+
+

विराटनगरमा कांग्रेस नेताहरुले दिए एकताको सन्देश

हरि अधिकारी हरि अधिकारी
२०७९ वैशाख २१ गते २१:३३

२१ वैशाख, विराटनगर । नेपाली कांग्रेसका शीर्ष नेताहरुले विराटनगर महानगरपालिकाको टिकट वितरणमा देखिएको कलह अन्त्य भएको सन्देश दिने प्रयास गरेका छन् ।

स्थानीय निर्वाचनका लागि बुधबारदेखि देश दौडाहा सुरु गरेका कांग्रेसका शीर्ष नेताहरुसँगै मेयराक टिकटका आकांक्षीहरु पनि विराटनगरमा एउटै मञ्चमा देखिएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइरालासँगै मेयरका आकांक्षीहरुले पनि पार्टीका उम्मेदवार नागेश कोइरालालाई भोट मागेका छन् ।

केन्द्रीय सदस्यहरु अमृत अर्याल र डिला संग्रौला, निवर्तमान मेयर भीम पराजुली पनि टिकटका आकांक्षी थिए । तर डा. शेखरको जोडबलमा नागेश उम्मेदवार बने । त्यसपछि असन्तुष्टि जनाउँदै पराजुलीले मेयर पदबाट राजीनामा दिएका थिए । मेयरका आकांक्षीहरु चुनावी घरदैलोमा देखिएका थिएनन् ।

तर बुधबार शीर्ष नेताहरुसँगै मेयरका आकांक्षीहरुले एउटै मञ्च उभिएर मेयरका उम्मेदवार नागेशसँगै गठबन्धनका उपमेयरका उम्मेदवारलाई पनि भोट मागेका छन् । ‘आजको सभाले पार्टी उम्मेदवारप्रति हुने सबैखाले टीकाटिप्पणीको अन्त्य गरेको छ,’ कांग्रेसको विराटनगर नगर सभापति दीपक चापागाईंले अनलाइनखबरसँग भने, ‘पार्टी एक ढिक्का भएको संकेत विराटनगरले दिएको छ ।’

यसले गठबन्धनको माहौल बनेको उनको दाबी छ । शीर्ष नेताहरु एक ठाउँमा देखिएका कारण पार्टी र उम्मेदवारका नाममा बनाइने कहानी अन्त्य भएको भन्दै उनले भने, ‘विराटनगरमा कांग्रेसको लहर आयो । गठबन्धनको जित सुनिश्चित भयो ।’

शेखरले गरे गठबन्धनको वकालत

सत्तारुढ गठबन्धनबीच भागवण्डा हुँदा विराटनगरको उपमेयरको उम्मेदवार जसपाका अमरेन्द्र यादव बनेका छन् । कांग्रेसको कार्यक्रममा यादवसमेत मञ्चमा थिए । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु भने देखिएनन् ।

सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवासहित आधा दर्जन नेताले गठबन्धनकै पक्षमा भोट मागेका छन् । ‘कांग्रेस पार्टीले कसैलाई पनि धोका दिँदैन, आफू धोका खाएर पनि दिँदैन’, देउवाले भने,’गठबन्धनमा कुनै किसिमको शंका उपशंका गर्न हुँदैन ।’

उनीभन्दा अघि बालेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि गठबन्धनमाथि शंका नगर्न आग्रह गरे । विराटनगरको मेयरमा कांग्रेस र उपमेयरमा जसपा उम्मेदवार उठेको बताउँदै उनले भने, ‘रुख र छाता दुइवटै शीतलताको प्रतीक हुन्, दुईटैले मानिसलाई सितलता र सुरक्षा दिन्छन् यहाँ मिलेर जनतालाई शीतल छहारी दिनेछन् ।’

गठबन्धनको विपक्षमा उभिँदै आएका डा. शेखर कोइरालाले पनि लोकतन्त्रको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् । उनले मेयरमा नागेश र उपमेयरमा जसपाका यादवलाई भोट नै मागेका छन् ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री डिना उपाध्याय, नेता डा. मिनेन्द्र रिजाल, डिला संगा्रैला,अमृत अर्याल, भीम पराजुली, प्रदेश १ सभापति उद्धव थापालगायत नेताहरुले इमान्दार भएर गठबन्धनका नेतालाई जिताउन आग्रह गरे ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?