+
+

भोलिसम्म धेरैजसो जिल्लामा सहमति हुन्छ

वर्षमान पुन, नेता, नेकपा मा‌ओवादी केन्द्र वर्षमान पुन, नेता, नेकपा मा‌ओवादी केन्द्र
२०७९ वैशाख ७ गते २०:५८

७ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको सत्तारुढ दलहरुले बुधबार महानगरपालिका र उपमहानरपालिकाका उम्मेदवारको भागवण्डा गरेसँगै देशभरि गठबन्धन गर्ने ढोका खुलेको छलफलमा सहभागी नेताहरु बताउँछन् ।

केही दिनमै नगरपालिका र गाउँपालिकाको समेत भागवण्डा टुंगो लगाएपछि साझा एजेण्डा लिएर चुनावी अभियानमा जाने उनीहरुको तयारी छ । गठबन्धनको सहमति र अबको योजनाबारे सहमतिका लागि छलफलमा रहेका माओवादी केन्द्रका नेता वर्षमान पुनसँग अनलाइनखबरकर्मी बिनु सुवेदीले गरेको संक्षिप्त कुराकानी :

निकै सकसपूर्ण रुपमा महानगर र उपमहानगरको भागवण्डा मिलाउनुभयो । अब गठबन्धन कसरी अघि बढ्छ ?

एकदम खुसी र हर्षका साथ अगाडि बढ्छ । संघीय स्तरबाटै गठबन्धनमा सहमति गरेपछि यसको प्रभाव पर्छ । यो सहमतिको प्रेरणाले भोलि दिनभरिमा धेरैजसो जिल्लाहरुमा (भागवण्डा) मिल्छ । धेरै ठाउँमा मिल्छ भनेर हामीलाई सूचना आएको पनि छ ।

हामी मिलाएर जान्छौं । हामीले उम्मेदवारी लगत्तै महानगर, उपमहानगर र प्रमुख शहरहरुमा शीर्ष नेतृत्वलाई लिएर जाने, पार्टी पंक्तिमा अपिल गर्छौं । खासगरि यो चाहिँ प्रतिगमन विरोधी मोर्चा हो । लोकतन्त्र र संविधान बचाउनका लागि मोर्चाबन्दी हो, यसलाई समर्थन गर्न अपिल गर्छाैं । राष्ट्रिय लहर सिर्जना गर्छौं ।

प्रमुख प्रतिपक्षी दल एमाले अलि अगाडिदेखि नै चुनावी अभियानमा छ, तपाईंहरु अलि धेरै बैठकहरुमा बस्नुभयो । यहाँहरु कहिलेदेखि जानुहुन्छ जिल्ला दौडाहमा ?

उम्मेदवारी दिएलगत्तै हामी जान्छौं । उम्मेदवारी मनोनयन पनि हामी गठबन्धनकै पहलमा साझा कार्यक्रममार्फत गर्छाैं । त्यसपछि मनोनयनलगत्तै संयुक्त सभाहरु गर्छाैं । आआफ्ना कार्यकर्तालाई अपिल गर्छाैं ।

पार्टीहरुको आआफ्नो खालको एजेण्डा छ, गठबन्धन हुने हुँदा त साझा एजेण्डा पनि बन्छ होला नि ?

हामी साझा प्रचार टिम पनि बनाउछौं । साझा कार्यक्रमहरु पनि बनाउँछौं । खासगरि संविधानको रक्षा, लोकतन्त्रको रक्षा, आर्थिक सामाजिक रुपान्तरणका बिषय हाम्रा साझा विषय हुन् । मिल्ने विषयमा हामी संगै जान्छौं । मिल्ने विषय लिएर नै हामीले मतदातालाई अपिल गर्छाैं । नमिल्ने विषयतिर हामी लाग्दैनौं ।

गठबन्धन गर्न तपाईंहरुलाई हम्मे पर्‍यो, त्यसमा विरोध र असन्तुष्टिहरु पनि छन् । त्यो त फेरि गठबन्धनकै लागि चुनौती होइन र ?

तत्काल पार्टीमा र आकांक्षीमा असन्तुष्टि हुनु स्वभाविक हो । एउटै पार्टीमा त आकांक्षी धेरै हुन्छन् । एउटाको नाम सिफारिस हुँदा अर्काे छोड्ने या विरोध हुने हुन्छ भने यो त पाँच दलबीचको गठबन्धन हो । विस्तारै गठबन्धनको आवश्यकता र औचित्य बुझाउँछौं । एक अर्काले गरेका त्यागका कुराहरु बुझाउँछौं र आफ्नो पंक्तिलाई हामीले विश्वासमा लिन्छौं ।

तर गठबन्धनलाई चुनावी अंकगणितका लागि मात्रै गरिएको भनिएको छ । यस्तोमा त्याग गर्नुपर्नेहरु असन्तुष्ट हुनु त स्वभाविक पनि होइन र ?

होइन । चुनावको लागि मात्रै भए त अरु अरु जो पायो त्यहीसँग मिले पनि त हुन्थ्यो । हामीले त्यसो गरेका छैनौं । हामी निश्चित आन्दोलनबाट आएका छौं । प्रतिगमनविरोधी आन्दोलनबाट लाखौं जनता परिचालन गरेर, अदालतसम्म हामी लडेर, संसदसम्म हामी लडेर कायम गरेको गठबन्धन हो । हामी त्यही बाटोमा छौं ।

महानगर र उपमहानगर बाहेक अरु स्थानीय तहमा पनि गठबन्धन गर्नुहुन्छ ?

हो, गर्छाैं ।

कसरी गर्नुहुन्छ ?

प्रदेश र जिल्ला संयन्त्रलाई हामीले पहिले नै जिम्मा दिइसकेका छौं । उहाँहरुलाई आज सहमति गर्दै गर्दा तपाईंहरु छिटोभन्दा छिटो टुंगो लगाउनुस् भनेर निर्देशन पनि गएको छ । भोलिसम्म धेरै कुराहरु टुंगिन्छ, हल हुन्छ होला ।

गठबन्धनप्रति कांग्रेसमै असन्तुष्टि देखिन्छ । त्यसलाई यहाँहरुले कसरी लिनुभएको छ ?

कांग्रेसमा विस्तारै उहाँहरुले संबोधन गर्नुहुन्छ । हामीसँग ०७४ मा गठबन्धन गर्दाका अनुभव पनि छन् । गठबन्धनका बेला आवाजहरु उठ्छन् । पछि विस्तारै साम्य हुँदै गएको हामीले देखेका छौं । अहिले पनि त्यस्तै होला । खासगरि अहिले नेकपा एकीकृत समाजवादी नयाँ पार्टी हो ।

नेकपा एमालेको विगतको लिगेसी यो पार्टीसँग छ । त्यहीलाई आधार बनाएर हामीले पोखरा महानगरको मेयर, काठमाडौं उपमहानगरको उपमेयर, त्यसैगरि उपमहानगरमा पनि एउटा मेयर तीनवटा उपमेयर दिएका छौं । यो पार्टीलाई जिम्मेवारीपूर्वक नै एउटा धारको रुपमा स्वीकार गरेका छौं ।

त्यसले निश्चय पनि केपी ओलीले नेतृत्व गरेको एमालेको भ्रममा रहेका नेता कार्यकर्ताहरुलाई प्रेरणा दिन्छ, हौसला दिनेछ र प्रतिगमन विरोधी मोर्चामा आबद्ध हुने, गोलबद्ध हुने वातावरण बन्छ भन्ने हामीले विश्वास पनि लिएका छौं ।

यस पटक पनि हामी नगर, गाउँहरुमा, वडाहरुमा उहाँहरु (एकीकृत समाजवादी) लाई अलिकति स्पेस दिनेगरी र भ्रममा रहेका कार्यकर्तालाई उहाँहरुको वरिपरि गोलबद्ध हुने वातावरण बनाउनुपर्छ भनेर प्रयत्न गरिरहेका छौं ।

यहाँहरुले गरेका भित्री छलफलअनुसार नेकपा एकीकृत समाजवादीलाई स्पेस दिन माओवादीले त्याग गर्‍यो भनिन्छ । त्यसले माओवादीभित्रै पनि असन्तुष्टि छ । पछि एउटै पार्टी हुने त हो नि भनेर यसो गर्नुभएको हो कि अरु कारण पनि छ ?

त्यस्तो होइन । एकीकृत समाजवादीको स्ट्रेन्थलाई हेरेर, भविष्यको संभावनालाई हेरेर नै हामीले गरेका छौं । कुनै निगाहको रुपमा होइन । स्वभाविक रुपमा नेकपा माओवादीले अलिकति जिम्मेवारीपन देखाएको छ । प्रधानमन्त्रीमा जसरी पनि गठबन्धनलाई टिकाउने, गठबन्धन सुदृढ गर्ने र गठबन्धनमा रहेका दलहरुलाई सम्मान गर्ने र विश्वासमा लिने प्रतिबद्धता देखिन्छ त्यो सकारात्मक छ ।

राष्ट्रिय जनमोर्चा पनि गठबन्धनमा छ, उसलाई यहाँहरुले कसरी समेट्नुहुन्छ ?

राष्ट्रिय जनमोर्चाको बढी प्रभाव रहेको प्युठान, बाग्लुङ, अर्घाखाँचीमा सकारात्मक रुपले छलफल भइरहेको छ । प्युठान र अर्घाखाँचीमा करिब टुंगिएको छ । बाग्लुङको विषय छलफलमै छ । अरु केही ठाउँहरुमा पनि हामी संबोधन गर्छाैं । जसपालाई हामीले सहयोगी, सहकर्मी, सहयात्रीका रुपमा समर्थन गर्छाैं ।

त्यो भनेको प्रमुख वा उपप्रमुखमै जनमोर्चाका उम्मेदवार हुन्छन् भन्ने हो ?

निश्चय पनि । नगरका मेयरहरुमा पनि संबोधन गर्छाैं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?