+
+
माधवकुमार नेपालसँग अन्तर्वार्ता :

‘कांग्रेसले हामीलाई पुरस्कार दिनुपर्ने, तर अहंकार देखायो’

१५६ ठाउँमा उम्मेदवार हुँदा २३ ठाउँमा जितेको हो कांग्रेसले । उठाएकै हो नि त फूर्ति देखाएर । पार लगायो ? अनि कांग्रेसले कल्पना गरेको थियो— प्रधानमन्त्री बनाउँला, सरकारमा जाउँला भनेर ! त्यो ठाउँमा कसले पुर्‍याएको हो ? हामीले पुर्‍याएको होइन ? त्यसको जस दिनुपर्दैन ? ‍‍‍…हामीलाई पुरस्कृत गर्नुपर्ने होइन ?

बिनु सुवेदी बिनु सुवेदी
२०७९ वैशाख २५ गते १८:११

२५ वैशाख, काठमाडौं । तत्कालिन नेकपाभित्र अन्तरविरोध बढ्दै गएपछि २०७७ पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रतिकूल हुने गरी प्रतिनिधिसभा विघटन गरे । त्यसपछि उनको पार्टी नेकपाभित्रको संकट झन् झन् चुलियो, सर्वाेच्च अदालतले एकीकृत भएको नेकपा एमाले र माओवादी केन्द्र पुरानै अस्तित्वमा कायम रहने निर्णय गर्‍यो ।

पार्टीभित्रको विवादले एमाले पनि एक रहन सकेन, पार्टी गठनको सुरुवाती प्रक्रियादेखि नै सहभागी भएर एमालेलाई १७ वर्षसम्म नेतृत्व दिएका माधवकुमार नेपालसहितको एउटा समूह नेकपा एकीकृत समाजवादी गठन गरेर ओली विरुद्धको गठबन्धनमा सहभागी भयो ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी सत्ता गठबन्धनमै सहभागी भएर चुनावमा जाँदैछ । नयाँ पार्टी भएकाले यो अहिले उसका लागि आफ्नो शक्ति परीक्षण गर्ने बेला पनि हो । कतै गठबन्धनमा रहेर र कतै एकल गरी समाजवादीले ३३७ ठाउँमा उम्मेदवारी दिएको छ । आउँदो चुनाव, पार्टीको अवस्था र गठबन्धनबारे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग अनलाइनखबरले गरेको कुराकानी :

एमालेमा लामो समय बिताउनुभयो, पहिलोपटक एमालेबाट टाढा रहेर, नयाँ पार्टी गठन गरेर चुनावी अभियान थाल्नुभएको छ । केही न केही फरक अनुभूति त भएको होला नि ?

फरक अनुभूति त हुने नै भैगो । त्यत्रो विशाल घर मैले नै बनाएको हुँ । त्यो अरूले कब्जा गरिदिए । कब्जा गरिसकेपछि, त्यहाँ बस्नै नसक्ने अवस्था भइसकेपछि, अझै पार्टी कब्जा गरेका मान्छेले पार्टीबाट निष्कासन गरिसकेपछि, तलबाट माथिसम्मै तानाशाहीपन लादिसकेपछि, दक्षिणपन्थी भड्कावमा फसिसकेपछि, व्यक्तिवादको चरमचुली देखिसकेपछि त्यस्तो अवस्थामा विद्रोह गर्नुको विकल्प रहेन ।

अहिले दुईवटा गठबन्धन छ— एउटा प्रगतिशील, अर्काे प्रतिगामी । एउटा वाम लोकतान्त्रिक, अर्काे दक्षिणपन्थी र समर्पणवादी । त्यसो हुनाले दुइटा गठबन्धनबीचको लडाइँ हो, यो । यस अर्थमा हामीले वाम लोकतान्त्रिक गठबन्धन निर्माण गरेर त्यसको शिलान्यास र उद्घाटन समेत गरेका छौं ।

विद्रोह गर्दा सही लाइनको पक्षमा उभिनुपर्छ । त्यसलाई जनतामा लैजान सजिलो हुन्छ । स्थापित गर्नका लागि मिहिनेत गर्नुपर्छ । तर आन्दोलन बाँच्छ । समाजवादको यात्रामा अगाडि बढ्ने एउटा आशा जगाउन सकिन्छ । कतिपय देशमा कम्युनिस्ट आन्दोलन सकिएको छ । रूसमा यस्तै तत्वले पार्टी कब्जा गरेपछि कम्युनिस्ट आन्दोलन सकियो ।

त्यहाँ विद्रोही मानसिकता देखिएन । भित्रभित्रै कुण्ठित भए, आक्रोशित भए तर विद्रोहको झण्डा बुलन्द गरेर कार्यकर्ताको पंक्ति आफूतिर आकर्षित गरेर जान सक्ने अवस्था रहेन । राज्यसत्ता प्रतिगामी तत्वको हातमा, विसर्जनवादी तत्वको हातमा थियो । यहाँ पनि राज्यसत्ता यिनको हातमा भइदिएको भए राज्यशक्तिको चरम दुरुपयोग गर्नेथिए ।

कसो हामीले यिनलाई सत्ताबाट फालिदियौं । सत्ताको मातमा मात्तिएर उनले (एमाले अध्यक्ष केपी शर्मा ओलीले) जसरी हामीमाथि चरम दमन गरे । ३० प्रतिशतभन्दा पनि कम संख्यामा उनलाई समर्थन थियो, उनले ७० प्रतिशतलाई बेवास्ता गरेर अलोकतान्त्रिक चरित्र प्रदर्शन गरे । जसले विधि, पद्धति मान्दैन, बैठक बोलाउँदैन, गुटको भेला गरेर पार्टीको नाम दिन्छ ।

एकतर्फी रूपमा केन्द्रीय कमिटी बनाउने र अरूलाई निकाल्नेसँग सहकार्य गर्ने अवस्थै बन्दैनथ्यो । त्यसैले हामीले जे गरेका छौं यो न्यायोचित, अत्यावश्यक, कम्युनिस्ट आन्दोलन रक्षाका लागि, लोकतन्त्र जोगाउनका लागि, परिवर्तनको उपलब्धिलाई रक्षा गर्न र नयाँ उपलब्धिको दिशामा अघि बढाएर लैजान हामीले न्यायोचित काम गरेका छौं, ठीक काम गरेका छौं ।

विद्रोह गर्दा धेरै चुनौतीको सामना गर्नुपर्छ । मैले २०३२ सालमा चुनौतीको सामना गर्नुपरेको थिएन र ? २०३५ सालमा नेकपा माले बनाउँदा गर्नुपरेको थिएन र ? २०४७ सालमा एमाले बनाउँदा सामना गर्नुपरेको थिएन र ? पार्टी निर्माणकै क्रममा पनि ओलीको विदेशमुखी आत्मसमर्पण गर्ने नीतिसँग जुध्नुपरेको थिएन र ? उनको व्यक्तिवादी प्रवृत्तिसँग जुध्दै आउनुपरेको हैन र ? तर म संयम भएरै अघि बढेको हो । अहिले माधवकुमार नेपाललाई राजनीतिमा ल्याएँ भनेर गफ हाँक्छन् ।

मेरो ओलीसित २०२९ सालमा भेट भएको हो । म राजनीतिमा २०२२ देखि लागेको हो । २०२६ सालदेखि माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको राजनीति गरेको हो । अनि यस्तो गफाडीको गफ पत्याएर हुन्छ ? उनी झुटका पुलिन्दा हुन् यत्तिकै भनेको हैन, उनका प्रत्येक भनाइमा झुटो कुरा बाहेक सत्य कुरा केही पनि छैन ।

मैले आफ्नो कुरामा जब सही विषय उठाएको छु, सही नीति लिएको छु, देश र जनताप्रति समर्पित भएर जुटेको छु, समाजको परिवर्तन गर्ने संकल्प बोकेको छु । निजी होइन, सामूहिक हितलाई, समाजको समस्यालाई, जनताको पीरमर्कालाई समाधान गर्नुपर्छ भन्ने मेरो मान्यता त्यहाँ बसेर पूरा हुनसक्ने अवस्था रहेन । समाजवाद त्यो बाटोबाट कहिल्यै पनि आउने देखिएन ।

समाजवादको बाटोमा यहाँहरू त अहिले पनि कहाँ हुनुहुन्छ र ? खालि आ–आफ्नो स्वार्थका लागि छलफलमा हुनुहुन्छ, गठबन्धनमा छलफल त्यसैगरी चलिरहेको हुन्छ…

के राप्रपासँग गठबन्धन गरेको भए हुन्थ्यो त ? कि विदेशीसँग दलाली गर्ने पार्टीसित गठबन्धन गरेको भए समाजवाद आउँथ्यो ? दक्षिणपन्थी खालका पार्टी, संविधान, गणतन्त्र विरोधीहरूसँग गठबन्धन गरेको भए समाजवादको बाटोमा होइन्थ्यो ? राज्यलाई धर्मसँग जोड्ने पार्टीसँग मिल्नुपर्थ्यो ?

हामीले त आजसम्म आन्दोलनमा, संघर्षमा जो सधैंभरि निरन्तर अगाडि बढिरहे त्यस्तासँग हातेमालो गरेका छौं । कांग्रेससँग गरेका छौं, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चासँग गरेका छौं । यी प्रत्येक पार्टीको इतिहास हेर्नुस् तपाईंले । संविधान उल्लंघन गर्नेको पक्षमा हामी जाने कि समर्थन गर्नेको पक्षमा जाने ? निजी चाहनाको आधारमा राज्यका अंगहरूलाई चलाउने र आफ्नो मुठीमा राख्ने प्रवृत्तिको पछि लागेर देशको प्रगति हुन्छ ? लोकतन्त्रको रक्षा हुन्छ ?

अहिले दुईवटा गठबन्धन छ । एउटा प्रगतिशील अर्काे प्रतिगामी गठबन्धन । एउटा बाम लोकतान्त्रिक गठबन्धन अर्काे दक्षिणपन्थी र समर्पणवादी । त्यसो हुनाले दुइटा गठबन्धनबीचको लडाइँ हो, यो । यसअर्थमा हामीले बाम लोकतान्त्रिक गठबन्धन निर्माण गरेका छौं । त्यसको शिलान्यास गरेका छौं, उद्घाटन गरेका छौं ।

तर यही स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने भनेर जति प्रयास भएको थियो त्यो प्रयास अनुरुप देशभरि हुन त सकेन । त्यो हेर्दा, शिलान्यास र उद्घाटन हुने तर निष्कर्षमा पुग्न नसक्ने भन्ने पनि त होला नि !

महानगर र उपमहानगरपालिकाको मेयर, उपमेयरमा हामीले कमसेकम सहमति गर्न सक्यौं । वडाहरूमा सहमति गर्न सकेनौं, गर्नै पर्दथ्यो । देशैभरि पनि गर्नुपर्दथ्यो । यसका निम्ति एउटा मान्यता अघि सार्नुपर्थ्यो । । हामीले प्रमुख पार्टीहरू हुन् कि होइनन् पहिले त्यसैमा छलफल, बहस गर्ने, यो बहस गर्दा कतिपयको मन दुख्थ्यो ।

२०७४ सालको चुनावमा ल्याएको मत आधार त भयो नि बाँकी समयका लागि । हाम्रो लागि मात्रै आधार थिएन । कति हाम्रो हो, कति ओलीजीको हो । हाम्रो आधारमध्ये हामीसित निर्वाचनमा जितेका सांसद छन् भने त्यो त हाम्रो मान्नुपर्‍यो नि ! प्रदेश सभा सदस्य छन् भने त्यो त मान्नुपर्‍यो नि ! जनप्रतिनिधि आएका छन् भने त्यसलाई मान्नुपर्‍यो नि ! अर्काे समूहमा हलचल मच्चाएर त्यहाँबाट विद्रोह गरेर आएको छ भने त्यसलाई मान्नुपर्‍यो ।

विभिन्न पार्टीबाट हाम्रो पार्टीमा प्रवेश भएको यथार्थता स्वीकार गर्नुपर्छ । होइन भने कमिटी नै आधार हो । त्यो पनि नभए एकचोटि ७७ वटै जिल्लामा एकपटक जाँच नै गरौं, प्रत्येकको जिल्ला कार्यकर्ता भेला गरौं भन्ने हो भने पनि सकिन्थ्यो । तर यी सबै कुरामा डिटेलमा जाने स्थिति रहेन । यसले गर्दा थोरै ठाउँमा मात्रै गठबन्धनका उम्मेदवार सहमतिका आधारमा उठेका छन् ।

कतिपय ठाउँमा हाम्रो अवमूल्यन गरिएको छ । हामीलाई उपयोग गर्ने सोच पनि होला । यसले हाम्रो चित्त दुःखेको छ, नराम्रो लागेको छ । तर चित्त दुखाएर बस्ने बेला होइन ।

हामीले काम गरेर जनताको मन र विश्वास जित्नुछ । हाम्रो ध्येय, हाम्रो उद्देश्य जनतामा समर्पित भएर एकजुट हुने हो । जनताको विश्वास जित्न संगठन बनाएर जनताको बीचमा जानै पर्छ । चुनावमा त हार–जित भइनै रहन्छ । कांग्रेसले २०७०, २०६४ सालको चुनावमा कति नै ल्याएको थियो र ? कसैले मेरो प्रतापले हो भन्छ भने भ्रम हो ।

तपाईंले गठबन्धनभित्रै पनि कतिपय ठाउँमा नेकपा एकीकृत समाजवादीलाई बाइपास गर्न खोजिएको या शक्तिलाई अवमूल्यन गरिएको भन्नुभयो । त्यो भनेको ठ्याक्कै के हो ? तपाईंहरूको चित्तदुखाइ कहाँनेर हो ?

हाम्रो शक्ति त सीधा देखिएको छ । हाम्रो पक्षमा मेयर, उपमेयर भएका पालिकामा पनि हामीलाई दिइएन । नाम चलेको नेताका पछि हजारौं कार्यकर्ता, लाखौं जनता छन् । नाम चलेका नेताहरू, दुनियाँले जानेका नेताहरू छन् ।

गाउँ, समाजले पत्याएका मान्छेहरू छन् सबै हेर्नुपर्थ्यो नि ! मैले बुझ्दछु तल्लो तहमा जाँदा आकांक्षा र महत्वाकांक्षा बढेको छ । मात्रात्मक रूपमा हाम्रोमा त कम छ तर अरूकोमा विद्रोही उम्मेदवार खडा हुने प्रवृत्ति पनि देखियो । सबभन्दा बढी नेपाली कांग्रेसमा देखियो । फलस्वरुप अन्तिम समयसम्म पनि विद्रोही उम्मेदवारले फिर्तै नलिने अडान गरेको पनि पाइएको छ ।

त्यो त लोकतन्त्रको अनुपम उदाहरण पनि त हो नि ! फरक मत राख्न त पाइयो…

लोकतन्त्रको उदाहरण हैन । लोकतन्त्रमा विद्रोही बन्नुपर्छ भन्ने छैन । लोकतन्त्रमा अनुशासन पनि त हुन्छ नि ! लोकतन्त्र संस्कारको नाम हो भन्ने पनि त हो नि ! लोकतन्त्रमा बहुमतको कदर गर्नुपर्छ भन्ने पनि त हो नि ! बहुमत मान्दिनँ भन्ने ? कि पार्टीलाई छोडिदिनुपर्‍यो । त्यो पार्टीमा बस्ने र विद्रोही हुने त सुहाएन । चित्त नबुझे पनि त्यहाँभित्र गुनासो राख्न सक्नुपर्‍यो । लोकतन्त्र भनेको अराजकता हो र ?

दोस्रो कुरा भनेको चाहिं महत्वाकांक्षी र आत्मकेन्द्रित प्रवृत्ति बढेको छ । त्यसो हुँदा पहिले केन्द्रीय चुनाव भएको भए राम्रो हुन्थ्यो । संघीय चुनाव, प्रादेशिक चुनाव अनि बल्ल स्थानीय चुनाव हुनुपर्थ्यो । भोलि पनि त्यही गर्नुपर्छ त्यसलाई सोझ्याउनै पर्छ । अहिले म तपाईंलाई यही भन्छु, रेकर्डमा रहोस् । पहिले स्थानीय चुनाव गरेर प्रदेश र संघीय चुनाव गर्ने चलन गलत हो । यसमा निर्वाचन आयोगले जुन किसिमको लकिरको फकिर काम गर्‍यो, त्यो गलत हो ।

त्यो चिन्तन नै नभएकाहरू, सिंगो डेमोक्रेसीप्रतिको सोच नभएकाहरू, देशको भविष्य कस्तो हुनुपर्छ भन्ने कुरामा चिन्ता नभएकाहरूको यो अनावश्यक तर्क, कुतर्क हो । होइन भने ठीक छ कानुन ल्याइदिनुस् आग्रह गर्न सकिन्छ नि ! थिति बसाल्दिनुस् हामी पनि सहयोगी हुन्छौं भन्नुपर्दैन ? देश, समाज सबैको हैन ? ठीक बाटोमा जाँदा त सबैलाई फाइदा हुन्छ होला नि ! सधैं त्यही ठाउँमा बस्ने हो र ?

अब अहिले त जे भयो गर्नै पर्‍यो । पछिका लागि भने सोच्नै पर्छ । सकिन्छ भने तीनवटै तहको चुनाव गरिदिए पनि हुन्छ । खर्च पनि कम हुन्छ ।

अहिले पो तपाईंहरू गठबन्धनमा हुनुहुन्छ र स्थानीय चुनावले पछि असर पर्ला भन्ने लागेको होला । तर चुनाव भनेको त दलहरूको आ–आफ्नो शक्ति परीक्षण हो नि, त्यसो हुँदा चुनाव अघि या पछि हुँदा के फरक पर्छ र ?

होइन, होइन । तपाईंलाई थाहा छ, खर्चालु कति छ । राज्यको पैसा खर्च भइरहेको छैन ? त्यही ठाउँमा पटक–पटक खर्च गर्दा तीनचोटि खर्च हुँदैन ? एकैचोटि जाँदा त तीनवटा खर्च हुँदैन नि ! पार्टीहरूको खर्च पनि कम, राज्यको खर्च पनि कम हुनेथियो होला ।

खर्च कटौतीको हिसाबले मात्रै हो कि स्थानीय तहको चुनावमा आउने परिणामले प्रदेश सभा र प्रतिनिधिसभामा पनि असर पर्न सक्छ, भन्ने आकलन हो ? देश दुर्घटनामा जान सक्छ भन्ने अभिव्यक्ति त गठबन्धनकै नेताहरूबाट आएकै छ फेरि…

दक्षिणपन्थी शक्ति आयो भने दुर्घटनामा जान्छ । दक्षिणपन्थी शक्तिहरूलाई, परिवर्तनविरोधी शक्तिहरूलाई देश र परिवर्तनको माया छैन । विथोल्नै खोजिरहेका छन् सबै ।

भताभुंग पार्ने, सिस्टम नै भत्काउने । विकासको गफ हाँकेर विनाश मात्रै निम्त्याएका छन् । दुई वर्षपछि काम सम्पन्न हुन्छ, दुई वर्ष पहिले नै उद्घाटन गरेका छन् । सर्भे नगरी शिलान्यास गरेका छन् । कुन ठाउँमा के बनाउने भन्ने कुराको जानकारी नै छैन । पहिल्यै कमिसन सोहोर्नका लागि शिलान्यास गरेका हुन्, थाहै छ नि !

यो सबै कुनियत हो । त्यसो भएको हुनाले यी सबैले गर्दाखेरि रोडम्यापको कुरा के हो भने, प्रतिगमनकारी शक्तिहरूको हातमा संसद भंग गर्न चाहने र भंग गर्दै आएका तत्वहरूको हातमा यो मुलुक गयो भने हालत के हुन्छ भनेर त्यो सन्दर्भमा आएको होला ।

तर कुनै एक जना नेताको छोरीले या श्रीमतीले या कोही एक जना उम्मेदवारले नजित्दैमा देश दुर्घटनामा जाने भन्ने त होइन होला नि ?

एउटा व्यक्तिले जित्छ, जित्दा त एउटा व्यक्ति हो नि ! जित्ने बित्तिकै ठीक नहुँदो रै’छ नि ! जित्यो आनन्द हैन । जितिसकेपछि पनि खबरदारी गर्नुपर्छ । जित्नेले ठीक ढंगले काम गरेको छ कि छैन भन्ने हुन्छ ।

पहिलो कुरा त सञ्चालन गर्न सक्ने अयोग्यता, दोस्रो भिजनलेस अवस्थाका मान्छेहरू, तेस्रो भ्रष्टाचारमा लिप्त हुन चाहनेहरू, चौथो सत्ताको दुरुपयोग गर्न चाहनेहरू र पाँचौं हुन्छन् सिंगो सिस्टम भत्काउन चाहनेहरू । ती सिस्टम भत्काउन चाहनेहरूले एकल वर्चस्व कायम गर्न चाहन्छन् ।

तर अहिले यहाँहरूको अधिकांश भाषण, अधिकांश सार्वजनिक अभिव्यक्तिहरूमा नेकपा एकीकृत समाजवादीका बारेमा भन्ने भन्दा पनि एमाले अध्यक्ष ओलीलाई गाली गर्नमा केन्द्रित हुन्छ । एजेण्डा नभएर त होला नि ?

हाम्रो पार्टी कस्तो हो ? किन हामीले बनाउनुपर्‍यो भन्नुपरेन ? किन विद्रोह गर्नुपर्‍यो भनेर व्याख्या गर्नुपरेन ? उनीहरू भन्दा हामी किन पृथक् छौं भनेर बताउनुपरेन ? हाम्रा मान्यताहरू के हुन् व्याख्या गर्नुपरेन ? हामी अरूभन्दा के फरक छौं भनेर बताउनुपरेन ? दुष्टको चेत बताएपछि तब न सज्जनको चेत थाहा हुन्छ ।

त्यही भएर यहाँहरूले अलि धेरै केपी ओलीलाई गाली गर्नुभएको होला हैन ?

तपाईंले राम्ररी सुन्नु न । भाषणको १० प्रतिशत मात्रै त्यो खण्ड हुन्छ । ९० प्रतिशत त हामीले हाम्रो कुरा भनिरहेका छौं । कसरी हामी गरिब, निमुखा, अन्याय–अत्याचारमा पिल्सिएका जनताको हित र कल्याणका लागि, देशको मर्यादाको रक्षाका लागि, समाजका सबै क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि अबको हाम्रो क्रान्ति डिजिटल रिभोलुसनको तहमा अघि बढिरहेका छौं भनेर व्याख्या गरिरहेका छौं ।

हामी सय, पचास, पच्चीस वर्षको प्लान गरेर यो दृष्टि राखेर चल्न चाहन्छौं । आजको आवश्यकताका निम्ति अहिले खर्च गर्ने, अनावश्यक टावर बनाउने र गेट बनाउने काममा खर्च नगर्ने, हामी बरु कसरी सुन्दर नगर बनाउने र त्यसका विशेषता के हुन्छन् त्यसका लागि तयारी गर्छाैं । तपाईं मेरो भाषण सुन्नुस्, भरतपुरको सुन्नुस् या काठमाडौंको सुन्नुस् । रेकर्ड गरेर यति मिनेट गाली गर्नुभयो भन्नुस् ।

तर तपाईंसहित गठबन्धनका सबै नेताको कुरा सुन्दा यहाँहरूको उद्देश्य आफ्नो पार्टी या गठबन्धनले जित्ने भन्दा पनि केपी ओलीलाई नै हराउने भन्ने छ नि त !

फलानोलाई हराउने भन्दा पनि गलत प्रवृत्तिलाई परास्त त गर्नुपर्‍यो नि हैन ! गलतलाई नहराई कसरी जित्न सकिन्छ ? केपी ओलीको प्रतिगमन फर्केर आयो भने देशको के हालत होला भनेर बताउनुभएन भने कसरी प्रगति हुन्छ ?

जसले पानीजहाजको गफ हाँकेर हिंड्यो, जसले रेल्वेको गफ हाँकेर टिकट अहिल्यै काट्नुस् भन्यो, जसले घरघरमा ग्याँसको चुलो आउँदैछ, च्याट्ट अन गर्ने प्याट्ट पड्काउने भन्ने सुनेकै हो । यो सबै कुरा त भन्नुपर्‍यो, जनतालाई सुनाउनुपर्‍यो नि !

यो चुनाव र चुनावी अभियान भनेको एकले अर्काेलाई, असाध्यै तल्लो स्तरमा झरेर गाली गर्ने पर्व जस्तो पनि रै’छ है ?

मान्छेले आ–आफ्नो चरित्र उजागर गर्छन् । संस्कार देखाउँछन् । संस्कारविहीन मान्छेले त्यस्तै काम गर्छन् । राम्रो मान्छेको मुखबाट राम्रै कुरा निस्किन्छन् । असल मान्छेले असल उदाहरण राख्छन् । जसको चरित्र नै दुष्ट छ उसको मुखबाट राम्रो कुरा आउँदैन ।

हामी त्यस्तो होइनौं । हामीलाई थाहा छ । कांग्रेससँग त्यत्रो अन्तरविरोध हुन्थ्यो तर सीमा नाघेनौं । शब्द त मलाई पनि आउँछ होला नि ! तर म त भन्न चाहन्नँ । मान्छेले आफैं व्याख्या गरुन् न !

यस्तै यस्तै अन्तरविरोधले यहाँहरूले नयाँ पार्टी बनाउनुभएको छ । पहिलो चुनावमा यहाँहरूको शक्तिको पनि परीक्षण हुँदैछ । गठबन्धनले अवमूल्यन गर्‍यो पनि भन्नुभएको छ । तर एक्लै चुनाव लड्न चाहिं किन नसक्नुभएको ?

मैले भन्या थिएँ । कतिपय जिल्लाले त्यसमा बुद्धि पुर्‍याए । कतिपय जिल्ला गठबन्धनप्रति मख्ख परेर गठबन्धनको मुख ताकेर बसे । यस्तो हुँदोरहेछ । हाम्रो तर्फबाट अलिकति कमजोरी पनि भयो । पार्टी निर्माणलाई केन्द्रविन्दुमा राखेर सबै ठाउँमा उम्मेदवार खडा गर्नुस् भन्नुपर्थ्यो ।

थोरै ठाउँमा मात्रै गठबन्धनका उम्मेदवार सहमतिका आधारमा उठेका छन् । कतिपय ठाउँमा हाम्रो अवमूल्यन गरिएको छ । हामीलाई उपयोग गर्ने सोच पनि होला । यसले हाम्रो चित्त दुःखेको छ, नराम्रो लागेको छ । तर चित्त दुखाएर बस्ने बेला होइन । हामीले काम गरेर जनताको मन र विश्वास जित्नुछ ।

तर अहिले कमजोरीको समीक्षा गर्ने बेला होइन । जहाँ–जहाँ उठाइएको छ, हामीसितको गठबन्धनको उम्मेदवारलाई जिताउने पहिलो काम हो । दोस्रो हामी उठेको ठाउँमा हाम्रा उम्मेदवारलाई जिताउने हो र तेस्रो सबै प्रतिगामी शक्तिलाई पराजित गर्न प्रगतिशील पक्षमा उभिएकालाई अगाडि बढाउने हाम्रो काम हो ।

गठबन्धनभित्रै यहाँहरूको चित्तदुखाइ छ, स्थानीय तहको यो निर्वाचनको परिणामले गठबन्धनको भविष्य पनि निर्धारण गर्छ भनिएको छ नि ?

एउटा कुरा छ, जहाँ सबै छन् उठेका, त्यहाँको संख्या हेरे थाहा भइहाल्छ । यदि पाँचवटै पार्टी उठेका छन् भने उसले पाउने मतका आधारमा एउटा सर्भे त हुन्छ । त्यसैबाट हुन्छ परीक्षण ।

तपाईंलाई त्यति धेरै आत्मविश्वास छ आफ्नो शक्तिमाथि ?

छ । पार्टी निर्माण गरेको मैले हो । २०३२ सालको को–अर्डिनेशन केन्द्र बनाउने म नै हो । २०३५ सालको माले बनाउने मुख्य मध्ये म नै हुँ । २०४७ को एमाले बनाउने मुख्य मध्ये म नै हो । त्यसपछि पार्टीलाई १७ वर्ष मैले नै हाँकेको हुँ ।

तर विद्रोह गर्नु, घर छोडेर हिंड्नु पनि अनौठो कुरा रै’छ नि है ? छोडेर हिंड्नेका पछाडि कोही नहुँदा रै’छन् नि !

के गर्ने अब ? बाँच्न दिएन भने, सास फेर्न दिएन भने, पार्टीबाट निष्कासन नै गरेको छ भने । के गर्ने ? ३० प्रतिशतले ७० प्रतिशतलाई कारबाही गर्छ । अनि हाम्रो देशको निर्वाचन आयोगले त्यसैलाई चाहिं प्रोत्साहन दिन्छ ।

हाम्रो देशको अदालत चुप लागेर बस्छ । यही देखेको हैन ? कस्तो समस्या हाम्रो सिस्टममा भन्ने त सिंगो उदाहरण हैन यो ? मिलेको पार्टीलाई नमिल, अलग होउ भनिदिन्छ । यस्तो पनि कहीं हुन्छ ? कतै नभएको जात्रा हाम्रो देशमा भइरहेको छ ।

यहाँहरूले ३३७ ठाउँमा उम्मेदवारी दिनुभएको, कतिपय ठाउँमा सर्वसम्मत पनि नेतृत्व चयन भएको छ । कति जति जितिएला भनेर आकलन गर्न सक्नुहुन्छ ?

मैले अझै आकलन गर्न पाएको छैन । हामी आकलन गर्नुपर्छ भनिरहेका छौं । किनभने हामीले मात्रै बसेर हुँदैन । जिल्ला जिल्लामा सोध्नुपर्छ । एउटा त मैले भनें, सबै ठाउँमा उम्मेदवारी दिनुपर्नेमा दिएनौं कमजोरी भयो । हाम्रो संगठन सबै पालिकामा छ । उम्मेदवारी दिंदा त केही बिग्रनेवाला थिएन । एउटा समस्या पर्नेवाला थियो, त्यो हो खर्च ।

खर्चको जोहो गर्ने कसरी ? म बुझ्दछु यो समस्या । सबैसँग सम्पत्ति त छैन । त्यसैले चुनाव प्रचार–प्रसारमा केही न केही खर्च त लाग्छ । हाम्रो पुरानो सम्पत्ति उतातिर कब्जा गरेर राखेका छन् । त्यसमा कानुनी लडाईं लड्नै बाँकी छ । त्यसभित्रको जटिलता पनि म बुझ्छु ।

गठबन्धनकै सन्दर्भमा तपाईंको एउटा कुरा छ, नेपाली कांग्रेसका कतिपय नेताहरू गठबन्धनको नाममा माधव नेपाल र प्रचण्डले शेरबहादुर देउवालाई असाध्यै धेरै गलाउनुभयो भनिरहेका पनि छन् नि ?

कांग्रेसले धेरै अहंकार देखाउनुहुँदैन । १५६ ठाउँमा उम्मेदवार हुँदा २३ ठाउँमा जितेको हो कांग्रेसले । उठाएकै हो नि त फूर्ति देखाएर । पार लगायो ? अनि कांग्रेसले कल्पना गरेको थियो– प्रधानमन्त्री बनाउँला, सरकारमा जाउँला भनेर ? त्यो ठाउँमा कसले पुर्‍याएको हो ? हामीले पुर्‍याएको होइन ? त्यसको जस दिनुपर्दैन ?

त्यसको निम्ति कृतज्ञ हुनुपर्दैन ? यो पार्टीले गर्दा हामीले प्रधानमन्त्री पायौं, सत्ताधारी पार्टी भयौं, प्रदेश सरकारमा महत्वपूर्व मन्त्री पायौं भनेर हामीलाई पुरस्कृत गर्नुपर्ने होइन ? एक सिट जितेको व्यक्ति मुख्यमन्त्री भएका छन् ।

तर कांग्रेसमा हामी मान्दैनौं भन्ने विद्रोहको र चरम व्यक्तिवादी आवाज सुनिएको छ । एक नम्बरमा कांग्रेस छ, दोस्रोमा एमाले देखिन्छ, तेस्रोमा माओवादी केन्द्र छ । हामीमा पनि त्यस्तो लक्षण देखिन थालेका छन् । पार्टीलाई सुधार्न यी सबै चिजलाई हामीले पार्टीभित्र वैचारिक शिक्षा दिने र रूपान्तरण गर्ने काम गर्नुपर्छ ।

तपाईंको भनाइ अनुसार सबै पार्टीहरू अहंकार नै अहंकार भएका छन् । अहंकारीहरूलाई पनि फेरि गठबन्धन किन चाहिने हो त नि ?

अनि गठबन्धन हुन्छ कसरी ? २०४६ सालमा कांग्रेस एक्लै जान खोज्दाखेरि एक्लै आन्दोलन पार लाग्यो ? या, हामी पनि एक्लै जान खोज्दा पार लाग्यो ? दुइटैले हातेमालो गरेपछि पञ्चायत बल्ल ढल्यो । यो त सत्य हो नि !

नेपालको राजनीतिमा सफल भएका दुइटा आन्दोलन २०४६ र २०६२/६३ सालमा वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा थिए । वामपन्थी शक्तिका अनेक घटक होलान् । चाहे त्यो लोकतान्त्रिक शक्तिका अनेक घटक होलान् । दुई शक्ति मिलेको त सत्य हो नि ?

त्यसो भए त फेरि हङ–पार्लियामेन्ट हुने भो, एकले अर्कालाई तानातान गरेको देखिने भयो है ?

त्यस्तो हुन्छ नि ! दक्षिणपन्थीहरू एकठाउँ हुन्छन् भने प्रगतिशीलहरू अर्कोतिर ।

चुनावपश्चात् वामपन्थीहरूको मेल हुन्छ भनी विश्लेषण पनि सुनिन्छ नि ?

कुन वामपन्थी ?

एमाले, माओवादी केन्द्र र तपाईंहरूको पार्टीबीच मेल नहोला ?

चुनावपछि के हुन्छ, म अहिले बुझ्दिनँ ।

अर्को विश्लेषण– एमालेसँग एकीकरण हुन नसकेपछि एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपा मिल्छन् भनिन्छ । यसमा कति सत्यता छ ?

कांग्रेसको आफ्नो तरिका थियो । एमालेको अर्कै भइहाल्यो । हामी तीन एक ठाउँमा उभिन सकेको भए कति राम्रो हुनेथियो । एउटा बाटो तय भइसकेको छ । तीन दल एक भएको भए भन्ने त अब समीक्षाको विषय भयो ।

मैले चुनावपछिको अवस्था बारे बुझ्न खोजेको !

अहिले भनेको चुनावमा पूरै शक्ति लगाएर जित्ने–जिताउने काम हो ।

चुनावको परिणाम पछि आत्मसमीक्षा गरेपछि एकतातिर जानुहोला कि ?

चुनावको परिणामले पनि सिकाउला ।

अर्काे प्रसंग, गठबन्धनका तर्फबाट जुन रूपमा अहिले उम्मेदवार बनाइएको छ; समावेशिताको कुरा गर्ने तपाईंहरूले गणतन्त्रपश्चात् सबैभन्दा बढी महिला विभेद यसपटक उम्मेदवार चयनमा देखियो । एक किसिमको प्रतिगमन भयो । यसबारे के भन्नुहुन्छ ?

यो हुँदोरहेछ । एउटै पार्टीको भयो भने एउटा महिला अनिवार्य हुनेथियो । व्यक्तिमा पनि भर पर्ने रहेछ ।

योग्यता बढाउने कुरामा ध्यान दिने भन्दा पनि त्यत्तिकै दाबा गर्ने पनि हुँदोरहेछ । मिहिनेत गरेर, पसिना बगाएर कमाउने भन्दा पनि जसरी पनि सोहोर्ने प्रवृत्ति छ । विकृति सबै चिजमा छ, एउटामा मात्रै छैन ।

पार्टीहरूको यस्तो प्रवृत्तिले दलहरू पछाडि नै फर्किए भन्न मिल्छ ?

यसलाई प्रतिगमन नै त भन्न मिल्दैन । आदिवासी, जनजाति, महिला अनिवार्य भएका ठाउँमा हामीले उम्मेदवार बनाएका छौं । अनिवार्य नभएका कतिपय ठाउँमा उम्मेदवार हुन सकेनन् ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?