+
+

आमाको मन

आमा सामान्य व्यथाले बेपत्ता हुँदिनन् । जब आमा बेपत्ता हुन्छिन्, अस्तित्वको अवसान हुन्छ । दया, माया र करुणाको अप्राप्ति हुन्छ । आमा हराउनु धरतीमा एउटा ठूलो प्रलय हो ।

शम्भु अर्याल शम्भु अर्याल
२०७९ वैशाख १७ गते १५:३८

बिहान मिरमिरे उज्यालोले कोठा भित्रको अँध्यारोमा स्पर्श मात्र मात्र के गरेथ्यो, सरक्क सर्काएँ झ्याल । उडेर परेवा भुरूरू बारीको सुर्कामा ट्याप्प बस्यो । उसले चारा टिप्यो र फ्याट्ट उड्यो गुँडमा । फेरि केही क्षणमै उही स्थानमा टुप्लिकियो उ । टिप्यो चारा र उड्यो आफ्नै गुँडतिर । एवं रितले पाँच छ पटक यही प्रक्रिया दोहोर्‍याइरह्यो र सातौंपटक बल्ल आफू चर्न थाल्यो । मन आमाको चराचुरुङ्गीमा ।

बजारको चोकमा छ मेरो घर । चढ्ने सिँढीमुनि थियो कोन्ध्रो । रिम-रिम साँझ पर्नै लागेको थियो । चोकनेर उभिएको थिएँ । कुकुरले मुखमा मरेको कुखुराको भाले झुन्ड्याएर लमक-लमक म उभिएतिरै आइरहेको थियो । अरू साथीहरूको नजर पनि उक्त दृश्यमा परिहाल्यो ।

कसैले बोल्यो- कसको भाले चड्काइदिएछ ! उ खुरू-खुरू सिँढीमुनीको कोन्ध्रामा पस्यो । मैले मोबाइलको टर्च लाइट बालेर गौरगरी हेरिरहेँ । मलाई अहिलेसम्म थाहा थिएन- आफ्नै घर, चढ्ने सिँढीमुनी अलिकति कोप्चेरोमा कुकुरले यतिका छाउरा हुर्काइसकेछ । माउ आफू खाइरहेकी थिइन् । चारवटा छाउराहरू मच्चिई-मच्चिई खाइरहेका थिए । पशुभित्रको मन आमाको ।

चार-पाँच वर्षबाट वालिङको भकुण्डेदेखि त्रियासीसम्म एउटी बुढी आमा बोराभरी टालाटुली पोको पारेर बोक्दै बोरा हिँडिरहन्छिन् । समाजको नजरमा उनी एक दिमाख फुस्केकी पागल बुढी हुन् । स्वयंमा के हुन् ? म भन्न सक्दिनँ ।

समाजमा म हुनुको फरक यत्ति देख्छु आफूभित्र । दुनियाँले उनलाई मानिरहेको छ बहुलाई । देखिरहेको छ बहुलट्टी आँखाले । मैले उनको निष्कपट मन देख्छु । अनुहार उनको अबोध देख्छु । वृद्ध हृदयमा कालो भन्दा स्निग्धता बढी देख्छु । कसैसँग झगडा गर्दिनन् । कसैलाई दुर्वचन बोल्दिनन् । कसैको चित्त दुखाउँदिनन् । चरी जस्तै स्वतन्त्र खुला आकाश छ उनको । चरीको जस्तै चारै दिशा चारा छ उनको । हिँडिरहन्छिन् आफ्नै धुनमा आफ्नो बाटो । बोल्छिन्, सुन्छिन् आफैंले आफूलाई । उनलाई दिग्गज मान्छेको जस्तो टाउकाको भिडमा बर्बराउनु पर्दैन मन्त्र । न त उनलाई मान्छेको भिडमा आफ्नो कुरा छलछाम, तन्त्र, मन्त्र, उल्टा सिधा जसरि भएपनि टेकाउनु परेको छ ।

के बहुलाउनुका लक्षणहरू यस्तै हुन्छन् ? जागिर पेसो केही गर्दिनन् । अरूले फालेको थोत्रा कपडा मात्र बट्याउँछिन् । बोराभरी गर्छिन् जम्मा र बोकी हिँड्छिन् लखर-लखर दिनभर ।

यस्ता दृश्यहरूमा ममताले पग्लिन्छ मेरो हृदय । फालेको टालाटुली बटुल्दा पनि उनले कति मान्छेको दुर्वचन सुन्नुपर्छ होला ? यो मान्छे भित्रको म हो । यो मनस्थिति ठिक भएका मान्छेहरूको प्रवृत्ति हो । उनलाई वालिङले बहुलाई भनेर चिन्छन् । किन यो उपमाले परिचित छन् उनी ? मैँले अहिलेसम्म जान्नसकिनँ ।

हाम्रो घरको बाहिरबाट बरण्डामा जोडिन्छ सिँढी । गेटमा चावी लगाएपनि बरण्डामा वारपार गर्न मिल्छ । केही दिन अगाडिसम्म लगातार ती बुढी आमा रात परेपछि सिँढी उक्लिन्छिन् र पुग्छिन् बरण्डाको पल्लो छेउमा । बोराबाट दुईवटा भुल्ला निकाल्छिन् । ओच्छ्याउछिन् एउटा ।

ओड्छिन् अर्को र बँचेकुचेको टालाटुलीले बोरामा सिरानी बनाउँछिन् । पहिलो दिन हामी खाना खाईवरी सकेर झर्दा उनी बाल्कोनीमा भुल्ला माथि बसिरहेकी थिइन् ।

उनी मधुरो स्वरमा गुनगुनाइन्- साह्रै भोक लागेको छ । छ अलिकति खाना ?

मैले दालभात तरकारी लिएर आएँ । होटेलमा त्यति खाना त बँचेकै हुन्छ । पेशाले म होटल व्यवसायी हुँ ।

खाना खाएपछि मैले भनेँ- भित्र गल्लीमा सुत्नु न है ?

उनले भनिन्- नाईं म यहीँ सुत्छु ।

मैले सोधेँ- हजुरका छोरा बुहारी छैनन् ?

उनले भनिन्- छन् । बेसरी सुखसँग बसेका छन् ।

मैंले भनेँ- किन यसरी हिँड्नुभाको त ?

उनले भनिन्- मलाई गाली गर्छन् । बुहारी चिर्पटले पिट्छिन् मलाई । दुईछाक खान पनि घरमै माग्न परेपछि, बस्न मन लागेन । छोडेँ घर । भएँ बुढी, गर्न सक्दिनँ काम ।

मैले सोधेँ- हजुरको नाम के हो ?

उनले भनिन् – किन चाहियो नाम, साम ? बेनाम सडकमा हिँडिराखेकी त छु नि !

मैंले सोधेँ- घर कहाँ हो हजुरको ?

झर्किएर भनिन् उनले – नसोध ! किन चाहियो घर देख्याछैनस् ? घरमै त छु । तँ घर भित्र छस् म घर बाहिर छु ।

हो त म घर भित्र व्यापार गरिरहेको छु । उनी घर बाहिर अपार गरिरहेकी छन् ।

उनले नदेखाएर मलाई उनले बरर्र झरालिन् आँसु ।

उनको आँसुमा मैले मौन आन्दोलन देखेँ । रुँदै-रुँदै भनिन् । एक्लै गुनगुन गरिरहिन्- उनीहरूलाई कहिल्यै दुःख नपरोस् ।

उनी लगातार एक हप्तासम्म त्यही बाल्कोनीमा रात परेपछि आउँथिन् । एकबिहानै पाँच बजे सखारै बोरा बोकेर निस्कन्थिन् । त्यसपछि उनी अहिलेसम्म आएकी छैनन् । बजारमा दिनभर फरक-फरक स्थानमा बोरा बोक्दै हिँडिरहेको देखिरहन्छु । सायद उनी यसरी नै यो शहरमा जीवन व्यतित गरिहन्छिन् होला । उनको जुठोपुरो आहार हुन्छ । बासस्थान बाहर हुन्छ । रहर कहर हुन्छ । त्यसैले त जहर हुन्छ स्मरण ! विस्मृती हरप्रहर हुन्छ यो दुनियाँमा उनको ।

उनको विदीर्ण विदारक र विक्षिप्त प्रहरमा पनि पग्लिरहेको थियो ममता आमाको । यो भयो समाज र परिवारमा मनस्थिति ठिक नभएकी हराइरहेकी वृद्ध आमाको मन छोराछोरी माथि ।

कहिलेकाहीँ बाटोमा हिँड्दा, पत्रपत्रिकामा, फेसबुकको भित्तामा पढिरहेको हुन्छु- आमा हराएको सूचना ! मनमनै सोचिरहन्छु किन हराउँछिन् आमा ? आमाको मन त्यति सजिलोसँग विक्षिप्त हुँदैन । आमा सामान्य व्यथाले बेपत्ता हुँदिनन् । जब आमा बेपत्ता हुन्छिन्, अस्तित्वको अवसान हुन्छ । दया, माया र करुणाको अप्राप्ति हुन्छ । आमा हराउनु धरतीमा एउटा ठूलो प्रलय हो । जस्तो कि धरती हावाविहिन हुनु । पानीविहिन हुनु । प्रकाशविहिन हुनु । अथवा उज्यालो नहुनु !

अहो ! मान्छेको मन ! त्यो पंक्षी छैन मान्छेको जति बुद्धि विवेक । हृदयमा आफ्नो सन्तानप्रतिको साहानुभूति र प्रेम स्वयं आफ्नो तनभन्दा छोराछोरीको पालनपोषणमा तल्लिन छ । प्रत्येक सन्ध्या आफू भोकै बसेर, बोकेर ठोँडमा, बसारेर अलिकति चारा, आफ्नो बालबच्चालाई अघाएर मात्र ऊ आफू खाइरहेको हुन्छ । कति लगाव छ है । ठोँडको चिम्टी भर आहारा उसको भोको पेटमा अन्तरहृदय के भनिरहेको हुन्छ होला ? महसुस कस्तो गरिरहेको होला ?

बाल्यकालको घरको हजुरआमा र मामाघरको हजुरआमा सम्झिन्छु । उखानै छ ‘सामको भन्दा ब्याजको माया’ घरमा मीठो मसिनो पाक्यो, नाति ! काफल पाक्यो नाति ! उस समय कहाँ पसलमा हुनु अङ्गुर । कति भङ्गुर हुन्थ्यो दिनचर्या । कतैबाट एउटा सेउको दानो आइहाल्यो भने । रोयो आमा । घस्रनु आमा । उभिनु आमा । हिंड्नु आमा । दौडनु आमा । लड्नु, झगड्नु आमा । जन्मनु आमा । हुर्कनु, बुर्कनु, र घुर्कनु ! सबै आमा । जन्म आमा । मृत्यु पनि आमा । ताप, राप, रोग, भोक, विकलाङ्ग सब आमा । जता हेर्छु देख्छु आमा । ममतामा देख्छु आमाको रूप । न्याय, ईमान, सदाचार आमाको रूप हो ।

आमा बन्न के गर्नु पर्छ हँ ? अलिकति उठाउनुपर्छ पेट । बोक्नुपर्छ थोरै भारी । अलिकति रक्तश्राप । त्यहीँ जन्मिन्छ: चरअचर, सजीव, निर्जीव, त्यहीँनेर छ आभा आमाको ।

कालिगण्डकीमा शालिग्राम हुन्छ । पुजे देउता हुन्छ । केही न केही त एउटा हुन्छ । दुनियाँमा ईश्वर छ भने आमा ईश्वर हो । बाँचेर आफू, पुजेर भगवान तिरस्कार जननीको कदाचित स्विकार्य हुँदैन मलाई । भविष्य सन्ततिको रह्यो । उनीहरू कहिल्यै स्विकार्ने छैनन् विचार गलत ।

आमा सामान्य व्यथाले बेपत्ता हुँदिनन् । जब आमा बेपत्ता हुन्छिन्, अस्तित्वको अवसान हुन्छ । दया, माया र करुणाको अप्राप्ति हुन्छ । आमा हराउनु धरतीमा एउटा ठूलो प्रलय हो ।

आमाको सच्चा तस्वीरमा म दुई भेद पाउँछु । एउटा फेरिरहेको सास जो सजीव मन लिएर दौडिरहेको हुन्छ । अर्को निर्जीव लिएर तन घुमिरहेको हुन्छ । दुवैले जन्म दिन्छ । एउटा निर्जीव गर्भले सजीवको रोपण गर्दछ । एउटा ममताको आँचल लिएर जिन्दगीभर आफू भोको बस्छ पहिला र नवजात शिशुलाई अघाउन अभ्यस्त रहन्छ । अर्को आफू निःसन्देह, निस्फिक्री, जन्माइरहन्छ ।

मौनरत आकांक्षा राख्छ । जाउ जननीको श्रृङ्गार गर । आफू बोल्दैन आवाज यहीँ छ । आफू खाँदैन अनाज यहीँ छ । आफू पिउँदैन पानी यहीँ छ । आफू बग्दैन हावा यहीँ छ । आफू सोँच्दैन मष्तिष्क यहीँ छ । क्या गजबको सृष्टि छ आमाको । यी सबथोक आमा जन्माउँछिन् । आफैं जन्माएर उर्दी जारी गर्छिन् आमा !

जाऊ तिम्रो आयु समाप्त भयो । आऊ मेरो काखमा समाहित होऊ । अब तिम्रो पुनर्जन्मको समय आयो । जाऊ पुनर्जन्म लेऊ । अब तिमी धुवाँ बन । अब तिमी पानी बन । अब तिमी माटो बन । बन हावा । वा जननीको आश्चर्यचकित चमत्कार ! जननीको महेन्द्रजाल ! कसरी आत्मसाथ गर्न सकूँ जननीको आशीर्वादलाई । कसरी सम्बोधन गर्न सकूँ तिमीलाई । कसरी चीरकालसम्म राख्न सकूँ तिमीलाई ?

म त तिमीले जन्माएको बिजुलीको एक झिल्का न हुँ । मिलिक्क उज्यालिन सकेँ भने पनि आफूलाई पवित्र मानिरहेको हुन्छु । आफूलाई विचित्र ठानिरहेको हुन्छु । जननी देख्न सके मेरो सफलता हो । नसके जडता ।

कति विशाल छ आमाको काख । सुख, दुःख, सफलता, असफलता सबै आमाको छत्रछायाँमा छ । कर्म गर्नेहरू यहीँ सफलता हासिल गर्छन् । कर्म नगर्नेहरू आफूलाई अघिल्लो जन्मको प्रतिफल सम्झेर स्वयं आफूलाई निम्छरो सम्झिरहेका हुन्छन् । भुलेर शाश्वत सत्य, आमाको विशाल हृदयमा अथाह सम्भावना छ । गरिब आमाको आशिर्वाद होइन । आमा सदैव आफ्नो सन्ततिको उन्नति र प्रगतिको अपेक्षा राख्दछिन् । कर्मको साधना गर र सफल बन । कमाउ, रमाउ ।

दृष्टि तिमीमा हुनुपर्दछ । विकल्पहरू अनेक छन् । मैँले दृष्टि दिन सक्दिनँ किनकि मेरो कर्म जन्माउनु हो । फराकिलो मझेरीभित्र जति सक्छौं दौडिएर जित हासिल गर । दृष्टि तिम्रो हो । आफूलाई गरिब नबनाऊँ । आमाको आँगनमा सम्पत्तिको अथाह सागर छ । अनुष्ठान गर र आफ्नो बनाऊ । समृद्ध बन । यो आमाको पुकार हो । यो आमाको शुभेच्छा हो । यसरी आमाले भ्रूण रोपण गरिरहेकी हुन्छिन् ।

आकाशमा उडिरहेको जहाज, धर्तिमा गुडिरहेको गाडी, मान्छेलाई निको गरिरहने औषधि, टेलीफोन, मोबाइल, मिनेटमा ध्वस्त गर्ने अणुबम, भ्याकुम बम आदि आजसम्म मान्छेले जे बनाइरहेको दावी गरिरहेको छ, आज विकासको चरमावस्था जो आँखा अगाडि देखिरहनुभएको छ । बनाउनेहरू अधिकारको दाबी गरिरहेका छन् कि, मैले यो बनाएँ । मैंले त्यो बनाएँ । मसँग यस्तो शक्ति छ । सानोले ठूलोलाई शक्ति सञ्चय गरेर सामर्थ्यको भरमा प्रत्यक्ष वा परोक्ष रूपमा ह्यापिरहेको हुन्छ । मान्छेको कुरूप अनुहार त्यहाँ देखिरहेको हुन्छु । मान्छेको दरिद्रताको उदाङ्ग तस्विर त्यहाँ पढिरहेको हुन्छु । सबै आमाको हृदयमा थियो । छ र रहिरहनेछ ।

कमाउनुको विभेद म यहाँ देखिरहेको छु । सक्नेहरू आमाको अङ्ग बेच्छन् र बेच्छन् रङ्ग पनि । आमाको सन्ततिमै विभेद सृजना गर्दछन् । म धनी तँ गरिब । म ठूलो तँ सानो । मेरो भगवान शिव, तेरो भगवान अल्लाह । म मार्कश मान्छु तँ महात्मा गान्धी मानिरहेको छस् । अहो गम खान्छु । कसले कुन ग्रहबाट, कुन ब्रम्हाण्डबाट कमाएर ल्याएको होला यो आर्जन ? सबै धरतिमा थिए र रहिरहने छन् । कसले कसरी उपभोग गर्‍यो र कुन रूपमा गरिरहेको छ त्यो महत्वपूर्ण रह्यो ।

आमाको मन कोमल हुन्छ । आमा आफ्नो गर्भाशयमा रोपेर प्रेमको बिउ संभावनाको अङ्कुरण गरिरहेकी हुन्छिन् । रोपेर प्रेमको बिउ ऐजरूको आँकुरा तिरस्कार जब पलाउँछ मान्छेमा सम्झनु, धरती फाट्नेछ । फुट्ने छ ज्वालामुखी । जब दन्किन्छ आगो आमाको छातीमा उनले सन्ततिको बिनास मात्र होइन, आफैं फुट्न सक्छिन् । आफैं फाट्न सक्छिन् । मान्छे भन्दा पशु मायालु देखिरहेको हुन्छु । पशुबुद्धिमा नियत हुँदैन । पशुले नियतबस कसैलाई तिरस्कार गर्दैन ।

आमा ! म अनुरोध गर्दछु- मान्छेको जन्ममा तिमीले नियतको एक तत्वलाई भ्रुणमै गर्भपतन गरिदिएको भए पक्कै पनि मान्छेले मान्छेलाई नियतबस कसैलाई दुःख दिंदैन थियो होला । म सुनिरहेको हुन्छु, म देखिरहेको हुन्छु, पत्रिकामा, समाचारमा, वरिपरि समाजमा, यत्रतत्र १८ महिने किशोरीको बलात्कार । आफ्नै श्रीमतीबाट श्रीमानको हत्या । मेरो लेनदेनको मामला थियो ।

आमा, कर्म यो तिम्रो रोपण होइन । तिमी चाहन्छ्यौ मेरो जन्म कर्मशील बनोस् । तिमी चाहन्छ्यौ, जन्म उज्यालो होस् । थाहा छ मलाई, तिमीलाई उदय मन पर्छ । तिमीलाई अङ्कुरण मन पर्छ । तिमीलाई आँकुरा मन पर्छ ।

जीवनजगतको सुक्ष्म दृष्टिले मैँले देखेको यथार्थ बिम्ब हो यो । आमाले सन्तानलाई यतिकै जन्माएकी होइनन् । आमाका केही आकाङ्क्षाहरू हुन्छन् । सत्य आमाको ईच्छा हो । न्याय आमाको इच्छा हो । आमा सदैव पुकार गरिरहन्छिन्, अमृत पान गरेर हुर्केको शैशव कल्पवृक्ष बनोस् । कलाले जीवन सुन्दर बनोस् । कलाले धरती रङ्गिन बनोस् । आउनुहोस् सबै मिलेर आमाको शृङ्गार गरौँ । मनमा मन मिलाएर आमाको आकांक्षा अनुरूप कर्म गरौँ । आमाको ईच्छाको साधना गरौँ । आमालाई हराउन नदिउँ । आमाको हृदय रिक्त छैन । सबै मिलेर आमाको हृदयको खोजी गरौँ ।

स्याङ्जा, वालिङ-६, मिर्दी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?