+
+
Shares

चुनाव सफल पार्न दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ४ गते १५:३५
Photo Credit : News Agency Nepal
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले २१ फागुनमा तोकिएको निर्वाचन सफल पार्नुको विकल्प नभएको बताएका छन्।
  • पुनले माओवादी केन्द्रले निर्वाचन सफल बनाउन सरकारलाई पूर्ण सहयोग गर्ने र सबै दललाई चुनाव तयारीमा जुट्न आग्रह गरेको बताए।
  • उनले भदौ २३ र २४ गतेका घटनामा संलग्नलाई छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आउँदो २१ फागुनमा तोकिएको निर्वाचन सफल पार्नुको विकल्प नभएको बताएका छन् ।

मंगलबार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित चियापान कार्यक्रममा पुनले माओवादी केन्द्रले निर्वाचन सफल बनाउन सरकारलाई पूर्ण सहयोग गर्ने बताए ।

उनले नेपाली काँग्रेस र एमालेसहित सबै राजनीतिक दललाई पनि चुनावका तयारीमा जुट्न आग्रह गरे ।

‘संविधानलाई सही बाटोमा ल्याउन तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन। हामी चुनावका लागि प्रतिबद्ध छौं र सबै दललाई पनि त्यसको पक्षमा उभिन आग्रह गर्छौं,’ उनले भने ।

उनले केही दिनअघि आफू र नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी माओवादी केन्द्र निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेको जानकारी दिए ।

‘प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो। हामीले भन्यौं— माओवादी चुनावको पक्षमा छ। हामी चुनावी वातावरण बनाउँछौं, तर अरु दलले पनि त्यसका लागि योगदान दिनुपर्छ,’ पुनले भने ।

पुनले भदौ २३ गतेको जेनजी आन्दोलनलाई जनआवाजको सही अभिव्यक्ति भनेका छन्, तर २४ गते भएको तोडफोड र विध्वंस बाह्य घुसपैठीयाले गराएको बताए ।

दुवै दिनका घटनामा संलग्नलाई छानबिन गरी कारबाही गर्न उनले सरकारसँग माग गरे ।

कांग्रेस–एमाले मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकार भ्रष्टाचार र बिचौलियाको स्वार्थमा केन्द्रित भएकाले जनतामा निराशा र आक्रोश फैलिएको उनको दाबी छ ।

जनतामा आम असन्तुष्टि नयाँ पुस्ताको अगुवाइमा ‘जेनजी आन्दोलन’का रूपमा विस्फोट भएको उनको भनाइ छ ।

‘ओलीको निरंकुशता, स्वेच्छाचारिता र भ्रष्ट चरित्रविरुद्ध जनता सडकमा आएका हुन्,’ उनले भने, ‘हामीले पटक–पटक जनताको भावना बुझ्न र कार्यशैली सुधार्न आग्रह गर्यौं, तर सरकारले सुनेन ।’

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि जनताको असन्तुष्टि पहिल्यै बुझेर ‘लाखौं जनता सिंहदरबार र बालुवाटार घेर्न आउँछन्’ भनेको स्मरण गरे ।

तर सो भनाइलाई तोडमोड गरी माओवादीलाई सिंहदरबार जलाउन चाहने शक्तिको रूपमा चित्रण गर्न खोजिएको उनले आरोप लगाए ।

‘प्रचण्डले सिंहदरबार जलाउन भनेका होइनन्, जनतामा बढ्दो असन्तुष्टि सरकारले बुझोस् भन्ने सन्देश दिएका हुन्,’ उनले भने ।

उनले माओवादी र अन्य दल एउटै हुन् भन्ने धारणा स्थापित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै सुशासनका मामिलामा माओवादी फरक रहेको दाबी गरे ।

‘प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा सुशासनका पक्षमा गरेका कदम नै त्यसको प्रमाण हुन्,’ उनले भने ।

पुनले विगतका सबै चर्चित भ्रष्टाचार र अनियमितता प्रकरण छानबिन हुनुपर्ने माग गर्दै आफ्नो दल त्यसमा सहयोग गर्न तयार रहेको बताए । ‘हामी सरकारमा रहेर नेता, कार्यकर्ता वा समर्थकको शिर निहुराउने काम गरेका छैनौं,’ नेता पुनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?