+
+

सातामा दुई दिन बिदा : स्वास्थ्य सेवा लिन झन् सास्ती !

अहिले सरकारी अस्पतालहरुमा सेवा लिन सहज छैन, अब एक दिन विदा थप्ने हो भने यो सास्ती अझ बढ्छ । अरु कर्मचारीलाई विदा दिएर स्वास्थ्यमा काम लगाउने हो भने प्रोत्साहन भत्ता दिनुपर्छ, जुन अहिले भन्दा खर्चिलो हुनेछ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ वैशाख १५ गते १३:४३

१५ वैशाख, काठमाडौं । सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा के हुन्छ भन्ने धेरैको चासो छ । किनकी शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले स्कुल र कलेजहरु पनि सरकारी कार्यालय जस्तै दुई दिन बन्द हुने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने लगातार २ दिन ओपीडी सेवा बन्द नगर्ने पक्षमा छ । अन्य सरकारी सेवा सातामा दुई दिन बन्द भएपनि आइतबार अस्पतालका ओपीडी बन्द नगर्ने स्वास्थ्यमन्त्री विरोध खतिवडा बताउँछन् ।

‘स्वास्थ्य सेवा अन्य सेवा जस्तो हुँदैन । सातामा दुई दिन कुनै हालतमा ओपीडी बन्द गर्न मिल्दैन,’ मन्त्री खतिवडाले अनलाइनखबरसँग भने, ‘स्वास्थ्य सेवा नियमित रुपमा पाउनुपर्छ भन्ने मेरो धारणा हो । यस विषयमा मन्त्रालयमा सचिव लगायत अन्य स्वास्थ्य विज्ञसँग छलफल गर्छु ।’

स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा थप छलफल भएपछि मात्रै निर्णय हुने मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रा बताउँछिन् । भन्छिन्, ‘ओपीडी कसरी सञ्चालन गर्ने मन्त्रालयले केही सोच बनाउँला । कर्मचारीले रुटिनमा काम गरेर भए पनि सेवा दिनुपर्ने हुनसक्छ ।’

लगातार दुई दिन सार्वजनिक बिदा हुँदा बिरामी मारमा पर्ने भएकाले स्वास्थ्य सेवालाई निरन्तरता दिनुपर्ने अस्पताल व्यवस्थापक तथा जनस्वास्थ्यविदहरु बताउँछन् ।

स्वास्थ्य सेवा लिन झन् सास्ती !

अहिले नै ठूला सरकारी अस्पतालहरुमा सेवा लिन सहज छैन । ओपीडीको टिकट पाउन मुस्किल हुन्छ । टिकट पाइहाले पनि पालो आउन समय लाग्छ ।

गत सोमबार सर्लाहीका राजेश महतो (४५) उपचारका लागि वीर अस्पताल आएका थिए । शुक्रबार लाइनमा बसेर चिकित्सकलाई देखाउन टिकट काटेका उनी दिनभरी लाइनमा बस्दा पनि पालो आएन । ‘आइतबार ९ बजे अस्पतालको लाइनमा बसें । १२ बजेतिर पालो आयो र चिकित्सकले स्वास्थ्य जाँच गरेपछि भिडियो एक्सरे लगायत अन्य परीक्षण गर्न सुझाव दिए । ‘भीड यति थियो कि साँझ मात्र पालो आयो,’ महतोले स्वास्थ्य सेवा लिनुपर्दाको सास्ती सुनाए ।

सोमबार १० बजेपछि पुनः अस्पताल पुगेर लाइनमा लाए । दिउँसोको १ बज्न लाग्दासम्म उनको पालो आएको थिएन । ‘निजी अस्पतालमा उपचार गर्न सकिँदैन । सरकारी अस्पतालमा समयमा उपचार पाइँदैनन् । जहिले उपचार गर्न आयो यस्तै भीड हुन्छ,’ उनी भन्छन्, ‘हामीजस्ता निमुखाले सेवा लिन सास्ती भोग्नुपर्छ ।’

महतो एक प्रतिनिधि पात्र मात्रै हुन्, जसले स्वास्थ्य सेवा लिनका लागि निकै सास्ती भोगेका छन् । अब सरकारले आइतबार पनि सार्वजनिक विदा गर्ने र सरकारी अस्पतालहरुको ओपीडी पनि बन्द हुने हो भने यो सास्ती अझ बढ्ने निश्चित छ ।

वीर अस्पतालको तथ्यांकले यही भन्छ । देशको पुरानो तथा ठूलो अस्पताल वीरमा अन्य दिनमा १ हजार ७०० हाराहारीमा टिकट बिक्री हुने गर्छ । तर आइतबार २ हजार ४०० सम्म बिक्री हुने अस्पतालको तथ्यांक छ । ‘कर्मचारीहरुले पाउने सेवा–सुविधा सबैलाई समान हुनुपर्छ । तर अस्पतालमा दुई दिन बिदा दिने हो भने टाढाबाट आएका बिरामी तथा अप्रेसन गर्ने बिरामी मर्कामा पर्छन्,’ वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र कुमार बस्नेत भन्छन्, ‘होइन भने सरकारले छुट्टी बापत प्रोत्साहन भत्ताको व्यवस्थापन गरेर सेवा सञ्चालन गर्न सक्नुपर्यो ।’

त्रिवि शिक्षण अस्पतालको तथ्यांकले पनि त्यही भन्छ । यो अस्पतालमा अन्य दिन १ हजार ५०० हाराहारी ओपीडी सेवा लिने भएतापनि आइतबार २ हजार १०० भन्दा बढी हुन्छ । ‘अहिले त शनिबार बिदा हुँदा आइतबार ओपीडी सेवा थेगिनसक्नुहुन्छ । झन् दुई दिन बिदा हुँदा मंगलबार आउने बिरामीको व्यवस्थापन गर्न थप चुनौती हुन्छ,’ त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले अनलाइनखबरसँग भने, ‘व्यवहारमा यो नियम लागु गर्न एकदमै कठिन छ ।’

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की

आइतबारको विदाले ओपीडी मात्र होइन, अस्पतालहरुमा हुने अप्रेसनलाई पनि असर गर्छ । त्रिवि शिक्षण अस्पतालमा ठूला–साना गरी ५०–५५ अप्रेसन हुन्छ । ‘दुई दिन बिदा हुने बित्तिकै अप्रेशन गर्ने संख्या कम हुन्छ । यसले अप्रेसन गर्न लामो समय नागरिकले पालो कुर्नुपर्ने बाध्यता आइपर्छ,’ डा. काफ्ले भन्छन् ।

त्यसमा सहमत जनस्वास्थ्यविज्ञ डा. केदार बराल भन्छन्, ‘बिदाको असर सबैभन्दा बढी गाउँघरका स्वास्थ्य सेवामा पर्छ । एक त त्यहाँ आकस्मिक सेवा उपलब्ध हुँदैन । त्यसमाथि सामान्य उपचारका लागि तीन दिनसम्म कुर्नुपर्दा नागरिकले स्वास्थ्य सेवा लिनका लागि झ्न सास्ती खेप्नुपर्ने हुन्छ ।’

अर्का जनस्वास्थ्यविद् डा. शरद वन्त पनि दुई दिन स्वास्थ्य सेवा बन्द गर्न नहुने पक्षमा छन् । ‘सबै स्वास्थ्य संस्थामा २४ सै घन्टा स्वास्थ्य सेवा उपलब्ध हुँदैन, जसले गर्दा नागरिकले सामान्य उपचारका लागि टाढासम्म धाउनुपर्ने हुन्छ,’ डा. वन्त थप्छन्, ‘अहिले पनि ग्रामीण क्षेत्रका स्वास्थ्य संस्था एक दिन बिदा हुँदा आधारभूत सेवा लिन वञ्चित छन् । विदा थप्दा नागरिकले थप दुखः भोग्नुपर्छ ।’

‘थप काम लगाए प्रोत्साहन भत्ता चाहिन्छ’

अधिकांश अस्पताल व्यवस्थापक तथा स्वास्थ्यकर्मी संगठनका पदाधिकारीहरु स्वास्थ्य सेवालाई निरन्तरता दिनुपर्ने धारणा राख्छन् । तर अरुलाई आइतबार विदा दिएर स्वास्थ्य सेवा सञ्चालन गर्ने हो भने प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की सरकारले सार्वजनिक विदा तोकेपछि सबै क्षेत्रमा लागू हुनुपर्ने बताउँछन् । लगातार दुई दिन अस्पताल बन्द हुँदा नागरिकलाई ठूलो असर पर्ने भन्दै उनी भन्छन्, ‘हामीले स्वास्थ्य सेवाको संवेदनशीलतालाई बुझेका छौं, तर सरकारले कर्मचारीलाई भेदभाव गर्न पाउँदैन । आइतबार काम गराउन आवश्यक भए लगाउन सक्छ, तर कार्यविधि बनाएर नै सट्टा बिदा कि त प्रोत्साहन भत्ता व्यवस्था दिने गर्नुपर्छ ।’

यसलाई बुझेका स्वास्थ्य मन्त्रालयका अधिकारीहरु पनि खर्च घटाउन भनेर दुई दिन विदा दिने निर्णय भएपनि अवस्था उल्टो हुने बताउँछन् । ‘सरकारी संस्थाहरुको सेवा गुणस्तरहीन छ । त्यसमाथि बिदा थप्दा हाम्रो सेवा हालत कस्तो होला ?,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘अब कर्मचारीले थप भत्ताविना काम गर्दैनन्, काम लगाउँदा आर्थिक भार थप पर्ने निश्चित छ ।’

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?