+
+
अन्तर्वार्ता :

‘सतर्कता नअपनाए स्थानीय चुनाव कोरोना फैलाउने कारण बन्नसक्छ’

अंगद सिंह अंगद सिंह
२०७९ वैशाख १६ गते १३:५३
डा. शेरबहादुर पुन । फाइल तस्वीर

१६ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको चौथो लहरका कारण चीनको सांघाईलगायतका सहर लकडाउनमा छन् । पछिल्लो साता चीनमा मात्र होइन भारतमा पनि कोरोना संक्रमण बढ्दै गइरहेको छ ।

तेस्रो लहर सकिएसँगै केही महिना शिथिल बनेको संक्रमण दर फेरि उकालो लाग्न थालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका विषमा बुधबार मुख्यमन्त्रीहरुसँग छलफल गरे । कोरोनाको चौथो लहर आउनसक्ने भन्दै मोदीले नियन्त्रणका लागि तयारी अवस्थामा रहन मुख्यमन्त्रीहरुलाई आग्रह गरे ।

अमेरिका र युरोपमा पनि कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । मंगलबार अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण देखिएको छ ।

बिस्तारै मत्थर हुँदै गएको कोरोना संक्रमण फेरि उकालो लाग्न थालेपछि जनस्वास्थ्यविद् तथा चिकित्सकहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

कोरोना भाइरस भीडभाडबाटै सर्छ । भीडभाडका मुख्य स्रोत सभा, सम्मेलन, जुलुस र अन्य सार्वजनिक कार्यक्रम नै हुन् ।  अहिले नेपालमा स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरु चुनाव प्रचारमा व्यस्त छन् । यसका लागि घरदैलो कार्यक्रमदेखि सभा-सम्मेलनसम्म भइरहेका छन् । भारत र चीनमा संक्रमितहरु बढिरहेको बेला नेपालमा स्थानीय चुनाव कोरोना भाइरस संक्रमणको ‘सुपर स्प्रेडर’ बन्न सक्ने समेत चिन्ता व्यक्त गर्न थालिएको छ ।

यिनै विषयमा आधारित रहेर काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग अनलाइनखबरकर्मी अंगद सिंहले गरेको कुराकानी :

भारतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । चीनका सांघाईलगायतका कतिपय स्थानमा लकडाउन गरिएको छ । चारैतिर कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । हामीकहाँ त्यसको कुनै प्रभाव नदेखिएको हो ?

कोरोना भाइरसको तेस्रो लहरपछि नेपालमा संक्रमण दर शिथिल अवस्थामा पुगेको छ । अहिले संक्रमण दर एक वा दुई अंकमा सीमित छ । यो खुसीको कुरा हो । हामीले कोरोना भाइरसको तीन लहर पार गरिसकेका छौं । अब तथ्यांक प्रक्षेपण गर्नुभन्दा विगतमा सिकेका अनुभव र भोगाइबाट सिक्दै अगाडि बढ्ने हो ।

कोरोना संक्रमण पेन्डामिकका रुपबाट हटेपनि एन्डामिकका रुपमा सधैं रहिरने अनुमान गरिएको छ । भाइरसको नयाँ नयाँ भेरियन्ट आए पनि सोचेजति घातक हुँदैनन । मैले पहिला पनि भनेको हुँ कि कोरोना महामारीले पहिलेको जस्तो ज्यान लिने र जीवनशैली नै अस्तव्यस्त बनाउँदैन ।

भारतसँग खुला सिमाना भएका कारण कोरोना मात्रै नभई त्यहाँ देखिएका हरेक संक्रमण नेपालसम्म सजिलै आइपुग्छन् । भारतमा देखिएको भाइरसको प्रभाव नेपालमा पर्ने गरेको विगतका हरेक लहरले देखाइसकेको छ ।

भारतमा बढ्दै गएको भाइरस संक्रमणको अवस्था देखेर नेपाललाई हिट गर्छ कि भन्ने चिन्ता बढ्दै गएको छ । नेपालमा डेल्टा, ओमिक्रोन जस्ता कोरोना भाइरसका भेरियन्ट आइसकेका छन् । अहिले डेल्टाक्रोन र एक्स-ई भेरियन्ट देखिएको छ ।

अहिले देखिएको एक्स-ई ओमिक्रोन भन्दा १० गुणा छिटो सर्न सक्ने भनिएको छ । एक्स-ई छिटो सर्ने भएपनि यो डेल्टा र ओमिक्रोन जति घातक भने देखिएको छैन । यो संक्रमण छिटो सरे पनि संक्रमितको मृत्यु भएको जानकारी छैन ।

भारतमा संक्रमण दर बढ्दै गएको देखेर तर्सिनुपर्ने अवस्था छैन । भारतमा संक्रमण दर बढेपछि अस्पताल भर्ना भएका, मृत्यु भएका घटना निकै कम छन् । एक्स-ई ओमिक्रोनको हाइब्रिड भाइरस हो । यो ओमिक्रोनबीच मिक्सअप भएर विकसित भएको प्रजाति हो ।

कोरोना संक्रमण भएपछि त्यसविरुद्ध शरीरले केही न केही प्रतिक्रिया दिनैपर्छ । हामीले खोपलाई निरन्तरता दिएका छौं । खोप लगाएकाहरुलाई संक्रमणको सम्भावना न्यून हुन्छ ।

भारतमा देखिएको संक्रमण नेपालसम्म आएपनि त्यसले दोस्रो लहर जति असर प्रभाव पार्दैन । चीनमा ओमिक्रोनको संक्रमण फैलिएका कारण लकडाउन गरिएको हो । त्यहाँ पनि खोप नलगाउनेहरु नै बढी प्रभावित भएका छन् ।  नेपालमा नयाँ लहर आएपनि संक्रमणको चपेटामा ज्येष्ठ नागरिक, खोप नलगाएकाहरु र दीर्घरोगी नै पर्ने देखिन्छ । अहिले चीन र हङकङमा देखिएको पनि यस्तै हो ।

१२ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरस संक्रमणको जोखिम छ । यद्यपि मृत्यु दर त्यस्तो आत्तिनु नै पर्ने खालको छैन । अमेरिकामा हालै गरिएको एक शोधले खोप लगाएका बालबालिका भन्दा खोप नलगाएका बालबालिका अस्पताल बढी आउने गरेको उल्लेख गरेको छ ।

अहिलेको भाइरसले मृत्यु हुने जोखिम नभएपनि बिरामी भने बनाउने गरेको छ । अहिले  भाइरससँगै बाँच्नुपर्छ भन्ने धारणा आइरहेको छ । तर सतर्कता भने अपनाउनुपर्छ ।

भारत र चीनमा मात्रै नभई अमेरिका-युरोपमा पनि कोरोना संक्रमण बढ्दो छ । भर्खरै अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसमा पनि संक्रमण पुष्टि भयो । विश्वव्यापी रुपमा यसको अवस्था कस्तो देखिन्छ ?

डा. शेरबहादुर पुन । फाइल तस्वीर

कोरोना संक्रमण पेन्डामिकका रुपबाट हटेपनि एन्डामिकका रुपमा सधैं रहिरने अनुमान गरिएको छ । भाइरसको नयाँ नयाँ भेरियन्ट आए पनि सोचेजति घातक हुँदैनन । मैले पहिला पनि भनेको हुँ कि कोरोना महामारीले पहिलेको जस्तो ज्यान लिने र जीवनशैली नै अस्तव्यस्त बनाउँदैन । भाइरसका विभिन्न स्वरुप र उतारचढाव आए पनि यसले ज्यान नै लिन्छ भन्ने हुँदैन । तर यो विभिन्न स्वरुपमा आइरहन्छ, चलिरहन्छ । दोस्रो लहरमा आएको डेल्टा भाइरसको जस्तो यो घातक छैन । अब आउने लहरमा अमेरिका, ब्राजिल, इटालीजस्ता देशमा पहिलो र दोस्रो चरणको जस्तो भयावह अवस्था आउँदैन ।

कोरोना सुरु हुँदा उपचार गर्ने विधि, पद्धति, उपकरण  र खोपको आविष्कार नभएकाले समस्या भएको हो । तर अहिले अवस्था त्यस्तै छैन ।

नयाँ भेरियन्ट वा लहर आए नेपाललाई कति जोखिम छ ?

अहिले धेरैले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । खोप लगाउनेमध्ये पनि अधिकांशले बुस्टर डोज पनि लिइसकेका छन् । जनस्वास्थ्य विज्ञ तथा वैज्ञानिकहरुले खोप लगाएकाहरुमा संक्रमणको सम्भावना कम हुने, मृत्युदर घट्ने र अस्पताल भर्ना हुने दर निकै कम हुने बताएका छन् । यसबाट बच्नका लागि खोप कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउनु पर्छ । भारतबाट नयाँ लहर आए पनि विगतको जस्तो भयानक अवस्था आउँदैन भन्नेमा आश्वस्त बनौं ।

अहिले भीडभाड बढ्न थालेको छ । सर्वसाधारणले मास्कको प्रयोग गर्न छाड्दैछन् । हामी पूर्ण रुपमा सुरक्षित भएका हौं र ?

कोरोना भाइरसको संक्रमणबाट हामी पूर्ण रुपमा सुरक्षित भइसकेका छैनौं । अहिले भारत र चीनमा नयाँ लहर सुरु भएको छ । यो निकै तीव्र गतिमा फैलिरहेको छ । कोरोनाबाट बच्नका लागि सबैभन्दा पहिला खोप लगाउनुपर्छ । खोप नलगाउँदा नलगाएकाहरु मात्रै संक्रमित हुँदैनन्, उनीहरुका कारण घरमा भएका अन्य ज्येष्ठ नागरिक, दीर्घरोगी तथा बालबालिकालाई समेत जोखिम हुन्छ ।

चुनावमा उठ्ने प्रतिनिधि समर्थकका लागि रोलमोडल हुन् भने समर्थक जनता हुन् । रोलमोडलले भनेका कुरा समर्थकले मान्छन् । उनीहरुले स्वास्थ्यलाई केन्द्रमा राखेर स्वास्थ्यका केही कुरा जनतासामु भन्नुपर्छ । कोरोना महामारीलाई परास्त गर्ने यो सबैभन्दा राम्रो मौका हो ।

मुलुकमा निर्वाचनको माहोल छ । राजनीतिक दलका साथै कार्यकर्ता भोट माग्नेदेखि चुनावी अभियानमा व्यस्त छन् । छिमेकी देशमा कोरोनाको नयाँ लहर आइरहँदा निर्वाचन कोरोना फैलाउने मूल कारण बन्छ जस्तो लाग्दैन ?

चुनाव भनेको एक जना संलग्न हुने कार्यक्रम होइन । यसमा हजारौं, लाखौं सर्वसाधारण जोडिएका हुन्छन् । चुनावका लागि राजनीतिक दलका नेताका साथै समर्थकहरु गाउँटोलमा हरेक घरमा पुग्छन् । त्यस्तो अवस्थामा एक जना संक्रमितले हजारौंलाई भाइरस सार्न सक्छ ।

चुनावी प्रचारमा राजनीतिक दल तथा समर्थकले भौतिक दूरी कायम गरी कार्यक्रम गर्ने, स्वास्थ्य मापदण्डको पालना गरी कार्यक्रम सञ्चालन गरे जोखिम केही हदसम्म घट्न सक्छ ।

एकातिर देश निर्वाचनमा गइसकेको छ । अर्कातिर छिमेकी देशमा कोरोना भाइरसको नयाँ लहर सुुरु हुँदैछ । यस्तो अवस्थामा निर्वाचन आयोग तथा सरकारले संयमित भई सामाजिक दूरी कायम गराई सभा-सम्मेलनमा नागरिकलाई स्वास्थ्य सचेतनाका एक-दुई कुरा मात्रै  भनिदिए त्यसले समाजमा सकारात्मक प्रभाव पार्छ ।

राजनीतिक दलले घोषणापत्रमा स्वास्थ्य सचेतनाका एक-दुई कुरा राखेर सुनाइदिए सर्वसाधारणले यसबारे थाहा पाउँछन् र संक्रमण फैलिन पाउँदैन । समाज लिडरले लिड गर्ने हो, उनीहरुले भनेका कुराले समाजमा छिटो प्रभाव पार्छ । यो हाम्रा लागि एक अवसर हो । सदुपयोग गर्न सक्यौं भने संक्रमणबाट जोगिन सक्छौं । यस्तो अवस्थामा राजनीतिक दल, समर्थक र सर्वसाधारण सचेत नभए स्थानीय निर्वाचन कोरोनाको ‘सुपर स्प्रेडर’ बन्न सक्छ ।

चुनावी माहोल बिथोलिने डरले कोरोना भाइरसको जोखिमका कुरा लुकाइएका हुन् कि ?

सबैलाई ज्यानको माया हुन्छ । मान्छे बिरामी भएपछि आउने भनेकै अस्पताल हो । उसलाई अस्पताल आउन कसैले रोक्न सक्दैन । अहिले भाइरसको संक्रमण दुई अंकमा सीमित छ ।

भाइरस परीक्षण गर्नेमध्ये थोरैमा संक्रमण पुष्टि भएको छ । तर यो भन्दैमा जतिले परीक्षण गर्‍यो, त्यति मात्रै संक्रमित हुन भन्न सकिंदैन । अरु पनि संक्रमित हुन सक्छन् जो परीक्षणको दायरा भन्दा बाहिर छन् ।

कोरोनाले गर्दा थप बिरामी भएका छैनन् । त्यस्तो भएको भए उनीहरु अस्पताल आउँथे । अहिले संक्रमितको संख्याभन्दा संक्रमणका बिरामी कम छन्, जुन कुरा राम्रो हो । कोरोनाको जोखिम लुकाइएको छैन । तर हामी अनुशासन भन्दा बाहिर गयौं भने जोखिम बढ्न सक्छ ।

निर्वाचनका कारण अनियन्त्रित रुपमा भीडभाड बढ्दै जाँदा महामारी फैलिन सक्ने अत्यधिक सम्भावना छ । यसबारे सरकार र स्वास्थ्य मन्त्रालय केही बोलेको छैन । यसबारे तपाईंको धारणा के छ ?

कोरोना भाइरसको महामारी रोक्न तथा नियन्त्रण गर्न सरकारले गम्भीर रुपमा सोच्नुपर्छ । निर्वाचनलाई राजनीतिक दल तथा सरकारले स्वास्थ्य सचेतना जगाउने अवसरका रुपमा पनि प्रयोग गर्न सक्छन् । यसबाट सर्वसाधारणलाई मात्रै नभई सबैलाई फाइदा पुग्छ ।

चुनावमा उठ्ने प्रतिनिधि समर्थकका लागि रोलमोडल हुन् भने समर्थक जनता हुन् । रोलमोडलले भनेका कुरा समर्थकले मान्छन् । उनीहरुले स्वास्थ्यलाई केन्द्रमा राखेर स्वास्थ्यका केही कुरा जनतासामु भन्नुपर्छ । कोरोना महामारीलाई परास्त गर्ने यो सबैभन्दा राम्रो मौका हो । यसमा सरोकारवाला निकाय, राजनीतिक दल र समर्थक सबै पक्षले सोच्न जरुरी छ ।

कोरोना भाइरसको पहिलो, दोस्रो र तेस्रो तीनवटै लहर राजनीतिक दलकै कारण फैलिएको कुरा सबैलाई थाहा छ । राजनीतिक दलले यसबारे सोच्नुपर्छ । जनस्वास्थ्यलाई केन्द्रमा राखेर काम गर्नुपर्छ । अनियन्त्रित भीडभाड तथा सभा-सम्मेलनका कारण भोगेको पहिलो, दोस्रो र तेस्रो लहर जस्तो अवस्था अबको लहरमा भोग्नु नपरोस् । यसबारे सरकार तथा सम्बन्धित निकाय गम्भीर हुन जरुरी छ ।

निर्वाचनको मुखमा कोरोना संक्रमण बढ्यो भने त्यसको नियन्त्रण कसरी गर्ने ?

हामीले तीन लहर पार गरिसकेका छौं र ती लहरबाट धेरै कुरा सिकिसकेका छौं । अहिले अधिकांशले खोप लगाइसकेका छन् । अहिले संक्रमण पुष्टि भइरहेको भए पनि मृत्यु भएको छैन । फेरि दोहोर्‍याउन चाहन्छु, खोप सबैले लगाउनुपर्छ । बालबालिकालाई खोप लगाउने कुरा भए पनि केही ढिलो भइरहेको छ । यसबारे पनि छिटो निर्णय दिनुपर्छ ।

अझै पनि खोप नलगाउने एक समूह छ, तिनीहरुलाई विश्वासमा लिई खोप लगाउनुपर्छ । शारीरिक रुपमा अशक्त र दैनिक ज्याला मजदुरी गरेर खानेहरुले खोप लगाउन पाएका छैनन् । कारण उनीहरुले खोप लाउन आउँदा लाइनमा बस्नुपर्छ  । लाइन बस्दा समयमा काममा जान नपाइने हुँदा उनीहरु खोपबाट बञ्चित भइरहेका छन् । उनीहरुलाई पनि खोपको दायरामा ल्याउनुपर्छ ।

यस्तो बेला कोरोनाबाहेक अन्य संक्रामक रोग सर्ने जोखिम कति हुन्छ ?

भीडभाडमा कोरोना मात्रै सर्ने र अन्य सरुवा रोग नसर्ने भन्ने होइन । अहिले झाडापखालाका बिरामी बढिरहेका छन् । सभा-सम्मेलनमा जाँदा धुवाँधुलो, बजारका खानेकुरा र अन्य कारणले गर्दा श्वासप्रश्वास सम्बन्धी विभिन्न समस्या देखिन सक्छन् ।

भीडभाडका कारण टाइफाइड, फुड पोइजनिङ, फ्लु, क्षयरोग, टीभी, रुघाखोकी, भाइरल, हेपाटाइटिस, हैजा जस्ता संक्रामक रोगहरु सर्न सक्छन् । यसबारे हामी सचेत सजग हुन जरुरी छ ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?