+
+
प्रशिक्षक– खेलाडी विवाद :

विवाद माथिल्लो निकायमा पुगेपछि छानविन गर्न एन्फा तयार

गोविन्दराज नेपाल कुशल तिमल्सिना गोविन्दराज नेपाल, कुशल तिमल्सिना
२०७९ वैशाख २० गते २१:३२

२० वैशाख, काठमाडौं । विवाद माथिल्लो निकाय पुग्ने संकेत देखिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र १० खेलाडीको विवादबारे छानबिन गर्न तयार भएको छ ।

अघिल्लो साता दशरथ रंगशालामा प्रशिक्षण सत्रका बेला विश्रामको समयमा एन्फा होस्टेलमा बस्ने कि होटलमा भन्ने विवादले फुटबल टिममा विग्रह ल्याएको थियो । १० खेलाडीलाई आफूलाई प्रशिक्षकले टिमबाट अकारण निकालेको भन्दै हारगुहार गरिरहेका थिए भने अल्मुताइरीले आफ्नो अनुमति विना खेलाडीहरु गएको भए पनि कारबाही नगर्न आग्रह गरेको थियो ।

यो विवादमा एन्फा भने मुकदर्शक थियो । पटकपटक ध्यानाकर्षण गराउँदा पनि एन्फाले समस्या समाधानको पहल नगरेपछि खेलाडीहरुले सोमबार युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र मंगलबार राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव टंकलाल घिसिङलाई भेटेर निष्पक्ष छानबिनको माग गरेका थिए ।

एक सातासम्म संवाद नगरेको एन्फा नेतृत्वले मंगलबार साँझ खेलाडीहरुसँग छलफलमा मात्र बसेन, बुधबारसम्म छानबिन समिति बनाउने आश्वासन दिएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बुधबार विहान छानबिन समिति गठन गर्ने अनलाइनखबरलाई जानकारी दिएका छन् । खेलाडीहरु राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किने वा नफर्किने चाहिँ छानबिन प्रतिवेदनपछि मात्र निश्चित हुने उनले बताए ।

सदस्य सचिवसँग भएको त्यो सम्वाद

मंगलबार एन्फा अध्यक्षलाई भेट्नु अघि खेलाडीहरु राखेप सदस्य सचिव घिसिङ कहाँ पुगेका थिए । सदस्य सचिवलाई भेट्न १० खेलाडीसहित एन्फाको खेलाडी संघका अध्यक्ष विक्रम लामा, उपाध्यक्ष विकेश कुथु तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट पनि त्रिपुरेश्वरस्थित राखेप मुख्यालय पुगेका हुन् ।

खेलाडीको टिम कार्यकक्षमा प्रवेश गर्नेवित्तिकै सदस्यसचिव घिसिङले घटनाक्रमको बेलिविस्तार सुन्न चाहे ।

खेलाडीहरुमध्ये एकले यसरी सुनाए,

आसन्न एसियाली खेलकुदका लागि वैशाख २ गतेदेखि प्रशिक्षण सुरु भएको हो । हामी आआफ्नो घरबाटै प्रशिक्षणमा सहभागी भइरहेका थियौं । सोमबार (वैशाख १२ गते)देखि होटलमा बन्द प्रशिक्षणमा राख्ने भनिएको थियो । प्रशिक्षकले हामीलाई होटलमा बस्ने कि होस्टलमा भनेर सोध्नुभयो । यो हाम्रा लागि अप्रत्यासित प्रश्न थियो ।

प्रशिक्षकले होटलमा बस्न चाहनेले हात उठाउन भनेपछि रोहित चन्दले मात्र हात उठाए । टिमका हामी सबैजना होटलमै बस्न चाहेका थियौं । प्रशिक्षकले तत्कालै उनलाई टिमबाट निस्केर जान भन्नुभयो । प्रशिक्षकको आदेशपछि रोहित राष्ट्रिय टिमको जर्सी बुझाएर त्यहाँबाट हिँडे ।

लगत्तै टिम व्यवस्थापनको सल्लाहअनुसार प्रशिक्षक पनि पछिपछि रोहितलाई भेट्न जानुभयो । भेटेर फर्किएपछि मैदानमा आएर उहाँले सबैसामू रोहित अब टिममा नरहेको जानकारी गराए । एउटै टिममा दुईजना नेता हुन सक्दैन, उनी फिट नभएकाले पनि टिमबाट निकालिएको भन्नुभयो । सँगसँगै उहाँले बस्ने त होटलमै हो तिमीहरुलाई जिस्क्याएको मात्र थिएँ पनि भन्नुभयो । अकस्मात विकसित भएको यो घटनाक्रमबाट हामी पुनः अर्को आश्चर्यमा पर्‍यौं ।

सदस्य सचिव चुपचाप सुनिरहेका थिए । त्यसपछिको विवरण अर्का खेलाडीले बताए ।

मैदानबाटै एउटा खेलाडी निकालिएको घटनाबारे अनन्त तामाङले जिज्ञाशा राखे । तर प्रशिक्षकले उनलाई बोल्न दिनुभएन । बरु ड्रेसिङ रुममा गएर बोल्न भने । ड्रेसिङ रुममा पुगेपछि प्रशिक्षकले हामीमध्ये पाँच जनालाई मात्र बोल्न दिनुभयो । 

अनन्त तामाङ, अन्जन विष्ट, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठले आफ्नो भनाई राखिरहँदा प्रशिक्षकले हाम्रो कुरा नसुनेझैं गरेको प्रष्ट देखिन्थ्यो । उहाँ त त्यसबीचमा बाथरुमसमेत जानुभएको थियो । प्रशिक्षकले हाम्रो कुरा सुन्नुभयो, कुनै प्रतिक्रिया दिनुभएन । बरु त्यहाँबाट निस्कने बेला निकै तल्लोस्तरको गालीगलौज गर्नुभयो ।

त्रिपुरेश्वरको दशरथ रंगशाला पारीपट्टी युनाइटेड विजनेस होटलमा पुगेपछिको घटनाक्रम अर्का खेलाडीले सुनाए ।

एकजना सिनियर सदस्यलाई त्यसरी टिमबाट निकालिँदा हामीलाई नरमाइलो लागेकै थियो । हामीले कुरा गर्न खोज्दा प्रशिक्षकले सुन्नै नचाहेपछि झनै निराश थियौं । साँझतिर सहायक प्रशिक्षक र गोलरक्षक प्रशिक्षकमार्फत हामीलाई बोलाइयो । त्यहाँ पनि उहाँले हाम्रो कुरा सुन्नुभएन, एकोहोरो आफ्नो कुरामात्र सुनाउनुभयो ।

त्यतिबेला उहाँले तिमीहरु अब टिममा पर्दैनौ, क्याम्पबाट निस्किएर जाँदा हुन्छ भन्नुभयो । साथै एक साता म प्रशिक्षण गराउन सक्दिन, तिमीहरुलाई विदा पनि भन्नुभयो । यसअघि पनि टिममा नपरेको खबर प्रशिक्षकले दिएपछि खेलाडीहरुले क्याम्प छाड्ने गरेका थिए ।

हामी एक रात सोही होटलमा बसेर भोलिपल्ट मंगलबार (वैशाख १३ गते) बाहिरियौं । हामीले टिमका अफिसियल (टिम कोअर्डिनेटर) कृष्णभक्त मानन्धरलाई जानकारी गराएर निस्किएका हौं ।

हामी यी सबै घटना सार्वजनिक नहोस भन्नेमा सचेत थियौं । यसलाई भित्रैबाट समाधान गर्नुपर्छ भन्ने उद्देश्यले बुधबार (वैशाख १४ गते) एन्फाका अध्यक्ष कर्मा (छिरिङ शेर्पा) सरसँग भेट्ने समय लियौं ।

सबै कुरा बेलिविस्तार लगाएपछि उहाँले संघको चुनाव नजिकिएका कारण आफूले प्रशिक्षकलाई केहि गर्न नसक्ने बरु सबै मिलेर जान भनेपछि हामी झनै निराश भयौं । त्यतिबेला डेढ घण्टापछि आउँछु अहिले काम छ भनेर निस्किनुभएको थियो । तर अहिलेसम्म सम्पर्क गर्नुभएको छैन ।

बुधबार साँझदेखि घटना सार्वजनिक भयो । कतिपय सञ्चारमाध्यममा राष्ट्रिय टोलीको क्याम्पबाट खेलाडी भागेको भन्नेसम्म प्रचार गरियो । यसले हामीलाई धेरै मानसिक पीडा दिएको छ । घरमा पनि भगौडा खेलाडीको परिवार भनेर आमाबुबालाई मानसिक यातना दिनेसम्मको काम भएको छ । त्यसैले विहीबार (वैशाख १५ गते) पत्रकार सम्मेलन गरी सत्यतथ्य सार्वजनिक गरेका हौं ।

खेलाडीहरुपछि राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर समेत रहेका फुटबल खेलाडी संघका नवनियुक्त अध्यक्ष विक्रम लामाले आफ्नो भनाइ राखे ।

हामीलगायत सबै खेलाडीहरु यो विवादलाई धेरै उचाल्ने पक्षमा थिएनौं, छैनौं । हामीले बारम्बार एन्फा नेतृत्वसँग समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गर्ने प्रयास गरिरह्यौं, सफल हुन सकेनौं । हिजो (सोमबार)मात्र महासचिवलाई भेटेर पत्र दिन सक्यौं । सबैले समस्याको समाधान गर्ने भन्नुहुन्छ र समाधान भइरहेको छैन ।

सबै घटनाक्रम सुनेपछि सदस्यसचिव घिसिङले घटना सार्वजनिक भएको समयमा आफू नवौं राष्ट्रिय खेलकुद तयारीका लागि पोखरामा रहेको, तर सबै अपडेट लिइरहेको बताए । साथै समस्या समाधान के विकल्प देख्नुभएको छ ? भनेर खेलाडीहरुलाई नै सोधे ।

जवाफमा राष्ट्रिय टोलीका स्ट्राइकर अञ्जन विष्टले भने, ‘अप्रत्यासित आइपरेको यो समस्याले हामीलाई धेरै मानसिक तनाव भएको छ । घर परिवारमा पनि तपाईंका छोराहरु भगौडा रहेछन् भनेर आरोप लाग्न थालेको छ । घटनाको निष्पक्ष छानबिन गरियोस्, हामी दोषी रहेछौं भने कारबाही भोग्न तयार छौं ।’

त्यसपछि सदस्यसचिव घिसिङले समस्याको तत्काल समाधानका लागि पहल गर्ने आश्वासन दिए ।

समस्याको समाधान एन्फा भित्रैबाट होस् भन्ने चाहेको भन्दै उनले भने, ‘मैले एन्फा अध्यक्षसँग के भएको र यसलाई चाँडै निकास दिन भनिसकेको छु । यो विवाद यति लम्बिन हुँदैनथ्यो । म फेरि भन्छु, भएन भने लिखित दिन्छु ।’

एन्फाले समस्या समाधान गर्न सकेन भने राखेपले उचित कदम चाल्ने समेत घिसिङले आश्वासन दिए ।  उनले भने, ‘धेरथोर गल्ती सबैबाट भएको छ । यसलाई छिट्टो समाधान गर्नुपर्छ ।’

छलफलमा उपस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले व्यवस्थापकीय पक्षमा प्रशिक्षकको हस्तक्षेप गलत रहेको बताए ।

राखेप सदस्य सचिवसँग भएको भेट लगतै एन्फा अध्यक्ष र खेलाडीहरुबीच वार्ता भएको छ । रोहित चन्द, अन्जन विष्ट, अनन्त तामाङ, सुजल श्रेष्ठ र विशाल श्रेष्ठ, दिनेश राजवंशी, विशाल राई, सुमन लामा, विमल घर्तीमगर र तेज तामाङसँग भएको छलफलमा एन्फाले छानविन समिति बनाउने बचन दिएको छ ।

यससँगै खेलाडी–प्रशिक्षक विवाद समाधान उन्मुख भएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?