
१२ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित निर्वाचन कार्यालयमा पुगेर गठबन्धनको तर्फबाट सिंहले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले वीरगञ्जको समृद्धि, पहिचान र विकासका लागि आफूले उम्मेदवारी दिएको बताए ।
टिकट पाउनका लागि पार्टी फेरबदल गरेको आरोप छ नि भन्ने पत्रकारको प्रश्नमा सिंहले भने, ‘पार्टीले विश्वास गरेर मलाई टिकट दिएको छ । पार्टीले नदिएको भए सायद लड्ने थिएन होला । भाग्य बलियो रहेछ । मेयर हाम्रै पार्टीको भागमा पर्यो । त्यसैले मेयरकै लागि पार्टी फेरबदल गरेको भन्ने कुरा हवादारी मात्रै हो ।’
मेयरको टिकट पाउने पक्का भएपछि सिंह लोकतान्त्रिक समाजवादी (लोसपा) परित्याग गरी जसपामा प्रवेश गरेका थिए । जसपा प्रवेश गर्नुअघि सिंह एमाले जाने तयारीमा थिए । तर जसपाबाट विजयकुमार सरावगी एमालेमा प्रवेश गरेपछि उनी जसपामा प्रवेश गरेका थिए । जसपा छोडेका सरावगीलाई एमालेले वीरगञ्ज महानगरको मेयरको उम्मेदवार बनाइ सकेको छ ।
गठबन्धनको तर्फबाट वीरगञ्ज महानगरको उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया 4