+
+

एक पटक फेरि घरदैलोमा आएँ भन्दा पुग्छ : सागर थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते २०:०२

१७ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको मेयरको टिकटका लागि नेकपा एमालेमा लालबाबु पण्डित, जीवन घिमिरेलगायतका नेताहरु आकांक्षी थिए ।

तर सागर थापा (४६) ले टिकट पाए । घरदैलो अभियानमा जुटेका थापा नेपाली कांग्रेसले आफ्नो गढ दाबी गर्दै आएको विराटनगरमा जित्ने दाबी गर्छन् ।

भन्छन्, ‘आर्थिक रुपमा सबभन्दा विपन्न उम्मेदवार म हुँ । तर सामाजिक तथा सांस्कृतिक सम्बन्ध र विकास निर्माणका कामहरुमा मेरो संलग्नतालाई हेर्ने हो भने म सम्पन्न मान्छे हुँ । एक पटक गएर तपाईंको घरदैलोमा फेरि आए भन्दा पुग्छ ।’

प्रस्तुत छ, थापासँग अनलाइनखबरकर्मी हरि अधिकारी ले गरेको कुराकानीको सम्पादित अंश :

पार्टीका प्रभावशाली नेताहरु पनि टिकटको दावेदार थिए । सबैलाई उछिनेर कसरी टिकट पाउनुभयो ?

विराटनगरमा गुरु बराल, लालबाबु पण्डित, भानुभक्त ढकाल, जीवन घिमिरे लगायत हस्तीहरु हुनुहुन्छ । हिजो कुनै समय विराटनगरमा एमाले संगठनविहीन जस्तै अवस्थामा थियो । तर हामीले अभियान सञ्चालन गरेर सबै टोल बस्तीमा संगठन निर्माण गरेका छौं । यो पटक चुनाव आएपछि उम्मेदवार छनोटका लागि पार्टीले अध्ययन ग¥यो । सागर थापालाई टिकट दिँदा उपयुक्त भन्ने भएपछि मेरा अग्रजहरुकै प्रस्तावमा म उम्मेदवार बनेको हुँ ।

म तीन दशकयता लगातार विराटनगरको सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय छु । दुई पटक महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियू सभापति निर्वाचित भए, राजनीतिक आन्दोलनको अग्र भागमा रहेँ, विकास निर्माणमा काम गरेको छु ।

तपाईंका प्रमुख तीन प्राथमिकता केके हुन् ?

विराटनगर राजनीतिक र औद्योगिक नगरी हो । यो नगरलाई व्यवस्थित समृद्ध बनाउने, औद्योगिक क्षेत्रको विकास गर्ने, विराटनगरलाई सुकुम्बासी मुक्त सहर बनाउने योजना छ । करको दायरा विस्तार गर्ने, भौतिक पूर्वाधारको निर्माण, खानेपानी समस्या सामधान र डुबानको अन्त्य मेरो प्राथमिकतामा छन् ।

एकातर्फ गठबन्धन छ, अर्कातर्फ एमाले एक्लै छ ? यस्तो अवस्थामा कसरी जित्नुहुन्छ ?

चुनाव जित्ने पहिलो आधार संगठन हो । हामीले विराटनगरका १९ वटै वडामा टोल कमिटी गठन गरेका छौं ।

दोस्रो, त्यो गठबन्धन एमालेविरुद्ध मात्र होइन, विकास निर्माण रोक्न भएको हो भन्ने विराटनगरबाासीले बुझेका छन् । केन्द्रमा पनि गठबन्धन छ, जसले विकासको लहर रोकेको छ । त्यसैले विराटनगरबासी गठबन्धनको विपक्षमा हुनुहुन्छ ।

तेस्रो, म आम मानिसको सामान्य उम्मेदवार हुँ । सुकुम्बासी सरह जीवन विताइरहेको छु । विराटनगरमा लगभग २० हजार सुकुम्बासी मतदाता छन्, उहाँहरु घरवारविहीन हुनुहुन्छ ।

बाटो निर्माण गर्दा मेरो घर पनि भत्कियो, अहिले भाडामा बस्छु । मैले उम्मेदवार बन्दै गर्दा के के प्रतिज्ञा गरेको छु भने निर्वाचित भएर आएँ भने सुकुम्बासीको घर निर्माण नगरी आफ्नो घर बनाउँदिन ।

अहिले त चुनाव एकदमै खर्चिलो भयो भनिन्छ । केही छैन भन्नुहुन्छ, कहाँबाट आउँछ त चुनाव खर्च ?

मलाई लाग्छ, ६ वटा महानगरपालिकाका उम्मेदवारहरुमध्ये आर्थिक रुपमा सबभन्दा विपन्न उम्मेदवार म हुँ । तर सामाजिक तथा सांस्कृतिक सम्बन्ध र विकास निर्माणका कामहरुमा मेरो संलग्नतालाई हेर्ने हो भने म सम्पन्न मान्छे हुँ ।

त्यसैले हामी जहाँ जान्छौं, त्यहाँ कुनै खर्च गर्नु परेको छैन । घरदैलो गर्दा खाजा खाना बाहेक अरु खर्च भएको छैन । चुनावमा लाग्ने सामान्य खाजा खर्च हामी व्योहोर्न सक्छौं भनेर पार्टीले मात्रै होइन, फरक पार्टीका मान्छेले पनि बोलेका छन् ।

नागरिकको भोट किन्न पर्दैन । एक पटक गएर तपाईँको घरदैलोमा फेरि आए भन्दा पुग्छ । विराटनगरका ५२ हजार घरधुरीमा एक पटक पुगिसकेको छु, फेरि तपाईँको छोरो, भाइ भतिजो आयो है भनेपछि भोट सरर आउँछ । विराटनगरमा २–३ अंकले होइन, धेरै अंकको अन्तरले चुनाव जित्छु ।

एमालेका कार्यकर्ता बाहेक अरुले तपाईंलाई किन भोट दिने ?

म विराटनगरमा पार्टीको कार्यकर्ता भएर मात्र होइन, सामाजिक कार्यमा जोडिएको सामान्य मान्छे हुँ । सबै पार्टीका कार्यकर्ता र नागरिकसँग नजिकको सम्बन्ध बनाएको छु । भोलि पनि सहज रुपमा सम्पर्क हुनेछ । मैले आम नागरिकका समस्यालाई एजेन्डा बनाएका कारण पनि मलाई भोट दिनुहुनेछ भन्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?