+
+

कास्कीका पालिका बाँडफाँट गरेर रामचन्द्रको पत्र, तैपनि कुरा मिलेन !

कास्कीका २ पालिकामा कांग्रेस र माओवादीको मात्रै तालमेल

विकास रोकामगर विकास रोकामगर
२०७९ वैशाख १६ गते २२:४६

१६ वैशाख, पोखरा । केन्द्रीय गठबन्धन नेतृत्वले पोखरा महानगरपालिका प्रमुख नेकपा एकीकृत र उपप्रमुख नेपाली कांग्रेसले पाउने गरी टुंगो लगाइदिए पनि बाँकी पालिका र वडामा अन्तिम समयसम्म सहमति हुन सकेको थिएन ।

पटकपटक गठबन्धनमा आवद्ध दलको बैठक बसेपनि टुंगोमा पुग्न नकसेपछि कास्कीका अन्य पालिकाको बाँडफाँट गरेर कांग्रेसका नेता रामचन्द्र पौडेलले पत्राचार गरेको खुलेको छ ।

पौडेलले गठबन्धनमा आवद्ध दलका नेतालाई सम्बोधन गरेर पठाएको उक्त पत्रमा रुपा गाउँपालिका प्रमुख र उपप्रमुख दुवै कांग्रेस र बाँकी रहेका माछापुच्छ्रे, मादी, अन्नपूर्ण गाउँपालिका प्रमुखमा कांग्रेस र उपप्रमुख माओवादी केन्द्रले पाउने गरी बाँडफाँट गरिदिएका थिए ।

मनोनयन फिर्ता गर्ने अघिल्लो दिन पठाएको उक्त पत्रअनुसार माओवादी र कांग्रेसले मादी र रुपा गाउँपालिकामा मात्रै तालमेल गर्ने सहमति भए पनि बाँकी पालिकाको विषयमा शुक्रबारसम्म छलफल भए पनि सहमति भने हुन सकेन ।

कांग्रेससँग तालमेल गर्न रुपा गाउँपालिका उपप्रमुखमा उम्मेदवारी दिएका माओवादी केन्द्रका नवराज बरालले शुक्रबार मनोनयन फिर्ता लिएका छन् । ‘नेतृत्व तहले एक प्रकारको सहमति गरेपछि अर्को पार्टीलाई सघाउन मैले मनोनयन फिर्ता लिएको हुँ,’ मनोनयन फिर्तापछि बरालले अनलाइनखबरसँग भने ।

रुपाको अध्यक्षमा कांग्रेसबाट गिमाया गुरुङ र उपाध्यक्षमा नारायण श्रेष्ठले उम्मेदवारी दिएका छन् । मादी गाउँपालिकामा भने यसअघि नै प्रारम्भिक सहमति अनुसार अध्यक्षमा कांग्रेसका देवीजंग गुरुङ र उपाध्यक्ष माओवादी लालबहादुर गुरुङले मनोनयन दर्ता गरिसकेका छन् ।

रामचन्द्रले पठाएको पत्रको बाँडफाँटबारे गठबन्धन दलबीच यसअघि पनि छलफल भएको थियो । तर, उक्त छलफलमा आफूहरुको सम्मानजनक उपस्थिति नभएको भन्दै जसपा यसअघि नै बाहिरिइसकेको थियो । जसपाले माओवादी र कांग्रेसले एकलौटी सहमति गरेको जसपाको आरोप थियो ।

उक्त पत्रानुसार २ पालिकामा तालमेल भए पनि बाँकी पालिका र वडामा भने तालमेल भएको छैन । पत्रमा पालिकासहित पोखरा महानगरको वडातहको समेत बाँडफाँट गरेर रामचन्द्र पौडेलले पत्र पठाएका थिए ।

पोखरा महानगरमा ३३ वटा वडा छन् । पौडेलले महानगरका १, २, ३, ४, ६, ८, ९, १०, ११, १२, १३, १४, १६, १९, २३, २५, २७, २९, ३१, र ३२ नेपाली कांग्रेस, नेकपा माओवादीले २२, २४, २६, २८ र ३०, एकीकृत समाजवादीले ५, १७, २० र २१ र वडा नम्बर ३३ जसपाले पाउने गरी बाँडफाँट गर्न पत्रमार्फत निर्देशन दिएका थिए ।

सोही बमोजिम शुक्रबार मनोनयन दर्ता फिर्ता गर्ने अन्तिम समयसम्म माओवादी र नेपाली कांग्रेसबीच छलफल भए पनि टुंगोमा पुग्न नसकेपछि अब एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि नै ३३ वटै वडामा दुवै दलले आआफ्ना उम्मेदवार खडा गरेर मनोनयन दर्ता गरेका थिए ।

नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिका इन्चार्ज दीपक कोइराला कांग्रेसले केन्द्रीय संयन्त्रको निर्देशनसमेत नमानेको आरोप लगाएका छन् । ‘गठबन्धन दलकै रामचन्द्र पौडेलले बाँडफाँट गरेर चिठी पठाउनुभएको छ । तर, केन्द्रीय संयन्त्र गरेको निर्देशन नै जिल्ला र प्रदेशले मानेन,’ उनले भने ।

यता, नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बरालले नेता पौडेलले नेता आफूहरुले पौडेलले पठाएको आधिकारिक पत्र नपाएको दाबी गरे । उनले निर्वाचन आयोगलाई नभई गठबन्धनलाई मात्रै सम्बोधन गरेर पठाएकाले ‘प्राइभेट’ चिठी भएको जिकिर गरे ।

‘रामचन्द्र दाइले पठाएको चिठी मैले चाहिँ पाएको छैन । हल्लै हो । उहाँले ५ दलीय गठबन्धनलाई लेख्नुभएको हो, निर्वाचन आयोगलाई लेख्नुभएको छैन,’ सभापति बरालले भने, ‘त्यो प्राइभेट चिठी हो । गठबन्धन गर्ने हो भने निर्वाचन आयोगलाई पनि सम्बोधन हुनुपर्छ ।’

पोखरा महानगरपालिका प्रमुखमा गठबन्धन अनुसार नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दिएकी छन् । पोखरामा कांग्रेस एक्लै लड्दासमेत जित्ने अवस्था रहेकोमा केन्द्रीय नेतृत्वले नेकपा एकीकृत समाजवादीलाई महानगर प्रमुखको पद दिएको भन्दै पोखराका कांग्रेस नेता कार्यकर्ता असन्तुष्ट छन् ।

गठबन्धनको निर्णयबाट असन्तुष्ट कास्की कांग्रेसका नेता, कार्यकर्ताले पार्टी कार्यालयमा नाराबाजी, तालाबन्दी गर्नेदेखि तोडफोडसमेत गरेका छन् । बिहीबार प्रदेश पार्टी कार्यालय तोडफोड गरेको आरोपमा २३ जना पक्राउ परेका थिए । उनीहरु शुक्रबार २४ घन्टापछि छुटिसकेका छन् ।

केन्द्रीय नेतृत्वको निर्णयविरुद्ध पोखरा महानगरमा ३ जना कांग्रेस नेताले बागी उम्मेदवारी दिएका थिए । बागी उम्मेदवारी दिएकामध्ये द्वय ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले शुक्रबार मनोनयन फिर्ता लिइसकेका छन् । तर, गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका विमलबहादुर कार्कीले भने फिर्ता लिएका छैनन् ।

कार्कीले गठबन्धन कांग्रेसको मर्मविपरीत भएको र केन्द्रीय नेतृत्वले आफ्नो चुनाव चिह्न छाडेर अन्य पार्टीको चिह्नमा भोट हाल्न बाध्य पारेकाले आफूले उम्मेदवारी फिर्ता नलिएको अनलाइनखबरलाई प्रतिक्रिया दिएका छन् ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?