+
+

स्थानीय तह निर्वाचन : एमालेका ३३ हजार उम्मेदवार, कांग्रेसका ३१ हजार

७३६ स्थानीय तहमा एमालेको उम्मेदवारी, कांग्रेसको ७४६ मा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १६:४९

१४ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सबैभन्दा धेरै पदमा उम्मेदवारी दिएको छ ।

नगरपालिकाको मेयर र उपमेयर, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यमा गरी एमालेका करिब ३३ हजार जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसका ३१ हजार, नेकपा माओवादी केन्द्रका २२ हजार, राप्रपा र स्वतन्त्र उम्मेदवार १२–१२ हजार र नेकपा एकीकृत समाजवादीका ११ हजार जनाले उम्मेदवारी दिएका निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगको विवरण अनुसार, नेकपा एमालेले ७५३ स्थनीय तहमध्ये ७३६ वटाको प्रमुख पदमा उम्मेदवारी दिएको छ भने १७ वटाको प्रमुख पदमा उम्मेदवारी दिएको छैन । नेपली कांग्रेसले ७५३ मध्ये ६४६ स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएको छ । उसले १०७ स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएको छैन । यो निर्वाचनमा कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको छ ।

त्यसपछि क्रमशः राप्रपा, नेकपा माओवादी केन्द्र, जनता समाजवादी दल, एकीकृत समाजवादी र अनि मंगोल नेशनल अर्गनाइजेसनले धेरै उम्मेदवारी दिएका छन् ।

उपाध्यक्ष/उपप्रमुख

एमालेले स्थानीय तहको उपप्रमुख वा उपाध्यक्ष पदमा ७५३ मध्ये ७३० वटा स्थानीय तहमा उम्मेदवारी दिएको छ । उसले २३ वटा पालिकाको उपप्रमुख वा उपाध्यक्षमा उम्मेदारी दिएको छैन ।

कांग्रेसले ५७० वटाको उपप्रमुख वा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छ । उसले १८३ वटामा उम्मेदवारी दिएन ।

एमाले र कांग्रेसपछि उपप्रमुख वा उपाध्यक्ष पदमा धेरै उम्मेदवारी दिने दलमा क्रमशः माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी रहेका छन् ।

वडाध्यक्ष

६ हजार ७४३ वडामध्ये एमालेले ६ हजार ४९५ वडाको अध्यक्षमा उम्मेदवारी दिएको छ, उसले २४८ वडा अध्यक्षमा भने उम्मेदवारी दिएको छैन । कांग्रेसले ६ हजार ११६ वडामा मात्रै उम्मेदवारी दिएको छ । स्वतन्त्र उम्मेदवारले ५ हजार ८७० वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

वडाध्यक्षमा धेरै उम्मेदवारी दिनेमा त्यसपछि क्रमशः माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी रहेका छन् । देशभभर वडाध्यक्ष पदमा ३५ हजार भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।

वडा सदस्य

प्रत्येक वडामा दुई जनाका दरले देशभर १३ हजार ४८६ वडा सदस्य हुन्छन् । एमालेले १२ हजार ७७९ पदमा उम्मेदवारी दिएको छ । उसले ७७ वडा सदस्य पद छाडेको देखिन्छ । कांग्रेसले १२ हजार ५७ पदमा वडा सदस्यको उम्मेदवारी दिएको छ ।

महिला सदस्य र दलित सदस्य

नेकपा एमालेले ६ हजार ३५९ महिला वडा सदस्य पदमा उम्मेदवारी दिएको छ । कांग्रेसले ६ हजार ४७ मा उम्मेदवारी दिएको छ भने त्यसपछि माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी छन् ।

दलित महिला सदस्यमा एमालेका ६ हजार १५९ उम्मेदवार छन् भने कांग्रेसको ५ हजार ७८४ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?