+
+

रोल्पाका माओवादी उम्मेदवारको घोषणा : मन्दिर, गुम्बा र चर्च बनाउन अनुदान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १०:०९
शुकबहादुर बुढामगर

२२ वैशाख, रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार बनेका शुकबहादुर बुढामगरले मन्दिर, गुम्बा र चर्च निर्माणका लागि बजेट विनियोजन गर्ने घोषणा गरेका छन् । चुनावी प्रतिबद्धता पत्रमा बुढामगरले पालिकाका ६ वटै वडामा सबै धर्मावलम्बीका लागि बराबर बजेट छुट्याइने घोषणा गरेका हुन् ।

जनस्तरबाट मन्दिर, चर्च र गुम्बा निर्माणको माग अत्यधिक आउने गरेको भन्दै उनले त्यही मागलाई सम्बोधन गर्ने क्रममा भौतिक संरचना बनाउन अनुदान दिइने बताए । चुनावी प्रतिबद्धतापत्रमा उनले लेखेका छन्, ‘विभिन्न जात धर्म, सँस्कृतिसँग सम्बन्धित भौतिक पूर्वाधार निर्माण गरिने छ ।’

यसबारे थप व्याख्या गर्दै उनले अनलाइनखबरसँग भने, ‘हाम्रो पालिकामा मन्दिर र चर्च त छन् तर गुम्बा छैनन् । हामीले ती सबै भौतिक संरचना बनाइदिन सहयोग गर्छौं ।’

संविधानले नेपाललाई धर्मनिरपेक्ष मुलुक भनेकाले सरकारले सबै धर्मावलम्बीको उत्तिकै सम्मान गर्नुपर्ने तर्क बुढाले गरे । धार्मिक सहिष्णुता बचाउने उद्देश्य आफूहरुको रहेको उनको भनाइ थियो । ‘राज्यको हिसाबले हेर्दा धर्मनिरपेक्ष भएपछि सबैलाई बराबरी व्यवहार गर्नुपर्छ’, बुढाले भने, ‘हिन्दूलाई मन्दिर, क्रिश्चियनलाई चर्च र बौद्ध धर्मावलम्बीकालागि गुम्बा बनाउन अनुदान दिने हाम्रो कार्यक्रम छ ।’ जनयुद्धकालमा धर्मप्रति अनुदार बनेको आरोप माओवादीलाई लाग्ने गरेको थियो ।

चुनावी प्रतिबद्धतापत्रमा बुढाले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न एमबीबीएस अध्ययन गर्ने छात्र/छात्राका लागि छात्रवृत्तिको व्यवस्था गरिने कार्यक्रम राखेका छन् । एक वर्षमा कम्तिमा २ जना र पाँच वर्षमा १० जनालाई पालिकाले निःशुल्क चिकित्सा शिक्षा अध्यापन गराउने नीति रहेको जानकारी उनले दिए ।

यस्तै ६० वर्षमाथिका ज्येष्ठ नागरिकको घरमै निःशुल्क स्वास्थ्य परीक्षण गराउने तथा आर्थिक विपन्नता भएका र द्वन्द्व पीडितहरुको पहिचान गरी स्वास्थ्य बीमा गरिने उनको घोषणापत्रमा छ ।

विद्यालय मर्ज हुँदा पनि अनुदान

पालिकाभित्रका माध्यामिक विद्यालयहरुले दिने भर्ना, परीक्षा, अभिभावक र प्रमाणपत्र शुल्क पूर्ण रुपमा अन्त्य गरिने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।  समायोजन हुन चाहने विद्यालयहरुलाई अनुदानको व्ययवस्था गरिने बुढाको घोषणा छ ।

दुई प्राथमिक विद्यालय बीच समायोजन भए १० लाख, प्राथमिक र निम्न माध्यामिक विद्यालय समायोजन भए २० लाख, निम्न माध्यामिक र माध्यामिक विद्यालय समायोजन भए ३० लाख र दुई माध्यामिक विद्यालय आपसमा समायोजन भए ५० लाख अनुदानको व्यवस्था गरिने बुढामगरले बताएका छन् ।

गाउँपालिकामा प्राथमिकदेखि माध्यामिकसम्म ४३ विद्यालय छन् । आर्थिक रुपमा विपन्न दलित समुदाय र शहीद परिवारका छोराछोरी र नातिनानातिनासम्मलाई अध्यापन गराउन पालिकास्तरमा आवासीय विद्यालय स्थापना गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

अनाथ तथा टुहुरा बालबालिकाको शिक्षाको पूर्ण जिम्मेवारी लिने, गाउँपालिकालाई खरको छानामुक्त बनाइने, पालिकाका ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम निर्माण गरिने तथा गाउँपालिकाका हरेक घर धुरीलाई सहकारीमा आवद्ध गर्ने लक्ष्य पनि राखिएको छ ।

परिवर्तनमा माओवादी केन्द्रबाट अध्यक्षमा शुकबहादुर बुढामगर र उपाध्यक्षमा कलादेवी खत्रीनी उम्मेदवार छन् । यो २०७४ सालमा माओवादीले क्लीन स्वीप गरेको स्थानीय तह हो ।

यस गाउँपालिमा माओवादीविरुद्ध कांग्रेस, एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ। अध्यक्षमा कांग्रेसका तर्फबाट विश्वकुमार चन्द र उपाध्यक्षमा एमालेकी सपना रोकामगर उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?