+
+
Shares

प्रचण्डको प्रस्ताव सही छ, आन्दोलन छाडेर भाग्नु हुँदैन : वर्षमान पुन

काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अध्यक्षको प्रस्ताव सही छ । आन्दोलन छाडेर भाग्न हुँदैन’ पुनले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डको प्रस्ताव सही रहेको उपमहासचिव वर्षमन पुनले बताएका छन्।
  • प्रचण्डले केन्द्रीय समिति भंग गरी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्।
  • समूहगत छलफलपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र प्रतिवेदन पारित गर्ने तयारी भइरहेको छ।

१० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमन पुनले अध्यक्ष प्रचण्डको प्रस्ताव सही रहेको बताएका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अध्यक्षको प्रस्ताव सही छ । आन्दोलन छाडेर भाग्न हुँदैन’ पुनले भनेका छन् ।

केन्द्रीय समितिको बैठकमा समुहगत छलफल जारी छ । एउटा समूहको निष्कर्ष राख्न दिने र एक जना पदाधिकारीलाई बोल्न दिने गरी केन्द्रीय समितिको बैठक चलिरहेको छ । जहाँ समुहगत छलफलका साथै पदाधिकारीका धारणा समेत प्रस्तुत भइराखेका छन् ।

पुन अगाडि नेताहरू हरिबोल गजुरेल, अग्नि सापकोटा, मातृका यादव, राम कार्की लगायतले बोलेका छन् ।

उपत्यका विशेष प्रदेश, लुम्बिनी प्रदेशको निष्कर्ष पनि प्रस्तुत भइसकेको छ । नेता रहिश साहका अनुसार लुम्बिनी प्रदेशबाट अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई पुर्ण समर्थन गरिएको छ । महाधिवेशन मंसिरमै गर्नुपर्छ भन्ने मतमा सबै सहमत छन् । मसिंरमा कहिले गर्ने गते तोकेर जानुपर्ने सुझाव प्रस्तुत भएको छ ।

महासमिति बनाएर संयोजक प्रचण्डलाई नै तोकेर महाधिवेशनमा जानुपर्ने सुझाव प्रस्तुत भएको छ ।

उपत्यका विशेष प्रदेशले पनि प्रचण्डकै नेतृत्वमा महाधिवेशनमा जाने निष्कर्ष सुनाएको छ । ‘आत्मालोचना गर्ने, नातागोतावाद तोड्ने प्रतिवद्धता भने सबैले गर्नुपर्ने’ सुझाव प्रस्तुत भएको छ ।

काठमाडौंको प्रज्ञा भवनमा बिहीबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको डकुमेन्ट प्रस्तुत भएका थिए ।

प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् । आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका छन् । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवहाक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका छन् ।

उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका छन् । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने उनको प्रस्ताव छ ।

तीन वटै प्रस्तावमाथि छलफल गरेर समूहगत निष्कर्ष प्रस्तुत गर्नेक्रम चलिरहेको छ । समुहगत छलफल सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र प्रतिवेदन पारित गरेर बैठक सक्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?