+

समयअघि नै बच्चा जन्मिंदा शिशु र आमा दुवैलाई जोखिम

२०७९ वैशाख  २३ गते १३:४८ २०७९ वैशाख २३ गते १३:४८
समयअघि नै बच्चा जन्मिंदा शिशु र आमा दुवैलाई जोखिम

यदि कुनै महिला गर्भावस्थाको ३७ औं हप्ताअघि सुत्केरी हुन्छिन् भने यसलाई समयभन्दा पहिले डेलिभरी वा प्रिटर्म डेलिभरी भनिन्छ । ७ देखि ८ प्रतिशत महिलाको प्रिटर्म डेलिभरी हुनु सामान्य हो । तर अहिले त्यो दर बढेको छ कति प्रतिशतले बढेको छ भन्ने यकिन तथ्यांक भने छैन ।

यसरी प्रिटर्म डेलिभरी हुँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भीर समस्या पनि देखिन सक्छ । अहिले पनि नेपालमा नवजात शिशुको मृत्यु हुने मुख्य कारण प्रिटर्म डेलिभरी हो ।

समयभन्दा अघि बच्चा जन्मिने कारण

अहिले निःसन्तानको समस्या बढेकाले धेरै दम्पती त्यसको उपचारमा लागेका छन् । निःसन्तानको उपचार गर्दा एकै पटक २ देखि ३ वटा सन्तान बस्यो भने प्रिटर्म डेलिभरी हुने सम्भावना बढी हुन्छ ।

पाठेघरमा पानीको मात्रा बढी भएर डेलिभरी मिति अघि पानीफोका फुट्छ र योनीबाट तरल पदार्थ द्रूत रूपमा निस्कन्छ, जसको कारण पनि समय अगावै बच्चा जन्मिन्छ । गर्भवती आमामा मधुमेह, उच्च रक्तचाप, एन्टीबडी सिन्ड्रोम लगायतका समस्या भएमा वा पाठेघरमा ट्युमर छ भने पनि समयअघि नै बच्चा जन्मिन सक्छ ।

इन्फेक्सन, पोषण तत्वको कमी, हेमोग्लोबिनको मात्रा कम भएकी आमाबाट पनि निर्धारित अवधिभन्दा अगाडि नै बच्चा जन्मिन सक्छ ।

प्रिटर्म डेलिभरी प्रायः नर्मल हुन्छ

समय अगावै जन्मने बच्चाहरू प्रायः नर्मल डेलिभरीबाटै हुने गरेको पाइएको छ । केही गर्भवती महिलामा मात्र सिजरिन डेलिभरी गर्नुपर्ने हुन्छ ।

यस्ता लक्षण देखिए चिकित्सकको सल्लाह लिनुपर्छ

प्रिटर्म डेलिभरी हुने महिलाहरूमा खासै केही विशेष लक्षण त देखा पर्दैन । समयभन्दा अघि प्रसव पीडा हुनु नै प्रिटर्म डेलिभरीको मुख्य लक्षण हो  ।

यदि गर्भावस्थाको ३७ औं हप्ताअघि नै पाठेघरको पानी फुटेर योनीबाट तरल पदार्थ द्रूत रूपमा निस्कन्छ वा अन्य केही लक्षण महसुस हुन्छ भने यो समय पूर्व प्रसवको संकेत हुन सक्छ ।

समय अगावै जन्मने बच्चामा देखिने समस्या 

३८ देखि ३९ हप्तामा मात्र बच्चा परिपक्व हुन्छ । ३७ हप्ताअघि नै बच्चा जन्मियो भने उसको फोक्सो राम्ररी विकास भएको हुँदैन । बच्चाको तौल कम हुन्छ, बच्चाले राम्ररी खाना खान सक्दैन, सास फेर्न गाह्रो हुन्छ । यस्ता बच्चाहरूमा इन्फेक्सनको सम्भावना धेरै हुन्छ ।

समय अगावै जन्मने बच्चा कम तौलको हुने भएकाले उसको वृद्धि विकास पनि राम्ररी हुन पाउँदैन । यी बच्चामा धेरै गम्भीर स्वास्थ्य समस्या हुन सक्छन् र यदि बच्चा धेरै चाँडो जन्मियो भने उसको मृत्यु समेत हुने खतरा हुन्छ । नवजात शिशुहरूको मृत्यु हुने मुख्य कारण प्रिटर्म डेलिभरी नै हो ।

आमालाई पनि खतरा हुनसक्छ      

प्रिटर्म डेलिभरीका कारणले आमाको स्वास्थ्यमा असर देखा पर्छ । केही महिलाको दुई–तीनवटा बच्चा भयो भने समय अगावै सुत्केरी व्यथा सुरु हुन्छ । समय अगावै जन्मेका बच्चाहरू कम तौलको जन्मेका कारण बच्चालाई दूध खुवाउन गाह्रो हुन्छ, जसले गर्दा आमामा स्तनसम्बन्धी समस्या देखा पर्छ ।

इन्फेक्सनको कारण छिटो बच्चा जन्मिएको हो भने बच्चालाई र आमा दुवैलाई छुट्टाछुट्टै आईसीयूमा भर्ना गर्नुपर्ने पनि हुनसक्छ ।

ध्यान दिनुपर्ने कुरा

प्रिटर्म डेलिभरी हुनेको संख्या घटाउनका लागि गर्भावस्थामा सन्तुलित तथा पोषणयुक्त खाना खानुपर्छ । गर्भावस्थामा धेरै गह्रुंगो काम गर्नुहुँदैन ।

दुई वा तीनवटा बच्चा बस्यो भने गर्भावस्थाको सुरुमै एउटालाई औषधिको प्रयोग गरेर नष्ट गरेर अर्कोलाई बचाउन सकिन्छ । यदि गर्भवती महिलालाई कुनै किसिमको इन्फेक्सनको कारण महिना नपुगी बच्चा जन्मिने सम्भावना छ भने अस्पताल गएर चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्छ ।

गर्भवती महिलाहरूले कम्तीमा पनि चार पटक स्वास्थ्य जाँच गर्नुपर्छ भनेर सरकारले भनेको छ  । तर विशेषज्ञहरूका अनुसार कम्तीमा आठ पटक स्वास्थ्य जाँच गराउनु उपयुक्त हुन्छ । यसको व्यवस्थापन सरकारले पनि गर्नुपर्छ ।

(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा. डा. गौतमसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)  

प्रिटर्म डेलिभरी
प्रा. डा. जागेश्वर गौतम
लेखक
प्रा. डा. जागेश्वर गौतम
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १९४६ अध्ययन : एमबीबीएस, एमडी हाल स्त्रीरोग तथा प्रसूति विशेषज्ञको रुपमा काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय