+
+
अन्तर्वार्ता :

कागजी गठबन्धनले पोखरामा एमालेलाई हल्लाउन सक्दैन : कृष्ण थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते २०:२०

१४ वैशाख, काठमाडौं । २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर बनेका एमाले नेता कृष्ण थापा पोखरा महानगरमा फेरि मेयरको उम्मेदवार छन् । ३४ वर्षको उमेरमै पोखराको मेयर बनेका थापाको त्यो कार्यकालमा केही राम्रा कामको थालनी भयो, केही विवादित रहे ।

विद्यार्थी राजनीति हुँदै २०४१ सालदेखि कम्युनिस्ट पार्टीको सदस्यता लिएका थापाको कास्की एमालेमा हक्की र छिटो निर्णय लिन सक्ने नेताको रूपमा चर्चा हुने गरेको छ । कुनै कुराको ख्याल नगरी प्याच्च बोलिहाल्ने स्वभावको नेताको रूपमा पनि कतिपयले उनलाई हेर्ने गरेका छन् । पोखरामा दीपक पौडेल टिकट पाइसकेर पनि विवादित बनेपछि उनीबाट खोसेर थापालाई टिकट थमाउनुमा गुटगत राजनीतिको प्रभाव र उनको काम गर्ने शैली तथा हक्की स्वभाव पनि भएको एमालेजन बताउँछन् ।

पृथ्वीनारायण क्याम्पसमा स्ववियु सदस्य, अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष हुँदै जनपक्षीय चुनाव परिचालन कमिटी सम्हालेका थापाले पञ्चायत राजकाज मुद्दामा २९ महिना जेल जीवन पनि बिताए । थापा २०५१ सालमा उपत्यका नगर विकासको अध्यक्ष थिए ।

२०५२ सालमा एमाले पोखरा नगर सचिव भएका थापा त्यसको दुई वर्षपछि २०५४ मा पोखराको मेयर बने । २०६५ सालमा एमाले जिल्ला सचिव थापा २०७० मा नवौं जिल्ला अधिवेशनबाट एमाले जिल्ला अध्यक्ष पनि भए । २०७४ मा प्रदेश सभा निर्वाचनमा थापा कास्की २ (क)बाट कांग्रेस उम्मेदवार गुरु बराललाई हराउँदै सांसद बनेका हुन् । कास्कीमा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी समूहका मानिने थापाले सांसदबाट राजीनामा दिएर दोस्रो पटक पोखराको मेयर बन्ने सपना देखिरहेका छन् । एमालेको बलियो क्षेत्र नै मानिने पोखरामा उनकै पूर्व एमाले सहकर्मी धनराज आचार्य गठबन्धनका तर्फबाट साझा उम्मेदवार छन् र यो प्रतिस्पर्धालाई रोचक ढंगले हेरिएको छ ।

प्रस्तुत छ थापासँग चुनावकै सेरोफेरोमा रहेर अनलाइनखबरका अमृत सुवेदीले गरेको कुराकानीः

केन्द्रले गण्डकीमा प्रदेशसभा सदस्यलाई स्थानीय तहमा उम्मेदवार नबनाउने निर्णय गरिसकेको थियो । मेयरको टिकट पाउने आश थियो र ?

सांसदहरू उठ्न नपाउने भन्ने पार्टीको आधिकारिक निर्णय थिएन । गण्डकी प्रदेशको सवालमा एमालेले जुनसुकै बेला सरकार बनाउनुपर्ने हुनसक्छ भन्ने कुरा मात्रै त्यहाँ अनौपचारिक रूपमा भएको हो ।

उप–महासचिव पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी रोक्न यस्तो निर्णय सुनाउनुभयो भन्ने तपाईंको असन्तुष्टि हो ?

मेरो असन्तुष्टिभन्दा पनि यहाँ तत्काल सरकार बनाउनुपर्ने अवस्था नहुन सक्छ । म उम्मेदवार हुनुपर्छ भन्ने धेरैको अभिमत बोलेको हुँ । उहाँले पनि त्यहाँ पार्टीको निर्णयभन्दा विचार राख्नुभएको थियो । गण्डकी प्रदेशमा सरकार बनाउनुपर्ने सम्भावना छ है भन्नुभएको हो, त्यो स्वाभाविकै पनि हो ।

त्यसअनुसार दीपक पौडेललाई टिकट नै दिइएको थियो । तर सुन चोरको आरोप लगाइएको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । तपाईंले पोखरामा एमालेलाई शनि–संकटा लागेको छ भन्नुभयो । तपाईंले टिकट पाएपछि संकटमोचन भयो त ?

शनि–संकटा लाग्यो भन्नुको अर्थ दुःखद भयो भन्ने थियो । पोखराको सन्दर्भमा एमालेलाई समस्या आएको छ भन्ने मेरो आशय हो । खासमा त्यो विषयमा मैले धेरै प्रतिक्रिया नै दिइनँ । त्यो असाध्यै जटिल विषय थियो, हामी सबै संवेदनशील हुनुपर्ने विषय थियो । पार्टीको आधिकारिक धारणा पर्खिरहेका थियौं ।

अघिल्लो चुनावमा पनि त म आकांक्षी थिएँ । जब पार्टीले निर्णय गर्यो, हामीले जिताउन लाग्यौं । मेरो नेतृत्वमा चुनाव हाँकेर दुईतिहाइ आएपछि मैले नै पूर्वमेयरको हैसियतले कुर्सीमा लगेर राखें । अहिलेसम्मको राजनीतिक जीवनमा पार्टीको हरेक निर्णयलाई स्वीकारेर कार्यान्वयन गर्दै आइरहेको छु ।

खासमा पौडेलको भिडियो कसले ल्यायो होला ? यसलाई धेरैले कास्कीमा भएको गुटगत राजनीतिकै उपजका रूपमा लिएको देखियो नि ?

विगत केही समययता आपराधिक राजनीतिक अभ्यासहरू पनि भइरहेका छन् । अस्वस्थ प्रतिस्पर्धा पनि भइरहेका छन् । अब त्यो कसरी बाहिर आयो, कसरी भाइरल बन्यो, अनुसन्धानविना बोल्न सक्दैनौं । जे नहुनुपर्ने थियो, त्यो भयो । दुःखद भयो । व्यक्तिका कतिपय घटनालाई पार्टीसँग जोड्नुहुँदैन ।

पछिल्लो समय कास्कीमा एमाले राजनीति उप–महासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको प्रतिष्ठाको लडाईं बनेको एमाले नै बताउँछन्, त्यसले चुनावमा असर गर्दैन ?

दुवै जना हाम्रो सम्मानित नेता हुनुहुन्छ । पार्टीको हितका लागि उहाँहरू एक हुनुहुन्छ । पार्टीभित्रको आन्तरिक विचार, विमर्श र बहसको विषयलाई प्रतिष्ठाको लडाईंका रूपमा व्याख्या गर्न मिल्दैन । पार्टीभित्र हुने स्वस्थ प्रतिस्पर्धाले चुनावको नतिजालाई कुनै असर गर्दैन । सबै एमाले एकजुट छन् ।

दीपक पौडेलले मेयरको टिकट पाउँदा उपमेयरमा अनिच्छा देखाउनुभएको मञ्जुदेवीले तपाईंले मेयरको टिकट पाएपछि एकाएक कसरी राजी हुनुभयो ? कि पहिल्यै सल्लाह थियो तपाईंहरूको !

उहाँको सबै कुरा त मलाई थाहा छैन । पार्टीको शीर्षस्थ नेतृत्वले जब आदेश गर्छ, त्यो हाम्रो लागि शिरोपर हुन्छ । पार्टी सदस्यले सबै निर्णय र आदेशहरूलाई कार्यान्वयन गर्नुपर्छ । त्यो हाम्रो कम्युनिस्ट अनुशासन हो ।

वर्तमान उपमेयर पार्टीभित्र शालीन, बौद्धिक र असाध्यै इमानदार नेताको रूपमा चिनिनुहुन्छ । पार्टीको निर्णयलाई कार्यान्वयन गर्ने असल व्यक्ति हो, उहाँ । पार्टीको आदेशलाई शिरोपर गर्ने उहाँको व्यक्तित्वले पनि फेरि आफ्नो भूमिका निर्वाह गर्नुभएको हो भन्ने लाग्छ ।

प्रदेश सांसद हुँदाहुँदै मेयर उठ्न किन आउनुपरेको ? प्रदेशको आकर्षण कम भएर हो कि महानगरको कार्यकारी पदमा बसेर बढी बजेट खेलाउन पाइन्छ भनेर ?

प्रदेश सांसद सम्मानित पद हो, नीतिनिर्माण गर्ने पद हो । नेपालको संघीयता बलियो बनाउन प्रदेश सरकारलाई बलियो बनाउनै पर्छ । जतिन्जेल प्रदेश सभाको सदस्य भएर बसें, अविचलित भएर भूमिका निभाएँ । तर, पोखरा जन्मघर हो । मैले संसारका दर्जनौं मुलुक पुगेर ५०औं सहर देख्ने, हेर्ने मौका पाएँ । पोखरालाई पनि यस्तै बनाउन पाए हुन्थ्यो भन्ने मेरो सपना थियो । २०५४ मा मेयर निर्वाचित भएर त्यही सपनालाई केही कार्यान्वयन गर्ने काम गरें । तर, थुप्रै काम बाँकी थिए । पार्टीबाट जो गए पनि त्यो सपना पूरा गर्न लागे त हुने हो । तर आफ्नो सपना आफैंले पूरा गर्न, आफ्नो नीति आफैंले कार्यान्वयन गर्न पदमा जाने सपना देख्नु पर्‍यो ।

तर, प्रदेश सांसदहरूले पालिकाको नेतृत्व गर्ने सपना देख्ने क्रम बढ्दै जाने हो भने संघीयताको मुख्य कडी मानिएको प्रदेश र व्यवस्था नै कमजोर बनाउने काम हुँदैन ?

हाम्रो संघीयतामा तीनवटै सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व निर्माण गर्ने संविधानले नै परिकल्पना गरेको छ । स्वाभाविक हिसाबले म जस्ता अनुभवी मानिसहरू स्थानीय तहमा जाँदा व्यवस्थालाई बलियो बनाउन नै सघाउ पुग्नेछ । संघर्ष गरेर ल्याएको शासन व्यवस्थालाई बलियो बनाउन पनि हामी जस्ता अनुभवी व्यक्तिको भूमिका त झनै बढी हुन्छ नि !

धनराजजी मेयर बन्नु नै थियो भने पार्टी नफुटाइकन आफ्नै पार्टीबाट बन्न चाहनु भएको भए राम्रो हुनेथियो । पार्टी फुटाएर सिद्धान्त नै नमिल्ने कांग्रेससँग साँठगाँठ गरेर नआइदिएको भए हुन्थ्यो भन्ने मेरो शुभेच्छा मात्र हो । अब प्रतिस्पर्धामा आउनुभएको छ, स्वस्थ प्रतिस्पर्धा गरेर जित निकाल्ने मेरो योजना, चाहना छ ।

२०४९ सालमा उपमेयरको आकांक्षी हुनुहुन्थ्यो, २०५४ सालमा मेयरै जित्नुभो । आफ्नो कार्यकालमा के कामको थालनी गर्नुभएको थियो र फेरि मेयर बन्ने आकांक्षा जाग्यो ?

२०४९ सालमा तत्कालीन पोखरा नगरपालिकाको उम्मेदवार मात्र होइन, त्योभन्दा अघि २०४४ सालमा म जेलमा थिएँ । तत्कालीन भूमिगत नेकपा मालेले जनपक्षीय प्रधानपञ्चको उम्मेदवार बनाएको थियो । तर, जेलमा भएको भन्दै तत्कालीन अञ्चलाधीशले मेरो उम्मेदवारी खारेज गरिदिए । २०५४ मा पार्टीले उपमहानगरपालिकाको मेयर बनायो र जितेर देखाएँ । त्यो कार्यकाल मेरो जीवनकै पहिलो अनुभव थियो । म जम्मा ३४ वर्षको थिएँ । मसँग जोस, जाँगर थियो तर अनुभवको कमी रह्यो । त्यसैमाथि अल्पमतमा थिएँ । अर्को दुर्भाग्य त्यही बेला पार्टी विभाजन भएर माले, एमाले भयो ।

त्यस्तो जटिलतालाई चिर्दै पनि सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गरें । १० वटा नयाँ कामको सुरुवात हामीले गरेका थियौं । नेपालमै पहिलोपटक घर नम्बर राख्ने सिस्टम सुरु भयो, पहिलो स्यानेटरी ल्याण्डफिल बनायौं । पोखराको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्‍यौं । नवरत्न सम्मानको सुरुवात गर्‍यौं । नगर आमा घोषणा गरेर भत्ता र स्वास्थ्योपचारको व्यवस्था गर्यौं । त्यो बेलामै न्युरोडलाई नेपालकै फराकिलो सडक बनायौं । हरियाली सहर बनाउने थालनी गर्यौं । यस्ता थुप्रै काम भए तर केही काम योजनामा भएर पनि गर्न सकिनँ । अब पूर्वाधार र सहरलाई व्यवस्थित तथा अधुरा काम पूरा गर्न आएको हुँ ।

तर, तपाईंको कार्यकालमै पोखरा नगरपालिका पार्टीका कार्यकर्ता भर्ती केन्द्र बन्यो, ढल व्यवस्थापन भन्दै पोखराको ढल फेवातालमा मिसाउने काम भयो र अहिले पोखरा अव्यवस्थित बन्नुमा तपाईंको पनि हात रह्यो भन्ने आरोप छ नि ?

यो गलत हो । केही कर्मचारी भर्ना भएका हुन्, भर्ती होइन । योग्यता, क्षमता भएर जागिर खाएका हुन् । आवश्यकता थियो र स्थानीय कर्मचारी भर्ना गरेको हो । त्योभन्दा अघि नगरपालिका झन् भद्रगोल थियो । ४७ जना शिक्षक भर्ना गरेर यतिकै तलब खुवाइएको थियो, म आउनुअघि नै ।

फेवातालमा ढल मिसाएको होइन । पानी बगेर फेवातालमै जान्थ्यो, त्यसलाई व्यवस्थित गरेको हो । आकाशबाट परेको पानी जब बाटोमा छरिन्थ्यो, त्यसलाई जम्मा गरेर फेवातालमा जाने बनाएको हो । पोखराको ढल व्यवस्थापनको काम पहिलो पटक हामीले गरेको हो । पूर्वाधार निर्माण गर्न सक्ने परिस्थिति थिएन र बसपार्क व्यवस्थित गर्ने लगायतको काम हुन सकेन ।

२०५४ सालमा तपाईंलाई मेयर बनाउन सहयोग गरेका, त्यसपछि लामो समय एउटै पार्टीमा रहेका धनराज आचार्य गठबन्धनबाट यसपटक उम्मेदवार हुनुहुन्छ, यो प्रतिस्पर्धालाई कसरी हेरिरहनुभएको छ ?

धनराजजी मेयर बन्नु नै थियो भने पार्टी नफुटाइकन आफ्नै पार्टीबाट बन्न चाहनु भएको भए राम्रो हुनेथियो । पार्टी फुटाएर सिद्धान्त नै नमिल्ने कांग्रेससँग साँठगाँठ गरेर नआइदिएको भए हुन्थ्यो भन्ने मेरो शुभेच्छा मात्र हो । अब प्रतिस्पर्धामा आउनुभएको छ, स्वस्थ प्रतिस्पर्धा गरेर जित निकाल्ने मेरो योजना, चाहना छ ।

पार्टीहरू एक्लाएक्लै लड्दा पोखरामा एमाले बलियो मानिन्छ । तर अहिले एमाले एकातिर र पाँचदलीय गठबन्धन अर्कोतिर छ, यस्तो बेला जित निकाल्न सहज छ र ?

उहाँहरूको कागजी पाँचदलीय गठबन्धन छ, हाम्रो जनतासँग गठबन्धन छ । यो गठबन्धन नचाहने कांग्रेस र माओवादीका धेरै साथी छन् । सिद्धान्त नै नमिल्ने बुर्जुवा पार्टी र कम्युनिस्ट पार्टीको गठबन्धन चाहिंदैन भन्ने साथीहरू पनि त्यहीं छन् । ४/५ जना मिलेर एउटासँग लड्न जाने लोकतान्त्रिक अभ्यास राम्रो होइन भन्ने धेरै विद्वान, बुद्धिजीवीले यसपटक हामीलाई भोट दिँदैछन् ।

कागजी गठबन्धनले पोखरामा एमालेलाई हल्लाउन सक्दैन । पोखराको विकास र भलो चाहने, यो व्यवस्थालाई स्थायित्व दिन चाहने न्यायप्रेमी जनतासँग एमालेको गठबन्धन छ । त्यसैले त्यो गठबन्धनसँग हामीलाई कुनै मतलब छैन ।

एमालेभित्र पनि एउटा असन्तुष्ट छ । आचार्य स्वयंलाई पनि तपाईंहरुको कमजोरी थाहा छ, उनले पनि तपाईंहरुको मत तान्ने सम्भावना उत्तिकै छ नि ?

यसबारे बुझ्न हाम्रो विगतको नजिर पनि हेर्न सकिन्छ नि ! एमाले विभाजन हुँदा कस्ता–कस्ता घागडान नेताहरू मालेबाट उठेका थिए र उनीहरूको हालत कस्तो भयो भन्ने सबैले देखेकै हो । आकलन, मनको सन्तुष्टि मात्र हो यो । पुरानो लिगेसी छ भन्दैमा केही फरक पर्दैन । कार्यकर्ताले पार्टी हेर्छन्, व्यक्ति होइन ।

त्यसो भए तपाईंहरूले पोखरामा जित्ने आधार के हो त ?

पहिलो कुरा नेकपा एमाले चुस्त, दुरुस्त र सबैभन्दा सांगठनिक रूपमा सशक्त पार्टी हो । जिम्मेवार इतिहास बोकेको पार्टी हो । हामीलाई इतिहासमाथि गर्व छ, यो हाम्रो आधार हो ।

दोस्रो, हाम्रा अध्यक्ष केपी शर्मा ओलीले नेपालको इतिहासमा धेरै ठूला काम गर्नुभएको छ । विदेशीका सामु झुक्नुभएन । लिपुलेक, लिम्पियाधुरा नक्सामा समेट्ने कुरा, नेपालको विकासले छलाङ मार्ने भएको छ । नेपाली जनतालाई विकासको सपना र आशा जगाउने काम ओलीले गर्नुभएको छ ।

तेस्रो, गण्डकी प्रदेश सरकार बनेसँगै संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वले प्रदेशभरि विकासको संरचना तयार पारेको छ । यो पनि हाम्रो आधार हो । पोखरा महानगरपालिकामा मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले यहाँको कानुन निर्माण र विकासको जग बसाल्नुभएको छ ।

सबैभन्दा महत्वपूर्ण आधार उम्मेदवार हो । राजनीतिमा ४० वर्षदेखि निरन्तर लागेको अनुभवी, पोखरेली जनतामा समर्पित भएको मजस्तो पात्र पोखरेलीले पाउनु पनि अर्को जितको आधार हो । हाम्रो उपमेयर पनि अनुभवले खारिएको र विकासको जग बसालेको व्यक्ति नै हुनुहुन्छ । अरू जाँदा सिक्दै समय लाग्छ, हामीले सुरुदेखि नै झ्याम कि झ्याम काम थालिहाल्यौं । यस्ता थुप्रै आधार छन् हामीले चुनाव जित्ने ।

तपाईंले पोखरामा काम भयो भनिरहँदा गएको निर्वाचनको घोषणापत्र हेरेर पनि लजाउने स्थिति छ, जुन सपना मात्र बन्यो, देखाउने गरी कामै भएन भनिरहेका छन् त पोखरेलीले ?

घोषणापत्र अनुसार सबै काम हुन सकेनन् होला । परिस्थिति पनि जटिल थियो । सुरुको एक वर्ष नियम कानुन बनाउँदै बित्यो । जब कामको सुरुआत भएको थियो, कोरोना आइहाल्यो । करिब दुई वर्ष त कोरोनाले अन्यत्र ध्यान दिनै सकिएन । दुर्भाग्य, मेयर मानबहादुर जिसी पनि अचानक बिरामी पर्नुभयो । परिस्थितिजन्य कुराले धेरै काम हुन नसकेका हुन्, तर कामै नभएका भने होइनन् । पूरा नभएका राम्रा कामको फिनिसिङ अब हामीले गर्ने हो ।

अघिल्लै घोषणापत्रअनुसार काम हुन सकेन, अब कस्तो घोषणापत्र ल्याउनुहुन्छ ? कहिले ल्याउनुहुन्छ ?

अब घोषणापत्रमा लम्मे–चौडा पनि लेख्दैनौं । जति गर्न सकिन्छ, त्यति मात्र लेख्छौं । फेरि काम गरेर देखाउनलाई घोषणापत्र नै चाहिन्छ भन्ने पनि छैन । जनताको तत्कालीन आवश्यकता हेरेर पनि नेतृत्वले काम गर्नुपर्छ ।

२०७४ मा करिब १४ हजार मतान्तरले एमाले विजयी भएको थियो । अहिले एमाले विभाजन भएको अवस्था छ, अर्कोतिर गठबन्धन छ । के छ चुनावको हिसाब–किताब ?

अहिले करिब ४० हजार मतदाता थपिएका छन् । ती अधिकांश युवा हुन् । अहिले नेपालमा सबैभन्दा युवाको आकर्षण भएको पार्टी एमाले हो । युवामा क्रेज भनेको केपी ओलीको छ ।

अर्को कुरा पार्टी विभाजनले हामीलाई कुनै असर गर्दैन, त्यो क्षति पूरा भइसक्यो । गठबन्धन नाम मात्रैको हो, त्यहाँभित्र धेरै समस्या छन् । त्यसैले पहिलेको मतान्तरमा ८/१० हजारै थपेर चुनाव जित्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?