+
+

मेरो/मेरी मनको मेयर र चुनावी नारा

भगवान खनाल भगवान खनाल
२०७९ वैशाख १३ गते १३:१५

संघीय शासन व्यवस्था अवलम्बन गरेपछि दोस्रोपटक स्थानीय जनप्रतिनिधि चयनको लागि हुने निर्वाचन सँघारमा छ । उम्मेदवारहरूको मनोनयन शुरू भइरहेछ भने ३० वैशाखमा मतदान नै हुनेछ । शासन व्यवस्थामा आएको परिवर्तनले स्थानीय राजनीतिमा उछाल आएको छ । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक रौनक छाएको छ ।

केन्द्र र प्रदेशका राजनीतिक नेतृत्व, माननीय र मन्त्री (भूतपूर्व समेत), पढेलेखेका बौद्धिक वर्गहरू समेत उम्मेदवार बन्न लालायित भई सिफारिस हुने क्रममा समेत छन् । यसैले निर्वाचनको नाम स्थानीय भए पनि दलहरूको जोरजुलुम केन्द्रीय निर्वाचन भन्दा खासै फरक देखिन्न । संघीयताको जग नै स्थानीय तह भएकाले सक्षमहरूलाई स्वागत गर्नु सक्षम मतदाताको प्राथमिकता हुनुपर्दछ ।

पहिलो पटकको स्थानीय तह निर्वाचन हुँदै गर्दा स्थानीय जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार सम्बन्धी ऐन–कानुन बनेको थिएन । पहिलो पटकका जनप्रतिनिधि चुनिएपछि मात्रै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बन्यो । बजारमा सोधिंदैछ कि अघिल्लो पटकका बाचा, कसम, प्रतिबद्धता कति पूरा गर्‍यौ वा गरेनौ ?

उनीहरू निर्वाचनमा होमिंदै गर्दा ऐन नभएकाले तिनका काम, कर्तव्य र अधिकारबारे पनि ज्ञात थिएन । तर नेपालको संविधान २०७२ ले स्थानीय हकको हक र जिम्मेवारी स्पष्ट भने पारेको अवस्था थियो ।

सोही आधारमा २०७४ को स्थानीय निर्वाचनमा घोषणापत्र, प्रतिबद्धता वा चुनावी नाराहरू बनाइएका थिए । जब स्थानीय सरकार सञ्चालन ऐन बन्यो, जनप्रतिनिधि सहित स्थानीय तह अभ्यासमा आयो र संविधानमा निक्षेपित अधिकारहरू कार्यान्वयन हुँदै आयो सबैलाई सबक भयो कि स्थानीय तह औधी बलियो रहेछ ।

स्थानीय तहमा निक्षेपण भएको हक, अधिकार कार्यान्वयनमा आएपछि स्थानीय तहले उसको ताकत देखाउँदै पनि आयो । स्थानीय तहले के गर्‍यो भन्नुभन्दा के चाहिं गरेन भनेर सोधीखोजी गर्दा कोभिड महामारीको व्यवस्थापन र नियन्त्रणमा सीमित स्रोत, साधन र जनशक्तिसहित भूमिका खेल्यो । स्थानीय तहले महामारी नियन्त्रणमा संघ र प्रदेश सरकारलाई सहयोग गर्न कसुर बाँकी राखेन ।

तथापि नयाँ शासन व्यवस्थामा पहिलोपटक बनेका स्थानीय तहले धेरै उम्दा काम गर्न सकेनन् । महालेखा परीक्षकका प्रतिवेदन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिवेदन लगायत सञ्चार जगत र सामाजिक सञ्जालमा समेत हेर्दा स्थानीय तहमा बेरुजु बढेको, भ्रष्टाचार फैलिएको, सुशासन नभएको लगायत विकृतिहरू देखा पर्‍यो ।

शासन व्यवस्था विकृतविहीन हुनको लागि जनप्र्रतिनिधि, कर्मचारी र नागरिक सबैको उत्तिकै भूमिका चाहिन्छ । बितेका पाँच वर्षमा स्थानीय तहमा गएर कसैले प्रश्नै उठाएन ।
स्थानीय जनप्रतिनिधिलाई अधिकारको बारेमा घोकाइयो, रटाइयो तर सम्पादित कामहरू अपेक्षित भइरहेका छैनन् भन्ने बारेमा मुकाममुकाममा चियो-चर्चो गरिएन ।

नागरिकले त्यो अवसर नै पाएनन् किनकि स्थानीय तहले पारदर्शी शासनको अभ्यास नै गरेनन् । यसैले अबको मेरो÷मेरी मेयर ‘स्थानीय तहको आजको आवश्यकता : बेरुजुको नियन्त्रण र अन्त्य तथा प्रणालीबद्ध सञ्चालनको प्रतिबद्धता’ ‘भ्रष्टाचार, चुहावट र ढिलासुस्तीको नियन्त्रणसहित जवाफदेहिता, पारदर्शिता र उत्तरदायित्व’ नारा सहितको होस् ।

स्थानीय तह निर्वाचनको छेकोमा दलहरूले केन्द्रीय घोषणापत्रको पुलिन्दा छरिरहेका छन् । स्थानीय तहले गर्ने कामको बारेमा संविधान र ऐनमा प्रष्टै छ । त्यही नै स्थानीय तह निर्वाचनका उम्मेदवारको असली र खास घोषणापत्र हो ।

विडम्बना स्थानीय सरकार सञ्चालन ऐनको गातासम्म नदेखेकाहरू उम्मेदवार बन्दैछन् त्यसैले तिनले जेसुकै प्रस्तावना घोषणापत्रमा ल्याए पनि जनताले पत्याउनुहुन्न । अनावश्यक मृगतृष्णा र तिलस्मी नारा मतदाता, जनताले पत्याउनेवाला छैनन् । स्थानीय तहका उम्मेदवारहरूले नेपालको संविधान २०७२ ले स्थानीय तहलाई निक्षेपण गरिएका हक, अधिकार, जिम्मेवारी र संविधानको विस्तृतीकरणसँग सम्बन्धित हुने गरी तिनका चुनावी नारा बोक्नुपर्दछ ।

स्थानीय तहका आ-आफ्नै स्थानीय सान्दर्भिकता, परिवेश रहेकाले घोषणापत्र लेख्दा र जनतासामु लैजाँदा त्यसलाई मतदाताले पत्याउनयोग्य बनाउनुपर्दछ । स्थानीय तहका जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार बारे मुख्यत: स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्यवस्था गरिएकाले उम्मेदवारले कुन पदमा उठ्दैछु र विजय भएपछि मेरो भूमिका के रहन्छ भन्ने बारेमा ख्याल गरेमा कार्यान्वयन योग्य मुद्दाहरू समावेश गर्न सकिन्छ । ममाथि शासन गर्न आउन खोज्ने मेयरले सिरानीमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ राखोस् ।

निश्चय नै शासनसत्ता जित्नेको हातमा हुन्छ चाहे गोलाप्रथाबाट होस् कि झिनो वा विशाल मतान्तरले विजय प्राप्त होस् । तर व्यवस्था चाहिं विजेता र उपविजेताहरूको मात्र होइन फरक मत राख्नेहरूको पनि हो । जित्नेको हातमा सत्ताको तालाचाबी हुँदैमा पराजित हुनेलाई दबाउने वा फरक मत राख्नेहरूलाई उपेक्षा गर्नुहुँदैन । तर विडम्बना पहिलो पटकका स्थानीय तह जनप्रतिनिधिले यसमा हेक्का पुर्‍याएनन् ।

उनीहरूले शासन मात्रै हाँके, सुशासन दिएनन् । शासक मात्र बने, सेवक बनेनन् । यसर्थ मेरो भूगोलको मेयर अब शासन हाँक्ने होइन सुशासन दिने र शासक होइन सेवक बन्ने र उसको÷उनको चुनावी नारामा होस् : ‘अब शासन हैन, सुशासन’, ‘अब शासक/प्रशासक होइन, जनसेवक ।’

स्थानीय तहले प्रदेश र संघ सरकारसँग समन्वयमा काम गर्नुपर्ने भएकाले विकासमा प्रदेश र संघसँग चाल्ने कदमका बारेमा पनि आफ्ना मतदातालाई बुझाउन सकेमा पक्कै पनि मत प्राप्त हुनेछ ।

अबको मेरो/मेरी मेयर ‘स्थानीय तहको आजको आवश्यकता : बेरुजुको नियन्त्रण र अन्त्य तथा प्रणालीबद्ध सञ्चालनको प्रतिबद्धता’ ‘भ्रष्टाचार, चुहावट र ढिलासुस्तीको नियन्त्रण सहित जवाफदेहिता, पारदर्शिता र उत्तरदायित्व’ नारा सहितको होस् ।

यस्तै जिल्लाभित्रका स्थानीय तह र छिमेकी जिल्लाका स्थानीय तहसँग विकासमा हातेमालो गर्ने गरी घोषणापत्रमा सुझबुझ राख्ने मनुवा मेरो मनको मेयर उम्मेदवार बनोस् । पटकपटक कच्ची सडक खन्ने भन्दा भएका कच्ची सडक र बाटोलाई ग्राभेल गरी कालोपत्रे गर्ने योजना समावेश गर्ने मनुवा मेरो मनको मेयर उम्मेदवार बनोस् र उसको÷उनको चुनावी नारा होस् : ‘कच्ची मात्रै होइन पटकपटक : ग्राभेल र कालोपत्रे सडक यसपटक ।’

जिल्लाका र सम्बन्धित स्थानीय तहभित्र उद्यम, उद्योग, कलकारखाना आदि जस्ता पक्षहरूमा ध्यान पुर्‍याउँदै स्थानीय अर्थतन्त्र चलायमान बनाउने उपायहरू दिने व्यक्ति मेरो मनको मेयर उम्मेदवार बनोस् र उसको वा उनको चुनावी नारा होस्, ‘स्थानीय विकासमा हात : निजी क्षेत्र र सहकारीको साथ’ ।

यस्तै पशुपालन, कृषि उत्पादन, पर्यटनको साथै व्यावसायिक सीप तथा तालिममा जोड दिने मनुवा मेरो मनको मेयर उम्मेदवार बनोस् । स्थानीय तहको विकासमा निजी क्षेत्रको भूमिका बढोत्तरी गर्नुपर्दछ । स्थानीय तहभित्रका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर वृद्धि नगरी भएको छैन त्यसैले मेरो मनको मेयर यस्तो आओस् कि ऊसँग त्यो दृष्टि भएको होस् ।

स्थानीय तहको गरिबी, बेरोजगारी, पछौटेपन, दुरवस्था विद्यमान छ । मलाई यस्तो मेयर चाहिएको छ कि स्वास्थ्य सम्बद्ध संस्थाको सुदृढीकरण गर्दै यस क्षेत्रका जनशक्तिको वृत्ति–विकास गर्ने, नागरिकलाई स्वास्थ्य सुविधा सर्वसुलभ गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, नदी, खोला किनार नजिक रहेका जमिनमा सिंचाइको प्रबन्ध गर्न नगर, प्रदेश र संघका योजनाहरू लैजाने, बाँझो र उजाडिएका जमिनमा कृषि उत्पादन, बोटबिरुवा रोपण गरी उत्पादन गर्ने, स्थानीय तहको हावापानी र भूगोल अनुसार व्यावसायिक कृषि, फलफूल, तरकारी वा अन्य नगदे बालीको लागि वैज्ञानिक र व्यवस्थित अनुदान प्रणाली अवलम्बन गर्ने तथा तरकारी तथा फलफूल भण्डारणको लागि चिस्यान केन्द्र खोल्न सक्ने होस् ।

यस्तै उम्मेदवार मेयरसँग विकासको आवश्यकता पहिचान गर्न अध्ययन, अनुसन्धान गर्ने, स्थानीय तहको पर्यटन विकास गर्न स्थानीय तह स्तरीय पर्यटन विकास समिति गठन गरी कार्यजिम्मेवारी दिने, र स्थानीय कला, भाषा, संस्कृति, रीतिरिवाजको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने योजना होस् ।

अर्कोतिर वडालाई नसपारी भएको छैन । ६ हजार ७४३ वडा मध्ये केही मात्रै आउने पाँच वर्षमा केही मात्रै सप्प्रिए भने पनि शासन व्यवस्था माथि जस पुग्दथ्यो । नागरिक सबैभन्दा पहिला र धेरैपटक ठोकिने वडामै हो । अझै आर्थिक क्रियाकलाप धेरै हुने, जनसंख्या धेरै भएका र सहरी वडा त झनै महत्वपूर्ण छन् । यसर्थ स्थानीय तहको विकासमा वडाको मुख्य भूमिका हुन्छ ।

स्थानीय तह सफल हुन उसका वडाहरू सफल हुनुपर्दछ । वडाले प्रभावकारी काम गर्न सकेनन् भने स्थानीय तह नै निष्प्रभावी हुन्छ । वडासहित पालिका, संघ, प्रदेश साथै देशी विदेशी संघ संस्थाको कार्यक्रम र बजेट कार्यान्वयन गर्ने थलो पनि वडा नै हो । त्यसैले वडाहरू विकास कार्यक्रमको प्रयोगशाला हुन् ।

वडाध्यक्ष स्थानीय तहको मन्त्री हैसियतको पद हो । वडाध्यक्ष स्थानीय कार्यपालिका र व्यवस्थापिकाको बलियो सदस्य हो । वडाध्यक्षले विभिन्न किसिमका ३५ वटा सिफारिसहरू र ४१ वटा विकास निर्माणका कामहरू गर्नुपर्नेछ ।

त्यसैले मेरो मनको मेयरसँग ‘वडा वडाको विकास : समग्र स्थानीय तहको समृद्धि र विकास’ भन्ने चुनावी नारा होस् । यसैगरी ‘वडालाई विकासको परिचालक बनाउने’, ‘जनगुनासो तत्कालै सम्बोधन’, ‘टोल विकास संस्था र उपभोक्ता समितिलाई स्थानीय विकासको इन्जिनको रूपमा स्थापित गर्ने’ उपभोक्ता समिति र टोल विकास संस्था गठनमा तेरोमेरो नगर्ने व्यक्ति मेरो÷मेरी मेयरको रूपमा चुनावी मैदानमा आओस् ।

त्यसैगरी हुनेवाला मेयरले ‘सबल, सुदृढ र सक्षम स्थानीय तहको निर्माण : ऐन सहितका अन्य कानुनी दस्तावेजहरू निर्माण’, ‘स्थानीय विकास र परिवर्तनको आधार : स्थानीय अर्थतन्त्र चलायमान र पूर्वाधार’, ‘टोलटोल र बस्तीबस्तीको विकास : हातहातमा सीप र व्यावसायिक दक्षता र क्षमता’, ‘खानेपानीको पहुँच मात्रै होइन : अबको प्राथमिकता गुणस्तरीय खानेपानी’, ‘शिक्षामा न्यायिक पहुँच र सबलीकरण : गुणस्तरीय शिक्षामा प्राथमिकीकरण’, ‘सूचना तथा सञ्चारप्रविधि : सुगम र दुर्गम एक साथ’, ‘स्थानीय तहको रूपान्तरण र विकास : स्थानीय सामाजिक संस्थाको संस्थागत विकास’, ‘एक व्यक्ति : एक सम्मान’, ‘हरेक व्यक्तिको साथ : प्राथमिक शेयर खाता हातहात’, ‘व्यक्ति–व्यक्तिको साथ : बैंक खाता हातहात’ र ‘व्यक्तिव्यक्तिको हातमा : जीवन बीमा साथमा’ भन्ने चुनावी नारा बोकोस् ।

डियर मेयर उम्मेदवारसँग पालिकाको बजेटमा भोजभतेर गर्दै नहिंड्ने र पालिकाको खरिदमा गिद्दे दृष्टि नलाउने प्रण होस् । यस्तै ‘रोजगारीको सिर्जनाको लागि अनुदान र ऋणसहितको सरल, सुलभ कर्जा’, ‘शिक्षित बेरोजगारलाई लोकसेवा आयोग वा अन्य रोजगारी केन्द्रित नि:शुल्क कक्षा सञ्चालन’, ‘सामुदायिक वनमा आधारित सहकारीको बीउ पुँजीमा लगानी’, ‘नेपाल सरकारको सुविधाबाट वञ्चित अपाङ्गता भएका, आँखा देख्न नसक्ने वा शारीरिक रूपमा कमजोर र अशक्त व्यक्तिको जीविकोपार्जनमा सहयोग’ गर्ने चुनावी नारा होस् ।
त्यस्तै स्थानीय तहको विकासमा बालबालिका, महिला, युवायुवती, बुद्धिजीवी, विज्ञ, शिक्षक, कर्मचारी, नागरिक समाज, अभियन्ताको साथ खोजोस्, स्थानीय शिक्षक र कर्मचारीको वृत्ति–विकासमा जोड देओस्, स्थानीय तहको गतिविधि महिना–महिनामा सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण र बहस गर्ने खालको प्रतिबद्धता मेरो मेयरको चुनावी नारामा होस् ।
हुनेवाला मेयरको उम्मेदवारसँग संघीयता र वित्तीय संघीयतको मर्म बुझेको होस् । जसले अघिल्ला जनप्रतिनिधिका नमूना कामको निरन्तरता देओस् । हुनेवाला मेयरले उम्मेदवार बन्दै गर्दा सम्पत्ति सार्वजनिक गर्ने, पाँच वर्षसम्म बर्सेनि सम्पत्ति विवरण जनतासामु परीक्षण गराउने, पालिकाको बजेटबाट सम्भव नभएका तर जनताको माग र आवश्यकतामा आधारित भएका विकास योजना प्राप्ति गर्न संघको राष्ट्रिय योजना आयोग र प्रदेशको नीति तथा योजना आयोगमा स्थानीय तहको विकासका योजनाहरूको माग गर्न भूमिका खेल्नेछु भन्ने प्रतिबद्धता बोकोस् ।

उसले स्थानीय तहको आर्थिक आत्मनिर्भरताको लागि आन्तरिक स्रोत परिचालनतर्फ ध्यान दिने खालको ‘स्थानीय तहको सडकको गुरुयोजना, आवधिक योजना, राजस्व सुधार कार्ययोजना, क्षमता विकास योजना, मध्यमकालीन खर्च संरचना आदि बनाउन सकोस् । यस्तै विकास योजना निर्माण र कार्यान्वयनमा जनसहभागितामा जोड दिने, बजेट पारित भएकै दिन वेबसाइट राख्ने र वेबसाइटलाई अद्यावधिक गरी राख्ने र वार्षिक विकास कार्यक्रम बनाउँदा अबण्डा बजेट नराख्ने र कनिका छरेझैं बजेट नछर्ने होस् ।

यस्तै पालिकाका ठूला विकास योजना कार्यान्वयन गर्न खरिद योजना बनाई समयमा नियम अनुसार नै बोलपत्र आह्वान गर्ने, सम्झौता गर्ने र गुणस्तरीय कामको लागि अनुगमन र मूल्याङ्कन गर्ने चुनावी नारा होस् जसलाई मैले पनि चुनावभर बोकेर हिंड्न पाऊँ ।

हुनेवाला मेयरको उम्मेदवारसँग स्थानीय तहको विकासमा कर्मचारी र जनप्रतिनिधिको एकसाथ साथ लिने, जनप्रतिनिधिको क्षमता विकासको लागि पाँच वर्ष अवधिमा स्थानीय तह आफ्नै पहलकदमी कम्तीमा तीनवटा तालिम सञ्चालन गर्ने, अनावश्यक रूपमा प्रवेशद्वार र दृश्यावलोकन स्तम्भ नबनाउने, प्राकृतिक विपद्, महामारी, अन्य अकल्पनीय र विशेष परिस्थितिमा जनताको भलाइ, उद्धार, राहत र न्यायको लागि शीघ्र पहलकदमी लिने र न्यायोचित व्यवस्थापन गर्ने, स्थानीय तहको विकासमा अन्य दल वा विचार समूहसँग अन्तरक्रिया, बहस र सहकार्य गर्ने र स्थानीय तहका कार्यलाई सार्वजनिकीकरण गर्न पत्रकार, सञ्चारमाध्यम तथा सूचना तथा सञ्चारको भरपुर उपयोग गर्ने र विकास आयोजना÷योजना सञ्चालन गर्दा अनिवार्य रूपमा आयोजना सूचनापाटीको व्यवस्था गर्ने चुनावी नारा होस् ।

यसैगरी स्थानीय तहको विकासमा नेपाल सरकारको कानुन अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थालाई स्वागत गर्ने, स्थानीय बेरोजगारलाई व्यावसायिक कार्ययोजनाको ज्ञान दिएर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनको सहजीकरण गर्ने, बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकी रूग्ण वा कमजोर बनेका किसान, महिला, उद्यमी, व्यवसायीको समस्या सम्बोधन गर्न प्रयास गर्ने र प्रविधिमा आधारित नवप्रवर्तनमा जोड दिने तथा स्थानीय करलाई स्थानीय सुविधा र सेवाप्रवाहसँग जोड्न सक्ने चुनावी नारा हुनेवाला मेयरको उम्मेदवारसँग होस् । यस्तै साह्रै बदनाम र विवादित बनेको अर्को क्षेत्र भनेको प्राकृतिक स्रोतको उपयोग हो ।

हालसम्म खासगरी नदीजन्य ढुङ्गा, गिट्टी र बालुवा सम्बन्धी कानुन बनेको छैन । यसैले निर्देशिका, मापदण्ड आदिको भरमा बर्सेनि परिवर्तन गर्दै नदीजन्य प्राकृतिक स्रोतलाई उपयोग गरिंदै आइएको छ । यसैले हुनेवाला मेयरको उम्मेदवारको साथमा नदीजन्य प्राकृतिक स्रोतको उपयोगको लागि बलियो कानुन निर्माणको लागि तथा समग्र प्राकृतिक स्रोतको उपयोगको लागि छाता कानुनको लागि सम्बन्धित निकायमा लविङ गर्छु भन्ने नारा होस् ।

संविधानले काम (हक, अधिकार, जिम्मेवारी) दिएको छ । काम दिएपछि त्यसलाई फत्ते गर्न कर्मचारी संयन्त्र र बजेट दिइन्छ नै । तैपनि जेजति नारा उछालेर मेरी÷मेरो मेयरले जित्दै गरे पनि उसका प्रतिबद्धता, सपना पूरा भइहाल्छ भन्नेमा म चाहिं कम्तीमा विश्वस्त भैहाल्दिनँ । किनकि ऊ÷उनी पनि आखिर मान्छे नै हुन् ।

मान्छे (आफैं जस्ता जनप्रतिनिधि, कर्मचारी, जनता, सांसद, नेता, मन्त्री) ले काम गर्दिए भने नै तिनका सपना पूरा हुने हुन् । ल मान्छे पनि छन्, बजेट पनि छ तर प्रविधि, प्रणाली छैन, गर्ने ढंगरङ्ग बेठीक छ भने पनि ती बाचा पूरा हुँदैनन् । उता गरेको काम गुणस्तरहीन र दिगो नभए नगरेको भन्दा बढ्दा अपजस आउँछ ।

कमजोर र कामचोर काम गर्ने प्रतिबद्धता होस् । आउनेवाला मेयरसँग पनि बजेट नहुँदा भएन भन्ने र भए पनि काम नहुने, नियम भएन भन्ने र नियम भए पनि पालना नगर्ने, आन्तरिक स्रोत जुटाउने प्रयासमा सफलता नमिल्ने त अहिले नै भविष्यवाणी गर्दिए पनि हुन्छ ।

सम्भवत: दलकै पगरी गुथेर निर्वाचनको मैदानमा उत्रिने उनले दलको गोटी नबन्ने र स्थानीय तहमा बहुमत÷अल्पमतको अभ्यास पनि नगर्ने र सिकार पनि नहुने गरी काम गर्ने प्रण अहिले नै गरून् ।

(खनाल गोरखा नगरपालिकाका मतदाता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?