+
+

टेलिकमका पूर्वप्रवन्ध निर्देशक अधिकारी ‘प्रवन्धक’ पदमा फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते २०:५१

६ वैशाख, काठमाडौं । नेपाल टेलिकमका  पूर्वप्रवन्ध निर्देशक (एमडी) डिल्लीराम अधिकारी फेरि कम्पनीमा प्रवन्धक पदमा फर्किएका छन् । उनले केही दिनयता टेलिकममा प्रवन्धकको हैसियतमा हाजिरी गर्न थालेको नेपाल टेलिकम स्रोतले बतायो ।

उनी प्रवन्ध निर्देशक बन्नुअघि टेलिकमको १०औं तहमा कार्यरत थिए, अहिले उनी सोही तहमा फर्किएका हुन् । टेलिकम स्रोतका अनुसार उनी टेलिकमको ‘ब्याकबोन सेवा निर्देशनालय’मा फर्किएका छन् ।

सो निर्देशनालयममा विनिता श्रेष्ठ निर्देशक छिन् ।अधिकारी प्रवन्ध निर्देशक रहँदा आफ्नै नेतृत्वकै समितिले कार्यसम्पादन मूल्यांकन गरेर श्रेष्ठलाई प्रवन्धकबाट निर्देशक (११औं तह)मा बढुवा गरेको थियो । श्रेष्ठले नै नेतृत्व गरेको चार जना प्रवन्धक कार्यरत रहेको निर्देशनालयमा अधिकारीले काम थालेका छन् ।

स्रोतका अनुसार उनी कुनै संवैधानिक निकायमा सूचना प्रविधि विज्ञका रुपमा काजमा जान इच्छुक छन् । तर, टेलिकमले उनलाई त्यस्तो अनुमति दिइसकेको छैन ।

२२ पुस २०७५मा एमडी नियुक्त भएका अधिकारी २२ पुस २०७८ मा पदावधि सकाएर विदा भएका थिए । तत्कालीन मन्त्रिपरिषदले अधिकारीलाई प्रवन्ध निर्देशक नियुक्त गर्दा भविष्यमा प्रवन्ध निर्देशकबाट पदमुक्त भए साविककै पदमा फर्किन सक्ने गरी कार्यविधि बनाएको थियो । ३ मंसिर, २०७५को मन्त्रिपरिषद बैठकले टेकिलमभित्रकै कर्मचारी प्रवन्ध निर्देशक बनेर कुनै कारणबस हट्नु परेमा साविककै पदमा फर्किनसक्ने गरी प्रवन्ध निर्देशक पदका लागि विज्ञापन गर्ने निर्णय गरेको थियो ।

टेलिकमको कर्मचारी विनियमावलीमा भएको गत कात्तिकमा भएको संशोधनले पनि अधिकारीलाई फेरि साविककै पदमा फर्किन बाटो खुला राखिदिएको थियो ।  विनियमावलीमा अधिकारीको कार्यकालपछि मात्र लागू हुने गरी प्रवन्ध निर्देशक पदमा काम गरेकाहरु तल्ला पदमा फर्किन नपाउने व्यवस्था गरिएको थियो ।

१ साउन २०७७ देखि नै लागू गरिएको विनियमावलीमा कर्मचारीले चित्त नबुझाएर आन्दोलन गरेका थिए । उनीहरुले प्रवन्ध निर्देशक अधिकारीलाई कार्यकक्षमै थुनेका थिए भने कार्यालय प्रवेशमा रोक लगाएका थिए ।

राजनीतिक नियुक्तिबाट प्रवन्ध निर्देशक भएका प्रवनध निर्देशलाई फेरि यसअघिकै १०औं तह (प्रवन्धक)मा फर्केर काम गर्न बाटो खुलेको पहिलोपटक हो ।

तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको कार्यकालमा टेलिकममा नियुक्त अधिकारीलाई प्रवन्ध निर्देशकपछि प्रवन्धक पदमा फर्किन सक्ने व्यवस्था गरिएकोमा युनियनहरुको असन्तुष्टि थियो । विगतमा पनि प्रवन्ध निर्देशक भएका व्यक्ति पुरानो पदमा नफर्काएकाले अब पनि सो परम्परा कायम रहनुपर्ने काम युनियनहरुले गरेका थिए ।

तर, एक पटकका लागि मात्रै लागू हुने गरी विनियमावली पछि युनियनहरु अधिकारीको विरोधमा उत्रिएनन् ।

विगतमा बुद्धि आचार्य र कामिनी राजभण्डारी आफ्नो कार्यकाल बाँकी छँदै प्रवन्ध निर्देशक पदबाट हट्नुपरेको थियो । तर, उनीहरु साविकको पदमा फर्किएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?