+
+
मनोनयनको पहिलो दिन :

मकवानपुरको २ पालिकामा उम्मेदवारी नै परेन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १९:२८

११ वैशाख, हेटौंडा । स्थानीय तह निर्वाचनको मनोनयनको पहिलो दिन मकवानपुरका ८ वटा स्थानीय तहमा केही केही उम्मेदवारले मनोनयन गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बकैया र बागमती गाउँपालिकामा भने आइतबार मनोनयन दर्ता नै भएन ।

केही उम्मेदवारले मनोनयन फारम लगे पनि बुझाउन नआएका बकैयाका निर्वाचन अधिकृत आनन्दराज पोखरेलले बताए । मनोनयनका लागि आइतबार र सोमबार समय दिइएको छ ।

बागमतीमा पनि केहीले फारम लगेको र बुझाउन नल्याएको निर्वाचन अधिकृत हरीप्रसाद उपाध्यायले बताए ।

दुई वटा पालिका बाहेक अन्य पालिकाहरुमा भने प्रमुख, उपप्रमुख सहित वडा अध्यक्ष र सदस्इहरुले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार राक्सिराङमा मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट युनिस मोक्तानले पालिका प्रमुखमा मनोनय दर्ता गराएका छन् ।

मकवानपुरगढी गाउँपालिकाको प्रमुखका लागि मंगोल नेशनल अर्गनाइजेसनका युवराज लामा र स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद कँडेलले मनोनयन दर्ता गराएका छन् । मंगोल नेशनल अर्गनाइजेसनले वडा नम्बर १ को वडाध्यक्ष र वडासदस्यमा मनोनयन दर्ता गराएको छ ।

थाहा नगरपालिकामा नेपा राष्ट्रिय पार्टीले २ र ५ मा वडा अध्यक्षमा मनोनयन गरेको छ भने ९ मा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कैलाश गाउँपालिका प्रमुखमा नेमकिपाको सन्तमाया बुढाथोकीले मनोनयन गराएकी छन् भने ९ नम्बर वडा अध्यक्ष र १० को सदस्यमा राप्रपाले मनोनयन गरेको कार्यालयले जनाएको छ ।

इन्द्रसरोवर गाउँपालिकामा जनता समाजवादी पार्टीले अध्यक्षका साथै २ र ७ नम्बर वडाका अध्यक्ष र वडा सदस्यमा मनोनयन दर्ता गराएका छन् । पालिकाको ५ नम्बर वडा अध्यक्षमा एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन् ।

एमालेको भीमफेदी र मनहरीमा मनोनयन

नेकपा एमालेले मनहरी र भीमफेदी गाउँपालिकामा उम्मेदवारी दर्ता गराएको छ । एमालेबाट भीमफेदी गाउँपालिका अध्यक्षमा हिदम लामा र उपाध्यक्षमा पार्वती रानाको मनोनयन दर्ता भएको छ । उनीहरु २०७४ कै निर्वाचित प्रमुख उपप्रमुख हुन् ।

एमालेबाट मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष सुजिता थिङले उम्मेदवारी दिएका छन् । उप्रेती दोहोरिएकी हुन् भने थिङलाई पालिकामध्यको कम उमेरकी उम्मेदवार भएको एमालेको दाबी छ ।

जिल्लाको बाँकी आठवटा पालिकामा सोमबार उम्मेदवारी दर्ता गरिने नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले बताए ।

एमालेले हेटौंडा उपमहानगरपालिका मेयरमा संविधानसभा सदस्य अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्ले, थाहा नगरपालिकाको मेयरमा अच्युतम ढकाल र उपमेयरमा कल्पना बलामीलाई अगाडि बढाएको छ ।

बागमती गाउँपालिका अध्यक्षमा खेमराज जर्घामगर र उपाध्यक्षमा धनमाया स्याङ्तान, बकैया गाउँपालिका अध्यक्षमा सरला बोलखे र उपाध्यक्ष लालबहादु स्याङ्तान, मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमगाईं र उपाध्यक्ष सन्तु थिङले मनोनयन दर्ता गराउने छन् ।

इन्द्रसरोबर गाउपालिका अध्यक्ष देबकृष्ण पुडासैनी र उपाध्यक्ष उमा लामालाई उम्मेदवार तोकिएको छ । कैलाश गाउँपालिका अध्यक्ष नरेन्द्रलाल रिजाल र उपाध्यक्ष सुकुमाया थिङ र राक्सिराङ गाउँपालिकामा अध्यक्ष बाबुलाल स्याङतान र उपाध्यक्ष सुन्तलीमाया प्रजा उम्मेदवार बनाउने निर्णय भएको पार्टी अध्यक्ष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?