+
+

आयोगले सोध्न थाल्यो दल र राजनीतिज्ञहरुमाथि स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते ७:५२

२१ वैशाख, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र सार्वजनिक पदमा बसेका राजनीतिज्ञहरुमाथि स्पष्टीकरण सोध्ने क्रम बढाएको छ । देशभर निर्वाचन प्रचारप्रसारका साथै मतदानको मिति नजिकिंदै गर्दा आयोगले आचारसंहिता उल्लंघनका घटना तीव्र भएको आन्तरिक निष्कर्षका साथ स्पष्टीकरण सोधेको हो ।

आयोगले निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको नामबाट सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका सामग्री प्रकाशित भएको भन्दै नेपाली कांग्रेसलाई स्पष्टीकरण सोधेको छ । कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रुख चिन्हमा मतदान गरौं’ शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिन आएको भन्दै आयोगले कांग्रेससँग जवाफ माग गरेको हो । निर्वाचन आयोगले त्यो पर्चा सामाजिक सञ्जाल तथा अन्य स्थानबाट तुरुन्त हटाई स्पष्ट पार्न निर्देशन दिएको छ ।

आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै आयोगले नेकपा माओवादी केन्द्रलाई पनि स्पष्टीकरण सोधेको छ । ‘त्यस दलको तर्फबाट कलैया उपमहानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष विक्रम साह लगायतका व्यक्तिहरूले माओवादी केन्द्रको चुनाव चिह्न अंकित टिसर्ट सहित प्रचारमा देखिन आएकाले’ स्पष्टीकरणमा भनिएको छ, ‘आचारसंहिता विपरीत काम गरेको देखिंदा किन कारवाही नगर्ने भन्ने विषयमा तीन दिनभित्र प्रमाणसहित जवाफ दिन अनुरोध गरिन्छ ।’

मन्त्री कुमारी मोक्तान

आयोगले सार्वजनिक पदमा रहेका राजनीतिज्ञहरुमाथि पनि स्पष्टीकरण सोध्न थालेको छ ।

आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री मोक्तान प्रचार प्रसारमा खटिएको फोटो सहितको विवरण सामाजिक सञ्जालमा भेटिएको भन्दै आयोगले स्पष्ट पार्न भन्दै पत्र लेखेको हो । आयोगले २४ घण्टा भित्र प्रमाणसहित जवाफ दिन भनेको छ ।

आयोगले रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेलाई पनि स्पष्टीकरण सोधेको छ । चुनाव प्रचारमा खटिएको सूचना पाएको भन्दै आयोगले उनलाई जवाफ दिन निर्देशन दिएको हो ।

घिमिरेले पत्रकार सम्मेलन गर्दै आफूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेका थिए । उनले सरकारका मन्त्रीहरुले पनि आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गरेर देखाउन निर्वाचन आयोगलाई चुनौती दिएका थिए ।

आयोगले आफ्नो क्षेत्राधिकारमाथि चुनौती नदिन पनि घिमिरेलाई चेतावनी दिएको छ । आयोगको निर्देशनमा भनिएको छ, ‘आयोगलाई चुनौति दिएको अभिव्यक्ति तपाईंले दिनुभएको हो होइन ? दिनुभएको हो भने संवैधानिक आयोगको गरिमा घट्ने गरी त्यस्ता अभिव्यक्ति नदिन र निर्वाचन आचारसंहिता विपरीतका कार्य नगर्न नगराउन निर्देशन दिइएको छ ।’ घिमिरेले सरकारका मन्त्रीलाई आचारसंहिता नलाग्ने आफूलाई मात्र लाग्ने भन्दै कारबाही गरेर देखाउन आयोगलाई चुनौती दिएका थिए ।

आयोगले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– १० का वडाध्यक्ष उम्मेदवार अमृत खनाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मतदाताको खुट्टामा एक हजारको नोट राखेर भोट माग्दै गरेको भन्दै समाचार सार्वजनिक भएपछि आयोगले उनलाई त्यो काम गरेको हो कि होइन भनी सोधेको हो ।

त्यसैगरी कपिलवस्तुको एक विद्यालयका प्रधानाध्यापक प्रह्लाद पाण्डेलाई पनि स्पष्टीकरण सोधेको छ । पाण्डे प्रचारप्रसारमा संलग्न रहेको भन्दै आयोगले तीन दिनभित्र स्पष्टीकरण दिन पत्र काटेको हो ।

निर्वाचन आयोगले शहरी विकासमन्त्री रामकुमारी झाक्री, काठमाडौं महानगरपालिका प्रमुख पदका उम्मेदवार केशव स्थापित लगायतसँग स्पष्टिकरण सोधिसकेको छ । झाक्रीमाथि अनुमतीविना विदेश भ्रमण गरेको आरोप छ । स्थापितलाई प्रतिस्पर्धीमाथि विवादास्पद अभिव्यक्ति दिएको आरोपमा उनलाई स्पष्टिकरण सोेधेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?