+
+

नेपालगञ्जको मेयर नपाएपछि जसपामा असन्तुष्टि, पार्टी छाड्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १७:४९

७ वैशाख, नेपालगञ्ज । पाँच दलीय सत्ता गठबन्धले नेपालगञ्ज उपमहानगरपालिका नेपाली कांग्रेसलाई दिने निर्णय गरेसँगै असन्तुष्ट बनेका जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता कार्यकर्ताले पार्टी परित्याग गर्ने तयारी थालेका छन् ।

बिहीबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले उपमहानगर बाँडफाँटका क्रममा नेपालगञ्ज उपमहानगरपालिका कांग्रेसलाई दिने निर्णय गरेसँगै जसपा बाँकेका नेताहरू पार्टी परित्याग गरेर छुट्टै निर्वाचन लड्ने तयारी थालेका हुन् ।

बाँके जिल्ला अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरका मेयरका आकांक्षी कमरुद्दिन राईले पार्टीले केन्द्रबाट मनोमानी ढंगले निर्णय गरे आफूहरू अर्कै चुनाव चिह्न लिएर चुनावमा भाग लिने बताए ।

‘हामी गठबन्धन मान्दैनौँ, चुनाव लड्छौँ । पार्टीले मान्दैन भने हामी फरक चुनाव चिह्न लिएर पुरै बाँके जिल्लामा प्रतिस्पर्धा गर्छौं,’ राईले भने, ‘जसले पार्टीको तर्फबाट निर्णय गर्नु भएको छ उहाँहरू आफ्नो तरिकाले अघि बढ्नु हुन्छ होला । हाम्रो जिल्लाका नेता कार्यकर्ता मान्दैनन् । हामी मान्दैनौं ।’

उनले शुक्रबार बिहान जिल्लामा रहेका सबै पालिका अध्यक्ष र वडा अध्यक्षलाई राखेर पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको बताए । ‘सबैलाई बैठकमा बोलाएका छौँ । बिहान ७ बजेदेखि बैठक बसेर १० बजेसम्म निर्णय गरिसक्छौँ,’ उनले भने, ‘त्यसपछि पत्रकार सम्मेलन गर्छौँ ।’

उनले आफू स्थानीयस्तरमा पार्टी निर्माणका लागि मेहनेत गरेको भन्दै केन्द्रबाट पुलिसले जस्तो निर्देशन दिएको भरमा आफू कसैको पछि लाग्न बाध्य नहुने बताए । ‘पार्टीमा किन रहेन ? कार्यकर्ताले गोजीबाट पैसा लगाएर पार्टी चलाउने, कार्यालयको भाडा तिर्ने । माथिबाट आदेश आयो भन्दैमा हामीले कार्यालय नै खाली गर्दिने ?,’ उनले भने, ‘यो गुलामी गर्नका लागि कार्यकर्ता होइनौँ ।’

राईलगायत बाँकेका स्थानीय नेताहरूले केन्द्रमा गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति भएकै बेला नेपालगञ्जमा जसपाले छुट्टै चुनाव लड्ने भन्दै गठबन्धनलाई लिखित पत्र लेखेको थियो । नेपालगञ्ज उपमहानगरसहित बाँकेका पालिकामा छुट्टै निर्वाचन लड्ने तयारी थालेका जसपाका नेताहरूले केन्द्रमा गरेको सहमति नमान्ने भन्दै पार्टी परित्यागको तयारी थालेका हुन् ।

क्ेन्द्रमा बिहीबार गठबन्धन दलबीच भएको सहमतिअनुसार जसपाले जनकपुर उपमहानगरपालिका लिने र कांग्रेसले नेपालगञ्ज उपमहानगर लिने सहमति भएको हो । काठमाडौंमा शीर्ष नेताहरूले निर्णय सार्वजनिक गरेसँगै नेपालगञ्जमा जसपा केन्द्रीय र जिल्ला तहका नेताहरूबीचको छलफलले पार्टी परित्याग गर्ने तयारी गरेका हुन् ।

जसपाबाट बाँकेका प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वमन्त्री मोहम्द इस्तियाक राईले स्थानीयस्तरमा नेता कार्यकर्ताले गरेको जुनसुकै निर्णयमा आफ्नो सहमति हुने बताएका छन् । उनले आफू जसपा दुई नम्बर प्रदेशको जस्तो मात्रै देखिएको भन्दै यही पार्टीमा रहेर दुई नम्बर बाहेकका प्रदेशबाट राजनीति गर्न नसकिनेजस्तो अवस्थामा पुगेको बताए ।

‘स्थानीयस्तरमा साथीहरूले गर्ने निर्णयमा मेरो सहमति रहन्छ । म यहीँ ठाउँमा यीनै साथीहरूको बलमा प्रतिनिधि भएर राजनीति गर्ने तर, उनीहरूको भावनाविपरीत एक्लै हिँड्ने भन्ने हुँदैन,’ उनले भने, ‘भोलि बिहान बैठक बस्ने भनेका छन् । स्थानीय साथीहरूले गर्ने निर्णयमा मेरो सहमति रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?