+
+
अन्तर्वार्ता :

‘ललितपुरवासीका लागि म जत्तिको लाभदायक व्यक्ति अरू छैन’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते २१:१७

१५ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाको नेतृत्वका लागि पुनः उम्मेदवारी दिएका चिरिबाबु महर्जन नगरवासीका लागि आफू जति लाभदायक पात्र अर्को नभएको बताउँछन् ।

आफूले पाँच वर्ष महानगरको नेतृत्व गर्दा कसैले प्रश्न उठाउने ठाउँ नरहेको उनको दाबी छ । ‘पाँच वर्षमा ललितपुरवासीको शिर झुकाउने कुनै काम गरेको छैन, केही गल्ती गरेको छैन, सबै राम्रो काम गरेको छु’ निवर्तमान मेयर महर्जन भन्छन्, ‘म जत्तिको लाभदायक व्यक्ति अरू को हुनसक्छ र ?’

आसन्न स्थानीय तह निर्वाचन, चुनावी एजेण्डा लगायत विषयमा नेपाली कांग्रेसको मेयरका उम्मेदवार महर्जनसँग अनलानखबरकर्मी रघुनाथ बजगाईं र रामकुमार डिसीले गरेको कुराकानीको सम्पादित अंश :

मेयरबाट राजीनामा दिएर त्यही पदको प्रतिस्पर्धामा हुनुहुन्छ । तपाईं नै फेरि यो पदमा कसरी योग्य ?

म स्थानीय हो, यहाँको सबै सुख–दुःखसँग परिचित छु । कामको लागि एक कार्यकालमा मनग्ये अनुभव भएको छ । अघिल्लो कार्यकाल सक्दै गर्दा केही काम अधुरा रहे । तिनलाई पूरा गर्न पनि म आवश्यक रहेको नगरवासीले महसुस गर्नुभएको छ ।

गत पाँच वर्षमा हामीले नगरवासीको भलाइका लागि धेरैवटा आयोजना बनायौं । आयोजना बैंकमा रहेका ती आयोजना पूरा गर्न मेयरमा कोही नयाँ होइन, सबै कुरा बुझेको म नै योग्य र सक्षम हुँ भन्ने लाग्छ ।

तपाईं जत्तिकै योग्य अरू व्यक्ति पार्टीमा थिएनन् र ?

नेपाली कांग्रेस ‘क्याडरबेस्ड’ पार्टी हो । त्यहाँ धेरै नेता–कार्यकर्ता योग्य छन् । तर, मैले मेयरमा एक कार्यकाल राम्ररी सकेको र धेरै पटक वडाध्यक्ष भएर कार्यानुभव बटुलेको छु । ललितपुर र नेपालकै ठूलो संस्था ज्यापु समाजको अध्यक्ष भएर पनि जनस्तरमा धेरै काम गरेको छु । यस आधारमा पनि मेयरको आगामी कार्यकालमा धेरै परिष्कृत काम गर्न सक्छु भन्नेमा ढुक्क छु ।

ललितपुरमा तपाईंको मुख्य तीन प्राथमिकता के–के हुन् ?

मेरा धेरै प्राथमिकता छन् । समष्टिगत रूपमा भन्नुपर्दा, सम्पदा संरक्षण पहिलो प्राथमिकता हो । दोस्रो प्राथमिकता वातावरणीय सुधार हो । तेस्रो चाहिं शिक्षा र स्वास्थ्यमा सुधार तथा रोजगारी सिर्जना हो ।

तपाईं पुनः निर्वाचित हुनुभयो भने पाँच वर्षपछि ललितपुरवासीले के–के फरक पाउलान् त ?

धेरै परिवर्तन देख्नुहुनेछ । पहिलो– वातावरणमा धेरै सुधार हुनेछ । दोस्रो– शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा आमूल परिवर्तन देखिनेछ । तेस्रो, सुशासनमा फड्को मार्नेछौं ।

भनेपछि, ललितपुर पूराका पूर प्रदूषणरहित हुनेछ…

रहितै त नभनौं, तर धेरै सुधार हुनेछ । वातावरण प्रदूषण अहिले विश्वकै समस्या हो । संसारभरका ठूला शहरहरू प्रदूषित छन् । हाम्रो कचौरा जस्तो भूगोलमा रहेको शहर प्रदूषित नहुने भन्ने कुरै भएन । त्यसमा अधिकतम न्यूनीकरण गर्ने हो ।

जनताले कमाएको सबैजसो पैसा शिक्षा र स्वास्थ्यमा खर्च हुने अवस्था छ । तपाईंले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन्छु भन्दै गर्दा आउँदो पाँच वर्षमा के परिवर्तनको अपेक्षा गर्न सकिएला ?

ललितपुर महानगर भनेको शिक्षाको एउटा केन्द्र पनि हो । यहाँको शिक्षाको गुणस्तर राम्रो छ । यसलाई अझ परिष्कृत पार्ने मेरो प्रयास हुन्छ । स्वास्थ्यको सवालमा राम्रोसँग गृहकार्य गरेर नीति कार्यान्वयन गर्छु । त्यसको नतिजा पाँच वर्षपछि देखिने गरी काम गर्छु ।

अघिल्लो चुनावमा यस्तै प्रतिबद्धता थियो । पानीले सडक धुनेदेखि फ्लाइओभरसम्मका प्रतिबद्धता जनाउनुभएको थियो । कत्तिको पूरा गरें भन्ने लाग्छ ?

कतिपय कुरा सम्भव नहुने देखियो । त्यो बेला मेलम्ची आयोजना सकिने अवस्थामा थियो, तर पोहोर असारमा भत्कियो । मेलम्ची बाढीमा परेपछि त्यसमा आधारित कामहरू गर्न सकेनौं । अब मेलम्ची आइसकेको छ, त्यसमा आधारित हाम्रो योजना आउँदो कार्यकालमा पूरा गर्छौं ।

कतिपय कुरा हाम्रो क्षमताभन्दा बाहिर परेका कारण पनि काम गर्न नसकिने रहेछ । जस्तो– १.४ किलोमिटर फ्लाइओभरबारे अध्ययन गराउँदा बनाउन सकिने प्रतिवेदन आयो, तर काम थाल्न स्रोत–साधन पुगेन ।

अघिल्लो पटक उडान अलि बढी भएछ ?

हामी छिमेकी महानगरपालिका र नेपाल सरकारमा भर पर्‍यौं । काठमाडौंको माइतीघर–त्रिपुरेश्वर खण्डमा फ्लाइओभरको डिजाइन सकिएको थियो । त्यसको हाराहारीमा हामी पनि बनाउँछौं भन्ने थियो । तर, उता नबन्दा यता पनि थाल्न गाह्रो पर्‍यो । तथापि, अध्ययन सकिएको छ, हामी बनाउनेछौं । केही समय स्थगित परियोजना मानौं यसलाई ।

ललितपुरका नागरिकहरू आफ्ना जनप्रतिनिधिको प्राथमिकता हेरेर ‘महानगर भनेको रिंगरोड आसपास मात्रै हो’ भन्दा रहेछन् नि ?

२०७४ सालको स्थानीय तह निर्वाचनको मुखैमा मात्र ललितपुर उपमहानगरपालिकामा छिमेकी गाविसहरू गाभेर महानगरपालिका बनाएको कुरा सबैले बुझौं । ती क्षेत्रको हिजोको अवस्थालाई महानगरीय तहमा स्तरीकरण गर्न हामीले निकै काम गर्‍यौं ।

बढी बजेट विनियोजन गरेर, बढी योजना पारेर, प्रदेश र संघीय सरकारको योजनाहरू त्यतातिर बढी कार्यान्वयन गरेर छिटोभन्दा छिटो विकास गर्न खोजेका छौं ।

भनेपछि, यसपटक अघिल्लो जस्तो महत्वाकांक्षी नभई यथार्थमा आधारित चुनावी घोषणापत्र ल्याउने हो ?

अब अनुभवमा आधारित घोषणापत्र आउँछ ।

कार्यकर्ताहरूले भोट दिन्छन् नै होला, पार्टी बाहिरकाहरूले तपाईंलाई किन मत दिने ?

नम्बर एक– अहिले गठबन्धन सरकार छ । गठबन्धनका साझेदार दलहरूले मलाई भोट दिने नै भए ।

दोस्रो– महानगरवासीको श्रीवृद्धिको निम्ति, उहाँहरूको ‘लिभिङ स्ट्यान्डर्ड’ बढाउनका निमित्त गत पाँच वर्षमा मबाट भए÷गरेका कामहरूको मूल्याङ्कन पनि हुने नै छ । यी सब यथार्थको आधारमा निश्चित तवरले यो पटक हिजोको भन्दा धेरै राम्रो भोटले विजयी हुने हाम्रो टिमको आकलन छ ।

तपाईंले वडा हुँदै महानगरको नेतृत्व गरिसक्नुभयो, फेरि दोहोरिन खोज्दै हुनुहुन्छ । तपाईंको नजरमा ललितपुरका मुख्य तीन विशेषता के हुन् ?

ललितपुर महानगरपालिका भनेको विश्व सम्पदा सूचीमा सूचीकृत ‘फाइन आर्टस् सिटी’ हो । यसलाई हामी कायम राख्छौं । दोस्रो– ललितपुरलाई स्मार्ट सिटी बनाउन लागेका छौं । चार वटा सडकमा स्मार्ट लाइट जडान गरिसकेका छौं ।

तेस्रो– वातावरण सम्बन्धी विभिन्न योजना कार्यान्वयन गरेका छौं । काठमाडौंबाट ललितपुर छिर्नासाथ हरियाली शहर देखिन्छ । यो पनि ललितपुरको विशेषता हो । यत्रतत्र बगैंचा बनाउने, पोखरी र सम्पदा संरक्षण गर्ने लगायत काम गरेका छौं । ललितपुर अपांगतामैत्री शहरको रूपमा देखा परेको छ । फुटपाथ, स्कुललगायत संरचनालाई अपांगतामैत्री बनाएका छौं ।

पुनः मेयर भए रोजगारी सिर्जनामा जोड दिने भन्नुभयो । यो भोट तान्ने चाल मात्र नभएर योजना नै बनाउनुभएको पनि हुनसक्छ । यसबारे थप केही बताउनुहुन्छ ?

गत पाँच वर्षमा हामीले यथेष्ट मात्रामा आयमूलक तालिमहरू गरायौं । तालिम लिएकाहरूलाई बीउ पूँजी वा पूँजी उपलब्ध गराउन भने सकेका थिएनौं । अब तालिमसँगै पूँजीको व्यवस्थापन पनि गर्छौं ।

ललितपुरको मेयरमा अरू पनि उम्मेदवार छन् । तपाईंलाई नै भोट किन दिने ?

किनभने, म नै ‘टेस्टेड’ र ‘अप्रुभ्ड’ भइसकें । टेस्टेड र टु बि टेस्टेडमा आकाश–जमिनको फरक छ । टेस्टेडमा पाँच वर्ष लगानी भैसक्यो, टु बि टेस्टेडको लागि पाँच वर्ष लगानी गर्नुपर्छ ।

फेरि, मेरो कार्यशैलीलाई नगरवासीले रुचाउनुभएको छ भने विपक्षी पार्टीहरूले खोट देखाउन सकेका छैनन् । त्यसैले, ललितपुरवासीका लागि म जत्तिको लाभदायक व्यक्ति अरू छैन ।

बुधबारकै एउटा सन्दर्भ सुनाइहालौं । खोट खोज्ने एमालेका मित्रहरूले ललितपुर महानगरपालिकामा ठूलो बेरुजु छ, त्यो फस्र्योट नगरेसम्म मेयरको उम्मेदवारी खारेज गर्नुपर्छ भनेर निर्वाचन आयोगमा निवेदन दिएछन् ।

अरू केही नपाएर त्यो हुँदै नभएको कुरा राखेछन् । सिंहदरबारभित्र २२ वटा मन्त्रालय छन् । ती सबैको बेरुजु प्रधानमन्त्रीको थाप्लोमा राख्ने हो र भन्या ?

बेरुजु भयो र त तपाईंविरुद्ध उजुरी पर्‍यो हैन र ?

महालेखा परीक्षकको जुन पुस्तिका हुन्छ, त्यहाँ महानगरपालिकाभित्रको बेरुजु भनेर ८/१० पानामा लेखेको छ ।

ती सबैलाई जोडेर एक अर्ब ७२ करोड बेरुजु छ, यो चिरिबाबु महर्जनले फस्र्योट गर्नुपर्छ भनेर हास्यास्पद निवेदन दिएछन् । आयोगले बोलाएपछि म गएर स्पष्ट पारें ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?