+
+

‘कबड्डी ४’को ट्रेलर रिलिज : मिरुनालाई पाउन दयाहाङ र सौगातको घम्साघम्सी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १६:२८

काठमाडौं । चालीस काट्न लागेको अविवाहित काजी । विवाहको लागि केटी खोज्दै गाउँ आइपुगेको बमकाजी र गाउँकै स्कुलमा पढाउने मास्टरनी भाञ्जी । यी तीन चरित्र वरपर घुम्छ ‘कबड्डी ४’को ट्रेलर ।

चौथो सिक्वेल भएपनि फिल्मको टाइटल छ, ‘कबड्डी : द फाइनल म्याच’ ।

मैयाँले धोका दिएपछि लामा बन्न बौद्ध गुम्बा पुगेको काजी (दयाहाङ राई) बुवाआमाको दबाबमा घर फर्किएपछि कथा सुरु हुन्छ । विवाहसँग विरक्तिएको काजीले के मास्टरनी (मिरुना मगर)लाई बिहे गर्ला ?

गाउँ आएको बमकाजी मास्टरनी भाञ्जीसँगको प्रेममा परेपछि के उसले भगाएर बिहे गर्ला ? ट्रेलर हेर्दा लाग्छ, ‘कबड्डी ४’को कथावस्तु मास्टरनी भाञ्जीलाई बिहे गर्न काजी र बमकाजीबीचको रस्साकस्सी हो ।

पहिलो भागदेखि नै विवाह हुन नसकिरहेको काजीले चौथो सिक्वेलसम्म आइपुग्दा बिहे गर्छ वा गर्दैन ? दर्शकमाझ यो कौतुहलताको विषय बनिरहेको छ । ड्रामा, रोमान्स र राजनीतिका तत्व समावेश ‘कबड्डी ४’ ट्रेलर बुधबार इन्टरनेट रिलिज भएको छ ।

जेठ १३ गते रिलिज हुने यो फिल्मको ट्रेलरमा मुस्ताङको थकाली आञ्चलिकता र त्यहाँको प्रेम तथा बिहेको लागि हुने संघर्षलाई चित्रण गरिएको छ । रामबाबु र उपेन्द्र सुब्बाद्वारा लिखित फिल्मको ट्रेलरमा आकर्षक संवाद प्रस्तुत छ । ट्रेलरमा अर्की अभिनेत्री गौमाया गुरुङलाई भने लुकाइएको छ ।

बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, जयनन्द लामा, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, शारदा गुरुङ लगायतको अभिनय समेत छ । रामबाबु गुरुङ निर्देशित फिल्मलाई घरेलु बक्स अफिसमा महत्वका साथ लिइएको छ । विशाल गुरुङ एलजी, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द रौनियारले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?