+
+

स्टार खेलाडीको गुमनाम बहिर्गमन

नमिता दाहाल नमिता दाहाल
२०७९ वैशाख ८ गते ८:५६

८ वैशाख, काठमाडौं । अघिल्लो साता एसियन कप क्वालिफायर खेलेर फर्किएलगत्तै राष्ट्रिय फुटसल टोलीका कप्तान अनिश श्रेष्ठले सन्यासको घोषणा गरे । यो उनकै टिममेटकै लागि पनि आश्चर्यजनक निर्णय थियो । तर, अनिशले प्रतियोगिताका लागि किर्गिस्तान जानुअघि नै निर्णय गरिसकेका थिए- राष्ट्रिय जर्सीमा यो मेरो अन्तिम प्रतियोगिता हुनेछ ।

घरेलु फुटसलका स्टार गोलरक्षक अनिश नेपाली फुटसलका पहिलो अन्तर्राष्ट्रिय खेलाडी हुन् । फुटसललाई खेलको रुपमा स्थापित गर्ने प्रक्रियामा महत्वपूर्ण योगदान दिन पाएकोमा उनी आफ्नो करिअर सार्थक भएको मान्छन् ।

६ वर्षमा तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर सामाजिक सन्जालमार्फत सन्यासको घोषणा गरेका अनिसको यो निर्णयबारे आधिकारिक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)लाई औपचारिक जानकारी छैन । एन्फाका फुटसल हेड विनोद गुरुङले राष्ट्रिय कप्तानको सन्यासबारे अनभिज्ञता प्रकट गरे ।

२५ वषर्ीय अनिशले अझै केही वर्ष सक्रिय रुपमा फुटसल खेल्न सक्छन् । राष्ट्रिय टिमको कप्तानी गर्ने अवसर पाइरहेकै थिए । अचानक यो निर्णय किन आयो ? अनिश भन्छन्, ‘यो निर्णय अचानक गरेको होइन । कसैको दबावमा गरेको पनि होइन । तर किर्गिस्तान जानुअघि नै मैले यो मानसिकता बनाइसकेको थिएँ कि अब फुटसलले मात्र जीवनमा केही परिवर्तन हुने छैन ।’

सन् २०१७ मा पहिलोपल्ट राष्ट्रिय टिम निर्माण भएयता नेपालले तीनपल्ट एसियन कप छनोटका रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छ । पछिल्लोपल्ट नेपालले एसियाली पावरहाउस उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानसँग खेल्यो । अफगानिस्तानसँगको अन्तिम खेलमा आराम पाएका अनिसका लागि ताजिकिस्तानसँगको खेल नै अन्तर्राष्ट्रिय करिअरको अन्तिम हुन पुग्यो ।

‘देशको झण्डामुनि राष्ट्रिय जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रिन पाउनु आफैंमा गर्वको कुरा हो । मलाई पनि आफ्नो क्षमताले भ्याएसम्म अन्तर्राष्ट्रिय खेलहरु खेलौं भन्ने नै थियो । तर, फुटसललाई नै करिअर बनाउने बेला भएको रहेनछ,’ अनिशले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘६ वर्षमा तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा हामीले धेरै कुरा सिकेका छौं । एउटै कुरा के खट्किन्छ भने एकपटक पनि देशका लागि जित निकाल्न सकिनँ ।’ नेपालले अहिलेसम्म खेलेका ९ वटा अन्तर्राष्ट्रिय खेलमा जित हासिल गर्न सकेको छैन ।

सन् १९३० देखि दक्षिण अमेरिकाको उरुग्वेमा बास्केटबल कोर्टबाट सुरु भएको फुटसलको विश्वकप प्रतियोगिता सन् १९८९ र एसियन कप सन् १९९९ देखि आयोजना हुन थालेको हो । विश्व फुटबल महासंघ -फिफा) अन्तर्गत नै यो खेलको विकास र विस्तार भइरहेको छ । फिफा मातहतको फुटसल विकास र विस्तारको जिम्मा नेपालमा एन्फाको हो । नेपालमा फुटसलको संरचना विस्तारको क्रममा छ । घरेलु संरचना र पूर्वाधार विकास निकै सुस्त गतिमा हुँदा फुटसल अझै पनि आकर्षक खेल बन्न सकिरहेको छैन ।

सन् २०११ देखि नेपालमा फुटसलको व्यवसायिक सुरुवात भएको हो । सानो मैदानमा कृतिम घाँसे मैदानमा खेलिने मिनी फुटबललाई फुटसल भनेर प्रचार गरिँदा नेपालले अपेक्षाकृत अन्तर्राष्ट्रिय सफलता पाउन नसकेको तथ्यमा एन्फा पनि बेखबर छैन । पार्केटिङ सतहमा विशेष म्याट विछ्याएर कम्तिमा ४२ मिटर लम्बाइ र २५ मिटर चौडाइको कोर्ट नै वास्तविक फुटसल खेल्ने स्थान हो । नेपालमा अहिलेसम्म एउटै पनि सार्वजनिक फुटसल मैदान छैनन् । एन्फाले यसपल्ट पनि विगतका प्रतियोगिता जस्तै मिनी फुटबल कोर्टमै अभ्यास गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पुगेको थियो । फुटसल अहिले शहरीय जीवनशैली बाँचेकाहरुलाई फिटनेस र तौल घटाउने माध्यमको रुपमा परिचित छ ।

अनिश्चित भविष्य

ललितपुर गोदाबरीमा अनिशले सुरुवातदेखि नै यसलाई व्यवसायिक बनाउन लागि परे । शनिबारीय प्रतियोगिताहरुमा उत्कृष्ट खेल्दै राष्ट्रिय टिमको कप्तानीसम्म पुगेका उनलाई विगतमा फर्किंदा कुनै पछुतो छैन तर भविष्य पनि देखिरहेका छैनन् ।

‘सन् २०१७ मा पहिलोपल्ट राष्ट्रिय टोलीमा खेलेका खेलाडीमध्ये मणि (लामा) र ममात्र अहिलेसम्म निरन्तर थियौं । ६ वर्षको अन्तरमा १२ जना खेलाडीले किन फुटसल खेल्न छाडे ? पहिलो कप्तान र पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता सुरज राउत कहिले कहाँ छन् ?,’ अनिशले प्रतिप्रश्न गरे, ‘राष्ट्रिय टोलीबाट खेलिसकेपछि सबैको एउटा अपेक्षा हुन्छ । व्यक्तिगत रुपमा, पारिवारिक रुपमा अनि समाजबाट पनि । अन्तर्राष्ट्रिय खेलाडी भएर हामी फेरि शनिवारीय प्रतियोगिता खेल्न जाने ?’

अनिशको यो अभिव्यक्तिबाट प्रष्ट छ नेपालमा फुटसलको व्यवसायिक सुरुवात हुन जरुरी छ । एन्फाले वर्षमा एकपल्ट ए डिभिजन लिग आयोजना गर्छ । मुस्किलले एक महिनाका लागि खेलाडी व्यस्त हुन्छन् । त्यसपछिको ११ महिना के गर्ने भनेर कुनै योजना छैन । नकआउट प्रतियोगिता आयोजना हुने गरेका छैनन् ।


‘फुटबलमा नेपाल सुपर लिगको सुरुवात भएको छ । अन्य नकआउट प्रतियोगिता पर्याप्त हुन्छन् र खेलाडी वर्षभरि नै व्यस्त हुन्छन्,’ ए डिभिजन फुटसलको सर्वोत्कृष्ट गोलरक्षक अनिश भन्छन्, ‘हामीले फुटबल जत्तिकै अवसर खोजेका होइनौं तर करिअर भनेर खेलमा नै भर पर्ने अवस्था नेपालमा छैन । दुई वर्ष तयारी गरेर प्रतियोगिता खेल्नु र दुई वर्षमा एक महिना तयारी गरेर खेल्नुमा फरक पर्छ नि ।’

सन्यासबारे अनिस थप्छन्, ‘जिम्मेवारीले थिच्दै जाने रहेछ । घरबाट त कुनै प्रेसर छैन तर आफ्नै भविष्य नदेखेपछि मैले सन्यास लिएको हुँ ।’ उनले राष्ट्रिय टिमबाट नखेले पनि घरेलु प्रतियोगिता भने खेल्ने बताए । अनिशको कप्तानीमा रहेको शंखमुल फुटसल क्लब गत असोजमा पोखरामा आयोजित प्रथम संस्करणको ए डिभिजन फुटसल लिगमा उपविजेता भएको थियो ।

द लास्ट मिनेट हुँदै निर्माण भएको शंखमुल टिम घरेलु फुटबलको महारथी टिम हो । राष्ट्रियस्तरको अधिकांश प्रतियोगितामा शंखमुल उपाधि दावेदार रहँदै आएको छ भने निरन्तर सशक्त प्रदर्शन गरिरहन्छ । फुटसलको राष्ट्रिय टोलीमा अनिशसहित तीनजना खेलाडी शंखमुलका छन् ।

‘फुटसलबाट नेपाललाई चिनाउन सक्छौं’

एक्सपोजर र लगानीमा ध्यान दिँदा फुटबलको तुलनामा फुटसलले ठूलो प्रगति गर्न सक्ने अनिशको घारणा छ । दक्षिण एसियामा फुटसलको विस्तारमा ढिला भइरहँदा पनि नेपालले अन्तर्राष्ट्रिय विकासमा समस्या देखिन्छ ।

‘सन् २०१७ मा पहिलो अन्तर्राष्ट्रिय खेल नै हामीले एसियाको महारथी टोली उज्वेकिस्तानसँग खेल्यौं । सुरुवाती दुई खेलबाट पाएको अनुभवले हामी तेस्रो खेलमा तुर्कमेनिस्तानलाई पहिलो हाफ ३-३ को बराबरीमा रोक्न सक्यौं,’ अनिश पहिलो अन्तर्राष्ट्रिय भ्रमण स्मरण गर्छन्, ‘त्यो भनेको हामी एउटा शैलीमा आइसकेका थियौं । त्यसलाई निरन्तरता दिन सकेनौं । ठूला प्रतियोगिताअघि अन्तर्राष्ट्रिय अभ्यास खेल पनि खेल्न पाउँदैनौं ।’

गत प्रतियोगिताको पहिलो खेलमा नेपालले उज्वेकिस्तानसँग ५-१ ले पराजित रह्यो । उज्वेकिस्तान जस्तो देशका खेलाडीहरु नेपालसँग खेल्दा आत्तिएको पाएका अनिश भन्छन्, ‘विश्वमा फुटबल टिमको तुलनामा फुटसल खेल्ने टिम कम छन् । कम टिम हुँदा प्रतिस्पर्धा कम हुन्छ ।’

अहिलेको प्राथमिकता- राम्रो प्रशिक्षक

फुटसल र फुटबल निकै फरक खेल हो प्राविधिक ज्ञान तथा फिजिकल फिटनेस फुटसलमा फुटबलमा भन्दा धेरै चाहिन्छ । फुटबलको मैदानको स्वरुप, खेलाडी संख्या तथा फुटसलको खेलाडी संख्या र मैदान निकै फरक पर्छ ।

नेपालमा हेर्ने हो भने २०७८ मा आएर मात्रै ए डिभिजन फुटसल लिग भयो । पोखरा रंगशालाको कभर्डहलमा ह्याण्डबलको म्याट विछ्याएर गरिएको लिगमा देशभरबाट छानिएर आएका १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।

फुटसलको लोकपि्रयता र प्रतिस्पर्धा सन्तोषजनक भए पनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य प्रशिक्षककोे आवश्यकता भएको अनिश बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म फुटसल पृष्ठभूमिका प्रशिक्षक हामीले पाएका छैनौं । दक्ष प्रशिक्षक ल्याउने र विदेशी खेलाडीसमेतको सहभागितामा एनएसएलजस्तो फ्रे न्चाइज प्रतियोगिता आयोजनाको समय भइसकेको छ ।’

तस्वीर : शंकर गिरी 

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?