+
+

बर्दिवासमा कांग्रेस र माओवादी केन्द्रकै बागी उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १६:१९

१३ वैशाख, बर्दिबास । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बागी उम्मेदवारी परेको छ । कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेको भनिए पनि दुबै दलका एक भन्दा बढी नेताले मेयरमा उम्मेदवारी दिएका छन् ।

मेयरमा माओवादी केन्द्रबाट राजु खड्काले उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्रकै नेता रुद्र सुस्लिङ मगरले बागी उम्मेदवारी दर्ता गराएका छन् । सुस्लिङ माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेल निकट मानिन्छन् ।

उम्मेदवार चयनमा विवाद भएको कांग्रेसबाट पनि मेयरमा दुई जनाको उम्मेदवारी परेको छ । कांग्रेसको आधिकारिक उम्मेदवारको रुपमा चिरञ्जीवी हमालले उम्मेदवारी दर्ता गराएका छन् भने प्रल्हादकुमार क्षेत्रीले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर सहितको पत्र निर्वाचन अधिकृतको कार्यालय बर्दिवासलाई प्राप्त भएपछि आधिकारिक रुपमा नेपाली कांग्रेसको तर्फबाट हमालको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए ।

त्यस्तै वडा नम्बर १ मा समेत माओवादी केन्द्रको तर्फबाट बागी उम्मेदवारी परेको छ । पार्टीले आधिकारिक उम्मेदवार हरिप्रसाद पौडेललाई बनाएपछि निरज अधिकारीले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसबाट वडा नम्बर २ बाहेकका सबै वडामा बागी उम्मेदवारी परेको छ । पार्टीले मेयरमा हमाललाई टिकट दिएपछि कांग्रेस कार्यकर्ताहरुले बागी उम्मेदवारी दर्ता गराएका हुन् । बागी उम्मेदवारी दर्ता गराउनेहरु क्षेत्री पक्षका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?