
१२ वैशाख, काठमाडौं । ‘काठमाडौंका जनजनको चाहना, यसपालि मेयरमा दिदी सिर्जना’ लेखिएको व्यानरसहित सिर्जना सिंह काठमाडौंको मेयर पदमा उम्मेदवारी दिन सोमबार राष्ट्रियसभा गृह पुगेकी थिइन् । सिर्जना सँगसँगै थिए, नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह ।
असिन पसिन प्रकाशमान नेता कार्यकर्ताको अभिवादन फर्काउँदै सिर्जनाको उम्मेदवारी दर्ता गर्न पुगेका थिए । सिंहले पत्नी सिर्जनालाई उम्मेदवारी दर्तामा जसरी साथ दिए, कांग्रेसबाट मेयरको टिकट दिलाउन त्योभन्दा बढी कसरत गरेका थिए ।
नभए सिर्जनाको ठाउँमा तीर्थराम डंगोलको उम्मेदवारी सोमबार दर्ता हुन सक्थ्यो । किनकि सभापति शेरबहादुर देउवाको रोजाइमा मेयरका उम्मेदवार डंगोल नै थिए । देउवा निकट नेताहरुका अनुसार उनले डंगोललाई आश्वासन दिइसकेका थिए ।
प्रकाशमानकै समूहका वर्तमान उपमेयर हरिप्रभा खड्गी, काठमाडौं महानगरपालिका–२५ का वडाध्यक्ष एवम् कांग्रेसको महानगर समितिका सभापति निलकाजी शाक्य र नगर समितिका सचिव सुशन बैद्य मेयरमा दावेदार थिए ।
तर जब उम्मेदवारको दौडमा सिर्जनाको प्रवेश भयो, अरुको दाबेदारी स्वतः कमजोर जस्तै बन्न पुग्यो । निलकाजी र हरिप्रभाले ‘सिर्जना होइन, म उठ्छु’ भन्ने आँटसम्म गरेनन् ।
नेताहरुका अनुसार निलकाजीले त ‘यदि सिर्जना भाउजु उठ्ने हो भने म त दाबी नै गर्दिनँ’ भने । महामन्त्री गगन थापा पक्षले सुशन वैद्यलाई उम्मेदवार बनाउन चाहन्थ्यो । तर सभापति देउवाले सुन्नै चाहेनन् ।
उम्मेदवारबारे प्रारम्भिक छलफल हुँदा नहुँदै सभापति देउवाले ‘प्रकाशमानले झगडा गरेर गएको छ’ भनेपछि सिर्जना मेयरको उम्मेदवार बन्ने पक्काजस्तै भएको थियो ।त्यसैले ललितपुर र विराटनगरको मेयरका उम्मेदवारबारे पार्टीभित्र लम्बेतान छलफल हुँदा सिर्जना सिंह निर्विकल्पजस्तै बन्न पुगिन् ।
देउवाले फर्काएको गुन
टिकट वितरणको अधिकार संसदीय समितिबाट आफूमा लिएका सभापति देउवा मंसिर २०७८ मा संकटमा थिए । १४औं महाधिवेशनमा देउवाले सभापति दोहोरिन ५० प्रतिशत मत कटाउन सकेनन् ।
देउवापछि धेरै मत ल्याएका डा. शेखर कोइरालालाई सभापतिका उम्मेदवारद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधिले साथ दिएको भए दोस्रो चरणको नतिजा देउवाका निम्ति प्रतिकुल बन्न सक्थ्यो । किनकि महाधिवेशनमा एउटै प्यानल बनाउन छलफल गरेका डा. शेखर, प्रकाशमान र विमलेन्द्रबीच दोस्रो चरणमा पुगे दोस्रो हुनेलाई साथ दिने विषयमा छलफल पनि भएको थियो । तर सिंह आफ्नै अडानमा टिक्न सकेनन् ।
२८ मंसिरमा आफ्नै निवास चाक्सीबारीमा आएका देउवालाई सिंहले समर्थनको वचन दिए । १२औं महाधिवेशनपछि ‘देउवा इतर’ पक्षमा रहेका सिंहको निर्णय देउवाका लागि सञ्जिबनी बुटी बन्यो । निधि र कल्याण गुरुङले पनि साथ दिएपछि देउवा फेरि सभापति चुनिए ।
नेताहरुका अनुसार, त्यो बेला देउवा समूहका नेताहरुले दिएको आश्वासन र देउवाकी पत्नी आरजुसँग सिर्जनाको सम्बन्धका कारणले सिंह देउवालाई समर्थन गर्न राजी भएका थिए ।
सभापति देउवाले पनि सभापति निर्वाचित भएको ५ महिना नपुग्दै सिर्जनालाई काठमाडौंको मेयरको उम्मेदवार बनाएर प्रकाशमान र सिर्जनाको गुन तिरेका छन् ।
सिर्जना भने पार्टीमा आफ्नो योगदान रहेको जिकिर गर्छिन् । प्रकाशमानले सभापति बन्न देउवालाई सघाएको कारण मेयरको टिकट पाउनुभएको हो भन्ने प्रश्नमा उनले भनिन्, ‘म गणेशमान सिंहको बुहारी हुँ, मंगलादेवीको बुहारी पनि हुँ । प्रकाशमानको श्रीमती पनि हुँ । यो लुकाएर छिपाएर छिप्ने कुरा होइन । तर प्रकाशमान सिंहलाई चिन्नुभन्दा अगाडि मेरो आफ्नै राजनीतिक योगदान छ । यो देशमा प्रजातन्त्र ल्याउन, महिलाहरुको उत्थान गर्न संघर्ष गरेको छु ।’
फेरि सक्रिय राजनीति
मेयरको टिकट पाएसँगै सिर्जना करिब ३२ वर्षपछि सक्रिय राजनीतिमा फर्किएकी छन् । सिर्जनाले पञ्चायती शासन व्यवस्थामा सक्रिय राजनीति गरेकी थिइन् ।
२०३३ सालमा कांग्रेसमा आवद्ध भएकी सिर्जना २०३५ देखि २०३८ सम्म महाबौद्ध क्याम्पसको इकाइ सभापति बनिन् । बीपी कोइरालाको स्वास्थ्य उपचारका लागि चन्दा संकलन गर्ने क्रममा २०३७ सालमा उनी गिरफ्तारीमा परेकी थिइन् ।
महिलाका तर्फबाट २०३६ सालमा बहुदलीय प्रचार प्रसार समितिको गोरखा जिल्ला अध्यक्ष बनेकी थिइन् । २०३९ सालमा शंकरदेव क्याम्पसमा पम्फा भुसाललाई हराएर स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् । २०४२ सालमा कांग्रेस, काठमाडौंका नेता प्रकाशमानसँग बिहे गरेपछि भने राजनीतिक सक्रियता घट्यो ।
विवाह पश्चात् सक्रिय राजनीतिमा कमी आएको सिर्जना स्वीकार गर्छिन् । ससुरा गणेशमान सिंह, सासु मंगलादेवी सिंह तथा पति प्रकाशमान सबै बहुदलीय व्यवस्थाका लागि आन्दोलनमा लाग्न पारिवारिक वातावरण आफूले निर्माण गरेको उनको दाबी छ ।
भन्छिन्, ‘बिहे गरेपछि राजनीतिमा कुनै पद लिएर बसेको थिइनँ । तर महिला संघको सल्लाहकार भएर राजनीतिक रुपमा गर्नुपर्ने काम गरिरहेकै थिएँ ।’
सिर्जना २०५४ सालदेखि निरन्तर महिला संघको काठमाडौं जिल्ला समितिको सल्लाहकार छिन् । कांग्रेसको ११औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेकी सिंह, १२ र १३औं मा महाधिवेशन प्रतिनिधि पनि भइनन् । तर १४औं महाधिवेशनमा भने काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्विरोध रुपमा महाधिवेशन प्रतिनिधि चयन भएकी थिइन् ।
प्रकाशमान कांग्रेस सभापति बन्न नसके पनि पत्नी सिर्जनाको सक्रिय राजनीतिले भने त्यहीबाट गति लियो । ट्वीटरमा सक्रिय उनले ८ चैतमा काठमाडौंमा महिलालाई मेयर बनाउनुपर्ने भन्दै ट्वीट गरिन् ।
मेयरको धेरै चर्चा भयो ..काठमान्डुमा धेरै मेयर भए ..पिएल सिॅहको पालामा मात्र केहि सुधार भए …अब बाकी सुधार गर्न महिला मेयरको माग राखौ ..पुरूष मेयर धेरै हेर्यौ अब महिला मेयर हेरौ रोजौ..सोच बदलौ..काठमान्डुको मुहार बदलौ ..व्यस्थित शहर बनाऔ ..जय काठमान्डु ..जय नेपाल 🙏
— Sirjana Singh (@Sirjana_Singh) March 16, 2022
महिला संघ, काठमाडौंले सायद सिर्जनाको चाहना बुझेको हुनुपर्छ । नभन्दै ६ दिनपछि १४ चैतमा उनलाई नै मेयरको उम्मेदवार बनाउने निर्णय भयो ।
यसबारे सिर्जनाले सार्वजनिक रुपमा केही बोलिनन्, तर आफ्नो पक्षमा निरन्तर माहोल बनाइरहिन् । महिला संघ र नेविसंघको काठमाडौं समितिलाई उनले आन्तरिक रुपमा परिचालित गरेको नेविसंघ काठमाडौंका जिल्ला तहका एक नेता टिप्पणी गर्छन् । ‘उम्मेदवार बन्ने चाहना नभएको भए महिला संघ र नेविसंघलाई डेलिगेसनका लागि किन बोलाउनु हुन्थ्यो र ?’, ती नेता भन्छन् ।
सिर्जना भने यो मान्न तयार छैनन् । ‘नेविसंघका कार्यकर्ता बोलाएको भए म किन निम्तो मान्न जाने थिएँ र ? उहाँहरु आएको थाहा पाएपछि आएकी हुँ’, ५ वैशाखमा नेविसंघका काठमाडौंका नेता कार्यकर्तालाई भेटेपछि सिर्जनाले अनलाइनखबरसँग भनेकी थिइन् । सोमबार मेयरमा उम्मेदवारी दर्ता गरेकी सिर्जनालाई माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) को समर्थन छ ।
नेकपा एमालेले पूर्व मेयर केशव स्थापितलाई उम्मेदवार बनाएको छ भने विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटा, स्वतन्त्र उम्मेदवार बालेन शाह लगायतले पनि उम्मेदवारी दिएका छन् ।
एमाले उम्मेदवार स्थापितले गठबन्धन (सिर्जना)ले भन्दा दोब्बर मत ल्याएर मेयर जित्ने दाबी गर्छन् । उनलाई सिर्जनाको जवाफ छ, ‘३० गतेपछि देखिहाल्नु हुन्छ नि !’
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4