
१८ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कुलिङ पिरियडमा उच्चपदस्थ कर्मचारीबाट गडबडी भएको शंका लागेको बताएका छन् । त्यो शंका निवारणका लागि पनि छानबिन समिति बन्नुपर्ने उनको भनाइ छ ।
आज राज्य व्यवस्था समितिको बैठकमा पाण्डेले मुख्सचिवदेखि सचिवहरूले कुलिङ पिरियड नराख्न प्रधानमन्त्रीलाई समेत धम्की दिएको स्मरण गर्दै उनीहरुमाथि शंका कायम रहेको बताए ।
मुख्य सचिव र सचिवहरु समेत सहभागी समितिको बैठकमा पाण्डेले भने, ‘हाम्रो नेपालको कर्मचारीहरूले हुन पाउने सीमाको अन्तिम सीमाको व्यक्ति मुख्यसचिव आउनु भा’छ । मन्त्रालयका सचिवज्यूहरू आउनु भा’छ । हाम्रो मनभित्र चाहिँ पर्दाभित्र त यिनैहरूले नै खेलिरहेको हुनुपर्छ भन्ने लागिराछ ।’
पाण्डेले थपे, ‘यो लागेको कुरालाई नै अन्त्य गर्नुपर्छ । पर्दाभित्र त हामीलाई लागिराछ मुख्यसचिव लागेका हुन्, सचिवहरू लागेका हुन्, यिनीहरूले नै यो कुलिङ पिरियडलाई गडबडी गराउन खोजेका हुन्, हुन नदिनलाई कोसिस गरेका थिए, प्रधानमन्त्रीलाई धम्की दिएका थिए, संयुक्त राजीनामा दिन्छौं भनेर धम्की दिएका थिए ।’
त्यसका बाबजुद समितिका सदस्य र सबै राजनीतिक दल कुलिङ पिरियड राख्नुपर्ने पक्षमा भएपछि कर्मचारीबाट गडबडी भएको हुनसक्ने पाण्डेले बताए ।
उनले भने, ‘यो (कुलिङ पिरियड) हुने नै भयो । संसदीय समिति एक ठाउँमा उभिए । सबै राजनीतिक दल एक ठाउँमा उभियौं । अब केही गर्न सकिएन । अब तलबाट घुनपुतली लगाइदिनुपर्यो, प्वाल पारिदिनुपर्यो भनेर यिनै मान्छे लागे भनेर हामीले मनभित्र शंका बोकिरहने दिन आउने भयो नि त । त्यो निवारण गर्न पनि छानबिन समिति बनाउनुपर्छ ।’
उनले समितिका सभापति रामहरि खतिवडाको पनि यसमा कमजोरी देखिएको बताए । यस्ता खालका कमजोरी आउन नदिन काम गर्नुपर्ने पाण्डेले बताए ।
‘उहाँको (समितिका सभापति रामहरि खतिवडाको) पनि त्यो भूमिकामा कमजोरी भयो । जे कमजोरी भयो, जे अपराध भयो, यस्तो खालको कमजोरी भोलिको दिनमा आउन नदिनका लागि हामीले ध्यान दिनुपर्छ,’ पाण्डेले भने ।
प्रतिक्रिया 4