
१ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिले लोकतन्त्रमाथि, संविधानमाथि, राष्ट्रिय स्वाधिनतामाथि प्रश्न उठेको बताएका छन् ।
माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘…हामी जनताको अवस्था अझ राम्रो हुने गरी अझ उन्नत लोकतन्त्रका लागि लडिरहनेछौं,’ उनको प्रतिबद्धता छ ।
जेनजी आन्दोलनपछि सबैको सोच बदलिएको उनको भनाइ छ ।
‘विश्वभर जेनजी आन्दोलनको तरंग छ,’ उनी थप्छन्, ‘क्रान्तिकारीहरू उनीहरूको भावना समेटेर अगाडि जान चाहन्छन् ।’
जेनजी एउटा उमेर समुह भएको र यो समूह भर्चुअल र डिजिटल प्लेटफर्ममा हुर्किएको पुस्ता भएको उल्लेख गर्दै उनी उनीहरूको चाहना र भावना समेटेर अगाडि बढ्नुको विकल्प नरहेको बताउँछन् ।
उनी भन्छन्, ‘नयाँ पुस्ता डिजिटलमा भेटघाट गर्छन । नेपालमा बसेर अमेरिका, चाइना, भारतमा विजनेश गरिराखेका छन् । नेपालमा बसेर जागीर खाइरहेको छन् । यो पुस्ताको चाहनालाई सम्बोधन गर्नुपर्छ ।’
ज्ञान लिने तरिकामा समेत बदलाव आएको उनको भनाइ छ ।
‘यो पुस्तासँग धेरै सूचना छ । हिजो हामीलाई नोट लेखाएर सिकाउँथे । पहिले पत्रिका छापेपछि सूचना पाइन्थ्यो । अहिले त्यो छैन । अहिले धेरै सूचना छ,’ नेता पुन भन्छन्, ‘रोबोटसँगै हुर्किएको जेनजी पुस्ता हो । यो पुस्तालाई सँगै लिएर जानुपर्छ ।’
जेनजीले सुशासन चाहेको, स्मार्ट विकास चाहेको पनि उनले बताए । विगतमा सडक लगायतका पूर्वाधारमा भएको विकासले मात्रै नयाँ पुस्तालाई नपुग्ने उनको आग्रह छ ।
नेता पुनका नेपालमा अनुसार २० वर्ष अगाडि जम्मा १९ हजार किलोमिटर सडक बाटो थियो । पछिल्लो २० वर्षमा एक लाख २५ हजार किलोमिटर बाटो बनाइएको छ ।
उनी भन्छन्, ‘पञ्चायतकालमा जम्मा ९ हजार किलोमिटर बाटो थियो । बहुदलको १५ वर्षमा जम्मा १९ हजार र यता आएर २० वर्षमा एक लाख २० हजार किलोमिटर बाटो बनायौं । यो परिवर्तन हो । यो क्रान्ति हो ।’
नयाँ पुस्ताले यो भन्दा अझ तिव्रतर विकास खोजेको उनको बुझाइ छ । उनी थप्छन्, ‘अब नयाँ पुस्ताले स्मार्ट विकास चाहेका छन् । सडक छ होइन, नयाँ प्रविधिअनुसारको विकास अपनाउनुपर्ने बाध्यता छ ।’
१९९० मा इन्टरनेट आयो र त्यसपछि इगर्भनेन्समा गएका देशहरू अगाडि बढ्न सकेको उनले बताए । अहिले एआइको जमाना रहेकोले त्यसलाई जेनजी पुस्ताले समातेको बताए ।
यस्तो परिस्थितिमा तत्कालीन सरकारले सामाजिक सञ्जाल बन्द गरेर डिजिटल पुस्तालाई भड्काउने काम गरेको उनको आरोप छ । सामाजिक सञ्जाल बन्द भएपछि जनताको दैनिकीमै प्रभाव परेको र त्यसले आन्दोलनको रुप लिएको उनले बताए ।
नेता पुनले भनेका छन्, ‘भदौ २३ गतेको आन्दोलन असाध्धै राम्रो । तर, पछिल्लो दिन घुसपैठहरू भएका छन । त्यसबारे छानबिन हुनुपर्छ ।’
प्रतिक्रिया 4