिन उपलब्ध गराउने प्रोत्साहनमुखी कार्यक्रम ल्याउने, घरबारबिहीनका लागि घडेरीसहित घरनिर्माणका कार्यक्रम ल्याइने एकीकृत समाजवादीको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?