+
+

उद्योगीलाई ऊर्जामन्त्रीले भनिन्- भोलिदेखि विद्युत् आपूर्ति सहज हुन्छ, राजनीति नगर्नुस् 

कुलमानले सोधे-उद्योगलाई लोडसेडिङ नै चाहिएको हो कि संकटको समाधान ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते २१:५०

१९ वैशाख, काठमाडौं । शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बलाएको गरेको बैठकमा उद्योगीहरुले लोडसेडिङको तालिका मागेका छन् । छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले उद्योगहरुमा अनियमित बिजुली कटौती बढेको भन्दै लोडसेडिङ तालिका सार्वजनिक गर्न माग गरेका थिए ।

ऊर्जामन्त्री पम्फा भुसालले केही उद्योगमा विद्युत आपूर्तिमा गडबडी हुनुका कारणबारे नेपाल विद्युत् प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग संयुक्त छलफल गरेकी थिइन् । मन्त्री भुसालले भोलि मंगलबारबाट बिजुलीको समस्या समाधान हुने मात्रै बताइनन्,  कठीन अन्तर्राष्ट्रिय परिवेश बुझेर पनि उद्योगीहरूले लोडसेडिङको तालिका माग्दै असहयोग गरेकोमा असन्तुष्टि जनाइन् ।

ऊर्जामन्त्री भुसालले विश्वब्यापी रुपमै कोइला संकटका कारण विद्युत उत्पादनमा आएको कमीको असर नेपालसम्म परेको भन्दै उद्योगीहरुले यसबारे जानकारी राख्नुपर्ने बताइन् । भुसालले उद्योगहरुमा विद्युत् आपूर्तिमा देखिएको समस्या क्षणिक भएको उल्लेख गर्दै भोलि मंगलबारदेखि नै आपूर्ति सहज हुने विश्वास दिलाइन् ।

‘विद्युत् आपूर्तिमा देखिएको समस्या हाम्रो कारणबाट उत्पन्न भएको होइन, विश्वव्यापी समस्या हो,’ उनले भनिन्,’नेपालको सन्दर्भमा यसलाई सल्टाउन सरकार प्रतिवद्ध भएर लागेको छ, चाँडै समाधान हुन्छ ।’

विगतमा ऊर्जा सुरक्षाका लागि ठूला जलाशययुक्त आयोजना नबन्दा सुख्खा समयमा समस्या देखिने गरेको स्पष्ट पार्दै मन्त्री भुसालले केही दिनका लागि देखिएको समस्यालाई राजनीतिकरण नगर्न समेत आग्रह गरिन् । ‘ऊर्जाकै कारण हामीले समस्या भोग्नु पर्दैन, विगतमा ऊर्जा सुरक्षालाई ध्यान नदिँदा क्षणिक समस्या आएको हो, आगामी दिनमा यस्ता समस्या सल्टिँदै जानेछन्,’ उनले भनिन् ।

ऊर्जा मन्त्रालय स्रोतका अनुसार भोलिदेखि विहारबाट द्विपक्षीय सम्झौतामा आधारमा १५० मेगावाट बिजुली नेपाल आउन थाल्नेछ । यसका लागि प्राधिकरणले विहार सरकारसँग सहमति गरिसकेको स्रोतले बतायो ।

भारतको प्रतिस्पर्धी बजारबाट पनि दैनिक १०० मेगावाटसम्म बिजुली आउने भएकाले अब उद्योगमा बिजुली कटौती गर्नुपर्ने अवस्था हट्ने मन्त्रालयको विश्वास छ । पानी पनि पर्न थालेकाले अब नदीमा पानीको सतह पनि बढ्ने भएकाले आन्तरिक उत्पादन पनि बढ्ने अपेक्षा गरिएको छ ।

छलफलमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हाम्रो ऊर्जा प्रणालीमा देखिएको क्षणिक समस्या केही दिनमै हल हुने बताउँदै आत्तिनुपर्ने अवस्था नहरेको बताए । ‘एक्कासी छोटो समयका लागि परेको असस्या हो, राज्यले यसलाई सम्बोधन गर्छ,’ उनले भने ।

त्यसैगरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समयमा विद्युत् आपूर्तिमा देखिएको समस्या सामान्य भएको भन्दै उद्योगी व्यावसायीलाई नआत्तिन आग्रह गरे । ‘अहिलेको समस्या दुई-चार दिनको हो,  छिट्टै समाधान हुन्छ,’ उनले भने ।

घिसिङले उद्योगीहरूले लोडसेडिङ तालिका मागिरहेको भन्दै समस्याको समाधान माग्न अनुरोध गरे । भारतका थुप्रै राज्यमा बिजुली अभावले विद्युत काटिएको भन्दै उनले प्राधिकरणले त्यस्तो अवस्था आउन नदिन अनेकन पहल र प्रयास गरिरहेको बताए ।

‘हामीले बिजुलीको अभाव हुँदैन भनेर नै यति धेरै माग र खपत बढाउने गरी प्रयास गरेका हौं, त्यो सार्थक पनि भएको छ, उनले भने,’विश्वव्यापी रुपमा सीमित समयका लागि आएको संकट भन्ने बुझ्दा बुझ्दै लोडसेडिङ तालिका मागिरहनु भएको छ,  तपाईंहरु लोडसेडिङ चाहानुहन्छ कि समस्याको समाधान चाहानुहुन्छ ?’

छलफलका क्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले विद्युत् आपूर्तिमा देखिएको समस्याबारे जानकारी गराएका थिए । ‘विद्युत आपूर्तिमा समस्या देखिएको छ, यसलाई सरकारले समाधान गर्नुपर्‍यो,’उनले भने ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले विद्युत आपूर्ति सहज तुल्याउन सरकार र निजी क्षेत्रसँगसँगै मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले आगामी दिनमा विद्युतको गुणस्तरमा सुधार हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?