+
+
अग्रपथ :

दक्षिण एशियाली अपेक्षाको आँखाबाट इमरान खानको उत्थान र पतन

इमरान खानको उत्थान र पतनबाट दक्षिणएशियाली राजनीतिले सिक्ने पाठ सायद यही हो कि गफ गर्न जस्तो सजिलो काम गर्न हुँदैन । दक्षिणएशियाली समाज, राज्य, राजनीतिक प्रणाली, अर्थतन्त्र र मनोविज्ञानका आफ्नै खाले संरचनात्मक समस्या छन्, अकस्मात् कुनै हिरो आएर त्यसको समाधान हुनेवाला छैन ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०७९ वैशाख ११ गते ८:२८

नआन्दोलन २०६२/६३ यता ‘नयाँ नेपाल’ सर्वाधिक चर्चित भएजस्तै पाकिस्तानमा ‘नयाँ पाकिस्तान’ को नारा सर्वाधिक लोकप्रिय थियो । यही आकर्षक नारासहित सन् २०१८ अगस्ट १८ मा सत्तामा आएका पाकिस्तानी प्रधानमन्त्री इमरान खान भर्खरै अपि्रल १० मा सत्ताबाट बाहिरिन बाध्य भए । पाकिस्तानी सत्तामा खानको उदय र बहिर्गमन, दुवै पाकिस्तानी राजनीतिको सामान्य ‘कोर्स’ भन्दा बाहिरको घटना थियो । उनको उदय जति चामत्कारिक र आकर्षक थियो, बहिर्गमनको घटनाक्रम र तरिका उत्तिकै पेचिलो रहृयो ।

खानले पाकिस्तानका आजसम्मका सबै पूर्ववर्ती निर्वाचित प्रधानमन्त्रीले जस्तै पाँचवर्षे कार्यकाल पूरा गर्न पाएनन् । करिब साढे ३ वर्षमै उनले सत्ता छोड्नुपर्‍यो । संसदीय राजनीतिको सीमाबाट हेर्दा यो कुनै अस्वाभाविक कुरा भने हैन । किनकि उनीसँग आफ्नै पार्टी, पीटीआईको एकल बहुमत थिएन । चार वटा स-साना दल र १३ जना स्वतन्त्र सांसदको समर्थनमा उनी सरकार चलाइरहेका थिए । तर, उनी अविश्वासको प्रस्तावबाट सत्ता छोड्ने बाध्य देशको इतिहासकै पहिलो प्रधानमन्त्री बन्न पुगे । कार्यकाल पूरा नहुँदै उनी विरुद्ध जुन प्रकारको विपक्षी मोर्चाबन्दी बन्यो, त्यसलाई उनकै सरकारका सहयोगी दल र स्वतन्त्र सांसदले साथ दिए, यसरी समीकरण बदलिनुमा खानका कमजोरी थिएनन् भन्न सकिन्न ।

दक्षिणएशियाली राजनीतिमा इमरान खानको उदयलाई निकै ठूलो अपेक्षा साथ हेरिएको थियो । कतिपय विश्लेषकले उनलाई भारतमा अरविन्द केजरिवाल जस्तै पाकिस्तानी राजनीतिमा एक जनपि्रय विकल्प प्रस्तुत गर्ने नेताका रूपमा हेर्ने गर्दथे । इमरानको व्यक्तित्व र छविको आक्रामकता तीव्र थियो, त्यसले थुप्रै आशा जगाउनु स्वाभाविक हुन्थ्यो । उनले पाकिस्तानलाई स्थिरता, विकास, सुशासन र समृद्धिको बाटोमा हिंडाउन सके, त्यसले दक्षिणएशियाली राजनीतिको परम्परागत जडता र अक्षमतालाई चिर्न ठूलै योगदान गर्न सक्ने ठानिएको थियो ।

‘दक्षिणएशिया’ मानव सभ्यताका सबै कालखण्डमा आफ्नै प्रकारको फरक चरित्र, मौलिक स्वभाव र संस्कृति भएको भूभाग हो । जर्मन दार्शनिक हिगेलले कुनै बेला यो क्षेत्रलाई ‘सम्मोहन, टुनामुना, जादू, रहस्य, चमत्कार र आध्यात्मको भूमि’ भनेका थिए । दक्षिणएशियालाई बुझाउन प्राचीनकालदेखि नै ‘भारत वर्ष’, भारतीय उपमहाद्वीप, ‘अखण्ड तथा विशाल भारत’ जस्ता अवधारणा स्थापित थिए । समकालीन ‘सार्क’ लाई यही प्राचीन उपमहाद्विपीय अवधारणाको आधुनिक रूप मान्न सकिन्छ । दक्षिणएशिया समकालीन विश्वकै अतिकम विकसित तथा पिछडिएको क्षेत्रमध्ये एक हो । यहाँका सबैजसो देशमा सामन्तवादका अवशेष बाँकी छन् । बारम्बार विभिन्न प्रकारका धार्मिक अन्धता, साम्प्रदायिक दंगा र राजनीतिक तानाशाहीको उदय हुने गरेको छ ।

प्राचीन ‘भारत वर्ष’ को अवधारणाभित्र उत्तरमा हिमालयदेखि दक्षिणमा हिन्द महासागरसम्म, पूर्वमा म्यानमारदेखि पश्चिममा गान्धार -कान्दार) सम्मको भूभागलाई समेट्ने गरिन्थ्यो । इतिहासका विभिन्न कालखण्डमा यो क्षेत्रमा सयौं राज्य थिए । विभिन्न ग्रन्थहरूलाई आधार मान्दा यस क्षेत्रमा ६ सयदेखि एक हजारसम्म राज्यहरू बन्ने र विभक्त हुने क्रम चल्यो । बीसौं शताब्दीमा आएर यहाँ ९ वटा राष्ट्रिय-राज्य स्थिर भएका छन् । तीमध्ये ८ वटा सार्क राष्ट्र मानिन्छन्- नेपाल, भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, माल्दिप्स, भुटान र अफगानिस्तान ।

सार्क अवधारणाभित्र नसमेटिएको भए पनि म्यानमार (बर्मा) लाई यसै डालोभित्र राख्न सकिन्छ । केही दशक अघिदेखि म्यानमार भन्न थालिएको बर्मा दक्षिणएशिया र पूर्वी एशियाको संगमस्थल हो । यी ९ वटै देशहरूको स्थिति विश्वका अन्य देशहरूको तुलनामा कमजोर, रुढिग्रस्त, तनावपूर्ण र अल्पविकसित छ ।

म्यानमारमा बारम्बार सैनिक तानाशाहीको उदय हुने गरेको छ । सन् १९४८ मा बि्रटिस उपनिवेशबाट स्वतन्त्र भएको म्यानमारमा सन् १९५८ मा सैनिक जर्नेल ने विनले सैनिक शासन प्रारम्भ गरे । प्रकारान्तरले सन् १९६२ देखि बर्मिज समाजवादी पार्टीको एकदलीय शासन २६ वर्षसम्म रहृयो । तथापि सन् २०११ मा मात्रै नागरिक सरकार बन्न सक्यो । तर, सन् २०२१ यता म्यानमार अर्को सैन्य ‘कु’ को जाँतोमा पिसिंदैछ ।

भुटान कहिल्यै पूर्ण लोकतान्त्रिकमूलक बन्न सकेन । त्यहाँ अझै पनि राजाशाही अन्तर्गत सीमित लोकतन्त्र क्रियाशील छ । यद्यपि विगत एक दशकयता भुटानले आर्थिक विकास र सुशासनको पक्षमा प्रगति गर्न थालेको छ । लोकतान्त्रिक स्थिरताको आँखाबाट हेर्दा बंगलादेशको अवस्था पनि सन्तोषजनक मान्न सकिन्न । सन् १९७२ मा पाकिस्तानबाट टुक्रिएर एक स्वतन्त्र राष्ट्र बने यता बंगलादेशले अनेक अप्ठ्याराहरूको सामना गरेको छ । बंगलादेश संसारकै सर्वाधिक जनघनत्व भएको देश हो । करिब नेपाल जत्रै भूभाग भएको बंगलादेशमा २० करोड बढी जनसंख्या पुगिसकेको छ । पछिल्लो समय त्यहाँ अवामी लिगकी नेतृ शेख हसिना बाजेदले सबै विपक्षीमाथि निर्मम दमन गर्दै एकप्रकारको निर्वाचित तानाशाही शासन गरिरहेकी छन् ।

श्रीलंकाको पछिल्लो स्थिति निकै जटिल देखिन्छ । करिब ६ महिना यता श्रीलंका गम्भीर प्रकृतिको आर्थिक तथा वित्तीय संकटमा फसेको छ । अफगानिस्तान सन् १९६० को दशकयता कहिल्यै स्थिर, शान्त र प्रगतिउन्मुख हुन सकेन । पछिल्लो समय त्यहाँ इस्लामिक जिहादी समूह तालेबानको बर्बर धार्मिक शासन कायम भएको छ । माल्दिभ्स ‘भारत परस्त’ र ‘चीन परस्त’ समूहहरूको राजनीतिक तनावले थङ्थिलो छ ।

नेपाल आफैं लोकतान्त्रिक स्थिरता भएको देश हैन । यहाँ लामो समय राणा, शाह र पञ्चजस्ता निरंकुश शासन कायम रहे भने लोकतान्त्रिक आन्दोलनबाट आएका पार्टी र नेताहरूले पनि अपेक्षित स्थिरता, विकास, सुशासन र समृद्धिको नेतृत्व गर्न सकेनन् । पछिल्लो चुनावमा झण्डै दुईतिहाइको बहुमत पाएको कम्युुनिस्ट गठबन्धनले पाँचवर्षे कार्यकाल पूरा गर्न नसकेको मात्रै हैन, आफैं फुटेर तीन टुक्रा भयो ।

दक्षिणएशियाली देशमध्ये भारतमा लोकतन्त्र तुलनात्मक रूपमा बढी स्थिर र सफल देखियो । तर, २०१४ पछि त्यहाँ नयाँ प्रकारको साम्प्रदायिक ध्रुवीकरण बढ्दै गएको ठानिन्छ ।

पाकिस्तानको अभ्यास र अनुभव अरू दक्षिणएशियाली देशहरूको अनुभव भन्दा खासै फरक हैन । सन् १९४७ मा स्वतन्त्र देश बनेयता पाकिस्तानमा तीनपटक सैनिक शासन लाग्यो । सन् १९५८ मा जर्नेल अयुव खान, सन् १९७७ मा जर्नेल जिया उल हक, सन् १९९९ मा जर्नेल परवेज मुसर्रफले सैनिक शासन कायम गरे । लोकतान्त्रिक आन्दोलनमा त्यहाँ मुस्लिम लिग र पाकिस्तानी पिपुल्स पार्टीको अघोषित ‘दुई पार्टी प्रणाली’ छ त्यसलाई कसैले चिर्न सक्दैन भन्ने विश्लेषण गरिन्थ्यो ।

दक्षिणएशियाली राजनीतिमा धार्मिक कट्टरतावादको प्रभाव सबै देशमा करिब उस्तै रहृयो । धर्महरू फरक छन्, तर धार्मिक कट्टरता र साम्प्रदायिक दमनको भावना उस्तै छ । श्रीलंकाका सिंहाली बुद्धिष्टहरूले हिन्दू तमिलमाथि दमन गरे । म्यानमारका बर्मिज बुद्धिष्टहरूले रोहिङ्ग्या मुस्लिममाथि दमन गरे । भुटानका डुक्पा बुद्धिष्टहरूले नेपाली मूलका हिन्दूमाथि दमन गरे । बंगलादेशमा बंगाली मुसलमानहरूको दबदबा छ ।

अल्पसंख्यक हिन्दूहरू बारम्बार अनेक प्रकारका धार्मिक तथा साम्प्रदायिक हिंसाको शिकार हुन्छन् । अफगानिस्तानका पश्तुन मूलका इस्लामिक जिहाष्टीहरू प्राचीन बुद्धिष्ट सम्पदाहरू मास्ने, हिन्दू लगायत अल्पसंख्यक समुदायका हजरा, तजिक, बलोच आदि माथि अत्याचार गर्ने गर्दछन् । नेपाल र भारतमा हिन्दू राज्य अभियान बलिया छन्, यिनले मुस्लिम र इसाइ धर्मावलम्बीलाई शत्रु बनाएर घृणाको राजनीति फैलाउने प्रयत्न गर्ने गर्दछन् ।

सामाजिक जीवनमा ‘जात व्यवस्था’ जस्तो अमानवीय कुप्रथा भएको विश्वको एक मात्र क्षेत्र दक्षिणएशिया नै हो । यहाँ सामन्ती सोच र संस्कृतिहरू अद्यापि बलिया छन् । परम्परागत सोपानक्रममा बनेको समाज व्यवस्थामा कथित तल्लो जात, निम्न वर्ग, स्त्री लिङ्ग, सीमान्तकृत जातीय तथा धार्मिक समुदायले अनेक प्रकारका अपमान, तिरस्कार, बहिष्करण, हिंसा र विभेदको सामना गर्नुपर्ने हुन्छ ।

लोकतान्त्रिक परम्पराको सदिऔं लामो इतिहास र अभ्यास नभएको कारणले वैयक्तिक स्वतन्त्रताप्रतिको सम्मान सीमित छ । लोकतन्त्रलाई एक सुसंस्कृत पद्धतिको रूपमा हैन, शक्ति र धनमाथिको पहुँच विस्तार गर्ने माध्यमको रूपमा लिनेे गरिन्छ । शिक्षालाई ज्ञान, विज्ञान र विवेकको प्रस्फुटनभन्दा अवसरमाथिको पहुँच अभिवृद्धि गर्ने हतियार ठानिन्छ । राजनीतिक क्रियाकलाप र निर्वाचनमा पैसाको अत्यधिक भूमिका हुन्छ । व्यक्तिवाद हावी छ र नायक पूजा गर्ने संस्कृतिबाट आक्रान्त मतदाता छन् ।

पाकिस्तानमा इमरान खानको उदयले दक्षिणएशियाका यी नकारात्मक प्रवृत्ति संकुचन हुने अपेक्षा गरिएको थियो । त्यस्तो अपेक्षा अकारण थिएन, त्यसका निश्चित आधार थिए । जस्तै-

एक- उनी स्केडिभियन मोडेललाई ‘आदर्श राज्य’ मान्थे । बारम्बार नर्वे र डेनमार्क मोडेलमा नयाँ पाकिस्तान निर्माण गर्ने भाषण गर्थे । नागरिक राष्ट्रवादमा आधारित भई सामाजिक न्यायमार्फत समुन्नत पाकिस्तान निर्माण गर्ने कुरा गर्दथे ।

दुई- उनी धार्मिक कट्टरतापन्थी मानिंदैनथे । उनको पहिलो विवाह इसाइ मूलकी बेलायती नागरिक जेमिमा गोल्डस्मिथसँग भएको थियो । जेमिमाबाट उनका दुई छोराहरू छन् । ती आमासँग लण्डनमा बस्दछन् । आधुनिक शिक्षा पाएका, देश-दुनियाँ बुझेका इमरान खानबाट धार्मिक कट्टरता र संकीर्ण राष्ट्रवादले प्रोत्साहन नपाउने अपेक्षा गरिन्थ्यो ।

तीन- इमरानले परम्परागत भ्रष्ट पाकिस्तानी राजनीतिका शक्ति सम्भ्रान्तमाथि चर्को आक्रमण गर्ने गरेका थिए । उनी आफूलाई पाकिस्तानी सर्वसाधारणको पक्षपातीको रूपमा प्रस्तुत गर्दथे । मुस्लिम लिग र पिपुल्स पार्टीको अघोषित दुई पार्टी प्रणाली र राजनीतिक सिन्डिकेटमाथि उनी तीखो प्रहार गर्ने गर्दथे ।

चार- उनी मेरिटोक्रेसीका चर्को पैरवीकर्ता थिए । पाकिस्तानले विकास गर्न नसक्नुमा नातावाद, कृपावाद, वंशवाद, परिवारवाद, घरानियाँ सोच जस्ता विकृति र विसंगति जिम्मेवार रहेको उनको ठहर थियो । उनी जाति, धर्म, वर्ग, वर्ण, लिंग, क्षेत्र भन्दामाथि उठेर योग्यतातन्त्रलाई महत्व दिने देशले मात्र उन्नति गर्न सक्ने धारणा राख्दछन् ।

पाँच- उनी खर्चिलो राज्य प्रणाली, विलासी राजनीतिज्ञ र प्रशासक, चुहावट, कमिसनतन्त्र, वैदेशिक ऋणको बढ्दो पासो र भ्रष्टाचारका विरोधी मानिन्थे । तसर्थ उनको शासनकालमा सुशासन र समृद्धि हासिल गर्न पाकिस्तानलाई सहज हुने अपेक्षा गरिन्थ्यो ।

छ- उनी सत्तामा आउनु अघि भारतसँगको सम्बन्ध सुधार गर्ने पक्षमा थिए । भूराजनीतिको सन्तुलित उपयोग गर्ने, पाकिस्तानलाई परम्परागत भूराजनीतिक तनावबाट मुक्त गरी दक्षिणएशियाकै शान्ति अमनचयनमा योगदान गर्ने उनको दाबी हुन्थ्यो ।

यी करणले गर्दा इमरान खानलाई एक फरक प्रकृतिका नयाँ ‘ट्रेन्ड सेटर’ राजनीतिक नेता हुनसक्ने ठानिएको थियो ।

इमरान खानको सत्ता बहिर्गमनसँगै आज उनीप्रतिका यी अपेक्षा पूरा भए कि भएनन् भनेर विश्लेषण गरिंदैछ । दुर्भाग्य अधिकांश तथ्यांकले दिने नतिजा उल्टा छन् ।

उत्थानको कथा

इमरानको चर्चा र ख्याति क्रिकेट खेलबाट सुरुवात भएको थियो । सन् १९९२ मा पाकिस्तानले उनको कप्तानीमा विश्वकप क्रिकेट जित्यो, यसले उनलाई ‘पाकिस्तानको हिरो’ बनायो । जब उनले क्रिकेटबाट सन्यास लिए, उनलाई पुराना पार्टीहरूले तान्न प्रयत्न गरे, तर उनी कुनै पार्टीमा गएनन् । खेलकुदबाट सन्यासपछि उनी परोपकारी कार्यमा लागे । उनको आहृवान र प्रयत्नमा १९९४ मा सौकत खानम मेमोरियल च्यारिटिवल क्यान्सर अस्पताल बन्यो । यसले उनको लोकपि्रयतालाई झनै बढायो ।

सन् १९९६ मा उनले आफ्नै पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ पार्टी -पीटीआई) गठन गरे । सन् १९९७ मा को चुनावमा यो पार्टीले पहिलोपटक भाग लियो । १.७ प्रतिशत भोट पायो तर एक सीट पनि जितेन । सन् २००२ को चुनावमा पीटीआईको भोट ०.७ प्रतिशत झर्यो र एक सीटमा विजय भयो । इमरान खान आफ्नो गृहनगरबाट विजयी भएका थिए । खानको पार्टीले सन् २००८ को निर्वाचन बहिष्कार गर्‍यो ।

सन् २०१३ को आम निर्वाचनबाट पीटीआईको उदय सुरु भयो । यो पार्टी १६.९२ प्रतिशत भोट र ३५ सीट प्राप्त गरी भोटमा दोस्रो र सीटमा तेस्रो स्थान हासिल गर्‍यो । सन् २०१८ को चुनावमा ३१.८२ प्रतिशत भोट र १४९ सीट हासिल गरी भोट र सीट दुवैमा पहिलो पार्टी बन्न पुग्यो । ३४२ कुल सीट संख्या भएको पाकिस्तानी संसदमा सरकार गठन गर्न १७२ सीट चाहिन्थ्यो । खानले चार साना पार्टी र १३ स्वतन्त्र सांसदको समर्थनमा सरकार बनाएका थिए ।

व्यक्तित्वको विरोधाभास

इमरान खानको बारेमा प्रारम्भदेखि नै सकारात्मक र नकारात्मक दुवै विश्लेषण थिए । उनको सेलिब्रेटी व्यक्तित्व र भाषणकला सकारात्मक मानिन्थे । तर, उनी जुन मात्रामा नैतिक र पारदर्शी कुरा गर्थे, के उनी आफैं त्यो स्तरको जीवन बाँचिरहेका छन् त भन्ने आरोप थियो । उनकी पहिली पत्नी जेमिमा गोल्डस्मिथले खानसँग सम्बन्धविच्छेद गरेकी थिइन् । उनकी दोस्री पत्नी रेहम खान इमरान खानकी सर्वथा कटु आलोचक रहिन् । करिब एक वर्ष इमरानसँग वैवाहिक जीवन बिताएर सम्बन्धविच्छेद गरेकी रेहम खानले आत्मकथा नै लेखेर इमरानबारे कैयौं विवादास्पद तथ्यहरू सार्वजनिक गरेकी थिइन् ।

रेहम खानका अनुसार इमरान बाहिर जुनस्तरमा नैतिक र सदाचारी जीवनको कुरा गर्दछन्, भित्र त्यस्तो थिएनन् । उनी ‘प्ले ब्वाई’ चरित्रका थिए । लागूपदार्थको दुव्र्यसन समेत गर्दथे । रेहमपछि इमरानले बुसरा बिबी नामक धनाढ्य विधवासँग तेस्रो विवाह गरेका थिए । इमरान सर्वसाधारणको कुरा गर्थे, तर उनी स्वयं आफू सम्भ्रान्त वृत्तबाट आएका थिए । उनकी पहिली पत्नी जेमिमा बेलायती खर्बपतिकी छोरी थिइन् । इमरान र जेमिमाको विवाहमा बेलायती राजकुमारी डायना पाहुनाका रूपमा पाकिस्तान आएकी थिइन् । आलोचकहरू इमरान खानको व्यक्तित्व पाखण्ड र विरोधाभासले भरिएको ठान्दथे ।

पछिल्ला तथ्यहरू

करिब साढे तीन वर्षको शासनकालमा इमरानका दाबीहरू पूरा भएनन् । इमरान खानको शासनकालमा पाकिस्तानको अर्थतन्त्र झनै बिगँ्रदै गयो । आर्थिक विश्लेषकहरूका अनुसार सन् २०१८ मा उनले सत्ता सम्हाल्दा पाकिस्तानको जीडीपी ३१५ बिलियन डलरको थियो । सन् २०२२ को अपि्रलमा सत्ता छोड्दै गर्दा अर्थतन्त्र संकुचन भई जीडीपी २९२ बिलियन डलरमा झर्‍यो । बेरोजगारी र निरपेक्ष गरिबी झनै बढ्यो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको सुशासनमा इन्डेक्समा १२४ बाट झरेर १४० मा पुग्यो । भ्रष्टाचार परसेप्सन सूचकमा १६ स्थानको गिरावट आयो । इमरान खान सत्तामै भएको समय अफगानिस्तानमा तालिवान फर्कियो । उनले अमेरिकासँगको परम्परागत सम्बन्धलाई स्थगन गर्दै रूस र चीनसँग नयाँ प्रकारको सम्बन्ध निर्माण गरे । भारतसँगको सम्बन्धमा पनि कुनै सुधार आएन । इमरानको कार्यशैलीबाट आधुनिक सुसंस्कृत लोकतन्त्रको प्रत्याभूति र लोकतान्त्रिक विश्वसँगको सहकार्यको सम्भावना क्षीण देखियो ।

असफलताका सात कारण

पाकिस्तानी राजनीतिका विश्लेषकहरू खानको यो असफलताका सात कारण रहेका बताउँछन् । यीमध्ये कतिपय उनको वशभन्दा बाहिरका थिए भने कतिपय स्वयं उनको कार्यशैलीसँग जोडिएका थिए । ती सात कारण थिए- कोरोनाको महामारी, संसदीय व्यवस्था र अर्थतन्त्रका सीमा, पुरानो कर्मचारीतन्त्र र सेनाको भूमिका, भूराजनीतिक दबाव, प्रतिशोधको भावना र सहकार्यको अभाव, व्यक्तित्व पूजाको महत्वाकांक्षा र लोकतन्त्रप्रतिको कमजोर निष्ठा ।

यीमध्ये पहिलो चार कारण इमरान खानको वशमा थिएनन् भने पछिल्ला तीन कारण खान स्वयं आफैंले निम्त्याएका थिए । शासन सम्हाल्ने बित्तिकै कोरोनाको महामारी सुरुवात हुनु उनको दुर्भाग्य थियो । यसले अर्थतन्त्रको संकुचन, बेरोजगारी र गरिबी बढ्ने नै भयो । तर, यदि उनीसँग क्षमता हुन्थ्यो भने अर्थतन्त्र संकुचनकै तहमा ह्रासोन्मुख नहुनुपर्थ्यो भन्ने तर्क अनुचित हैन ।

संसदीय व्यवस्थामा आफ्नै पार्टीसँग बहुमत नहुनु आफैंमा एक सीमा हो । पाकिस्तानी समाज र राजनीतिमा निकै बलियो मानिने सेना र कर्मचारीतन्त्र पनि पछिल्लो समय उनीसँग खासै सन्तुष्ट थिएन । भारत-अमेरिका निकटता बढ्दै जाँदा उनले रूस-चीनको नजिक हुने र अफगान तालिवानलाई सहयोग गर्ने जुन बाटो समाते, त्यो रणनीति सायद उनका लागि फलदायी भएन ।

सत्तामा आइसकेपछि कमजोर भएका प्रतिपक्षीमाथि चुनावको समयमा जस्तो एकोहोरो राजनीतिक प्रहार गर्नु र राष्ट्रिय संकटका समयमा समेत विपक्षीहरूसँग सहकार्य नगर्नु सायद उनको आफ्नै कमजोरी थियो । अर्कोतिर उनले लोकतान्त्रिक संस्कार र संस्कृतिभन्दा आफ्नै जयजयकार गर्ने गराउने व्यक्तित्व पूजाको राजनीतिलाई प्रोत्साहित गरे, जो नोर्डिक अवधारणाको संस्कार नै हैन ।

एकप्रकारले निरास हुन्छु- अक्सर दक्षिणीएशियालीहरू व्यक्तित्व पूजा जान्दछन् । त्यस्तो पार्टी र नेता न दक्षिणएशियामा चाहिएको हो, न त्यसलाई वैकल्पिकता भन्न सुहाउँछ ।

बहिर्गमनको बाटो

संसदीय लोकतन्त्रमा अविश्वासको प्रस्ताव संसदमा आएपछि कि त सामना गर्नु कि त राजिनामा गर्नु उनको राजनीतिक दायित्व हुन्थ्यो । तर, खानले यी दुवै बाटो नरोजेर संसद विघटन गर्ने सिफारिस गरे । उनको यो कदम संसदीय लोकतन्त्र, संविधानवाद र पाकिस्तानको मौजुदा संविधानको विरुद्धमा थियो । अन्ततः त्यहींको सर्वोच्च अदालतले खानको सिफारिसलाई अस्वीकार गर्दै संसद पुनस्र्थापना गरिदियो । नेपालका ओली जस्तै गरी खान पनि सत्ता छोड्न बाध्य भए ।

विपक्षी दलहरूको गठबन्धनले नयाँ सरकार बनायो । तर, खानले सरकारबाट बाहिरिएपछि पनि सर्वोच्च अदालतको निर्णयलाई निन्दा गर्दै आफूलाई अमेरिकी षडयन्त्रमा हटाइएको बयान दिए । आफ्नो सरकार ढल्नुको मुख्य कारण अमेरिकी राजदूत र विदेश सहायक मन्त्री डोनाल्ड लु भएको आरोप लगाए ।

संदिग्ध भविष्य

अविश्वासको प्रस्तावलाई छलेर संसद विघटनको सिफारिस गरेबापत इमरान खानमाथि संविधानवाद र लोकतन्त्रलाई हानि पुर्‍याएको आरोप लाग्नु स्वाभाविक हो । संसदमा आफ्नो पार्टीको उपसभामुखलाई उपयोग गरी उनले अविश्वासको प्रस्ताव छल्न खोजेका थिए । तर, उनी सफल भएनन् । राष्ट्रपतिले समेत अनुमोदन गरिदिएको उनको संसद विघटन र नयाँ चुनावको प्रस्तावलाई सर्वोच्च अदालतले अपि्रल ३ को फैसलामार्फत उल्ट्याइदियो ।

सर्वोच्च अदालतले भन्यो ‘अविश्वासको प्रस्ताव भनेको अविश्वासको प्रस्ताव नै हो । प्रस्तावमाथि मतदान भएर मात्रै त्यसको छिनोफानो हुन सक्दछ । अन्य तरिकाले अविश्वासको प्रस्तावलाई पन्छाउन मिल्दैन ।’

संसदीय लोकतन्त्रमा सरकारबाट हट्नु कुनै अस्वाभाविक घटना हैन । उनी फेरि चुनाव जितेर आउन सक्ने संभावना रहन्छ नै । तर, इमरान खानको समस्या के हो भने उनले ‘नयाँ पाकिस्तान’ सम्बन्धी बाचा पूरा गर्न असफल भएको मात्रै हैन, उनीमाथि लोकतान्त्रिक निष्ठाको अभाव भएको आरोप समेत लाग्यो । हिजोको जस्तो आकर्षण अब उनीप्रति जनतामा रहेन ।

इमरान खानको उत्थान र पतनबाट दक्षिणएशियाली राजनीतिले सिक्ने पाठ सायद यही हो कि गफ गर्न जस्तो सजिलो काम गर्न हुँदैन । दक्षिणएशियाली समाज, राज्य, राजनीतिक प्रणाली, अर्थतन्त्र र मनोविज्ञानका आफ्नै खाले संरचनात्मक समस्या छन्, अकस्मात् कुनै हिरो आएर त्यसको समाधान हुनेवाला छैन । कुनै चामत्कारिक व्यक्तित्व र उसको हिरोइज्मको पूजाभन्दा बढी हामीलाई चाहिएको संस्थागत तथा संरचनात्मक सुधार, लोकतान्त्रिक पद्धतिप्रतिको निष्ठा र निरन्तरता हो ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?