 
																						११ वैशाख, काठमाडौं । काठमाडौंको रत्नपार्क नेपालको राजनीतिक परिवर्तनसँग जोडिएको, २०६२/६३ सालको जनआन्दोलनमा जनता जागेको ठाउँ हो । मुलुकमा लोकतन्त्र आएको १६ वर्षपछि हामी जनआन्दोलनका बेला गुल्जार बनेको रत्नपार्कमा पुगेर केहीबेर उभियौं । सडकपेटीमै सुस्ताइरहेकी थिइन्, नुवाकोट मुलाबारीकी कल्पना मगराती ।
भलाकुसारीकै क्रममा उनले भनिन्, ‘चर्काे गर्मी होस् या कठ्याग्रिने जाडो हातमुख जोड्न भारी बोक्न टुटेको छैन । थाप्लामा नाम्लो, दुई छाक टार्नको हम्मेहम्मे हुन्छ । राजनीतिक परिवर्तन गरिबलाई होइन ठालुका लागि हो ।’
रत्नपार्कपछि हामी बबरमहलतिर लाग्यौं । बबरमहलको यात्रु प्रतीक्षालयमा आराम गरिरहेका कृष्णप्रसाद सत्यालसँग हाम्रो भेट भयो । उनी मुलुकको राजनीतिक परिवर्तनसित सन्तुष्ट त छन् तर परिवर्तन अनुसार विकास नभएकोमा भने खिन्न ।
बबरमहलबाट लगनखेल जाने टेम्पोमा भेटिएका प्रेम लामा २०६२/६३ को जनआन्दोलनमा सक्रिय सहभागी भएका थिए । मुलुकको व्यवस्था परिवर्तन भए पनि उनको घरको आर्थिक अवस्था भने फेरिएन । त्यसैले वैदेशिक रोजगारमा गएका रहेछन् । उनी नेपाल फर्किएको एक महिना पनि भएको छैन ।
लोकतन्त्रले देशमा आमूल परिवर्तन आउँछ, जनताको जीवनशैली बदलिनेछ भनेर उनले बुझेका थिए । ‘तर जीवनशैली त नेताको बदलियो जनताको दुःख र पीडा जहाँको तहीं छ’ लामा भन्छन्, ‘दुःख गरे पनि खान लाउन पुग्दैन, पढाइ अनुसारको रोजगारी छैन, श्रमशोषण, स्वास्थ्य, शिक्षा, रासन त्यत्तिकै महँगो गरिबलाई यो देशमा बाँच्नै गाह्रो छ, लोकतन्त्रले हामी जस्ता सर्वसाधारणलाई छुनै सकेन ।’
ललितपुरको लगनखेल चोकमा कसैलाई पर्खिंदै थिए, रामेछापका रुद्रबहादुर केसी । २०६२/६३ मा १९ दिनसम्म चलेको जनआन्दोलनका बेला सडकमा ओर्लिएर नाराबाजी गर्दा फेरि जीवनशैली उस्तै रहला भन्ने कल्पना उनले गरेका थिएनन् ।
‘जनताको शासन आउने भनेर दङ्ग परियो अन्तिममा बलिदान र संघर्ष गर्ने जनताको दुःखको जस्ताको तस्तै, रजगज नेताको छ’ केसीले भने, ‘गरिब देशमा शासन व्यवस्था फेरिंदैमा केही नहुने रहेछ ।’ मानिसको प्रवृत्ति र मानसिकता परिवर्तन हुनुपर्ने उनी बताउँछन् ।
‘चुनाव आउँदैछ, नेताहरू भोट माग्न फेरि जानेछन्, जनता फेरि झुटो आश्वासनमा फस्नेछन् । जितेपछि उनहरू पाँच वर्षलाई फर्किने छैनन्’ केसी भन्छन्, ‘अहिले त करोडौंको भ्यूटावर र राजनीतिक जमघट हुने सभाहल बनाउनमै प्रतिस्पर्धा छ । भुईंमान्छेलाई कसले हेर्छ र ?’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4