+
+

२०७४ को स्थानीय निर्वाचन फर्केर हेर्दा : उपमहानगरमा कसको अवस्था कस्तो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते २१:३५

७ वैशाख, काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारमा सहमति जुटाएका छन् ।

सहमतिअनुसार उपमहानगरपालिकातर्फ नेपाली कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको मेयर पद लिनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर लिनेछ ।

नेकपा माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर पद लिनेछ भने धरान र धनगढीको उपमेयर लिनेछ ।

नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयर पद लिनेछ भने इटहरी, बुटवल र तुलसीपुरको उपमेयर लिनेछ ।

जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको मेयर र कलैया र नेपालगञ्जको उपमेयर लिनेछ ।

यो सहमति बनेसँगै ३० वैशाखम हुने स्थानीय तह निर्वाचनको प्रतिस्पर्धा थप रोचक बन्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल, परिवार दल र जनमोर्चाका विद्रोही पक्षसँग स्थानीय तहमा तालमेल गर्ने निर्णय गरिसकेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग पनि केही स्थानीय तहसँग एमालेको तालमेल हुने सम्भावना छ भने लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि चुनावी तालमेलको उत्तिकै सम्भावना छ ।

यो अवस्थामा कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनबीच महानगरसँगै उपमहानगरहरूमा पनि रोचक र चर्को प्रतिस्पर्धा हुने देखिन्छ ।

०७४ मा सम्पन्न स्थानीय तहको मत परिणामलाई आधार मानेर दुई गठबन्धनले यसवर्ष प्राप्त गर्ने सम्भावित मतको केही आंकलन गर्न सकिन्छ । नयाँ मतदाताको निर्णय, उम्मेदवारको छनोट र स्थानीयस्तरमा उनीहरुको लोकप्रियता, यसअघि विजयी उम्मेदवार र पार्टीको कार्यकुशलता र गठबन्धनप्रति दलहरुको इमान्दारिताले यस पटकको मतपरिणामलाई प्रभावित पार्नेछ ।

नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले एमालेको मत कति काट्छ भन्ने निश्चित छैन । एकीकृत समाजवादीले एमालेमा पारेको क्षति स्थानीय तह अनुसार फरक हुन सक्छ ।

त्यस्तै राप्रपाबाट अलग भएर नयाँ पार्टी बनाएका कमल थापाले राप्रपाको कति हिस्सा प्रभावित गर्छन् भन्ने पनि अनुमान गर्न नसकिने छ । यसले पनि गठबन्धनका उम्मेदवारको जित हारलाई प्रभावित पार्नेछ ।

२०७४ सालको मत परिणाम हेर्दा कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको गठबन्धनको अवस्थाको आधारमा ११ उपमहानगरपालिकामा रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

धनगढी उपमहानगरपालिका

०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धनगढीमा नेपाली कांग्रेसका उम्मेदवार नृप वड १४ हजार ३२४ मतसहित निर्वाचित भए । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७, तेस्रो स्थानका माओवादी केन्द्रका उम्मेदवारले १० हजार २०९ र चौथो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवारले ९ हजार ९४६ मत ल्याएका थिए ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुले २०७४ सालमा पाएको मत जोड्दा २४ हजार ७०४ पुग्छ । जुन एमालेले प्राप्त गरेको मत भन्दा १४ हजार ७५८ बढी हो ।

स्वतन्त्र उम्मेदवार हमालले यस पटक पनि आफू मेयरमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् ।

त्यस्तै एमालेबाट वडाध्यक्ष निर्वाचितहरुले पाएको कुल मत १३ हजार ५११ छ भने सत्तारुढ गठबन्धनमा रहेका दलबाट वडाध्यक्ष निर्वाचित उम्मेदवारहरूले २६ हजार ७१३ मत प्राप्त गरेको देखिन्छ ।

धरान उपमहानगरपालिका

धरानमा ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार तारा सुब्बा २० हजार ९७५ मतसहित निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले १६ हजार १०२ मत पाएका थिए ।

यद्यपि २०७६ मंसिरमा भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार तिलक राई निर्वाचित भए । उनले २६ हजार ७०९ मत पाए भने तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाका उम्मेदवार प्रकाश राईले २३ हजार ९१४ मत पाएका थिए ।

०७४ सालको निर्वाचनमा दलहरुले पाएको मतमात्र विश्लेषण गर्दा सत्ता गठबन्धनका दलहरुले पाएको मत २७ हजार २८२ थियो । जुन एमाले उम्मेदवारले पाएको मत भन्दा ६ हजार १८० ले कम हो ।

धरानमा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेकाहरुले पाएको कुल मत २१ हजार ५५ रहेको छ भने सत्ता गठबन्धनमा आवद्ध दलबाट वडाध्यक्षको उम्मेदवार बनेकाहरुले कुल २६ हजार ५७७ मत पाएका छन् ।

यहाँ एमालेभन्दा गठबन्धनका दलका वडाध्यक्षले पाएको मत ५ हजार ५२२ बढी छ ।

इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरपालिकामा गत स्थानीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवार द्वारिकलाल चौधरी २२ हजार ६८९ मत ल्याएर निर्वाचित भएका थिए । हाल गठबन्धनमा रहेका दलका उम्मेदवारले पाएको मत २३ हजार ७१९ देखिन्छ । यस हिसाबले सत्ता गठबन्धन एमालेभन्दा केवल एक हजार ३० मतले अगाडि देखिन्छ ।

इटहरीका २० वडाका वडाध्यक्षका उम्मेदवारले पाएको मत विश्लेषण गर्दा एमालेका उम्मेदवारले २० हजार ९९२ मत ल्याएका छन् । सत्तारुढ गठबन्धनमा रहेका दलका वडाध्यक्षका उम्मेदवारले २५ हजार ७ मत प्राप्त गरेका छन् । वडाध्यक्षको मतमा गठबन्धनका उम्मेदवार चार हजार १५ मतले अगाडि देखिन्छ ।

बुटवल उपमहानगरपालिका

बुटवलमा गत स्थानीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवार शिवराज सुवेदी २३ हजार २४९ मत ल्याएर निर्वाचित भएका थिए । निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २० हजार ८५१ मत पाएका थिए । ०७४ सालमा बुटवलमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।

हाल गठबन्धनमा आवद्ध दलका मेयरका उम्मेदवारको कुल मत २१ हजार ३० मत हुन्छ जुन एमाले उम्मेदवारको भन्दा दुई हजार २१९ मत कम हो ।

बुटवलका १९ वटै वडामा एमालेका वडाध्यक्षका उम्मेदवारले पाएको मत २३ हजार ८४५ छ भने सत्तारुढ गठबन्धनबाट वडाध्यक्षका उम्मेदवार बनेकाहरुले २१ हजार ५७० मत पाएका छन् । यसमा पनि एमाले दुई हजार २७५ मतले पछाडि देखिन्छ ।

नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्जमा गत स्थानीय निर्वाचनमा राप्रपाका उम्मेदवार धवलशमशेर राणा १२ हजार ५१५ मतसहित मेयरमा निर्वाचित भए । निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरेशकुमार कनोडियाले आठ हजार ७३० मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका उम्मेदवारले सात हजार १९८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले ६ हजार ९६५ मत पाए ।

पछिल्लो राजनीतिक समीकरण हेर्दा कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका दलका उम्मेदवारले मेयरमा पाएको मत २१ हजार ३६९ रहेको छ । जुन एमाले उम्मेदवारले पाएको मत भन्दा १४ हजार ४०४ मतले बढी हो ।

अहिले राप्रपा विभाजन भएको अवस्था छ । गत निर्वाचनमा मेयर पदमा निर्वाचित राणा यसपटक उम्मेदवार नबन्ने घोषणा गरेका छन् । उनको पार्टी राप्रपा एक्लै प्रतिस्पर्धा गर्ने तयारीमा छ भने राप्रपाबाट अलग भएको राप्रपा नेपाल एमालेसँगको गठबन्धनमा छ । यो अवस्थामा गठबन्धनबाट बनेका उम्मेदवारको सहज जित हुने देखिन्छ ।

गत चुनावमा वडाध्यक्षहरुले प्राप्त गरेको मत विश्लेषण गर्दा एमाले उम्मेदवारले ८ हजार ७७५ मत प्राप्त गर्दा गठबन्धनमा आवद्ध दलका उम्मेदवारले २३ हजार ७५ मत पाएका छन् । यहाँ गठबन्धन एमालेभन्दा १४ हजार ३०० मतले अगाडि देखिन्छ । त्यस्तै, राप्रपाका वडाध्यक्षहरुले सात हजार ६९५ मत प्राप्त गरेका छन् ।

जनकपुर उपमहानगरपालिका

जनकपुर उपमहानगरपालिकामा गत निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीका उम्मेदवार लालकिशोर साह निर्वाचित भएका थिए । उनले २१ हजार ९०३ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी बनेका काँग्रेस उम्मेदवारले ११ हजार १६४ मत प्राप्त गरेका थिए ।

अहिले तत्कालीन राजपाको महेन्द्रनारायण यादवले नेतृत्व गरेको एउटा समूह जसपामा रहेको छ । तत्कालीन राजपा (हालको लोसपा) ले पनि एमालेसँग गठबन्धन गर्ने निर्णय गरिसकेको छैन । गत निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले केवल चार हजार ८६५ मत ल्याएको देखिन्छ ।

यदि एमालेले लोसपासँग गठबन्धन गरे पनि सत्तारुढ गठबन्धनभन्दा एमाले गठबन्धन झण्डै ५ हजार मतले पछाडि देखिन्छ । त्यस्तै वडाध्यक्षहरुले पाएको कुल मतमा पनि एमाले सत्तारुढ गठबन्धनभन्दा झण्डै १४ हजार मतान्तरले पछाडि छ । यदि लोसपासँग गठबन्धन भएमा यो अन्तर ६ हजारमा झर्नेछ ।

कलैया उपमहानगरपालिका

कलैयामा गत स्थानीय तहको निर्वाचनमा काँग्रेसका उम्मेदवारले १० हजार ९०३ मत ल्याएर निर्वाचित हुँदा एमाले उम्मेदवारले १० हजार ७१६ मत पाएका थिए । तत्कालीन संघीय समाजवादी फोरम (हालको जनता समाजवादी पार्टी) ले ९ हजार ४०४ मत ल्याएको थियो ।

अहिलेको सत्तारुढ गठबन्धनमा आवद्ध दलका उम्मेदवारले २४ हजार ६७८ मत पाएका थिए भने एमालेसँग लोसपाका उम्मेदवार मिल्दा पनि केवल १३ हजार ९६२ मत पुग्छ । फोरम लोकतान्त्रिकका उम्मेदवारले १ हजार ३०६ मत पाएको थियो, उक्त दल अहिले काँग्रेससँग मिलिसकेको छ ।

वडाध्यक्षहरुले पाएको कुल मत हिसाब गर्दा एमालेका उम्मेदवारहरुले ८ हजार ७४६ मत पाउँदा गठबन्धनमा आवद्ध दलबाट उम्मेदवार बनेका वडाध्यक्षहरुले २१ हजार ९३८ मत पाएको देखिन्छ ।

जीतपुरसिमरा उपमहानगरपालिका

गत स्थानीय निर्वाचनमा जीतपुरसिमरामा एमालेका उम्मेदवार कृष्ण पौडेल १४ हजार ८६५ मत ल्याएर निर्वाचित भएका थिए । निकटम प्रतिद्वन्द्वी बनेका कांग्रेसका उम्मेदवारले ११ हजार ९९५ मत प्राप्त गरेका थिए । गठबन्धनमा आवद्ध दलका उम्मेदवारले पाएको मत जोड्दा २३ हजार ३०४ मत ल्याएको देखिन्छ । यो एमालेको भन्दा ८ हजार ४३९ मत बढी हो ।

वडाध्यक्षहरुको कुल मत हेर्दा एमालेका उम्मेदवारले १४ हजार १३ मत पाएका थिए भने गठबन्धन आवद्ध दलका उम्मेदवारसँग २२ हजार ४७३ देखिन्छ । यो एमालेको भन्दा ८ हजार ४६० बढी मत हो ।

हेटौंडा उपमहानगरपालिका

हेटौंडा उपमहानगरपालिकामा गत स्थानीय निर्वाचनमा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा थियो, तर बाजी एमालेले मा¥यो । एमालेका उम्मेदवार हरिबहादुर महत २३ हजार १२४ मत ल्याएर निर्वाचित भए । माओवादी केन्द्रको समेत समर्थन पाएका कांग्रेस उम्मेदवारले २२ हजार ५०९ मत ल्याए ।

गठबन्धन आवद्ध दलका उम्मेदवारले मेयरमा पाएको मत २३ हजार ६१५ पुग्छ । यो एमालेले प्राप्त गरेको मतभन्दा ४९१ मत कम हो । यसपटक एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग तालमेल गरेको छ ।

गत चुनावमा राप्रपाले ६ हजार ८५७ मत प्राप्त गरेको थियो । यसरी हेर्दा एमाले गठबन्धनको उम्मेदवारका लागि यो चुनावमा थप अनुकूलता देखिन्छ ।

वडाध्यक्षका उम्मेदवारहरुको मत हेर्दा पनि हेटौंडा उपमहानगरमा एमाले गठबन्धन बलियो देखिन्छ । एमालेका उम्मेदवारहरुले २१ हजार ७०९ मत ल्याउँदा काँग्रेस गठबन्धनले २८ हजार ३१५ मत ल्याएको देखिन्छ । एमाले एक्लै उभिँदा ६ हजार ६०६ मत ल्याए पनि राप्रपा नेपालका वडाध्यक्षहरुले प्राप्त गरेको मत ७ हजार ५४ देखिन्छ । यद्यपि, राप्रपा र एमाले विभाजनले यो हिसाबकिताब प्रभावित भने हुनसक्छ ।

घोराही उपमहानगरपालिका

घोराही उपमहानगरपालिकामा गत निर्वाचनमा एमालेका उम्मेदवार नरुलाल चौधरी निर्वाचित भएका थिए । उनले २२ हजार ३० मत ल्याउँदा कांग्रेसका उम्मेदवारले १७ हजार ८४८ मत प्राप्त गरेका थिए ।

घोराहीमा माओवादी केन्द्रका उम्मेदवारले १२ हजार ८२ मत पाएका थिए । गठबन्धनमा रहेका दलका उम्मेदवारले मेयरमा पाएको मत एमाले उम्मेदवारले पाएको भन्दा सात हजार ६५३ ले बढी छ ।

वडाध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको कुल मत हेर्दा एमालेभन्दा सत्तारुढ गठबन्धन ११ हजार ६७१ मतले अगाडि देखिन्छ ।

तुलसीपुर उपमहानगरपालिका

तुलसीपुर उपमहानगरपालिकामा एमालेका उम्मेदवार धनश्याम पाण्डे २२ हजार ८५७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उम्मेदवारले १८ हजार ९०३ मत पाएका थिए ।

यहाँ गठबन्धन दलका मेयरका उम्मेदवारले गत निर्वाचनमा २७ हजार ८८७ मत ल्याएको देखिन्छ । यो एमालेले पाएको मतभन्दा ५ हजार ३० मत बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?