+
+

कोरोना संक्रमणको नयाँ लहर आउने संकेत छ ?

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ वैशाख २१ गते २१:५१

२१ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि चीनका मुख्य सहरमा लकडाउन गरिएको छ । भारतमा पनि केही दिनयता संक्रमण तीव्र बढेको छ र दैनिक थपिने संक्रमणको संख्या तीन हजारको हाराहारीमा पुगेको छ ।

बेलायत, न्युजिल्यान्ड र थाइल्यान्डमा भेटिएको ओमिक्रोन ‘एक्सई’ भेरियन्ट भारतमा देखा परेको छ, जुन ओमिक्रोन भेरियन्ट (बीए–१ र बीए–२) भन्दा १० गुणा बढी संक्रामक मानिएको छ ।

डा. शेरबहादुर पुन

सरूवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार ‘एक्सई’ ओमिक्रोनको हाइब्रिड भाइरस हो । यो ओमिक्रोनबीच (बीए–१ र बीए–२ बाट मिक्सअप भएर विकसित भएको प्रजाति हो । तर कति घातक छ भन्ने अध्ययनकै क्रममा छ ।

नेपालमा अर्को लहर आउनसक्ने आधार के ?

कोरोना महामारीको पहिलो, दोस्रो र तेस्रो लहरलाई विश्लेषण गर्दा भारतमा संक्रमणको उच्च बिन्दुमा पुगेको एक महिनामा नेपालमा पनि फैलिएको छ ।

अहिले भारतमा ढेको संक्रमणले अर्को लहर आँउछ भन्ने एकिन भन्न सकिने अवस्था छैन । तर केही संकेत भने देखिन थालेको जनस्वास्थ्य विद्हरु बताउँछन् ।

खास गरी भारतमा दैनिक कोरोना संक्रमण पुष्टि हुने दर बढेकाले त्यसको असर नेपालमा पनि देखापर्ने सुक्ष्म जिवाणु विज्ञ डा. सन्तोष दुलाल बताउँछन् । ‘कोरोना भाइरस नेचुरल प्रोसेस ( प्राकृतिक प्रक्रिया) मा बाँच्न कोसिस गरिरहेको छ । कुनै एक क्षेत्रमा बढेमा अर्कोमा घटिरहेको हुन्छ,’ उनी भन्छन्, ‘पाँच– छ महिनामा लहरको चक्र घुमिरहेको छ । भारतमा देखिएको अहिलेको कोरोनाको स्वरुपले अर्को नयाँ लहर आउँछ कि भन्ने आकलन गर्न सकिन्छ ।’

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी अबको एक हप्ताको अवस्था हेरेर अर्को लहरको यकिन गर्न सकिने बताउँछन् । ‘भारतमा ठूलो जनघनत्व छ, त्यसैले संक्रमण दुई–तीन हजारमा पुग्दा ‘आउट ब्रेक’ भइहाल्यो भन्न सक्ने अवस्था छैन । यसका लागि केही हप्ता अझै पर्खिनुपर्ने हुन्छ,’ डा. अधिकारीले भने, ‘तर खोपको प्रभावकारिता घट्दै जाँदा भाइरस थप सक्रिय बन्दै जान्छन् ।’

डा. प्रभात अधिकारी

उसो त, एक साताअघिसम्म दैनिक ७– १० जनामा संक्रमण पुष्टि हुने गरेको अहिले ३०–३२ पुगेको छ । एक महिनादेखि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य थियो । तर, बुधबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ‘यही तथ्यांकले संक्रमण बढेको भन्न सकिँदैन । तर, हप्तामा संक्रमणदर दोब्बर हुँदै जानुले केही संकेत गरेको छ । दैनिक दुई सयभन्दा संक्रमित थपिएको अवस्थामा अर्को लहरमा जान्छ कि भनेर अड्कल गर्न सकिन्छ,’ डा. दुलाल भन्छन् ।

भारतमा बढ्दो संक्रमणलाई मध्यनजर गर्दा पनि नेपाल सतर्कता अपनाउनु पर्ने डा. पुन बताउँछन् । ‘खुल्ला सीमा भएका कारण विगतका लहर सहजै नेपाल प्रवेश गरेको थिए,’ भन्छन्, ‘अहिले पनि भारतमा बढ्दै गएको संक्रमणको अवस्था हेर्दा नेपाललाई जोखिममा पार्छ कि भन्ने चिन्ता बढ्न थालेको छ ।’

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले छिटो तथा धेरैमा एकैपटक संक्रमण फैलाउन सक्ने भएका कारण ओमिक्रोन ‘एक्सई’ भेरियन्टलाई ‘हाइब्रिड भाइरस’ मानेको छ । यद्यपि दोस्रो लहर ल्याउने डेल्टा भेरियन्ट जति घातक मानिएको छैन । डा. पुन भन्छन्,’ विभिन्न अध्ययनका अनुसार ओमिक्रोन एक्सई संक्रामक भएपनि दोस्रो लहरमा डेल्टा भेरियन्टको जस्तो गम्भीर असर गर्दैन । खोपको पहुँज बढ्दै गएकाले गम्भीर हुने अवस्था कम हुन्छ ।’

डा. समीर अधिकारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारी पनि भारतमा संक्रमण बढ्दै गएको अवस्थामा त्यसको असर चाँडै नेपालमा देखिने बताउँछन् । पछिल्लो समय भारतमा संक्रमण दर बढिरहेकाले मन्त्रालयले आवश्यक तयारी गर्न मातहतका अस्पताल र स्वास्थ्य संस्थालाई निर्देशन दिइसकेको उनले बताए । ‘पहिलो लहरमा भारतमा संक्रमण उच्च बिन्दुमा पुगेको एक महिनाभित्र दोस्रोमा दुई हप्ता र तेस्रोमा त्योभन्दा पनि कम समयमा संक्रमण भित्रिएको थियो । अहिले भारतमा संक्रमण बढ्दैछ । समयमा नै हामी चनाखो हुनुपर्छ,’ डा. अधिकारीले भने ।

दीर्घरोगी तथा बालबालिका जोखिममा

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी पनि पहिलो तथा दोस्रो लहरको जस्तो भयावह अवस्था आउने सम्भावना न्यून रहेको बताउँछन् । अधिंकाश मानिस तेस्रो लहरमा संक्रमित भइसकेको र धेरैले खोप लगाइसकेकाले पनि कमै असर गर्ने उनी बताउँछन् ।

डा. अनुप सुवेदी

तर नयाँ लहर आउँदा सबैभन्दा बढी जोखिममा रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामी र खोप नलगाएका बालबालिका पर्नसक्ने विज्ञहरुको चिन्ता छ । ‘पाँच–छ महिनामा नयाँ लहरको चक्र चलिरहको देखिन्छ । नेपालमा नयाँ लहर कुन भेरियन्टले हुन्छ भन्ने स्पष्ट छैन,’ डा. सुवेदी भन्छन्, ‘युरोप तथा दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट देखा परिरहेका छन् । यस कारणले पनि हामी अछुत्तो रहन सकिँदैन भन्ने अनुमान गर्न सकिन्छ ।’

नेपालमा एक चौथाइले अझैसम्म कोरोनाविरुद्ध एक डोज पनि खोप लिएका छैनन्, जसमा ५ देखि ११ वर्षसम्मका बालबालिका पनि पर्छन् । सरकारले ११ वर्षभन्दा मुनिका करिब ३५ लाख बालबालिकालाई कहिले खोप दिने हो कुनै टुंगो छैन ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कुल जनसंख्याको ७६.३ प्रतिशत अर्थात २ करोड २२ लाख ७१ हजार ८४ जनाले कम्तिमा एक मात्रा खोप लगाएका छन् । जसमा १ करोड ९६ लाख १८ हजार ९०१ जनाले पूर्ण खोप लगाएका छन् भने अतिरिक्त खोप लगाउने जनसंख्याको ३४ लाख ४२ हजार ८८४ जना छन् ।

पूर्ण खोप लिएको ६ महिना भएका व्यक्तिले रोग प्रतिरोधक क्षमता कायम राख्न थप अतिरिक्त खोप दिनुपर्ने संक्रामक रोग विशेषज्ञ डा. अधिकारी बताउँछन् । भन्छन्, ‘खोपले केही हदसम्म सुरक्षित राख्ने भएकाले अतिरिक्त खोपलाई जोड दिन जरूरी छ ।’

चुनावमा पनि मापदण्ड पालना गरौं

कोरोना संक्रमण बढ्न लागेको हो कि भन्ने चिन्ता भइरहेका बेला नेपालमा स्थानीय चुनाव हुँदैछ । अहिले प्रचार प्रसार अभियान चलिरहेको छ भने ३० वैशाखमा मतदान हुनेछ । चुनावी गतिविधिमा सहभागी हुनेहरुले पनि जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जनस्वास्थ्य विदहरु बताउँछन् ।

अब कोरोना संक्रमण सकियो भन्ने आमबुझाइ र व्यवहारका कारण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नहुने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास बताउँछन् । ‘अघिल्ला लहर ल्याउनका लागि सभा, सम्मेलनले ठूलो भूमिका खेलेको अनुभव हामीसँग छ । अहिले चुनावी माहोल बढेको छ । एक जना संक्रमितले सयौं हुँदै लाखौं मानिसलाई संक्रमण गराउन सक्छन्,’ डा. दुलाल भन्छन्, ‘नागरिकलाई स्वास्थ्य सचेतना नजागाउने भन्ने चौथो लहर चुनावी माहोल निम्याउन सक्छ ।’

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?