+
+

विराटनगरमा उमेश र नमिताको फेरि सहकार्य, पाए एउटै चुनाव चिह्न

हरि अधिकारी हरि अधिकारी
२०७९ वैशाख १७ गते २०:४९

१७ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको मेयर उम्मेदवार उमेश यादव र उपमेयर उम्मेदवार नमिता न्यौपानेले एउटै चुनाव चिह्न पाएका छन् ।

जनता समाजवादी पार्टी छाडेको घोषणा गरेका यादवले मेयरमा र सत्तारुढ गठबन्धनप्रति असन्तुष्ट माओवादी केन्द्र विराटनगर महानगर कमिटी सचिव न्यौपानेले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका दिए । गठबन्धनमा आवद्ध दलका नेताहरुले उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा पनि अस्वीकार गरेका यादव र न्यौपानेले एउटै चुनाव चिह्न लालटिन पाएका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरम र माओवादी केन्द्रबीच तालमेल हुँदा मेयरमा यादव र उपमेयरमा न्यौपाने उम्मेदवार बनेका थिए । विराटनगरको मेयरमा नेपाली काङ्ग्रेसबाट भीम पराजुली र उपेयरमा इन्दिरा कार्की निर्वाचित भएका थिए ।

पराजुली २३ हजार ३१ मतसहित निर्वाचित हुँदा १४ हजार ९५८ मत प्राप्त गरेका यादव तेस्रो भए । एमाले उम्मेदवार विनोद ढकालले १७ हजार ३ सय ३१ मत प्राप्त गरेका थिए ।

कांग्रेसबाटै इन्दिरा कार्की २० हजार १४६ मतसहित विजयी हुँदा दोस्रो बनेकी नमिता न्यौपानेले ११ हजार ५ सय २४ मत प्राप्त गरेकी थिइन् ।

पाँच वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा उमेश र नमिता पुन एउटै चुनाव चिह्न लिएर मैदानमा आएका हुन् ।

स्थानीय तह निर्वाचनको मिति घोषणा अघिदेखि नै मेयरमा उम्मेदवारी दिने तयारीस्वरुप घरदैलो गरिरहेका यादवले सत्तारुढ दलले कांग्रेसले मेयरको टिकट पाउने निर्णय गरेपछि जसपा छाडेका थिए ।

सत्तारुढ गठबन्धनबीच तालमेल हुँदा विराटनगरको मेयर काङ्ग्रेस र उपमेयर जसपाले पायो । मेयरमा काङ्ग्रेसबाट नागेश कोइराला र उपमेयरमा जसपाबाट अमरेन्द्र यादव उम्मेदवार छन् । त्यस्तै नेकपा एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्की उम्मेदवार छन् ।

सत्तारुढ गठबन्धनमा मेयर उपमेयर छाड्नुपरेपछि माओवादी केन्द्रले वडा अध्यक्षमा दाबी गरेको थियो । तर कांग्रेसले वडा तहमा तालमेल गर्न नमानेपछि न्यौपानेले उपमेयरमा उम्मेदवारी दिइन् । पार्टीले निर्देशन दिए पनि उनले उम्मेदवारी फिर्ता लिइनन् । मनोनयन दर्तापछि यादव र न्यौपानेले एउटै चुनाव चिह्न लिने सल्लाह गरेका थिए ।

मेयरका उम्मेदवार उमेश यादवले एउटै चुनाव चिह्न भएका कारण सहकार्य गर्न सजिलो हुने बताए । ‘स्वतन्त्र उम्मेदवारले सबैसँग सहकार्य गर्छन्’, उनले भने,‘ चुनाव चिह्न एउटै छ, चुनावमा सहकार्य हुन सक्छ ।’

उपमेयरकी उम्मेदवार नमिता न्यौपानेले यादवसँग सहकार्यको सम्भावना रहेको बताउँछिन् । ‘संयोगले चुनाव चिह्न मिल्यो, तर सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छैन’, उनले भनिन्,‘आज चुनाव चिह्न आयो, भोलिबाट म घरदैलो गर्छु ।’

मेयर जित्ने दाबी गरिरहेका यादवले सत्तारुढ गठबन्धनको भोट काट्ने नेताहरुको विश्लेषण छ ।

विराटनगरको दक्षिण क्षेत्रमा यादवको प्रभाव राम्रो छ । न्यौपानेको विराटनगरको बजार क्षेत्रमा राम्रो प्रभाव छ । ‘२०७४ मा म दोस्रो भएकी थिएँ, महानगरबासीको मलाई सहयोग छ’, न्यौपाने भन्छिन्,‘म चुनाव जित्छु ।’

विराटनगर महानगरपालिका– ८, १२, १४,१५,१६, १७ र १८ नम्बर वडामा प्रभाव रहेका यादवलाई सत्तारुढ गठबन्धन र नेकपा एमालेले सहयोगका लागि आग्रह गरेका थिए ।

उनी उम्मेदवार कायम रहदा गठबन्धनलाई घाटा हुने भन्दै गठबन्धनका नेताले उम्मेदवारी फिर्ता लिन आग्रह पनि गरेका थिए । तर उनले मानेनन् ।

‘अगाडि देखि नै चुनावी अभियानमा हिडेका कारण प्रभाव छ’, जसपाका एक नेताले भने,‘ चुनाव चिह्न चिनाउन सके भने राम्रै मत पाउँछन् ।’ गठबन्धनबाट मेयरका उम्मेदवार नागेश कोइराला गठबन्धनका कार्यकर्ताले इमान्दार भएर आफ्ना उम्मेदवारलाई मतदान गर्ने बताउँछन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?