+
+

आधुनिक जमानामा पुराना पुस्तकको बजार

प्रसुन संग्रौला प्रसुन संग्रौला
२०७९ वैशाख १६ गते १२:०९

काठमाडौं । २५ वर्षीय प्रसन्न किताबका सौखिन हुन् । हरेक हप्ताजसो उनी नयाँ किताब किन्छन् । तर हरेक हप्ता किताब किन्नका लागि खर्चको भार थेग्नै गाह्रो पर्न थालेको उनलाई महसुस हुन थाल्यो । एक समय त उनलाई किताब नै पढ्न छाड्ने सोच पनि आयो ।

तर खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं आफ्नो पठनयात्रालाई निरन्तरता दिने उपाय खोज्दै गर्दा प्रसन्नले काठमाडौंमा केही यस्ता पुस्तक पसलहरू भेटे, जहाँ सस्तो मूल्यमा सेकेन्डह्यान्ड अर्थात् उपयोग भइसकेका किताब किन्न पाइने रहेछ ।

काठमाडौंका भृकुटीमण्डप, रत्नपार्क र अन्य केही स्थानमा यस्ता थुप्रै पुस्तक पसल छन्, जहाँ सेकेन्डह्यान्ड किताब पाइन्छ । ती पुस्तक पसल हिजोआज प्रसन्नजस्ता किताबप्रेमीका लागि वरदान साबित भएका छन् ।

दोहोरो फाइदा

हिजोआज प्रसन्न सेकेन्डह्यान्ड किताब किन्ने मात्र गर्दैनन्, ती किताब पढिसकेर फेरि बेच्ने पनि गर्छन् । ‘सेकेन्डह्यान्ड किताब पसलहरूले मेरो पठनपाठनलाई सहज बनाइदिएका छन्,’ प्रसन्न भन्छन्, ‘अहिले मैले पहिलेजस्तो किताबको मूल्यबारे चिन्ता लिनुपरेको छैन ।’

प्रायः धेरै व्यक्तिले सेकेन्डह्यान्ड किताबको गुणस्तरको बारेमा चासो व्यक्त गरेको पाइन्छ । तर पुराना किताबसँगको आफ्नो अनुभव सन्तोषजनक भएको प्रसन्न बताउँछन् । उनी भन्छन्, ‘अधिकांश सेकेन्डह्यान्ड किताब गुणस्तरीय र पढ्नलायक हुन्छन् ।’

१५ वर्षदेखि सेकेन्डह्यान्ड किताबको व्यवसाय गरिरहेका आशिष खत्री पनि आफ्नो व्यवसायसँग खुसी छन् । उनको सुन्धारास्थित खाँडादेवी पुस्तक पसलका ग्राहकमा विद्यार्थीदेखि जागिरे र समाजले गनेमानेका बौद्धिक व्यक्तिसम्म छन् । उनको पुस्तक पसलमा साहित्यिकदेखि स्कुल-कलेजका पाठ्यक्रमका सेकेन्डह्यान्ड किताब पाइन्छन् ।

‘सुरुवातमा केही व्यक्ति सेकेन्डह्यान्ड किताब प्रयोग गर्नै हिचकिचाउँछन्, तर पछि उनीहरूको त्यसैमा बानी पर्छ र त्यसैसँग खुसी पनि हुन थाल्छन्,’ खत्री भन्छन् ।

पठन संस्कृतिको प्रवर्द्धन

प्रायजसो सेकेन्डह्यान्ड किताब बजार मूल्यभन्दा ३० देखि ५० प्रतिशत कम मूल्यमा पाइन्छ । तर यदि कोही व्यक्ति ठूलो मात्रामा किताब किनेर पुस्तकालय बनाउने प्रयासमा छन् भने ती व्यक्तिलाई खत्रीले ६५ प्रतिशतसम्म छुट दिने गरेका छन् ।

तर अधिकांश ग्राहक भर्खरै किताब पढ्न थालेकाहरु हुने उनी बताउँछन् । ‘आखिर जे भए पनि नयाँ पुस्तामा पढ्ने बानी लगाउन सहयोग गरेको छु,’ खत्री भन्छन् । आफूले बिक्रीमा राखेका सेकेन्डह्यान्ड किताबमा केही पनि समस्या नहुने उनको दाबी छ ।

पुराना किताबकै व्यवसाय गर्ने हरिकृष्ण खड्का पनि खत्रीसँग सहमति जनाउँछन् । उनी ६ वर्षदेखि यो व्यवसायमा संलग्न छन् । पुरानो बानेश्वरमा रहेको उनको किताब पसलमा धेरैजसो विद्यार्थीहरू सेकेन्डह्यान्ड किताब खोज्दै आउँछन् । पुराना किताब बेच्दा उनले किताबको वास्तविक मूल्यमा ३० देखि ५० प्रतिशतसम्म छुट दिने गरका छन् ।

खड्का भन्छन्, ‘सेकेन्डह्यान्ड किताब किन्दा सस्तो मूल्यमा धेरै गुणस्तरीय किताब किन्न पाइन्छ ।’

थपिंदै चुनौती

तर पछिल्लो समय सेकेन्डह्यान्ड किताब बिक्री घट्दै गएको उनको अनुभव छ । विद्यालय र कलेजका पाठ्यक्रम बारम्बार परिवर्तन भइरहेका कारण पुरानो किताब व्यवसायमा असर परेको खत्री बताउँछन् ।

हाल पुराना पुस्तक बेचेर उनी दैनिक पाँचदेखि ६ हजार रुपैयाँ कमाउँछन् । केही वर्ष अघिसम्म आफ्नो कमाइ अझ धेरै रहेको उनको दाबी छ ।

हिजोआज धेरै किताब इन्टरनेटमा हुने भएकाले पनि सेकेन्डह्यान्ड किताबको बिक्री घटेको हुन सक्ने पुस्तक व्यवसायी खड्का बताउँछन् । धेरै विद्यार्थीले किताबको फोटो खिचेर पीडीएफ बनाउने गरेको पनि उनले देखेका छन् ।

जे जसो भए पनि खत्री र खड्का दुवै आफूले गरिरहेको कामसँग खुसी छन् । सेकेन्डह्यान्ड किताबले पाठकलाई आर्थिक रूपमा मात्र सहयोग पुर्‍याएका छैनन्, पठन संस्कृतिको पनि विकास भएको उनीहरुको ठम्याइ छ ।

आफ्नो व्यवसायमा थपिएका चुनौतीहरु सम्बोधन गर्न आफू लागिपरेको उनीहरू बताउँछन् ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
प्रसुन संग्रौला

संग्रौला अनलाइनखबर अंग्रेजीमा कला, संस्कृति, खेलकुद र सामाजिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?