७ वैशाख, पोखरा । पोखरा महानगर प्रमुख पद नेकपा एकीकृत समाजवादीले पाउने केन्द्रीय गठबन्धनले निर्णय गरेपछि पोखराका कांग्रेस कार्यकर्तामा तीव्र असन्तुष्टि देखिएको छ । महानगरमा कांग्रेसले आफ्नो दाबी छोडेको छैन । पोखरा एकीकृत समाजवादीलाई दिने निर्णयको विरोधमा महानगर कमिटीले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी नै गरेको छ ।
जिल्ला नेतृत्वले मेयर, उपमेयर सिफारिस प्रक्रिया रोक्न निर्देशन दिए पनि महानगर कमिटीको बुधबार बसेको बैठकले मेयर आकांक्षी १८ जनाकै नाम सिफारिस गर्ने निर्णय गरेको छ । मेयर पदका लागि कमिटीले शुक्रबार आह्वान गरेको सूचनामा शनिबार १८ जनाले आन्तरिक उम्मेदवारी दिएका थिए ।
पोखरा महानगर कमिटी सचिव गणेशबहादुर थापाले जिल्लाले प्रक्रिया रोक्न निर्देशन दिए पनि आफूहरुले आफ्नो दायित्व पूरा गरेको जानकारी दिए । ‘जिल्लाले पक्रिया रोक्न निर्देशन दिएको थियो, तर, हामी रोकिँदैनौं । यहाँबाट सबैको नाम सर्वसम्मत सिफारिस गरेर पठाएका छौं,’ उनले भने, ‘जे गर्छन् अब माथि गर्छन् ।’
महानगर प्रमुखका लागि कांग्रेसबाट बहालवाला प्र्रदेशमन्त्रीसहित १८ जनाले आन्तरिक आवेदन दिएका थिए । सिफारिस हुनेमा बहालवाला मन्त्री विन्दुकुमार थापासहित सुदिपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मल प्रसाद कर्माचार्य, कृष्ण बहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्द प्रसाद तिवारी, गंगाधर पराजुली, विरेन्द्र नारायण विजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, बाबुराम गिरी, गणेश बहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटा छन् । बैठकले पार्टी कार्यालयमा लगाएको ताला खोल्ने निर्णय गरेको छ ।
पोखरा महानगर प्रमुखमा गठबन्धन घटकमध्येका सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र सबैभन्दा सानो दल नेकपा एसले दाबी गर्दै आएका थिए । अघिल्लो चुनाव नतिजाअनुसार कास्कीमा नेकपा एमाले पछि नेपाली कांग्रेस दोस्रो ठूलो बनेकाले पनि पोखरासहित ५ वटै पालिकामा आफ्नो दाबी राख्दै आएको थियो ।
तर, मंगलबार केन्द्रीय गठबन्धन नेतृत्वले पोखराको टुंगो लगाउँद एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो । निर्णयअघि कास्कीका शीर्ष नेतालाई बोलाएर सभापति शेरबहादुर देउवाले विवाद नगर्न र जसले टिकट पाए पनि सहयोग गर्न निर्देशन दिएका थिए ।
तर, कास्कीका कांग्रेस कार्यकर्ता यस निर्णयबाट कास्की कांग्रेस कार्यकर्ता रुष्टमात्रै छैनन्, पार्टी भित्रै किचलो सुरु भएको छ । कांग्रेस जिल्ला पदाधिकारी नै एकाथरि केन्द्रीय नेतृत्वको निर्णय मान्नुपर्ने बताउँदै आएका छन् भने अर्काथरि विद्रोहको तयारीमा छन् ।
कास्कीमा ठूलो संख्या कांग्रेस रहेको र सानो दललाई मत दिएर जिताउन नसकिने कास्की कांग्रेसका सचिव भानु ढकाल बताउँछन् । ‘केन्द्रीय नेतृत्वको यो निर्णय निर्मममात्रै होइन, आत्मघाती नै हो । यसमा पुनर्विचार हुन जरुरी छ,’ ढकालले भने, ‘केन्द्रीय नेतृत्वले कांग्रेसको भविष्य होइन । आफ्नो स्वार्थ हेरे यो अमान्य छ ।’
अघिल्लो चुनावमा महानगर प्रमुख पदमा नेकपा एमालेका मानबहादुर जिसीले कांगेसका मेयर प्रत्याशी रामजी कुँवरलाई १३ हजार ७०२ मतान्तरले पराजित गरेका थिए । तत्कालीन समयमा पनि कांग्रेस र माओवादीबीच तालमेल थियो । ‘अघिल्लो पटक हामी दोस्रो हौं । त्यसैले पनि पोखरा हामीले पाउनुपथ्र्यो,’ ढकाल भन्छन्, ‘डालोबाट मानोमा हाल्दा पोखिन्छ । सहयोग गर्न सक्दैनौं ।’
यसअघि पनि महानगर प्रमुखको भागबण्डाबारे टुंगो लगाउन बसेको गठबन्धन बैठक नसकिँदै कास्की कांग्रेसका सचिवद्वय भानुभक्त ढकाल र देवेन्द्र रानाभाट र महानगर कमिटीले ‘एससँग सहकार्य सम्भावना सकिएको, हैसियतभन्दा ठूलो भाग मागेको’ भन्दै विज्ञप्ति जारी गरेका थिए ।
विज्ञप्ति सार्वजनिक भएपछि गठबन्धन बैठकमा खैलाबैला भएको थियो । त्यसपछि सबै दलका सबै केन्द्रीय नेताले आआफ्ना जिल्ला अध्यक्षलाई फोन गरेका थिए । बैठक तनावपूर्ण भएपछि जिल्ला अध्यक्ष किशोरदत्त बरालले ‘विज्ञप्ति आधिकारिक नभएको’ भन्दै स्पष्टिकरण दिनुपरेको थियो ।
पोखरा एकीर्कत समाजवादीलाई दिने निर्णय पुनर्विचार गर्नुपर्ने यदि एसले नै पाउने भए रुख चिन्हबाट चुनावमा जानुपर्ने कास्की कांग्रेसको सर्त छ । ‘६६–६७ हजार मत भएको कांग्रेसले मुस्किलले २५ सय मत भएको समाजवादीलाई कसरी भोट हाल्न सक्छ ? यदि चुनावनै लड्ने हो भने एसले रुख चिन्हबाट लड्नुपर्छ, सहयोग गर्न तयार हुन्छौं,’ सचिव ढकालले भने ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग यस विषयमा सहमति गर्न कृष्णप्रसाद सिटौलाको नेतृत्वमा टिम नै बनाएको ढकालको भनाइ छ । ‘तर, नेपाल सहमत हुनुभएन । यसरी चुनावलाई अगाडि बढाउन सकिँदैन,’ उनले भने ।
तर, नेपाली कांग्रेस कास्की जिल्ला अध्यक्ष किशोरदत्त बराल भने केन्द्रले अव्यवहारिक निर्णय गरे पनि आफूहरुलाई आधिकारिक जानकारी प्राप्त नभइसकेको दाबी गरे । ‘हामीले पोखरा एकीकृत समाजवादीलाई दिने भनेको सुनेका हौं । आधिकारिक जानकारी आइसकेको छैन,’ उनले भने, ‘तर, शीर्ष नेताले जे निर्णय गरे पनि सम्मान गर्नैपर्छ ।’
छुट्टै उम्मेदवारको तयारी !
केन्द्रीय नेतृत्वले निर्णयमा पुनर्वविचार नगरे र एस रुखबाट लड्न तयार नभए कांग्रेसले आफ्नै उम्मेदवार उठाउने तयारी रहेको नेपाली कांग्रेसका एक जिल्ला नेताले जानकारी दिए ।
‘नगर कमिटीले आफ्नै किसिमबाट तयारी थालिसकेको छ । निर्णय नसच्चिए आफैं उम्मेदवार उठाउँछौं, आफैं लड्छौं,’ ती नेताले भने, ‘गठबन्धन गरेर पनि परिणाम आउँदैन भने त्यो किन चाहियो ?’
तर, महानगर सचिव थापाले भने बुधबारको बैठकले छुट्टै उम्मेदवार उठाउने निर्णय नगरेको सुनाए । ‘छुट्टै उम्मेदवार उठाउने भन्ने निर्णय भएको छैन । मुटुमाथि ढुंगा राखेर भए पनि गठबन्धनलाई सघाउने भन्ने भयो,’ उनले भने ।
पोखरा महानगर आफूहरुले पाउने गठबन्धनमा सहमति भएसँगै एकीकृत समाजवादीको कास्की जिल्ला कमिटीले पोखरा महानगरपालिकाको मेयर उम्मेदवारका लागि दिलु पन्त, श्रीनाथ बराल र धनराज आचार्यको नाम सिफारिस गरिसकेको छ । एकीकृत समाजवादीले पोखरामा १८ हजारभन्दा बढी मतदाता रहेको दाबी गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4